भर्खरै :

चीन–प्रजग कोरिया सहकार्य बलियो बनाउँदै साम्राज्यवादको विरोधमा एकजुट

चीन–प्रजग कोरिया सहकार्य बलियो बनाउँदै साम्राज्यवादको विरोधमा एकजुट

पेइचिङ, १३ असोज (एएफपी) । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रगज कोरियाका समकक्षीलाई भेट्दै प्योङयाङसँगको सहकार्यलाई अझ सुदृढ बनाउन र संयुक्त रूपमा साम्राज्यवादको विरोध गर्न चाहने स्पष्ट अभिव्यक्ति दिनुभएको छ ।
यो भेटवार्ता प्रजग कोरियाका सर्वाेच्च नेता किम जोङ उनको दुर्लभ चीन भ्रमण भएको केही सातापछि आइतबार पेइचिङमा सम्पन्न भएको हो । त्यस अवसरमा प्रजग कोरियाका विदेशमन्त्री चो सोन–हुईले वाङसँग भेटवार्ता गर्नुभएको थियो ।
वाङले भन्नुभयो, “चीन–प्रजग कोरिया सम्बन्धलाई कायम राख्नु, सुदृढ पार्नु र विकास गर्नु चिनियाँ सरकारको अटल रणनीतिक नीति हो । चीन अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा प्रजग कोरियासँग सहकार्य र समन्वय बढाउन इच्छुक छ । हामी सबै प्रकारका साम्राज्यवादको विरोध गर्दै दुवै पक्षको साझा हित र अन्तर्राष्ट्रिय निष्पक्षता तथा न्यायको रक्षा गर्न प्रतिबद्ध छौँ ।”
यी टिप्पणीहरू चीनले आफ्नो प्रमुख प्रतिस्पर्धी संयुक्त राज्य अमेरिकालाई लक्षित गर्दै गरेको प्रस्ट देखिएको विश्लेषकहरूको भनाइ छ ।
प्रजग कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले मन्त्रीबिचको छलफलमा विभिन्न मुद्दाहरूमा ‘पूर्ण सहमति’ भएको उल्लेख गरेको छ ।
दक्षिण कोरियाली एजेन्सी योनहापले पनि दुवै मन्त्रीले ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा गहिरो विचार–विमर्श गरी पूर्ण सहमति गर्नुभएको’ जानकारी दिएको छ ।
प्योङयाङको आणविक कार्यक्रमका कारण कहिलेकाहीँ चीनले असन्तुष्टी जनाए पनि दुई छिमेकीबिचको घनिष्ठता कायम रहँदै आएको छ । यसै महिनाको सुरुमा पेइचिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८० औँ वार्षिकोत्सवमा आयोजित भव्य सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै उभिनुभएको थियो ।
पेइचिङ प्रजग कोरियाका लागि कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको महत्वपूर्ण स्रोत मानिन्छ । दुवै देश संयुक्तरूपमा अमेरिकाविरुद्धको साझा विरोधमा बाँधिएका छन् ।
किमले यदि वासिङटनले प्रजग कोरियालाई आफ्नो आणविक कार्यक्रम परित्याग गर्न माग नगरे मात्र प्योङयाङ अमेरिकासँग पुनः सम्पर्कमा जान तयार हुने बताउनुभएको छ ।
प्रजग कोरियाले आफ्नो आणविक कार्यक्रमलाई अमेरिकासहित दक्षिण कोरिया र अन्य सहयोगीहरूले दिएको सुरक्षा चुनौतीको ‘न्यायसङ्गत प्रतिक्रिया’ भएको ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *