यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गतको शान–नान नगरपालिकाबिच भगिनी सम्बन्ध नवीकरण सम्झौता समारोहमा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)
नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा यालोङ सांस्कृतिक तथा पर्यटन महोत्सवमा भक्तपुर नगरपालिकालाई आमन्त्रण गरी सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा र आत्मीय स्वागत तथा सत्कारको निम्ति हामी हार्दिक आभार व्यक्त गर्दछौँ ।
यस वर्ष चीनको तिब्बत स्वशासित क्षेत्र स्थापना भएको ६० औँ वर्षगाँठ पनि हो । यस अवसरमा तिब्बत स्वायत्त क्षेत्रका जनतालगायत सम्पूर्ण चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल, तिब्बत र चीनबिच परापूर्वकालदेखि नै राजकीय र जनस्तरमा धार्मिक, सांस्कृतिक, राजनैतिक र व्यापारिक सम्बन्ध रहिआएको छ । नेपालको काठमाडौँ उपत्यकाको उत्पति र सभ्यता विकासमा तिब्बतका महामञ्जुश्रीको योगदान, छैटौँ शताब्दीमा तिब्बती राजा स्रोङचङ गम्पोसँग नेपाली चेली भृकुटीको विवाह, ते¥हौँ शताब्दीमा महान् नेपाली कलाकार अरनिको (आनिक) को नेतृत्वमा तिब्बत र चीन पुगेका ८० जना शिल्पकारहरूको टोलीले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिलगायतले दुई देशबिचको सम्बन्ध विस्तारको बहुआयाम प्रस्तुत गरेका छन् । चिनियाँ भूमि तिब्बतमा नेपालको महावाणिज्य दूतावास स्थापना भएको लामो इतिहासले पनि दुई देशबिचको व्यापार र सांस्कृतिक आदानप्रदान अहिले मात्र नभई प्राचीन कालदेखि नै भएको प्रस्ट हुन्छ ।
दुई छिमेकी मित्र देशहरूको सम्बन्ध इतिहास जत्तिकै पुरानो भए पनि सरकारी स्तरमा भने सन् १९५५ मा नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको हो । नेपाल र नेपाली जनता सुरुदेखि नै ‘एक चीन नीति’ लाई दृढतापूर्वक समर्थन गर्दै आएको स्मरण गराउन चाहन्छौँ ।
मित्र देश चीनले नेपालको सडक पूर्वाधार विकास, उद्योगधन्दा स्थापनालगायतका विकासमा सहयात्रा गरिरहेको छ । हजारौँको सङ्ख्यामा नेपाली विद्यार्थीहरू चिनियाँ विश्वविद्यालयहरूमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, साहित्यजस्ता विषयहरूमा उच्च शिक्षा हासिल गर्ने अवसर पाइरहेका छन् । यसका लागि नेपाली जनताको तर्फबाट चिनियाँ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणपछिका दुवै स्थानीय तहको निर्वाचनहरूमा भक्तपुर नगरपालिकामा मेयर, उपमेयरसहित सम्पूर्ण वडाहरूमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भए । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादलाई विश्वास गर्ने कम्युनिस्ट पार्टी हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको यो पार्टीले निर्वाचनलाई पनि जनताको हितमा उपयोग गर्दै आएको छ । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ ।
उहाँले आजभन्दा दुई दशकअगाडि भक्तपुरको भविष्यको कल्पना गर्दै ‘सय वर्षपछिको भक्तपुर’ नामको पुस्तक प्रकाशित गर्नुभयो । उहाँले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकअनुसार नै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकको गन्तव्य स्थल, सांस्कृतिक नगर बनाउने बाटोमा भक्तपुर नगरपालिका अग्रसर छ ।
भक्तपुर नगरपालिका र तिब्बत स्वशासित क्षेत्रको शान–नान नगरबिच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको थियो । दुई पालिकाबिच सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटनलगायत विषयमा सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य थियो । सहमतिपछि दुई नगरपालिकाबिच भ्रमणको आदानप्रदान पनि हुँदै आएको छ । भूकम्प र कोरोना प्रकोपजस्ता सङ्कटको बेलामा पनि सहयोगको आदानप्रदान भएका छन् ।
आज हामी दुई सहरबिच भगिनी सम्बन्ध नवीकरण गरेका छौँ । आजै भक्तपुर नगरपालिका र शान–नान नगरपालिकाको मित्रताको प्रतीकको रूपमा स्वास्थ्य उपकरण हस्तान्तरणको कार्यक्रम पनि रहेको छ । शान–नानबाट प्राप्त हुने यस उपकरणले बढीभन्दा बढी नेपाली जनताको सेवा हुने कुरामा हामी विश्वस्त छौँ । यस्तै स्वास्थ्य क्षेत्रमा दुई नगरपालिकाबिच मानवीय संसाधनको आदानप्रदान हुनेमा पनि विश्वास व्यक्त गर्दछौँ ।
नेपाल र जनवादी गणतन्त्र चीनका नगरपालिकाहरूबिचको भगिनी सहर सम्बन्धले दुई देशबिचको कूटनीतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धलाई पनि सुदृढ गर्ने कार्य गर्छ । पूर्वाधार विकासको अतिरिक्त सांस्कृतिक तथा शैक्षिक सहकार्यमा पनि समान ध्यान दिनु आवश्यक छ । दुई देशमा भाषाहरूको शिक्षण, साहित्यहरूको अनुवाद तथा हाम्रा ऐतिहासिक सम्बन्ध तथा आदानप्रदानबारे शैक्षिक अनुसन्धानजस्ता पहलहरूले हाम्रा नगरपालिका र जनताबिचको समझदारीलाई अझ गहिरो बनाउने विश्वास छ ।
यस्ता आदान–प्रदानहरूले हामी दुई सहरबिचको सम्बन्धलाई नेपाल–चीनबिचको सम्बन्धमा उदाहरणीय बनाउनेछ र जनताको हितमा केन्द्रित हाम्रो सम्बन्ध अनन्तकालसम्म रहने कुरामा हामी विश्वस्त छौँ ।
धन्यवाद !
Leave a Reply