भर्खरै :

“दुई नगरबिच भगिनी सम्बन्ध नवीकरण भएकोमा हामी खुसी छौँ”

“दुई नगरबिच भगिनी सम्बन्ध नवीकरण भएकोमा हामी खुसी छौँ”

(भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गतको शान–नान नगरपालिकाबिच भगिनी सम्बन्ध नवीकरण सम्झौता समारोह (२०२५ सेप्टेम्बर २०) मा भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)
शान–नान नगरका आदरणीय उपमेयरज्यू, प्रतिस्थित व्यक्तित्वहरू, भक्तपुर नगरका उपमेयरज्यूलगायत सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछौँ ।
सर्वप्रथम सिचाङ स्वशासित क्षेत्र स्थापनाको ६० औँ वर्षगाँठको अवसरमा यस क्षेत्र र शान–नान नगरका सम्पूर्ण बासिन्दाहरूमा प्रगतिको शुभकामना व्यक्त गर्दछौँ । प्राचीन कालदेखि नै नेपाली र तिब्बती जनताबिच जनस्तरमा सम्बन्ध कायम भएका हामी दुई देशबिच कूटनैतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसर पनि मनाइरहेका छौँ ।
शान–नान नगरको सभ्यता र संस्कृतिसँग जोडिएको यालोङ नदी महोत्सवमा हामीलाई निमन्त्रणा गर्नुभएकोमा शान–नान नगरपालिकालाई धेरै धन्यवाद ज्ञापन गर्दछौँ ।
भक्तपुर नगरपालिका र शान–नान नगरपालिकाबिच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापना भएको थियो । हामी दुवै नगरपालिकाहरू ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले महत्वका छौँ । राजा स्रङचङ गम्पो र नेपाली चेली भृकुटीबिचको वैवाहिक तथा सांस्कृतिक सम्बन्ध तथा नेपालको काठमाडौँ उपत्यकाको सभ्यता विकासमा महामञ्जुश्रीको योगदानले हामीलाई आपसमा नजिक ल्याउन थप मद्दत गरेको हाम्रो विश्वास छ । दुई नगरपालिकाबिच शिक्षा, संस्कृति, पर्यटन, आर्थिक, व्यापारलगायतका क्षेत्रहरूमा सहकार्य गर्ने उद्देश्यसहित स्थापित भगिनी सम्बन्धलाई आज यसै कार्यक्रममा नवीकरण गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दछौँ ।
भक्तपुर नगरपालिका नेपालकै सबैभन्दा सानो नगरपालिका हो र यो देशको राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा अवस्थित छ । आठौँ शताब्दीमा स्थापना भएको यो नगर सांस्कृतिक र पुरातात्विक रूपमा महत्वपूर्ण छ ।
प्रशासनिक दृष्टिकोणबाट हेर्दा, भक्तपुर नगरपालिका १० वटा वडामा विभाजित गरिएको छ, जहाँ अधिकांश बासिन्दा नेवार समुदायका छन् । सन् २०२१ को जनगणनाअनुसार, भक्तपुरको स्थायी जनसङ्ख्या ७८,८५४ छ र यहाँ अस्थायी बसोबास गर्नेको सङ्ख्या पनि करिब उति नै छ । यहाँका जनताको मुख्य पेसा कृषि हो । साना तथा कुटीर उद्योग, व्यापार, पर्यटन र हस्तकला उद्योग पनि छन् । परम्परागत घरेलु तानबाट बुनिएका कपडा, दही, काष्ठकला, परम्परागत रङ्गाइएर तयार पारिएका धागो र कपडा, सेरामिक, हस्तकला उत्पादन, कागज, धातुकला, पौभा र थाङ्का, चित्रकला, कार्पेट, धातुकला, माटोको भाँडाकँुडा आदि यहाँका आफ्नै उत्पादनहरू हुन् ।
ऐतिहासिक तथा सांस्कृतिक भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणका केन्द्रहरू हुन् । यहाँका मूर्त सम्पदाहरूसँगै जात्रापर्व, परम्परागत जीवनशैली र सांस्कृतिक गतिविधिजस्ता अमूर्त सम्पदाहरूलाई जीवन्त रूपमा संरक्षण गरिरहेकै कारणले भक्तपुरको दरबार क्षेत्र र वरपरको पुरानो नगर क्षेत्र सन् १९७९ मा युनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको थियो ।
सन् २०१६ र २०२१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधिहरू नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन् । नेमकिपा कम्युनिस्ट पार्टी हो र यसले वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य लिएको छ । नेमकिपाले पुँजीवादी निर्वाचन प्रणालीलाई देश र जनताको हितमा क्रान्तिकारी उपयोग गरिरहेको छ । वरिष्ठ वामपन्थी नेता श्रद्धेय नारायणमान बिजुक्छेँ (रोहित) ले यस पार्टीको नेतृत्व गर्दै आउनुभएको छ ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचार सेवालाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यहाँ २ वटा इन्जिनियरिङ कलेजसहित विज्ञान र व्यवस्थापन तथा सिभिल ओभरसियर र नर्सिङ गरी ७ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन् । कम शुल्कमा गुणस्तरीय शिक्षा सेवा दिने लक्ष्यसँगै गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक ऋण पनि प्रदान गरिरहेका छौँ । हामी आफ्नै विश्वविद्यालय ‘ख्वप विश्वविद्यालय’ स्थापना गर्ने योजनासहित नेपाल सरकारलाई स्वीकृतिको लागि अनुरोध गर्दछौँ । यहाँ २६ वटा प्राथमिक विद्यालयहरू, ७० वटा माध्यमिक विद्यालयहरू, ६ वटा शिशुस्याहार तथा बाल विकास केन्द्रहरू र एक वटा आदर निकेतन सञ्चालनमा छन् ।
भक्तपुरवासी जनताको साथ र सहयोगमा नगरपालिकाले आफ्नै १०० बेडको ख्वप अस्पताल सञ्चालन गरिरहेको छ । सुरूमा ३ जना स्वास्थ्य जनशक्तिसहित आधारभूत स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको यस अस्पतालले अहिले आधुनिक प्रविधिको उपयोग गर्दै बिरामीहरूको सेवा गरिरहेको छ । यहाँ अहिले बहिरङ सेवा, अन्तरङ सेवा, इमर्जेन्सी सेवा, शल्यक्रिया र ल्याव तथा रेडियोलोजी सेवाहरू उपलब्ध छन् ।
सन् २०१५ को विनासकारी भूकम्प र कोभिड १९ को महामारीको समयमा जनतालाई निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्न हामीलाई भगिनी सहर शान–नानले चिकित्सा सामग्री सहयोग गरेको हामी सदा स्मरण गर्दछौँ । नेपाली जनताको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौँ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *