भर्खरै :

सामाजिकीकरण नभएसम्म समस्या समाधान नहुने

सामाजिकीकरण नभएसम्म समस्या समाधान नहुने

काठमाडौँ, १५ असोज । नेपालको राजनीतिक अवस्था अन्योल नै छ । यो अन्योल घट्नेभन्दा बढ्ने सम्भावना छ । निकोलस भुसालका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने भारतीय र संरा अमेरिकी शासकवर्ग र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह हुन् । प्रमुख बालेन्द्रका निकटका साथी भुसाल पनि थिए । भुसालले प्रमुख बालेनलाई भेट्न आफूहरूले समय नपाएको तर भारतीय राजदूतावास र अमेरिकी राजदूतावासका अधिकारी र बारबरा फाउन्डेसनका मानिसहरूले उनलाई सजिलै भेट्ने गरेको बताए ।
प्रमुख बालेन्द्रले भदौ २२ गते भारतीय सैनिक अधिकारीलाई काठमाडौँमा भेटवार्ता गरेको र नयाँ पुस्तालाई भदौ २३ गतेको प्रदर्शनीमा ओर्लन आह्वान गरेको पनि सार्वजनिक भयो ।
माइतिघर र बानेश्वरको प्रदर्शनमा पुगेकी स्मारिका पराजुलीले राजधानी दैनिकमा लेख्छिन्, “भदौ २३ गते बिहान ११ः३० बजे बानेश्वर पुग्दा प्रदर्शनी हाइज्याक (अपहरण) भइसकेको थियो । भदौ २४ गते बानेश्वरको प्रदर्शनीमा घुसपैठ भएको देखिन्छ ।”
काठमाडौँको प्रदर्शनमा सहभागी सुमित पोखरेल राजधानी दैनिकमा लेख्छिन्, “भदौ २४ गतेको प्रदर्शनीमा मादक पदार्थ सेवन गरेका समूह अब सरकारी कार्यालय जलाउने भनी अघि बढ्यो । हामीले आगजनी नगर्न बिन्ती ग¥यौँ तर मानेनन् ।”
नयाँ पुस्ताको भदौ २३ गतेको प्रदर्शनीमा पानी खुवाउने र स्वयम्सेवकको जिम्मेवारी निर्वाह गर्ने बताएका ‘हामी नेपाल’ गैरसरकारी संस्थाका सुदन गुरूङले भदौ २७ गते बोलेका थिए, “सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति नगरिए राष्ट्रपति रामचन्द्र पौडेललाई थुतेर बाहिर ल्याउने हो ।” भदौ २४ गते बेलुका प्रमुख बालेन्द्रले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे, “सेनापतिसँग कुरा गर्नू, संसद् विघटन गराउनू, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनू ।” यसअघि केही नयाँ पुस्ताले बालेन्द्रलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको सार्वजनिक भएको थियो ।
काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै बालेन्द्रले शासक दलका केपी शर्मा ओली, नेकाका गगन थापा, प्रदीप पौडेललगायतसँग भेटेको तस्बिर अहिले सार्वजनिक भइरहेको छ ।
सुदन गुरूङ ‘स्वतन्त्र तिब्बतसँग पनि सम्बन्धित भएको सार्वजनिक भयो । प्रधानमन्त्री सुशीला कार्कीलाई स्वतन्त्र तिब्बतका पक्षधर दलाई लामाले समेत बधाई पठाए । सन् १९५९ मा दलाई लामा चीनबाट भागेर अमेरिकी आर्थिक सहयोगमा भारत आश्रम बसेका छन् । गुरूङले कतारको ‘अल जजिरा’ टेलिभिजनसँगको कुराकानीमा आफूलाई प्रधानमन्त्रीको जिम्मेवारी आए स्वीकार गर्ने बताए । भदौ २३ गतेको प्रदर्शनमा माइतिघर मण्डलामा उद्घोषण गर्ने कैलाली टीकापुरका रक्षा बमले पनि ‘नागरिक दैनिक’सँगको कुराकानीमा कार्की नेतृत्वको सरकारमा सामेल हुन प्रस्ताव आएमा स्वीकार गर्ने बताइन् ।
बालेन्द्रले बुधबार बिहानै प्रम कार्कीसँग बालुवाटारमा भेट गरी सरकार चलाएको यतिका दिन हुँदा पनि भदौ २३ गतेको प्रदर्शनीमा गोली चलाउने र आदेश दिनेहरू पक्राउ नपरेकोमा जिज्ञासा राखे ।
प्रमुख बालेन्द्रको जिज्ञासा तत्कालीन प्रधानमन्त्री एमालेका ओली र तत्कालीन गृहमन्त्री नेकाका रमेश लेखकप्रति तेर्सिएको हो । भदौ २४ गते प्रम ओलीले नेपाली सेनामार्फत राजीनामा दिए अर्थात् राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटसमेत गर्न पाएनन् ।
एमालेका ओलीको नेकाको समर्थनमा त्यो तेस्रो पटकको प्रमको कार्यकाल थियो । यसअघि ओली २०७२ साल र २०७४ सालमा माओवादीको समर्थनमा पहिलो र दोस्रो पटक प्रधानमन्त्री भएका थिए । तीनओटै सरकारमा एमालेका ओलीले कुनै उल्लेखनीय काम गर्न सकेनन् ।
ओली सरकारले भदौ १९ गते दर्तामा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । नयाँ पुस्ताले सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भदौ २३ गते प्रदर्शन ग¥यो । प्रदर्शनीमा काठमाडौँमा १७ र सुनसरीमा २ गरी १९ जनाको मृत्यु भयो । भदौ २४ गते प्रदर्शनमा घुसपैठ भयो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तोडफोड र आगजनी भएपछि दिउँसो २ बजे प्रम ओलीले पदबाट राजीनामा दिएका थिए । प्रम ओलीले समयमै राजीनामा दिएको भए भदौ २३ र २४ गतेको प्रदर्शनमा ७५ जनाको मृत्यु र सरकारी भवन आगजनी हुने थिएन । यसको दोषी सरकारमा सहभागी नेका, एमालेलगायत दलहरू नै हुन् ।
अन्तरिम प्रम कार्कीले आगामी फागुन २१ गते हुने संसदीय चुनावको लागि प्रवासी नेपालीलाई मताधिकार दिने कानुन बनाउने पनि सार्वजनिक भयो । यतिबेला विश्वका १४१ देशका प्रवासीलाई मताधिकार दिएको बताइन्छ । प्रवासी नेपालीलाई मताधिकार दिने सजिलो होइन । हाल १७१ देशमा नेपाली बसेको पाइन्छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनको एउटा मुख्य माग भ्रष्टाचारशून्य सुशासन हो । यसको लागि सरकारले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्नु आवश्यक छ । सरकारले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने र ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डसमेत हुने कानुन बनाउनु पर्दछ । प्रवासमा बसेका नेपालीलाई मताधिकार दिनेभन्दा उल्लिखित कानुनी व्यवस्था जरुरी छ ।
राजनीतिक विश्लेषक सौरभले नेपालको राजधानी दिल्ली सरेको जस्तै भएको बताए । प्रम कार्कीले देशवासीको नाममा सम्बोधन गर्दा लिम्पियाधुरासम्मको नेपालको नक्सा भित्तामा टाँसिएको नदेखिनु पनि प्रश्नको विषय भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *