जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

(भक्तपुर नगरपालिका र शाननान नगरपालिकाबिच २०८२ असोज ४ गते सम्पन्न भगिनी सम्झौता नवीकरण समारोहमा शाननान नगरपालिका शिक्षा व्युरो प्रमुख सिरेन लुओपुको मन्तव्यको सम्पादित अंश)
शाननान नगरपालिकाको निमन्त्रणामा पाल्नुहुने भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायतका प्रतिनिधिमण्डलका सदस्यहरूमा हार्दिक स्वागत तथा शुभ दिन !
पछिल्ला वर्षहरूमा शाननानले राष्ट्रपति सी चिनफिङको ‘शिक्षा देश र पार्टीको आधारभूत जिम्मेवारी हो’ भन्ने भनाइलाई सदैव हृदयङ्गम गर्दै हामीले शिक्षासम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टी (CPC) का निर्णय र योजनाहरू दृढतापूर्वक कार्यान्वयन गरेका छौँ । शिक्षालाई विकासको रणनीतिक प्राथमिकतामा राखेका छौँ । गुणस्तरीय शैक्षिक विकासलाई निरन्तर प्रवद्र्धन गरेका छौँ । मित्र देश नेपालसँग चीनको दक्षिण पश्चिम सीमा क्षेत्रमा महत्वपूर्ण सहरको रूपमा शाननान अवस्थित छ । त्यसैले शाननानको शैक्षिक उन्नतिले ‘एक मार्ग एक क्षेत्र अगुवाइ’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गत यहाँका जनताको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । यससँगै चीन र नेपालबिच सभ्यताको हाम्रो बुझाइ र जनस्तरको सम्बन्ध प्रवद्र्धन गर्न पनि योगदान गर्दछ भन्ने हाम्रो विश्वास छ ।
हाल शाननानमा कुल ४६७ वटा विद्यालयहरू छन्, जसमा शिशु स्याहार तथा बाल विकास केन्द्र, प्राथमिक विद्यालय, जुनियर हाइस्कूल, सिनियर हाइस्कूल, व्यावसायिक विद्यालय र विशेष विद्यालय समावेश छन् । यहाँको शिक्षा चीनको राष्ट्रिय शिक्षा प्रणालीसँग जोडिएको छ । हाल यहाँका स्थानीय र टाढाका ठाउँबाट समेत गरी ६०,००० भन्दा बढी विद्यार्थी र ८,००० भन्दा बढी शिक्षक तथा प्रशासनिक कर्मचारीहरू कार्यरत छन् । सबैलाई उच्च नैतिकता र उत्कृष्ट व्यावसायिक सीप प्रदान गरिएको छ । साथै देशभक्त नयाँ पुस्ता तयार गर्ने अभिभारा सुम्पिएको छ ।
शिक्षालाई सर्वसुलभ बनाउने क्षेत्रमा शाननानले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । सिनियर हाइस्कूलमा कुल भर्नादर ९७.०४ प्रतिशत पुगेको छ भने जुनियर हाइस्कूलमा १०४.८१ प्रतिशत, प्राथमिक विद्यालयमा १०० प्रतिशत, तीन वर्षको पूर्व विद्यालय शिक्षा (शिशुस्याहार तथा बाल विकास केन्द्र) मा ९८.२६ प्रतिशत छ । सारमा, अनिवार्य शिक्षाको स्थायित्व दर ९९.७३ प्रतिशतमा स्थिर रहेको छ । अर्थात्, यहाँका ९९.७३ प्रतिशत जनता अनिवार्य विद्यालय शिक्षामा आबद्ध छन् । चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्व र न्यानो हेरचाहमा रहेर शाननान नगरपालिकाले ‘शिक्षामा पहुँच सुनिश्चित गर्ने’ चरणबाट ‘गुणस्तरीय शिक्षा प्रदान गर्ने’ चरणसम्मको ऐतिहासिक फड्को मारेको छ । पार्टीको शिक्षानीतिद्वारा निर्देशित शाननानले विद्यालयका सुविधाहरूमा सुधार गरेको छ र उपलब्ध स्रोतहरूको वितरण प्रणालीलाई समयानुकूल बनाएको छ । यसले खेती र पशुपालन क्षेत्रमा आबद्ध जनताका छोराछोरीहरूलाई उच्च कोटीको शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको छ । अनिवार्य शिक्षाको ‘तीन ग्यारेन्टी’ जस्ता जनताका लागि पार्टीको लाभदायक नीतिले अभिभावकहरूको आर्थिक बोझ कम गरेको छ । साथै हिउँले ढाकिएको उच्च भूमिमा हरेक बालबालिकालाई शान्त मनले अध्ययन गर्न र खुसीसाथ हुर्कन सक्षम बनाएको छ । शैक्षिक समानताको घामले पृथ्वीलाई उज्यालो बनाएको छ ।
शिक्षा हाम्रा राष्ट्रिय सीमाहरू पार गर्ने पुलमात्र होइन, मानिसहरूलाई हृदयदेखि हृदयसम्म जोड्ने न्यानो बन्धन पनि हो । लामो समयदेखि चीन र नेपालबिचको शैक्षिक सहकार्यले फलदायी परिणामहरू प्राप्त गरेको छ । नेपाली विद्यार्थीहरू चीनमा अध्ययन गरिरहेका छन्, जसले दुई देशबिच सांस्कृतिक सम्बन्ध र मैत्रीपूर्ण आदानप्रदानको दूतको रूपमा काम गरेको छ भन्ने हाम्रो विश्वास हो । हामी तपाईँको भक्तपुर सहरसँग शिक्षाको क्षेत्रमा अझ गहिरो सहकार्य गर्ने अपेक्षा गर्दछौँ । यसका साथै दुवै नगरपालिकाका शिक्षक र विद्यार्थीहरूको आपसी भ्रमणको अवसर सिर्जना गर्दै दुवै स्थानका शिक्षक र विद्यार्थीहरूबिच आपसी समझदारी बढाउने र मित्रता प्रवद्र्धन गर्ने अपेक्षा गर्दछौँ । हामी व्यावसायिक शिक्षा र आधारभूत शिक्षाजस्ता क्षेत्रमा आपसी सिकाइलाई सहज बनाउने पनि अपेक्षा गर्दछौँ । साथै, साहित्यिक, सांस्कृतिकलगायत विविध विषयमा संयुक्त अध्ययन तथा अनुसन्धान गर्न र दुवै देशको विकासका लागि थप उत्कृष्ट प्रतिभाहरूलाई तयार गर्न चाहन्छौँ ।
अन्त्यमा, यहाँ उपस्थित सबैलाई फेरि धन्यवाद दिन चाहन्छौँ । हामी विश्वास गर्छौँ कि यस आदानप्रदानलाई अवसरको रूपमा लिएर, हामी निश्चित सहमति निर्माण गर्नेछौँ, सहकार्यलाई गहिरो बनाउनेछौँ र शाननान र भक्तपुरबिचको शैक्षिक मित्रताको फूललाई सुन्दर रूपमा फुलाउनेछौँ, चीन–नेपाल मैत्रीपूर्ण सम्बन्धको विकासमा शैक्षिक योगदान दिनेछौँ ।
Leave a Reply