जनताको समस्या समाधान गर्नु सरकारको जिम्मेवारी
- आश्विन २३, २०८२
हरेक वर्षको अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । नेपालमा पनि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने उद्घोषका साथ यो दिवस मनाइयो । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानव अधिकारको रूपमा प्रवद्र्धन र संरक्षण गराउने कार्य गर्न र गराउन सो दिवस मनाइँदै आएको हो । युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी, भूकम्प, ज्वालामुखी, रोग, भोक, आगलागी आदिको कारण मानिसमा डर, त्रास पैदा हुन्छ† निरास हुन्छ । मनले थाम्नै नसक्ने गरी पीडा भयो भने मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । मान्छेमा उत्पन्न भएको अधिक तनावले पनि मानसिक रोग लाग्छ ।
२०७२ सालको भूकम्प, कोरोना र डेङ्गुको कारण कति मान्छेलाई मानसिक असर परेको थियो । राज्यको षड्यन्त्र, जालझेल गरेर थुन्दा, राजनीतिक षड्यन्त्र गरी जीवनभर जेलमा कोच्दा पनि कति मान्छेमा मानसिक असर परेको देखिन्छ । घर–बस्ती डुवानमा परेर, पुरेर मर्दा, बिचल्लीमा पर्दा बाँचेका वृद्धवृद्धा तथा बालबालिकाहरूमा मानसिक असर परेको देखिन्छ । कुनै पनि कारणवस मानसिक असर पर्दा सोको निकास खोज्नुपर्ने हुन्छ । उपाय नखोजी चिन्तै चिन्तामा डुब्दा यस्तो समस्या बढी भएको घटनाक्रमले देखाउँछ ।
सरकारी स्वास्थ्य संस्थामा मनोचिकित्सकहरूको सङ्ख्या कम छ । भएकाहरू पनि सेवासुविधा भएको स्थानमा केन्द्रित हुन्छन् । मनोचिकित्सकहरू कम हुनुको अर्थ उपचार कार्य पनि कमै हुन्छ । सचेतना कार्यक्रम कम हुन्छ† मानसिक स्वास्थ्य परीक्षण कम हुन्छ । कहिलेकाहीँ चिन्तामाथि चिन्ता, पिरमाथि पिर बढेर मानसिक रोग नै लाग्छ । त्यसबेला मन अस्थिर हुन्छ । अनि त्यसले नसोचेझैँ अनेक काम गर्न थाल्छ । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्यप्रति जागरूकता बढाउने काम नभएपछि, प्रचारप्रसारमा पछि परेपछि यसले थप पीडा दिन्छ । मानसिक स्वास्थ्य स्वस्थ बनाउन मनोसामाजिक परामर्श दिनुपर्ने हुन्छ; उनीहरूलाई तत्काल सहयोग गर्नुपर्ने हुन्छ । यसकारण, कुनै सङ्घ–संस्थाले गर्ने सार्वजनिक कार्यक्रममा, सर्वसाधारण जनता भेला हुने स्थानमा मनोचिकित्सकमार्फत प्रवचन दिन लगाउन उपयुक्त हुन्छ । यस्तो कार्य सहकारी संस्थामा बेलाबखत भएको पाइन्छ । नेपालभाषा साहित्य तः मुंज्या तथा सांस्कृतिक समारोहमा पनि यो बेलाबखत भएको पाइन्छ । यस्तो प्रवचनले मानसिक रोगी र मानसिक असर परेका व्यक्तिहरूको निम्ति औषधिको रूपमा काम गरेको हुन्छ । यस्ता चेतनामूलक कार्यक्रमहरू बरोबर गरिरहनुपर्छ ।
नेपालमा केही संस्था या समुदायले विश्व मानसिक स्वास्थ्य दिवस मनाए । सन् १९९२ देखि हरेक वर्ष संसारमा विभिन्न मुलुकमा विविध कार्यक्रमसहित यो दिवस मनाइन्छ । तर, अधिकांश देशमा मनाइने दिवस झाराटार्ने ढङ्गको हुन्छ । त्यसले मानसिक पीडितहरूको पीडामा कुनै योगदान पु¥याउँदैन । जसरी कुनै दुर्घटनामा परेका व्यक्तिहरूलाई भौतिक प्राथमिक उपचार गरिन्छ त्यसरी नै संवेदनात्मक दुर्घटनामा परेका व्यक्तिहरूलाई पनि तत्कालै सही मानसिक प्राथमिक उपचार हुनु जरूरी छ ।
स्मरणीय छ, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा ‘डिप्रेसन’ का शिकार भइरहेका छन् । मानसिक समस्यामा परेका पीडित व्यक्तिहरूको रेखदेख गर्ने, स्वस्थ बनाउन या मानसिक चिन्ताबाट मुक्त गराउनेतर्फ हाम्रो प्रयास भइरहनुपर्छ । समाजमा अनावश्यक तनाव या आवश्यकताभन्दा बढी तनाव र हिनताबोधले जीवनमा धक्का पु¥याएको हुन्छ । यस्ता सबै गतिविधिलाई सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । यस्तै मानसिक पीडा या असन्तुलनले आत्महत्या, हत्या, नसा या लागुपदार्थ सेवन गर्ने र अन्य दुर्घटना भएको हामी देख्छौँ । मानसिक स्वास्थ्यका यी नै समस्या र मुद्दालाई समाधान गर्नुपर्ने हुन्छ । यसमा सरकारले स्वास्थ्य शिविर, प्रवचन कार्यक्रम गरेर तथा सञ्चारमाध्यमबाट प्रचारप्रसार गरिनुपर्छ । देशभर मनोचिकित्सासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सचेतनामूलक कार्यक्रमले पनि मानसिक स्वास्थ्य समस्या समाधानमा टेवा पु¥याउँछ । यसमा सरकार र सम्बन्धित सङ्घ संस्थाको ध्यान जानुपर्छ । मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश देशभर पु¥याउनुपर्छ ।
Leave a Reply