भर्खरै :

मारवान बारघुतीलाई गोप्य रूपमा कैदी सूचीबाट इजरायलले हटायो !

मारवान बारघुतीलाई गोप्य रूपमा कैदी सूचीबाट इजरायलले हटायो !

इजरायली प्रधानमन्त्रीको कार्यालयले अन्तिम समयमा एकतर्फी रूपमा मारवान बरघुतीको नाम कैदी आदानप्रदान सूचीबाट हटायो, जसले गाजा युद्धविराम सम्झौताको कार्यान्वयनलाई खतरामा पारेको छ, प्रमुख प्यालेस्टिनी कैदीको नजिकको स्रोतले मिडल इस्ट आईलाई बताए ।
सर्वेक्षणअनुसार सबैभन्दा लोकप्रिय प्यालेस्टिनी राजनीतिक व्यक्तित्व बारघुती गाजामा रहेका ४८ इजरायली बन्दीहरूका लागि सम्भावित रूपमा साटासाट गरिएका महत्वपूर्ण व्यक्तिहरूमध्ये एक थिए ।
बारघुती र उनको परिवारको नजिकको स्रोतले एमईईलाई बताएअनुसार हिजो राति अमेरिकी राजदूत स्टिभ विटकफलगायतका मध्यस्थकर्ताहरूले बारघुतीसहितको कैदी सूचीमा हस्ताक्षर गरेका थिए । यद्यपि, बिहीबार एक इजरायली प्रवक्ताले पत्रकारहरूलाई भने, “यस समयमा उनी यो रिहाइको हिस्सा हुनेछैनन्” ।
स्रोतका अनुसार, इजरायली प्रधानमन्त्रीको कार्यालयले एकतर्फी रूपमा बारघुतीको नाम हटाएको देखिन्छ ।
मिडल इस्ट आईले बुझेको छ कि पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टिनका नेता अहमेद सादत, हमासका वरिष्ठ अधिकारी हसन सलामा र मारवानसँग सम्बन्धित नभएका हमास नेता अब्दुल्लाह बारघुतीको नाम पनि सूचीबाट हटाइएको थियो ।
वार्ताकारहरूले उनीहरूको नाम पुनस्र्थापित गर्न जोड दिँदै सूचीबाट नाम हटाइँदा युद्धविराम सम्झौतामा सम्भावित समस्याहरू निम्तिने बताए ।
बारघुतीको स्वतन्त्रता इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्विरका लागि रातो रेखा मानिन्छ । यदि उनले आफ्ना सांसदहरूलाई सत्तारुढ गठबन्धनबाट बाहिर निकाले भने बेन्जामिन नेतन्याहुको सरकारलाई खतरामा पार्न सक्नेछ ।
यद्यपि, एमईईले बुझेको छ कि बारघुतीकी श्रीमती कायरोमा बसेर आफ्नो पतिलाई कैदी आदानप्रदानमा समावेश गराउन वार्ताकारहरूसँग पैरवी गरिरहेकी छिन् ।
हमासका एक अधिकारीले अल जजीरालाई बताएअनुसार मध्यस्थकर्ताहरू कैदीहरूलाई रिहा गर्ने विषयमा सम्झौतामा पुग्ने काम गरिरहेका छन् ।
“कैदीहरूको नाममा इजरायलको प्रतिक्रियाको बारेमा हाम्रो अडान मिलाउन हामी प्यालेस्टिनी गुटहरूसँग राष्ट्रिय वार्ता गर्नेछौँ,” अधिकारीले भने ।
बुधबार राति इजरायल र हमासबिच भएको युद्धविराम सम्झौताअनुसार, इजरायली जेलमा रहेका २,००० प्यालेस्टिनीहरूको बदलामा इजरायली बन्दीहरूलाई रिहा गरिनेछ – जसमध्ये १,७०० पुरुष, महिला र बालबालिका छन् जसलाई गाजाबाट कब्जा गरी बिना कुनै कसुर राखिएको छ । बारघुती २००४ देखि जेलमा छन् र अक्टोबर २०२३ मा गाजामा इजरायलको नरसंहार सुरु भएदेखि एकल कारावासमा छन् ।
प्यालेस्टिनी प्राधिकरण (पीए) मा प्रभुत्व जमाउने पार्टी फताहका एक वरिष्ठ व्यक्तित्व बारघुती, २०००–२००५ को दोस्रो इन्तिफादामा प्रमुख भूमिका र जनतामाझ लोकप्रियताको कारण इजरायलद्वारा लक्षित थिए ।
यदि चुनाव भयो र उनी पदका लागि उम्मेदवार हुन सक्षम भएमा ६६ वर्षीय बारघुती प्यालेस्टिनी राष्ट्रपति पदका लागि निश्चित हुनेछन् भन्ने मत सर्वेक्षणले देखाएको छ । उनलाई एकताबद्ध गर्ने व्यक्तित्वको रूपमा हेरिन्छ† फताहसँग पहिचान गरे तापनि, जुन अलोकप्रिय पीएसँग सम्बन्धित छ ।
इजिप्ट र कतारले उनको रिहाइको लागि आग्रह गरेका थिए ।
जनवरीमा एमईईले रिपोर्ट गरेको थियो कि इजिप्ट र कतारले, हमाससँगै, गाजा युद्धविराम सम्झौताको एक भागको रूपमा बारघुतीको रिहाइ सुरक्षित गर्न ‘सबै उपलब्ध उपायहरू’ प्रयोग गरिरहेका थिए ।
वार्ताको नजिकको एक स्रोतले एमईईलाई बताए कि उनको नाम ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा लिइएका इजरायली बन्दीहरूको लागि साटासाट गरिने शीर्ष व्यक्तित्वहरूमध्ये एक थियो ।
स्रोतअनुसार, कतारी अमीर शेख तमिम् बिन हमाद अल थानी र इजिप्टको जनरल इन्टेलिजेन्स सर्भिसेजका निर्देशक मेजर जनरल हसन महमुद रशादले व्यक्तिगत रूपमा उनको रिहाइको लागि जोड दिन मध्यस्थता गरेका थिए ।
यद्यपि, एक स्रोतले पहिले एमईईलाई बताएको थियो कि वरिष्ठ पीए अधिकारीहरूले उनलाई कुनै पनि आदानप्रदानबाट बहिष्कृत गर्न चाहन्थे किनभने यसले प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासको नेतृत्वलाई खतरामा पार्न सक्छ भन्ने डर थियो ।
अगस्टमा, इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्विरले जेलमा बारघुतीलाई भेटेका थिए र उनलाई धम्की दिँदै भिडियो खिचिएको थियो कि इजरायलले यसको विरोध गर्ने जो कोहीलाई पनि ‘सखाप’ पार्नेछ ।
वृद्ध र कमजोर देखिने बारघुतीलाई वर्षौंपछि सार्वजनिक रूपमा देखिएको यो नै पहिलो पटक थियो ।
भिडियोमा, बेन ग्विरले बारघुतीलाई यसो भनिरहेको देखिन्छ; “जसले इजरायलका मानिसहरूसँग सामना गर्छ, जसले हाम्रा बच्चाहरूको हत्या गर्छ, जसले हाम्रा महिलाहरूको हत्या गर्छ, हामी तिनीहरूलाई सखाप पार्नेछौँ । तिमीहरूले हामीलाई हराउन सक्ने छैनौ” ।
– लुब्ना माशा¥वा, जेरुसेलेम,
९ अक्टोबर, २०२५
स्रोत – मिडल इस्ट आई

Leave a Reply

Your email address will not be published. Required fields are marked *