भर्खरै :

दृष्टिविहीन समस्या यथावत

दृष्टिविहीन समस्या यथावत

आज विश्व दृष्टि दिवस । विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी आइएपीबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउँदै आएको हो । यो वर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने उद्घोषका साथ दृष्टि दिवस मनाइने भएको छ । आँखामा चोटपटक लाग्दा, नसा फुट्दा दृष्टिविहीन हुनसक्छ । अतः संसारलाई हेर्ने, देख्ने आँखालाई बचाउनुपर्छ । दृष्टिविहीन हुँदा संसार अँध्यारो हुन्छ । अहिले संसारमा दृष्टिविहीनहरूको सङ्ख्या बढदै छ । पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्ष र माथिका जनसङ्ख्याको २० प्रतिशतको दृष्टि कमजोर छ । दृष्टिविहीन हुने रोगहरूमा मोतिबिन्दु पहिलो कारक रहेको छ । त्यस्तै आँखाको पर्दाजन्य, आँखाको नानीमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट पनि दृष्टिविहीन हुन्छ ।
विगतको तुलनामा रोगको भार कम भए पनि बुढ्यौलीपन, नयाँ रोगको वृद्धि र गाउँमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग भएकोले सङ्ख्यात्मक रूपमा घट्नुपर्ने हो; तर घटेको देखिँदैन । आँखा विज्ञका अनुसार आँखालाई सही ठाउँमा राख्न आँखालाई ओसिलो बनाउनुपर्छ । आँखामा असर पर्न नदिन प्रत्येक २० मिनेटमा २० सेकेन्ड ब्रेक लिई कम्तीमा २० फिट टाढा हेर्ने गर्नुपर्छ । सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडी मर्मत स्थल, मोटरसाइकल, गाडी चलाउँदा, ट्राफिक प्रहरी ड्युटीमा रहँदा) मा काम गर्दा सुरक्षात्मक चस्मा प्रयोग गर्नुपर्ने सुझाव पनि आँखा विज्ञहरूको छ । आँखालाई सफा बनाइराख्न या आँखा सुखा हुनबाट जोगाउन पानी पर्याप्त पिउनुपर्छ । यसबाहेक आँखाको जाँच समय समयमा गरिरहनुपर्ने हुन्छ । सन्तुलित आहारमा पनि ध्यान दिनुपर्छ ।
समाचार स्रोतअनुसार विश्वमा करिब ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् । २ अर्ब ४६ करोड मानिसहरू कम दृष्टि या दृष्टिजन्य समस्याबाट प्रभावित छन् । विश्वभरि कुल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका या आर्थिक रूपमा कमजोर भएका परिवारका छन् । दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या १ करोड ९० लाखको हाराहारीमा छ । आँखाको रोगबाट मुक्त हुन जनजागरण अभियान फैलाउनुपर्छ† रोगबाट बच्ने उपायबारे जनतालाई सुसूचित पार्नुपर्छ । जनजागरण अभियानअन्तर्गत आँखाका शिविरहरू ठाउँ–ठाउँमा सञ्चालन गर्नुपर्छ; प्रशिक्षणहरू सञ्चालन गर्नुपर्छ । आँखा परीक्षण कार्य विद्यालयदेखि कलेजसम्म बेलाबखत सञ्चालन गर्नु आवश्यक छ । त्यसरी नै गाउँ–बस्ती र सहर बजारमा पनि आँखा शिविर सञ्चालन गर्नु आवश्यक छ । समयमा आँखा परीक्षण नहुनाले पनि आँखा कमजोर भएको या दृष्टिविहीन भएको देखिन्छ ।
जन्मेदेखि होस् या अन्य कुनै कारण दृष्टिविहिन भएमा उनीहरूलाई उज्यालो दिन या दृष्टि दिन नेत्रदान कार्यक्रमहरू राख्नु आवश्यक छ । यस्ता कार्यक्रम दृष्टि दिवसको अवसरमा मात्र होइन अन्य समयमा पनि आँखा अस्पताल, सहकारी तथा सामाजिक संस्था र स्थानीय तहदेखि मन्त्रालय र विभिन्न सरकारी सङ्घ संस्थाहरूले दृष्टि दिवस मनाएर नेत्रदान गर्ने कार्यलाई उत्साहित गर्नुपर्ने देखिन्छ । नेत्रदानले पनि धेरै दृष्टिविहीनहरूले उज्यालो पाएका छन् । मरेपछि खेर जाने आँखा सम्बन्धित निकाय या व्यक्तिलाई खबर गरेर नेत्रदान गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता छ । नेत्रदान गर्नु दृष्टिविहीनहरूको निम्ति ठुलो सेवा हो । यो कुरा विभिन्न स्वास्थ्य निकाय मात्र होइन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले पनि प्रचार प्रसार गर्नुपर्छ† यो कुरा गाउँ–बस्ती र सहर बजारमा पु¥याउनुपर्छ । यो मानव सेवा हो । यो मानव धर्म हो । नेत्रदान कार्यक्रमलाई अभियानको रूपमा विकास गरे, नेत्रदान गरे देशमा रहेका दृष्टिविहीनहरूको सङ्ख्या धेरै घटाउन सकिन्छ । यसमा विशेषतः सरकार र स्वास्थ्य मन्त्रालयको ध्यान पुग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *