भर्खरै :

मनको अदालत

मनको अदालत

प्रताप सहरका गनिएका व्यवसायी थिए । महँगो सूट, चिल्लो गाडी र महल जत्रो घर—बाहिरबाट हेर्दा उनलाई सफलताको जिउँदो मूर्ति भन्न सकिन्थ्यो । उनले आफ्नो व्यवसाय बढाउन सरकारी ठेक्कापट्टामा लाखौँको भ्रष्टाचार गरेका थिए र केही गरीब मानिसको जमीनसमेत बलजफ्ती हडपेका थिए । उनको शक्ति र पैसाले बाहिरी अदालत सधैँ उनको पक्षमा उभियो; प्रमाणहरू कमजोर बनाइए, साक्षीहरू किनिए र प्रताप सधैँ निर्दोष साबित भए । उनी हरेक मुद्दा जितेर गर्वले छाती फुलाउँथे ।
एक रात, उनको ठुलो कोठाको आलिशान पलङ्गमा प्रताप पल्टिएका थिए । बाहिर झरी भएरहेको थियो, भित्र वातानुकूलित कोठामा पूर्ण शान्ति थियो । तर, प्रतापको मनमा भने ठुलो खुल्दुली भइरहेको थियो ।
एक्कासि, उनका आँखा अगाडि एउटा अदृश्य अदालत खुल्यो ।
न त्यहाँ कुनै भवन थियो न कोही वकिल । न्यायाधीश अरू कोही नभएर उनी आफैँ थिए, उनको आत्माको आवाज ।
प्रताप, त्यो आवाज गुञ्ज्यिो, “बाहिरको अदालतमा तिमी निर्दोष छौ तर यहाँ, यो मनको अदालतमा तिमी प्रथम श्रेणीका दोषी हौ ।”
प्रतापले आँखा चिम्म गरेर त्यो आवाजलाई रोक्न खोजे, तर आवाज रोकिएन ।
न्यायाधीश प्रतापले भने, “त्यो गरीब किसानको आँसु, के त्यसलाई तिम्रो सम्पत्तिले पुर्न सक्छ ?”
“रातमा निदाउन किन गाह्रो हुन्छ तिमीलाई ? किनकि तिम्रो मनलाई थाहा छ — तिमीले लुटेका हौ, धोका दिएका हौ ।”
उनको मनले उनको सम्पत्तिलाई हे¥यो— त्यो एउटा भव्य कारागारजस्तो देखियो । उनले जितेका मुद्दाका फैसलाहरू कागजका फुस्रा टुक्राझैँ भए, जसले उनको भित्री अपराधबोधलाई छोप्न सकेनन् । पश्चात्ताप, डर र बेचैनी— यी नै थिए मनको अदालतले सुनाएको सजायको फैसला । उनी बाहिरको दुनियाँका विजेता भए पनि, मनको अदालतमा सजाय भोगिरहेका कैदी थिए ।
त्यही सहरको अर्को कुनामा, एकजना शिक्षक रामेश्वर सानो भाडाको कोठामा आफ्नी श्रीमती र दुई छोराछोरीसँग खुसीसाथ बसिरहेका थिए । उनको तलब थोरै थियो, जीवन सङ्घर्षपूर्ण थियो तर उनले कहिल्यै कुनै प्रलोभन वा अनैतिक काममा हात हालेनन् । उनी थोरैमा पनि सधैँ सन्तुष्ट हुन्थे ।
त्यो रात, रामेश्वरले आफ्नो छोरालाई पढाउँदै थिए । अध्यापनपछि श्रीमतीसँग दुःख–सुखका कुरा गरे । जब उनी सुत्न पल्टिए, उनको मनमा पनि एउटा अदालत खुल्यो ।
न्यायाधीश रामेश्वरले भने, “बाहिर तिमी सामान्य मानिस हौ, तिमीसँग ठुलो सम्पत्ति छैन ।”
तर, न्यायाधीशको स्वरमा गहिरो शान्ति थियो, “यो मनको अदालतले तिमीलाई निर्दोष र महान् ठहराएको छ । तिमीले जे ग¥यौ, इमानदारीले ग¥यौ । यही सन्तोष नै तिम्रो सबैभन्दा ठुलो पुरस्कार हो ।”
रामेश्वरको हृदयमा गहिरो आत्मगौरवको अनुभूति भयो । उनको सानो कोठा आज उनलाई शान्तिको मन्दिरजस्तो लाग्यो । उनलाई थाहा थियो— यो सुख कुनै पैसाले किन्न सकिँदैन, यो त सत्यको बाटोमा हिँड्दा मनको अदालतले दिएको सर्वोच्च फैसला थियो । उनी गहिरो, शान्त निद्रामा डुबे, जुन प्रतापले करोडौँ खर्च गरेर पनि किन्न सक्दैनथे ।
मनको अदालतले दिएको फैसला नै साँचो न्याय हो । त्यहाँ झूट टिक्दैन र त्यसको शान्ति नै संसारको सबैभन्दा ठुलो पुरस्कार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *