भर्खरै :

देश बनाउन र जोगाउन पनि युवाहरू जुट्नु जरुरी

देश बनाउन र जोगाउन पनि युवाहरू जुट्नु जरुरी

देशको राजनीतिक व्यवस्था पुँजीवादी व्यवस्था हो भन्ने कुरामा शङ्का छैन । पुँजीवादी व्यवस्थाले पुँजीपतिवर्गकै सेवा गर्छ । पुँजीवादी व्यवस्था रहेसम्म जो सरकार आए पनि कामदारवर्गको सेवा हुँदैन । पुँजीवादी व्यवस्था अन्त्य गरी समाजवादी व्यवस्था आएपछि मात्र बहुमत जनताको सेवा हुन्छ । यसबारे देशका शासक दल, राजनीतिक दल, नागरिक समाज या अन्य कुनै समूह स्पष्ट हुनुपर्छ । जेन–जी आन्दोलनको क्रममा गोली हान्ने, आगजनी र तोडफोड गर्नेहरू को को हुन्, छानबिन गर्नुपर्छ; दोषी ठहरिएकाहरूलाई कारबाही गर्नुपर्छ; यसमा दुविधा छैन । यसै सन्दर्भमा जेन–जी आन्दोलनमा भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने दबाब छ । आन्दोलनमाथि दमन गर्नेहरूको मात्र होइन तोडफोड र आगजनी गर्नेहरूमाथि पनि छानबिन गरी कारबाही गर्नुपर्ने अर्को तड्कारो प्रश्न छ । जेन–जीका आन्दोलनकारीहरूले अख्तियारका प्रमुख र आयुक्त परिवर्तन गर्नुपर्ने माग पनि गरे । तर, यी माग पूरा हुँदैमा वर्तमान सरकार जनताको सरकार हुने होइन ।
यो निर्वाचित सरकार होइन । यो सरकारले आन्दोलनकारीहरूको मागअनुसार भ्रष्टाचारीहरू, संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालतजस्ता महत्वपूर्ण भवनहरूमा आगजन्य गर्नेहरूमाथि कारबाही भएमा स्वागतयोग्य नै हुनेछ । तर, जेन–जी आन्दोलनले देशमा कुनै दिशा निर्देश गर्न सक्दैन । भावी लक्ष्य नभएको कुनै पनि समूहले देशलाई कुन दिशातर्फ लाने भन्ने निश्चित हुँदैन । देशमा अत्याचार बढेको, सहनै नसक्ने गरी भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवा पुस्ता उठ्नु राम्रो हो; उठ्नुपर्छ । देशमा देखिएको विकृति, विसङ्गतिविरुद्ध युवा उठे समाज परिवर्तनमा ठुलो टेवा पुग्छ । यो चेतनाको सङ्केत पनि हो । देशको विकास र सुशासनमा युवाहरूको महत्वपूर्ण भूमिका हुन्छ, हुनुपर्छ । युवाहरू समाज परिवर्तन गर्न पनि आन्दोलनमा सरिक भइरहनुपर्छ । युवाहरू भ्रष्टाचार र अनियमितताको विरोधमा उठेझैँ विदेशी हस्तक्षेप, सीमा अतिक्रमण र अतिक्रमित भूमि फिर्ता दिने विषयमा पनि उठ्नु जरुरी छ ।
देश बनाउने र जोगाउने काममा युवाहरू जुटे सीमा अतिक्रमण रोकिने छ; विदेशी हस्तक्षेप हुनेछैन । भागबन्डाको राजनीति गरेर देशको राजनीतिलाई अस्थिर बनाउने, दलगत र व्यक्तिगत स्वार्थमा पल्केर देश र जनता भुल्ने दलहरूको विरोधमा युवा पुस्ता जाग्नुपर्छ । युवाहरूको जिम्मेवारी सामाजिक सञ्जाल सञ्चालनमा सीमित हुनु हुँदैन । अन्धविश्वास र कुरीतिविरुद्ध पनि युवाहरू लाग्नुपर्छ । कुरीति र अन्धविश्वासले समाज ढाकेसम्म परिवर्तन गर्न कठिन हुन्छ । सन्तुलित विकास गरेर देशको चौतर्फी विकास गर्ने विषयमा पनि युवाहरूको ध्यान पुग्नुपर्छ । महिला वेचबिखन र महिला वेश्यालयमा पु¥याउने कार्य रोक्न, बालबालिका बेपत्ता पारेर लाखौँ रकम असुल्ने, अङ्ग बेचबिखन गर्ने कार्यको विरोधमा पनि सशक्त आवाज उठाउनुपर्छ । युवाहरू राजनीतिमा भिजेका छैनन्, देशको राजनीतिबारे यथोचित ज्ञान छैन भनेर पछि हट्नु हुँदैन । देशको राजनीतिबारे थाहा पाउनुपर्छ । देशमा रहेका सबै राजनीतिक दलहरूको सिद्धान्त र विचारबारे थाहा पाउनुपर्छ । कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गरेको छ ? त्यो कुरा थाहा पाउनैपर्छ ।
देशमा रासायनिक मल कारखाना खोल्न युवाहरूले सरकारलाई दबाब दिनुपर्छ । १ देखि १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न र गराउन युवाहरू किन नलाग्ने ? नेपाललगायत संसारका स्वाधीन तथा सार्वभौम देशहरूमा भइरहेको आक्रमण, हस्तक्षेप, नाकाबन्दीको विरोधमा युवाहरू लाग्नुपर्छ । नत्र, ठुला शक्ति राष्ट्रले कुनै पनि बेला हस्तक्षेप र आक्रमण गर्न सक्छ । देश जोगाउन र बनाउन युवा लागेमा, सरकारलाई घच्घच्याएमा अवश्य काम बन्छ । त्यसले देश र जनताकै भलो गर्छ । कुनै पनि आन्दोलनको निश्चित उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्न नै सङ्घर्ष हुने हो । आन्दोलनमा घुसपैठ हुनेतर्फ सचेत हुनुपर्छ । आगजनी र तोडफोड आयोजकले गरेको होइन भनेर अरुले जे गरे पनि टुलुटुलु हेरेर बस्ने होइन । गलत काम जसले गरे पनि विरोध गर्नुपर्छ । बुद्धले भनेका थिए, अन्याय गर्ने मात्र अन्यायी होइन अन्याय गरेको देखेर त्यसको विरोध नगर्ने या टुलुटुलु हेरेर बस्ने पनि अन्यायी हुन्छ । अतः अन्याय, अत्याचार, शोषण, दमन, आक्रमण, हस्तक्षेप, भ्रष्टाचार, अनियमितताको विरोध गर्नुपर्छ; गरिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *