भर्खरै :

चे, फिडेलको संस्मरणमा – ६

चे, फिडेलको संस्मरणमा – ६

चे ग्वेभाराको सम्झनामा हवानाको क्रान्ति चोक (Revolution Plaza) मा अक्टोबर १८, १९६७ को दिन १० लाख जनताको सहभागितामा भएको स्मृति सभामा फिडेल क्यास्ट्रोले गर्नुभएको टिप्पणी प्रस्तुत छ –
मैले प्रथमपटक चेलाई जुलाई वा अगस्त महिनामा १९५५ मा भेटेको थिएँ । एकरात उनी भावी ग्रान्मा (Granma) सैनिक टोली नेता बने, जुनबेला हाम्रो टोलीसँग न कुनै जहाज, न हतियार न त सेना नै थियो । यसरी राउल र चे ग्रान्माको सूचीका प्रथम दुई व्यक्ति थिए ।
त्यसबेलादेखि अहिलेसम्म १२ वर्ष बितिसकेको छ त्यो १२ वर्ष सङ्घर्ष र ऐतिहासिक महत्वको छ । सो अवधिमा मृत्युले धेरै बहादुर तथा अमूल्य जीवनलाई खोसेर लग्यो । तर, सोही समयमा क्रान्तिकारी वर्षहरूमा क्रान्तिका जनता माझबाट असाधारण व्यक्तित्वहरू उदाए तथा तिनीहरूबिच पलाएको स्नेह र मित्रताको बन्धन अवर्णनीय छ ।
आज हामी हाम्रो निकट रहेका, हामीले बढी प्रशंसा गरेका, हाम्रो प्रिय तथा सबभन्दा असाधारण हाम्रा क्रान्तिकारी कामरेडहरूमध्ये एकप्रति आफ्नो भावना व्यक्त गर्न गइरहेका छौँ । हामी यहाँ उनीप्रति तथा उनीसँगै लडेर सहिद भएका, इतिहासमा एउटा गौरवशाली र अविस्मरणीय पृष्ठ थप्ने उनको अन्तर्राष्ट्रवादी सेनाप्रति आफ्नो भावना व्यक्त गर्न भेला भएका छौँ ।
उनको अन्य विशेषता तथा गुणबाट अपरिचितहरू पनि उनको सरलता, उनको चरित्र, उनको स्वभाव, उनको मैत्रीपूर्ण प्रवृत्ति, आफ्नो व्यक्तित्व र आफ्नोपनका कारणका चेलाई सबै मन पराउँथे । आफ्नो सुरुका दिनहरूमा उनी हाम्रो टोलीको चिकित्सक थिए तथा उनीप्रतिको मैत्री र न्यानो भावनाको बन्धन बढ्दै गयो । उनको मनमा साम्राज्यवादप्रति अत्यन्त चर्को घृणाको भावना थियो । सो भावना उनको राजनैतिक शिक्षा पहिले नै विकसित भएको हुँदा मात्र नभई उनी ग्वाटेमालामा क्रान्तिलाई दबाउने साम्राज्यवादी हस्तक्षेपका प्रत्यक्षदर्शी बन्ने अवसर पनि उनले पाएका थिए ।
चे जस्तो व्यक्तिलाई विस्तृत तर्कहरूको आवश्यकता थिएन । क्युवा पनि त्यस्तै परिस्थितिमा थियो तथा त्यहाँका जनता त्यो परिस्थितिविरुद्ध सशस्त्र सङ्घर्ष गर्न दृढ छन् भन्ने कुरा बुझ्नु नै उनको लागि पर्याप्त थियो । ती जनता सच्चा क्रान्तिकारी र देशभक्तिका आदर्शबाट प्रेरित भएको थाहा पाउनु नै उनको लागि यति नै पर्याप्त थियो ।
नोभेम्बर १९५६ को अन्त्यमा एकदिन उनी हामीसँग मिलेर क्युवातर्फ प्रस्थान गरे । सो यात्रा उनको लागि कठिन थियो । किनभने, जुन परिस्थितिहरूमा त्यो यात्राको योजना बनाइएको थियो, उनले आफ्नो लागि आवश्यक औषधि पनि बोक्न पाएनन् । यात्राभर उनी दमबाट पीडित थिए तथा कुनै पनि औषधि उपलब्ध थिएन, तर उनले कुनै गुनासो पनि गरेनन् ।
हामी त्यहाँ पुग्यौँ, आफ्नो प्रथम अभियान सुरु गर्याैँ, कठिनाइ सामना गर्याैँ तथा केही हप्तापछि बाँच्न सफल भएका क्युवा पुगेको टोलीका सदस्यहरू पुनः एकजुट हुन सफल भयौँ । चे हाम्रो टोलीको चिकित्सक बनिरहे । हामी आफ्नो प्रथम युद्धमा विजयी भयौँ । चे हाम्रो टोलीका सैनिकको साथसाथै चिकित्सक पनि भए । हामी आफ्नो दोस्रो युद्धमा पनि विजयी भयौँ । सो सङ्घर्षमा चे एक सैनिकमात्र नभई सबभन्दा विशिष्ट सैनिक भए तथा प्रथमपटक उनी एक्लैले बहादुरी देखाए । त्यसले गर्दा सम्पूर्ण सैनिक अभियानमा उनी चर्चित भए । हाम्रो सेनाले विकास गर्दै गयो । चाँडै नै हामीले अर्को असाधारण महत्वको सङ्घर्षको सामना गर्याैँ ।
परिस्थिति कठिन थियो । हामीसँग भएको सूचना धेरै अर्थमा खोटपूर्ण थियो । हामी बिहान, दिनको उज्यालोमा, समुद्री किनारमा राम्रो सुरक्षा गरिएको र व्यवस्थित सशस्त्र स्थिति भएको ठाउँमा आक्रमण गर्न गइरहेका थियौँ । शत्रु सेना हाम्रो नजिकै थियो, त्यति टाढा थिएन । यस्तो अन्योलपूर्ण परिस्थतिमा जनतालाई अत्यन्त ठुलो प्रयास गर्न अनुरोध गर्न आवश्यक थियो ।
कामरेड जुआन अलमेदा (Juan Almeda) ले एउटा कठिन अभियानको जिम्मेवारी लिए, तर टोलीको एउटा भागमा कुनै आक्रामक शक्ति थिएन । सो अभियान डरलाग्दो थियो । सो क्षण हाम्रो चिकित्सकको रूपमा कार्यरत चेले ३ वा ४ जना व्यक्तिको निम्ति अनुरोध गरे, तीमध्ये एकजनासँग मेसिनगन थियो । केही क्षणभित्रै सो दिशामा आक्रमणको अभियान सुरु गरियो ।
सो अवसरमा उनी एक विशिष्ट योद्धा नभई चिकित्सक पनि थिए, एकातिर उनी घाइते कामरेडहरूको उपचार गरिरहेका थिए भने अर्कोतिर शत्रु सैनिकहरूको पनि उपचार गरिरहेका थिए ।
सबै हतियारहरू कब्जा गरिएपछि सो ठाउँ छोड्नु, धेरै शत्रु दलहरूको सिपाहीहरूको सामना गर्दै लामो यात्रा गरेर फर्कनु आवश्यक थियो । घाइतेहरूको साथमा पनि कोही रहनु आवश्यक थियो र चेले त्यसो गरे । हाम्रो सैनिकको सानो समूहका साथ उनले तिनीहरूको राम्रो हेरचाह गरे; तिनीहरूको ज्यान बचाए तथा पछि गएर पुनः टोलीमा सामेल भए ।
त्यो समयदेखि उनी एक सक्षम र बहादुर नेता तथा एक कठिन अभियानमा जाने बेला त्यसलाई पूरा गर्न सम्झाउनुपर्ने गरी आफै अभियानमा जाने नेताको रूपमा उदाए ।
त्यो एल युभेरो (EI Uvero) को सङ्घर्ष थियो तर उनले पहिलेका धेरै अवसरहरूमा जस्तै काम गरे । हाम्रा पहिलेका दिनहरूमा विश्वासघातको कारण हाम्रो सानो टोलीमाथि धेरै विमानहरूले आक्रमण गरे तथा बमबारी भएपछि हामी पछाडि हट्न बाध्य भयौँ । हामी हिँडेर अलि पर पुगेपछि हामीसँग पहिले रहेका तथा हाम्रो सेना आफ्नो प्रारम्भिक चरणमा रहेको हुँदा आफ्नो परिवार भेट्न जान हामीसँग बिदा लिएका केही किसान सैनिकहरूको राइफल पछाडि छुटेको सम्झना भयो । सो क्षणमा हामीले राइफलहरू त्यत्तिकै रहन देऔँ भन्ने सोच्यौँ । तर सो गर्नु चेको लागि समस्या बढाउनुमात्रै हुने मैले सोचें किनभने त्यस्तो बेलामा चे बमबारी भए तापनि राइफल लिन जान्थे ।
यो उनको एउटा मुख्य स्वभाव सबभन्दा डरलाग्दो अभियानमा पनि तत्कालै जाने उनको तत्परता थियो । हाम्रो भूमिमा नजन्मे तापनि हामीसँगै लडिरहेका सहयोद्धा, दृढ विचार भएका व्यक्ति, आफ्नो महादेशका अन्य भागहरूमा सङ्घर्ष गर्ने सपना साँचेका व्यक्ति, अरुको विषयमा सोच्ने, स्वार्थहीन, आफ्नो ज्यानलाई निरन्तर खतरामा पारेर खतरनाक कामहरू गर्ने तत्परताको कारण उनी प्रशंसाका पात्र थिए ।
यसरी उनले कमान्डरको पद प्राप्त गरे तथा सियरा मायस्ट्रा (Sierra Maestra) मा सङ्गठित दोस्रो समूहको नेता बने । उनको सम्मान बढ्न बाल्यो । उनी एक असाधारण योद्धाका रूपमा विकसित भए तथा युद्धताका सेनाको सबभन्दा उच्च तहमा पुगे ।
चे एक अतुलनीय सैनिक र अतुलनीय नेता थिए । सैनिक दृष्टिकोणबाट चे एक असाधारण सक्षम व्यक्ति, असाधारण साहसी तथा आक्रामक व्यक्ति थिए । एक छापामारको रूपमा उनका केही कमजोरी थिए भने त्यो उनको आक्रामकता, खतरासँग खेल्ने उनको विशेषता थियो ।
उनको मृत्युबाट शत्रुहरूले केही निश्चित निष्कर्षहरू निकाल्न सक्छन् । चे युद्ध प्रणालीका मालिक थिए । उनी छापामार सङ्घर्षका कलाकार थिए तथा धेरैपटक उनले यो कुरा देखाए । तर, उनले विशेषगरी दुईवटा असाधारण कामहरूमा आफ्नो क्षमता देखाए । तीमध्ये एउटा आक्रमण थियो जसमा उनले क्यामिलो सियनफ्युगोस
(Camilo–Cienfuegos) सँग मिलेर एउटा अज्ञात भूमिमा हजारौँ शत्रु सैनिकहरूले पछ्याउँदै गरेको एउटा टोलीको नेतृत्व गरे जुन एउटा असाधारण सैनिक उपलब्धि थियो । लास भिलास (Las Villas) प्रान्तमा गरिएको एउटा अभियानमा पनि उनले यस्तै बहादुरी देखाए । टैङ्क, तोप र सयौँ पैदल सैनिकले घेरिएको सान्ता क्लारा (Santa Clara) सहरमा मात्र ३ सय सैनिकको साथ आक्रमणको नेतृत्व उनले गरे । यी दुई बहादुरीपूर्ण कामले उनलाई एक असाधारण सक्षम नेता, शिल्पकार र क्रान्तिकारी युद्धका कलाकारको रूपमा परिचित गराए ।
तथापि अहिले उनको वीरतापूर्ण र गौरवशाली मृत्युपछि केही व्यक्तिहरू उनको अवधारणाको सत्यता वा मूल्य, उनको छापामार सिद्धान्तहरू अस्वीकार गर्ने प्रयास गरे । क्रान्तिकारी सङ्घर्षजस्तो खतराजनक क्षेत्रमा काम गर्ने व्यक्ति मर्न सक्छ तर उनले जुन कामको लागि आफ्नो ज्यान समर्पण गरे त्यो काम, जसको लागि आफ्नो ज्ञान समर्पण गरे त्यो काम कहिल्यै मर्दैन ।
लडाइँमा यी योद्धा मारिए, यो तथ्यमा के अनौठो कुरा छ ? हाम्रो क्रान्तिकारी सङ्घर्षको समयमा आफ्नो ज्यान खतरामा पारेका धेरै अवसरहरूमा उनी नमरेको तथ्य अनौठो छ । धेरैपटक स–साना महत्वका घटनाहरूमा उनको ज्यान गुमाउनबाट रोक्न कदम चाल्नु आवश्यक भएको थियो ।
लडाइँमा यस्तै भयो । उनले लडेका धेरै सङ्घर्षहरूमध्ये एकमा उनको मृत्यु भयो । कुन परिस्थितिहरूमा त्यो युद्ध भयो तथा उनले कुन हदसम्म आक्रामक रूपमा लडाइँ गरे भन्ने कुराको हामीसँग पर्याप्त प्रमाण छैन । तर, एक छापामारको रूपमा उनको जीवन, अनुभव, क्षमता तथा उनको जीवन उनी आफैभन्दा बढी महत्वपूर्ण छ ।
इतिहासमा व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ, व्यक्तिको मृत्युसँगै उसको उद्देश्यको पराजय हुँदैन, इतिहासको शक्तिशाली यात्रा नेताहरूको मृत्युबाट रोकिने छैन भन्ने विचारबाट उनको व्यवहार प्रभावित थियो ।
यो कुरा एकदम सही छ, यसमा कुनै शङ्का छैन । यसले उनको आफ्नो जनतामा विश्वास, आफ्नो विचारमा विश्वास र उदाहरणहरूमा उनको विश्वासलाई देखाउँछ । मैले केही दिनअगाडि भनेजस्तै हामी उनलाई विजयको प्रतीकको रूपमा हेर्न चाहन्छौँ, उनको नेतृत्व र आदेशमा विजयहरू प्राप्त भएका हेर्न चाहन्छौँ, किनभने उदाहरणलाई धेरैले पछ्याउने छन् तथा उनीजस्ता धेरै व्यक्ति उदाउनेछन् भन्ने कुरा कुराप्रति हामी पूरा विश्वस्त छौँ ।
चेमा भएका जस्ता गुणहरू एउटै व्यक्तिमा हुनु सजिलो छैन । उनी त्यस्ता व्यक्ति थिए–जसको उदाहरण पाउनु कठिन छ तथा साँच्चै भनुँ भने उनलाई उछिन्नु असम्भव छ । उनी जस्तो व्यक्तिको उदाहरणले उस्तै क्षमता भएका अन्य व्यक्ति उदाउनमा योगदान गर्दछ ।
चेमा हामी उनलाई ठुल्ठुला विजय प्राप्त गर्न सक्षम व्यक्तिको रूपमा मात्र सम्मान गर्दैनौँ । सम्पूर्ण छिमेकी देशहरूका सत्तारुढ अल्पतन्त्रको शासकहरूको समर्थन पाएका, अमेरिकी साम्राज्यवादले पठाएका अमेरिकी सल्लाहकारहरूद्वारा प्रशिक्षित सेनाविरुद्ध मुट्ठीभर व्यक्तिहरूको साथ लिएर अल्पतन्त्रको विरोधमा सङ्घर्ष गर्नु आफैमा एउटा असाधारण विजय हो ।
यदि हामीले इतिहासका पृष्ठहरूमा खोज्ने हो भने शोषित व्यक्तिहरूका साथमा कुनै नेताले यस्तो महत्वपूर्ण काम गर्नु, सीमित व्यक्तिहरूका साथमा यस्तो ठुलो शक्तिहरूविरुद्ध सङ्घर्ष गर्नु, इतिहासमा अर्को यस्तो घटना पाउनै सक्दैनौँ । आफैमा विश्वासको प्रमाण, जनतामाथि विश्वास गर्ने प्रमाण, सङ्घर्ष गर्ने मानिसको क्षमताप्रतिको विश्वासको प्रमाण इतिहासका पृष्ठहरूमा खोज्न सकिन्छ तर यस्तो कहिल्यै भेटिने छैन किनभने उनको मृत्यु भयो ।
शत्रुले चेको विचार, उनको छापामार अवधारणा, उनको क्रान्तिकारी सशस्त्र सङ्घर्षप्रतिको दृष्टिकोणलाई पराजित गरेको कुरामा विश्वास गर्दछ । प्रयोगवश उनीहरूले प्राप्त गरेको उपलब्धि भनेको शारीरिक रूपमा लास हो ।
युद्धमा शत्रुले प्राप्त गर्नसक्ने आकस्मिक फाइदा तिनीहरूले प्राप्त गरे । चेको अत्यधिक आक्रामकता, खतरालाई अवमूल्यन गर्ने उनको व्यवहार जस्तो उनको विशेषताको कारण त्यो सङ्घर्षमा संयोगले शत्रुको कति हदसम्म मद्दत गर्यो भन्ने कुरा हामीलाई थाहा छैन ।
हाम्रो स्वाधीनता युद्धमा पनि यस्तै भएको थियो । डास रियोस (Das Rios) को सङ्घर्षमा तिनीहरूले हाम्रो स्वाधीनताका प्रतीक जोसे मार्टि (Jose Marti) लाई मारे । पुन्टा ब्राभा
(Putna Brava) को सङ्घर्षमा तिनीहरूले क्युवाली स्वाधीनता युद्धलगायतका सयौँ सङ्घर्षहरूका एक योद्धा एन्टोनियो मासेओ
(Antonio Maceo) लाई मारे । यस्तै सङ्घर्षहरूमा अनगिन्ती नेताहरू, हाम्रो स्वाधीनता युद्धमा अनगिन्ती देशभक्तहरू मारिए । तैपनि, त्यसले हाम्रो क्युवाली उद्देश्यलाई पराजित गर्न सकेन । चेको मृत्यु क्रान्तिकारी आन्दोलनको लागि एउटा कडा प्रहार हो । किनभने, बिना शङ्का आन्दोलनले एक अनुभवी र एक सक्षम नेता गुमायो ।
तर, विजयको दाबी गर्नेहरूले गल्ती गरेका छन् । उनको मृत्युसँगै उनको विचार, उनको दाउपेच, उनको छापामार अवधारणा, उनको सिद्धान्तको अन्त्य हुन्छ भन्ने तिनीहरूको सोच गलत छ । भाग्यको कारण चेलाई मार्न सफल भएको व्यक्तिभन्दा एक मरणशील प्राणीको रूपमा, धेरैपटक गोलीको सामना गरेका व्यक्ति, एक सैनिक, एक नेताको रूपमा मर्ने व्यक्ति हजार गुणा बढी सक्षम हुन्छ ।
क्रान्तिकारीहरूले यो गम्भीर अस्थायी हारको कसरी सामना गर्नुपर्छ ? कसरी यस क्षतिको सामना गर्नुपर्छ ? यदि चेले यस विषयमा व्यक्त गर्नुपरेको भए त्यो कस्तो हुने थियो ? महादेशीय ल्याटिन अमेरिकी ऐक्यबद्धता सम्मेलनमा उनले यदि कहीँ मृत्युको सामना गर्नुपर्यो भने उनको युद्धको आह्वान एउटा इच्छुक कानमा पर्यो भने तथा अर्को एउटा हात उनको राइफल उठाउन उठ्यो भने स्वागतयोग्य हुने बताएका थिए ।
उनको आह्वान एउटामात्र इच्छुक कानमा नभई लाखौँ इच्छुक कानहरूमा पुग्नेछ । उनको उदाहरणबाट प्रेरित एउटामात्र नभई लाखौँ हातहरू हतियार बोक्न उठनेछन् । नयाँ–नयाँ नेताहरू उदाउनेछन् । इच्छुक कान र मुठी कसेका हातहरूको लागि नेताहरूको आवश्यकता पर्नेछ जुन तिनीहरूको माझबाट उदाउनेछ सबै क्रान्तिमा नेताहरू उदाएजस्तै ।
ती हातहरूले चे जस्तो असाधारण अनुभव र धेरै क्षमता भएको नेता पाउने छैनन् । ती नेताहरू सङ्घर्षको प्रक्रियामा बन्नेछन् । ती नेताहरू लाखौँ इच्छुक कानहरू, ढीलो वा चाँडो हतियार बोक्न उठ्ने लाखौँ हातहरूले बिचबाट उठनेछन् ।
क्रान्तिकारी सङ्घर्षको व्यवहारिक क्षेत्रमा उनको मृत्युले तत्काल परिणाम ल्याउनेछ तथा यो सङ्घर्षको विकासमा तत्काल असर पर्नु आवश्यक छ भन्ने कुरा हामी सोच्दैनौ । चेले हतियार उठाउँदा उनी तत्काल विजयमा थिएनन्, साम्राज्यवाद तथा अल्पतन्त्रका विरुद्ध तत्काल विजय प्राप्त हुने सोचेका थिएनन् । एक अनुभवी योद्धाको रूपमा उनी आवश्यक परे ५,१०,१५ वा २० वर्षको लामो सङ्घर्ष गर्न तयार थिए । उनी ५,१०, १५ वा २० वर्ष, आफ्नो सम्पूर्ण जविनभर लड्न तयार थिए । यस्तो परिस्थितिमा उनको मृत्यु वा उनको उदाहरणले ठुलो असर पर्दछ । त्यस उदाहरणको शक्ति अजय हुनेछ ।
चेको ज्यान लिने भाग्यशाली प्रहारलाई महत्व दिनेहरूले व्यर्थमा एक नेताको रूपमा उनको अनुभव र क्षमतालाई अस्वीकार गर्ने प्रयास गरेका छन् । चे एक असाधारण र सक्षम सैनिक नेता थिए । तर, जब हामी चेलाई स्मरण गर्छौँ, चेको विषयमा सोच्छौँ, हामी प्रायःजसो उनको सैनिक गुणलाई स्मरण गर्दैनाँै । युद्ध एउटा उपाय हो, उद्देश्य होइन । युद्ध क्रान्तिकारीहरूको ज्यावल हो । महत्वपूर्ण कुरा क्रान्ति हो । क्रान्तिकारी उद्देश्य, क्रान्तिकारी विचार, क्रान्तिकारी लक्ष्य, क्रान्तिकारी भावना र क्रान्तिकारी मूल्यहरू महत्वपूर्ण छन् ।
त्यस क्षेत्रमा उनको सैनिक गुणबाहेक उनको विचार, भावना, क्रान्तिकारी गुण र ज्ञानको क्षेत्रमा उनको मृत्युले क्रान्तिकारी आन्दोलनलाई ठुलो क्षति पु¥याएको हाम्रो धारणा छ ।
चेको असाधारण चरित्र विरलै एकैसाथ पाइने गुणहरूले बनेको छ । उनी सङ्घर्षमा अतुलनीय व्यक्ति थिए तर यतिमात्र होइन उनी दूरदृष्टि भएका बुद्धिमान व्यक्ति, व्यापक संस्कृति भएको व्यक्ति र एक ठुलो विचारक थिए । विचारका व्यक्ति तथा सङ्घर्षशील व्यक्ति र यी दुवै गुण उनीमा थियो । तर, चेले विचारको व्यक्तित्व तथा सङ्घर्षशीलताको व्यक्तित्व जस्तो दुईवटै विशेषतामात्र बोकेका थिएनन् । एक क्रान्तिकारीको रूपमा चेसँग एक क्रान्तिकारीमा हुनुपर्ने गुणहरूको सम्पूर्णताको अभिव्यक्ति थियो । उनी पूर्ण समर्पित व्यक्ति, उच्च सम्मानित व्यक्तित्वका धनी, पूर्ण रूपले इमानदार, कठिनभन्दा कठिन परिस्थितिमा पनि कुनै पनि गुनासो नगरी बाँच्न सक्ने व्यक्तित्व तथा आचरणमा कुनै पनि दाग नभएको व्यक्तित्व थियो । साँचो अर्थमा हामी उनलाई एक आदर्श क्रान्तिकारीको रूपमा लिन सक्छौँ ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *