चे, फिडेलको संस्मरणमा – ६
- आश्विन २५, २०८२
‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो; वामपन्थी पत्रिका हो । वामपन्थीहरूको पत्रिकामा वामपन्थी आन्दोलन या शोषित–पीडित जनताको पक्षमा लड्ने, स्वतन्त्रता र देश जोगाउनेको निम्ति लड्ने नेता या वीरहरूको जीवनी या योगदान छापिएको हुन्छ । ‘मजदुर’ दैनिकले त्यो कर्तव्य निर्वाह गरिरहेको पनि छ । तर, कहिलेकाहीँ दाँतमा ढुङ्गा परेझैँ साम्राज्यवादी पक्षधरहरूको भनाइ पत्रिकामा छापेर पत्रिकाको मर्ममा नै आँच पुग्ने काम भएको देख्दा मन दुख्छ ।
साम्राज्यवादी, विस्तारवादी र पुँजीपतिहरू कहिले पनि वामपन्थी, कम्युनिस्टहरूको सरकार स्वीकार्दैनन्, आत्मसात गर्दैनन् । उनीहरू कम्युनिस्ट या वामपन्थी सरकार र त्यस्तो सरकारका नेताहरूलाई उठाउन चाहँदैनन्; त्यो देशमा विकास भएको हेर्न चाहँदैनन् । अनि उनीहरू देश र जनताको स्वतन्त्रता र सार्वभौमसत्ताको निम्ति लड्ने कम्युनिस्ट, देशभक्त र वामपन्थी नेताहरूलाई अनेक आरोप लगाउँछन्; झूटको खेती गरेर भ्रम फिजाउँछन् । साम्राज्यवादी र पुँजीवादीहरूले भेनेजुयलाका राष्ट्रपति निकोलसलाई ‘उग्रवामपन्थी’ र ‘अधिनायकवादी’ भनेकोमा कुनै आश्चर्य छैन । देश र जनताको निम्ति सङ्घर्षरत नेताहरूलाई उनीहरू ‘अयोग्य’, ‘देशविरोधी’, ‘शान्तिविरोधी’, ‘प्रजातन्त्रविरोधी’ भनी अनेक आरोप लगाउँछन् । जबकि ती आरोप लगाउनेहरू साम्राज्यवादी, विस्तारवादी र पुँजीवादीहरू हुन् । उनीहरू संसारमा आतङ्क मच्चाउँछन्† आक्रमण गरेर गाउँबस्तीमा बम प्रहार गरी ध्वस्त बनाउँछन् र नरसंहार गर्छन् ।
साम्राज्यवादीहरू या साम्राज्यवादको पछि लाग्ने, प्रजातन्त्रको नाउँमा अप्रजातान्त्रिक र अराजक गतविधि गर्ने उच्छृङ्खलहरू नै वामपन्थीहरूको देशमा भएको निर्वाचनलाई धाँधली देख्छन्; देशविरोधी ठान्छन् । निर्वाचनमा निष्पक्ष नभएको भनी झूट बक्छन् । यसरी झूट बक्ने साम्राज्यवादीहरूको स्वर ‘मजदुर’ दैनिकमा पढ्नु पर्दा एक वामपन्थी कार्यकर्ता र शुभचिन्तक व्यक्तिको मनमा चित्त दुख्नु स्वाभाविक हो ।
प्रसङ्ग असोज २३ गते प्रकाशित ‘मजदुर’ दैनिकको सातौँ पृष्ठमा छापिएको ‘ल्याटिन अमेरिकामा बढ्दै छ ट्रम्पको आक्रामकता’ शीर्षकको हो । शीर्षक राम्रो लागेर लेख सरसरती पढेँ । सो लेखमा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई ‘उग्रवामपन्थी’, ‘अधिनायकवादी’ र ‘अयोग्य’ भनिएको भनाइ छापियो । सन् २०२४ को निर्वाचनमा ‘व्यापक धाँधली’ भएको खबर छापियो । भनाइ साम्राज्यवादी तथा त्यसका पिछलग्गूहरूको हो । अतः लेख कुन सही र गलत हो; छुट्याएर मात्रै छाप्नु उपयुक्त हुन्छ । पत्रिकाको विचार र उद्देश्यमै दाग लगाउने खालको लेख छाप्नु उपयुक्त होइन । पत्रिकामा कार्यरत पत्रकारहरूको ध्यान अझ नपुगेको हो कि !
– दानबहादुर कपाली, शुभचिन्तक
Leave a Reply