हमासद्वारा इजरायली सबै बन्धकहरू मुक्त युद्धविराम कार्यान्वयनतर्फ ठुलो कदम
- आश्विन २७, २०८२
फिडेल क्यास्त्रो जीवित रहेको भए अहिले ९९ वर्षमा पुग्नुहुन्थ्यो । यो वर्ष अगस्त १३ मा उहाँको जन्मदिन थियो । यसका साथै क्यास्त्रोको सयौँ जन्मदिन मनाउने क्रम सुरु भएको छ । यो वर्षभरि विश्वभर उहाँलाई सम्झिने क्रम चल्नेछ । क्यास्त्रो धेरैथोकका लागि प्रसिद्ध हुनुहुन्छ । तेस्रो विश्वका देशहरूका आँखामा उहाँ एक दृढ क्रान्तिकारी, लोभलाग्दा वक्ता, सिपालु कूटनीतिज्ञ र नैतिक मार्गदर्शक हुनुहुन्थ्यो ।
क्यास्त्रोको व्यक्तित्वको अर्को पक्ष पनि छ । क्रान्ति तथा समाजवादी निर्माणको व्यवहारिक सङ्घर्षबाट खारिएका माक्र्सवादी सिद्धान्तकार हुनुहुन्थ्यो । क्युवाली अर्थतन्त्र पहिले खेतीपातीमा निर्भर थियो । उपनिवेशवादीहरूले ४ सय वर्षदेखि क्युबालाई खेतीपातीका रूपमा जोतेका थिए । (क्रान्तिपछि पनि संरा अमेरिकाले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएको ६ दशक बितिसकेको छ ।) यसरी क्यास्त्रोले क्युबाको नेतृत्व समाउँदा क्युबाली अर्थतन्त्र जर्जर थियो । यसको अर्थ अन्य नेताहरूले भन्दा बढी क्यास्त्रोले देशको अर्थतन्त्र र विकासबारे बढी सोच्नुपर्ने खण्ड आइलाग्यो । क्युबाको अस्तित्वका लागि अर्थतन्त्र मूलभूत प्रश्न बन्यो ।
आज हामी उत्तरी गोलाद्र्धको धम्कीसामु उभिएका छौँ । उत्तरी गोलाद्र्ध अहिले स्वदेशी अर्थतन्त्रको मात्र संरक्षण गर्ने संरक्षणवाद, सैन्यवाद र एकपक्षीयताजस्ता नीति अपनाउँदै छ । उसको यो व्यवहारले विश्वका बहुमत देशको विकास र शान्तिका सम्भावनाहरूको घाँटी थिच्दै छ । यस्तो बेला क्यास्त्रोको आर्थिक सोचका केही पक्षको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
औद्योगीकरणका लागि धेरै पर्खिन सकिन्न
सन् १९५३ अक्टोबरमा मोनकाडा छाउनीमा साहसिक आक्रमण गरेपछि क्यास्त्रो पक्राउ पर्नुभयो । उहाँमाथि मुद्दा चल्यो । कठघरामा उभिएर उहाँले विश्वचर्चित मन्तव्य राख्नुभयो, “इतिहासले मलाई सही ठह¥याउनेछ ।”यो मन्तव्यमा हामी क्युबाको अविकासप्रति क्यास्त्रोको रोष देख्न सक्छौँ । कठघरामा उभिएर उहाँले क्युबाली अविकासका मूल कारणहरूको विश्लेषण गर्नुभयो र एउटा सामाजिक परिवर्तनको ढोका खेल्ने आकाङ्क्षा जाहेर गर्नुभयो ।
“अलिकति खाना, काठपात र कपडा उद्योगलाई एकातिर राख्ने हो भने क्युबाले अझै पनि मूलतः कच्चा पदार्थ उत्पादन गरिरहेको अवस्था छ । हामी मिठाइ आयात गर्न चिनी निर्यात गर्छौँ, जुत्ता आयात गर्न हामी छाला निर्यात गर्छौँ, हलोको फाली आयात गर्न हामी फलाम निर्यात गर्छौँ । देशको औद्योगीकरण गर्न ढिलो भैसक्यो भन्नेमा सबै सहमत छन् । हामीलाई स्टील, कागत र रसायन उद्योग चाहिन्छ । हामीले हाम्रो पशु तथा अन्न उत्पादनमा सुधार गर्नैपर्छ । खाद्य उद्योगमा हामीले प्रविधि र प्रशोधनको क्षमता बढाउनैपर्छ । युरोपबाट आउने पनिर, धुलो दूध, रक्सी र खाने तेलका साथै संरा अमेरिकाले डिब्बामा राखेर पठाउने सामानबाट आफैलाई जोगाउन पनि यति गर्नैपर्छ । हामीलाई मालवाहक पानीजहाज चाहिन्छ । पर्यटन क्षेत्रलाई राजस्वको अजस्र स्रोत बनाउनुपर्छ । तर, पुँजीपतिहरू कामदारहरूलाई आफ्नो खुट्टामुनि जोत्न ढिपी गर्छन् । राज्य पछाडि हात बाँधेर बस्छ । औद्योगीकरणका सधैँलाई पछि सर्न सक्छ ।”
यो अनुच्छेदबाट क्यास्त्रोका मूल विचार निफन्न सकिन्छ । पहिलो, क्यास्त्रो अन्तर्राष्ट्रिय श्रम विभाजनबारे अवगत हुनुहुन्थ्यो । त्यो श्रम विभाजनले क्युबालाई कच्चा पदार्थ उत्पादन गर्ने देशमा झारेको थियो । दोस्रो, देशको विकास गर्न भारी औद्योगीकरण र कृषिको आधुनिकीकरण अत्यावश्यक रहेको उहाँको बुझाइ थियो । तेस्रो, स्वदेशी पुँजीपति वर्ग पुँजीवादको शास्त्रीय विश्लेषणभन्दा फरक थियो । उसले कामदार वर्गको थप विकासलाई रोक्न देशको उत्पादन शक्तिको विकासलाई नै थमौतीमा राखेको थियो । चौथो, त्यति बेलाको राज्यका संरचना रशासक वर्गको स्वार्थले देश विकासको सम्भावनालाई कुण्ठित पारिरहेको थियो ।
यो छोटो अनुच्छेदबाट २७ वर्षको कलिलो उमेरमै क्यास्त्रो देशको अविकासको समस्याबारे प्रस्ट बुझाइ राख्नुहुन्थ्यो भन्ने साबित हुन्छ । सके उहाँले अविकासबारे राउल प्रेबिशको रचना ‘ल्याटिन अमेरिकाको आर्थिक विकास र यसका मूल समस्याहरू’ पढिभ्याउनुभएको थियो । त्यो पुस्तक सन् १९५० मा प्रकाशित भइसकेको थियो । अथवा, क्यास्त्रो क्रान्तिको आफ्नै अनुभव र आफ्ना कामरेडहरूसँगको छलफलबाट त्यो निष्कर्षमा पुग्नुभएको थियो ।
क्युबाली मुक्तिदेखि दक्षिणी गोलाद्र्धको मुक्तिसम्म
क्यास्त्रो क्युबाली मुक्तिको आवाज बनेर आफ्नो क्रान्तिकारी जीवन सुरु गर्नुभयो । तर, उहाँको अन्तर्राष्ट्रिय कद बढ्दै जाँदा उहाँ छिट्टै समग्र दक्षिणी गोलाद्र्धको मुक्तिको विम्ब बन्नुभयो । सन् १९८३ मा भारतको राजधानी नयाँ दिल्लीमा असंलग्न देशहरूको सातौँ शिखर सम्मेलन भयो । क्यास्त्रोले त्यहाँ एउटा पुस्तककै लम्बाइको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनको शीर्षक थियो – “विश्व अर्थतन्त्र र सामाजिक सङ्कट : अविकसित देशहरूमा त्यसको प्रभाव, त्यसका अँध्यारा पक्ष र हामी बाँच्ने हो भने सङ्घर्षको आवश्यकता” । प्रतिवेदनमा क्यास्त्रोको नाम उल्लेख थियो । तर, भूमिका पढ्दा त्यो प्रतिवेदन सामूहिक अध्ययनको उपज थियो भन्ने स्पष्ट हुन्छ । त्यो प्रतिवेदन क्युबाको विश्व अर्थतन्त्र अनुसन्धान केन्द्र तथा हवाना विश्वविद्यालयको अर्थतन्त्र विभागको अन्तर्राष्ट्रिय अर्थतन्त्र अनुसन्धान केन्द्रका अर्थविद्हरूसँगको सहकार्यमा तयार भएको थियो ।
प्रतिवेदनअनुसार सन् १९७९–१९८२ को सङ्कट औद्योगिक देशहरूको अति उत्पादनको सङ्कट थियो । मुद्रा छाप्दैमा आर्थिक वृद्धिमा टेवा पुग्छ भन्ने मुद्रावादीहरू सक्रिय भए । उनीहरूले व्याजदर बढाए । यसले गर्दा सङ्कट विश्वभरि फैलियो । त्यो सङ्कट अविकसित देशमा पठाइयो । यसले अविकसित देशमा मुद्रा अवमूल्यन भयो† व्यापार घाटा बढ्यो† महँगी र गरिबी बढ्यो । अन्ततः औद्योगिक र अनौद्योगिक देशबिच ठूलो खाडल उत्पन्न भयो । क्यास्त्रोको विश्लेषण सङ्कटको सोझो व्याख्या थिएन । त्यसमा सबै पक्षको विश्लेषण थियो । हतियारको होड तथा खाद्यान्न एवम् ऊर्जा सङ्कटजस्ता पक्षहरूलाई पनि ध्यानमा राखेर विश्लेषण गरिएको थियो ।
प्रतिवेदनको अन्त्यमा आवश्यक विस्तृत कार्यको उल्लेख गरिएको थियो । दक्षिणी गोलाद्र्धभित्र एकताको खाँचोमाथि जोड दिइएको थियो । उत्तरी गोलाद्र्धको सङ्कट समाधान गर्नका लागि दक्षिणी गोलाद्र्धमाथि तिनले गर्ने शोषणका जरा काट्नुपर्ने प्रतिवेदनको निचोड थियो ।
प्रतिवेदनले भन्यो, “तेस्रो विश्वका देशहरूको आर्थिक पछौटेपन, वित्तीय साधनको अभाव, वैदेशिक व्यापार, भोक, बेरोजगारी र अति आधारभूत आजीविकाको अभावबाट कालान्तरमा विकसित पुँजीवादी मुलुकलाई फाइदा पुग्नेछ । यसको विपरीत हाम्रो अवस्थामा सकारात्मक परिणाम आयो भने विश्व व्यापारमा उछाल ल्याउन तथा बेरोजगारी, स्रोतसाधनको अल्प–उपयोग र अर्थतन्त्रको गतिरोध घटाउनमा टेवा पुग्नेछ । निश्चय पनि हाम्रा अर्थतन्त्रहरू विस्तार भएका खण्डमाती देशमा पैदा भएको तनावपूर्ण सङ्कट घटाउन मद्दत पुग्नेछ । तेस्रो विश्वका देशहरूलाई बर्बाद पारिरहेको शोषण जारी राखे त्यो अन्ततः सबैको बर्बादी ठहरिनेछ ।”
‘सबैको बर्बादी’ शब्दावलीमा कार्ल माक्र्स र फ्रेडरिक एँगेल्सको चेतावनीको प्रतिध्वनि सुनिन्छ । ‘कम्युनिस्ट घोषणापत्र’ मा माक्र्स–एँगेल्सले चेतावनी दिनुभयो – “कि त (वर्गसङ्घर्ष) समाजको क्रान्तिकारी पुनर्गठनमा गएर टुङ्गिन्छ, नत्र द्वन्द्वरत वर्ग दुवैको साझा बर्बादीमा टुङ्गिन्छ ।” क्यास्त्रोले माक्र्स–एँगेल्सको यो पूर्वानुमान लिनुभयो र त्यसलाई साम्राज्यवादी युगको सन्दर्भमा ढाल्नुभयो । क्यास्त्रो समाजको क्रान्तिकारी पुनर्गठनको पक्षमा हुनुहुन्थ्यो ।
झन्डै दुई दशकपछि क्यास्त्रो जेनिभामा आयोजित राष्ट्रसङ्घको सहस्राब्दी शिखर सम्मेलनमा एक्लै पर्नुभयो । उहाँले राष्ट्रसङ्घमा आफ्नो अन्तिम मन्तव्य राख्नुभयो । नवउदारवादी अर्थतन्त्र, विश्वव्यापीकरण र वासिङ्टन समझदारीको हाइहाइ थियो । क्यास्त्रोको त्यो मन्तव्य सन् १९६० मा उहाँले राष्ट्रसङ्घमा राखेको भन्दा निकै छोटो थियो । तर, महत्वका हिसाबले उत्तिकै महत्वपूर्ण थियो । उहाँले उत्तरी गोलाद्र्धका मुलुकहरूको आलोचना गर्दै मन्तव्य सुरु गर्नुभयो । उत्तरी गोलाद्र्धले ‘आर्थिक, राजनीतिक र प्राविधिक शक्तिमा एकाधिकार’ कायम गरेको र त्यसले ‘हामीलाई झन् बढी दरिद्र, शोषित र परनिर्भर बनाउने समाधानबाहेक अर्थोक नदिने’ क्यास्त्रोले बताउनुभयो । निष्कर्षमा उहाँले भन्नुभयो, “वर्तमान आर्थिक र राजनीतिक व्यवस्थाले समग्र मानव जातिको हितमा केही पनि गर्न सक्दैन ।”
राष्ट्रिय मुक्तिको अर्थशास्त्रतर्फ
अर्थशास्त्र कहिल्यै पनि तटस्थ विषय थिएन । यसमा मूल्यको कुरा हुन्छ–हुन्छ । पुँजीवादको जन्मसँगै यो एउटा अलग्गै प्राज्ञिक विषय बन्यो । इतिहासमा अर्थशास्त्रले कम्तीमा तीनथरी वर्गसङ्घर्षलाई ढाकछोप गर्ने वैचारिक मुकुण्डो बन्यो । पहिलो, सामन्ती जमिनदार र उदाउँदो औद्योगिक पुँजीपति वर्गका स्वार्थहरूबिचको सङ्घर्ष । दोस्रो, पुँजीपति र कामदार वर्गबिचको सङ्घर्ष । तेस्रो, औद्योगिक राष्ट्र र उपनिवेश तुल्याएका राष्ट्रहरूबिचको सङ्घर्ष । यी तीनथरी वर्गसङ्घर्षले अर्थशास्त्रको क्षेत्रमा नैतिकता (वा त्यसको अभाव) लाई परिभाषित गरेका छन् ।
क्यास्त्रोको अर्थशास्त्र राष्ट्रिय मुक्तिको अर्थशास्त्र थियो । उहाँले राष्ट्रको सार्वभौमिकता र त्यहाँका जनताको गरिमालाई महत्व (मूल्य) दिनुभयो । सबै प्रकारका आर्थिक मोडलमा जस्तै क्यास्त्रोको मोडलका पनि केही पूर्व–बुझाइ थिए । एक, अर्थतन्त्रमा बाह्य बाधा छ । त्यो बाधा हो श्रमको अन्तर्राष्ट्रिय विभाजन । बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरूले जबरजस्ती यो विभाजन गर्छन् । दोस्रो, यो बाधाबाट पार पाउने प्रयास गरे हिंसाको प्रयोग गरिन्छ । जबरजस्ती सत्ताविद्रोह, व्यक्तिहत्या, आर्थिक प्रतिबन्ध र नाकाबन्दी लगाइन्छ । तेस्रो, दक्षिणी गोलाद्र्ध वा भनौँ विश्वभरिका बहुमत जनताको स्वार्थ एउटै हो । यी जनता एक हुन चाहन्छ । किनभने, शोषण, ध्रुवीकरण र (आर्थिक) सङ्कटको विद्यमान अर्थ–व्यवस्थाबाट यी जनता मुक्त हुन चाहन्छन् । सन् २०१७ मा क्यास्त्रोले जीवनकै अन्तिम मन्तव्य राख्नुभयो । क्युबाली कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशनमा उहाँले भन्नुभयो, “हामीले साहस र स्वाभिमानका साथ मिलेर मिहिनेत ग¥यौँ भने मानव जातिलाई चाहिने भौतिक र सांस्कृतिक सामलको उत्पादन गर्न सकिन्छ । क्युबाली कम्युनिस्टहरूका विचारले यो धर्तीलाई यही प्रमाण दिएका छन् । यो प्रमाण सदा जीवित रहनेछ ।”
विचारले पनि मानव जातिलाई चाहिने सामलको उत्पादन गर्न सकिन्छ भन्नु आफैमा चल्तीको मान्यताभन्दा विपरीत कुरा हो । (भौतिकवादी दर्शनले ‘उत्पादनले विचार फेर्छ’ भन्छ ।)
आर्थिक तथ्य–तथ्याङ्क निकाल्ने संस्था ‘अक्सफाम’ को प्रतिवेदन आयो – बनाउने होइन खोस्ने । सो प्रतिवेदनअनुसार सन् १९९० यता गरिबीमा बाँच्ने मानिसहरूको सङ्ख्यामा उति अन्तर आएको छैन । पछिल्ला दस वर्षमा विश्वका शीर्ष १ प्रतिशत धनाढ्यहरूको धन ३३९ खर्ब डलरले बढ्यो । यति धनले विश्वको गरिबी २२ पल्ट हटाउन सकिन्छ । लाग्छ, अब नयाँ विचार अपनाउनुपर्ने बेला आएको छ ।
(शिरन इल्लानपेरुमा श्रीलङ्काका पत्रकार र राजनीतिक विश्लेषक हुन् । उनी सामाजिक अनुसन्धानकर्मीहरूको संस्था ‘ट्राइकन्टिनेन्टल’ मा आबद्ध छन् । उनी समकालीन चीनसम्बन्धी जर्नल ‘वेनह्वा चोङहेङ’ का सहसम्पादक पनि हुन् ।)
स्रोत : न्युज क्लीक । सम्यक)
Leave a Reply