संविधानमा विदेशीसमेतलाई नेपाली नागरिकता दिने प्रावधान राख्नु देश हितविपरीत
- आश्विन २७, २०८२
सुर्खेत, २८ असोज । नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले अनलाइनमार्फत बोल्दै नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा पनि संरा अमेरिका र भारतकै हात रहेको भनाइ राख्नुभएको छ । उहाँले भारत र नेपालबिचको सीमा खुला भएको कारण तथा शासक दलमा घुसेका र घुसाएकाहरूले ध्वंसको काम गरेको हुनसक्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भदौ २३ र २४ गतेको घटनामा लागेका नयाँ पुस्तामा वैचारिक एकता नभएको भन्दै तिनीहरूसँग आर्थिक समानता कायम गर्ने नयाँ विचार नभएको स्पष्ट पार्नुभयो । उहाँले परिवर्तनको निम्ति समाजवादी व्यवस्था नै चाहिने र त्यसको लागि पुँजीवादी व्यवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गलत औषधि खाएर रोग निको हुँदैन ।”
उहाँले विध्वंस गर्नु नै क्रान्ति होइन भन्दै उही थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन भन्नुभयो ।
अध्यक्ष रोहितले नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका शासक पार्टीहरूकै कारण देश पछाडि धकेलिएको धारणा राख्नुभयो । उहाँले सरकार गठन गर्ने काम संसद्को हो, राष्ट्रपतिसँग सरकार गठन गर्ने कुनै अधिकार छैन भन्दै अहिले कामचलाउ सरकार छ, नेमकिपाले ताजा जनादेश लिने चुनावलाई उपयोग गर्नेछ भन्नुभयो ।
आफूले काम गरेको सरकारी कार्यालय जलाइएको बेला कर्मचारीले पनि जोगाउनुपथ्र्यो भन्दै उहाँले जिम्मेवारी छोडेर भाग्नेहरूलाई पनि जवाफदेही बनाउनुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “देश जोगाउन सारा जनतालाई सैनिक तालिम दिनुपर्छ ।”
नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “विदेशी प्रभावमा परेको सरकारले देश र जनताको सेवा गर्न सक्दैन । चीनले कुनै देशमा सेना र हतियार तैनाथ गर्ने वा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति लिएको छैन ।”
उहाँले भन्नुभयो, “एक जना एसएसपीले आफ्नो बढुवाको बेला ५० लाख रुपैयाँ घुस मागेको र सो नदिँदा आफ्नो आईजीपीसमेत हुने अवसर गुमेको बताएको यथार्थ भए यसको दोषी शासक दलहरू नै हुन् ।”
उहाँले लोकसेवा आयोगका एक अध्यक्षले संसद्को समितिको बैठकमा नेमकिपाका सांसदले लोकसेवा आयोगमा उत्तीर्ण कर्मचारीहरू कतिपय भ्रष्टाचारी भएको उठाएअनुसार एक डेढ वर्षमा नै भ्रष्टाचारमा कर्मचारी परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सहमतिमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेको बताएका छन् । यसबारे ओली मौन छ । माओवादीका पुष्पकमल दाहालले संविधान जोगाउन रातभर राष्ट्रपति र सेनापतिसँग छलफल गरी अहिलेको राजनीतिक निकास ल्याएको दाबी गरे । यो सबै यथार्थलाई ढाकछोप गर्न शासक दलहरूले भदौ २८ गते अन्तरिम सरकार गठनको विरोधमा वक्तव्य प्रकाशित गरेको जनतालाई धोका दिनु किन होइन ?”
उहाँले नेपालको प्राकृतिक स्रोतबारे निर्णय गर्न संसद्को दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्नेमा लगानी बोर्ड बनाएर नेपालको प्राकृतिक स्रोत विदेशीलाई दिने शासक दलहरू देशघाती भएको बताउँदै अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता गर्ने शासक दलहरू पनि देशघाती हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारको समानान्तर बजेट खर्च गर्ने विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाहरूदेखि युवाहरू सचेत हुनुपर्दछ । कतिपय युवाहरू त्यस्ता गैरसरकारी संस्थामा सम्बद्ध भएर भदौ २३ गतेको सडक प्रदर्शनमा लागेको सार्वजनिक भयो । यो राम्रो सङ्केत होइन ।”
“प्रजग कोरिया साम्राज्यवादविरोधी आत्मनिर्भर देश हो । शासक दलका नेता र कार्यकर्ताहरूले प्रजग कोरियाका नेतालाई तानाशाही देख्नु साम्राज्यवादी चस्मा राख्नु हो ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले राजनीति पैसा कमाउनको निम्ति नभएको भन्दै नेमकिपाले कहिल्यै गैरसरकारी संस्थामा जागीर खुवाएर सङ्गठन विस्तार हुन्छ भन्ने नसोचेको धारणा राख्नुभयो ।
उहाँले महिला प्रधानमन्त्री हुँदैमा परिवर्तन हुन्छ भन्ने कुरा निश्चित नभएको भन्दै विगतमा महिला राष्ट्रपति नेपालले पाएकै थियो भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले पुँजीवादी बन्दोबस्तले जनताका समस्या समाधान नगर्ने भएकोले नयाँ पुस्ताले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तुल्सी खड्काले नेमकिपाले कामदारवर्गका महिलालाई राजनीतिकरूपले सचेत पार्ने गा¥हो काम गरिरहेको बताउनुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले आत्मनिर्भर अर्थतन्त्रको निम्ति कृषि उत्पादनमा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापति, इन्जिनियर समाजका केन्द्रीय अध्यक्ष नरेश खत्री, नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छा, नेमकिपाको केन्द्रीय सल्लाहकार समितिका सदस्य नर्मा गुरुङ, आयोजक समितिका उपाध्यक्ष अकल राना, सचिव लालबहादुर थापाले आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको थियो ।
Leave a Reply