‘बुद्ध’ र ‘सङ्घ’ को शरणमा जाऔँ गाउँको शरणमा जाऔँ !
- आश्विन २७, २०८२
साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले साम्राज्यवादी नीतिलाई लागु गर्ने प्रयास गर्नु अन्यथा होइन । साम्राज्यवादी देशका शासकहरू अरु स्वाधीन र सार्वभौम देशमा आक्रमण हस्तक्षेप र नरसंहार गर्न र गराउन सहयोग मात्र गर्दैनन्; अरु देशको अस्तित्वसमेत स्वीकार्न चाहँदैनन् । प्यालेस्टिन देश छ भन्ने कुरा विश्वका जनतालाई थाहा छ । अमेरिकी सहयोग र साथमा इजरायलले प्यालेस्टिनको गाजापट्टीमा आक्रमण गरेर गत दुई वर्षमा झन्डै ७० हजार प्यालेस्टिनी जनताको नरसंहार गरिसकेको छ । आज त्यही प्यालेस्टिन देश संसारमा छैन भनेर विश्वका जनताको आँखामा धुलो छर्ने काम अमेरिकी सरकारले गर्दै छ । अमेरिका, इजरायललगायत केही देशले संसारमा प्यालेस्टिन देश नै नभएको प्रचार गरे । इजरायलले केही वर्षपहिले प्यालेस्टिन देश नै नभएको नक्सा सार्वजनिक ग¥यो । विश्वमा प्यालेस्टिन देश नै नभएको नक्सा सार्वजनिक भएपछि प्यालेस्टिनले सो इजरायली कदमको विरोध गरेको हो । अरु देशबाट भागेर आई प्यालेस्टिनमा बसेका इजरायलीहरूको देश हुने अनि प्यालेस्टिन देश नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको कस्तो बुद्धि ! दिउँसोलाई रात पार्ने काम अमेरिकी प्रशासन किन झूटको राजनीति गर्दै छ ? विश्वका न्यायप्रेमी जनताको आँखामा छारो हाल्ने काम किन गर्दै छ ?
राजनीतिक विशेषता र विचारधाराको आधारमा अमेरिकी प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र हो । अमेरिका पुँजीपतिहरूको प्रतिनिधित्व गर्ने देशमात्र होइन अरु देशमा आक्रमण गर्ने, आक्रमण गर्न र गराउन सहयोग गर्ने सामाज्यवादी देश पनि हो । अरु देश जुधाएर हतियार बेची धनी बन्ने, अरु देशलाई कमजोर बनाएर शक्तिशाली देशको अहङ्कार देखाएर हैकम जमाउने काम अमेरिकाले गर्दै छ । अमेरिकाकै कारण प्यालेस्टिन देश ध्वस्त भयो, प्यालेस्टिनी जनताको नरसंहार भए । प्यालेस्टिन देश नै नामेट पार्ने ढङ्गले प्यालेस्टिनमा आक्रमणहरू भयो । शान्तिका निम्ति इजरायल र प्यालेस्टिन देशबिच वार्ता हुनु, आक्रमण रोक्नु सकारात्मक पक्ष हो । अहिलेसम्म लाखौँ लाख प्यालेस्टिनी जनताको मृत्यु भइसकेको छ । देशका अधिकांश सहर र गाउँको बस्ती खरानी भयो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? ध्वस्त भएको सहर या गाउँ कसले बनाउने ? प्यालेस्टिन देशमा पुनः भौतिक संरचना गर्न अमेरिका र इजरायलले क्षतिपूर्ति दिने कि नदिने ? के शक्तिशाली र बलियो देशले सानो देशमा आक्रमण गरेर गाउँ बस्ती ध्वस्त पारे पनि, नरसंहार गरे पनि तिनीहरूमाथि कुनै कारबाही हुँदैन ? क्षतिपूर्ति तिराउनु पर्दैन ? के बलियो देशले संसारका अरु देशमा जे गरे पनि चुप लागेर बस्ने ?
प्यालेस्टिन देश नै नभएको भन्न भ्याउने अमेरिकी राष्ट्रपति ट्रम्प कसरी लायक, योग्य र प्रजातन्त्रवादी हुन्छन् ? संसारका अन्य मुलुकमा नाकाबन्दी गर्ने, जुधाएर हतियार बेच्ने, अरु देशको स्रोत र साधन कब्जा गर्ने, देशलाई ध्वस्त पारेर भताभुङ्ग पार्ने शासकहरूलाई त संयुक्त राष्ट्र सङ्घले मुद्दा चलाएर अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने हो; कठोर कारबाही गर्नुपर्ने हो । ट्रम्पले संयुक्त राष्ट्र सङ्घ मानव अधिकार परिषद्जस्ता अन्तर्राष्ट्रिय सङ्गठन र पेरिस सम्झौताजस्ता अन्तर्राष्ट्रिय सम्झौताबाट हात झिके । चीनजस्ता व्यापार साझेदारविरुद्ध व्यापार युद्ध छेडे । विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने निर्णय गरे । उनले क्यानडालाई आफ्नो देशको एक प्रान्त बनाउने या अमेरिकामा मिलाउने कुरा गरे । यही कारण अमेरिका विश्वका मुलुकबाट एक्लिँदै गएको हो । अमेरिकी सरकारप्रति विश्वका जनताको विरोध बढ्दै गएको हो । यो विश्वबाट साम्राज्यवादी देश एक्लिँदै गएको सङ्केत हो; यो साम्राज्यवाद पतनको सङ्केत हो ।
प्यालेस्टिन र इजरायलबिचको युद्ध रोकिनुपर्छ; प्यालेस्टिनी जनताको शान्ति सुरक्षा हुनुपर्छ । प्यालेस्टिनमा आक्रमण गर्ने र आक्रमण गर्न सहयोग पु¥याउने देशलाई क्षतिपूर्ति तिराएर प्यालेस्टिन देशको पुनः निर्माणमा सहयोग गर्नुपर्छ । के संसारका स्वाधीन र सार्वभौम देशहरू अमेरिकाको उठबसमा चल्नुपर्ने ? के अरु मुलुकहरू अमेरिकाको अधीनमा बस्नुपर्ने ? अमेरिकी सरकार अरु देशमा किन ज्यादती गर्छ ? क्रूर व्यवहार किन गर्छ ? अमेरिका किन निर्दयी बन्छ ? अमेरिकी सरकारको दमन, शोषण, आक्रमण, हस्तक्षेप र नाकाबन्दीको विरोधमा संयुक्त राष्ट्र सङ्घ किन मौन !
यही घमण्ड र दमनको कारण अमेरिकी जनता अमेरिकी सरकारको विरोध गर्दै छन्; अमेरिकी सांसदहरूको विरोध बढ्दै छ । अमेरिकी वैज्ञानिक र अमेरिकी पाइलटहरू अमेरिकी प्रशासनको विरोधमा छन् । राष्ट्रपति ट्रम्पको इजरायलमा पनि विरोध भयो । इजरायली सांसदहरूले पनि विरोध गरे । संसारका राष्ट्र प्रमुख, न्यायप्रेमी र देशभक्त जनता आक्रमणको विरोधमा छन् । संसारका न्यायप्रेमी जनता साम्राज्यवादी नीतिको विरोधमा छन् । साम्राज्यवाद रहेसम्म जनताको सुरक्षित नहुने कुरा विश्वका जनताले बुझ्दै छन् । यो सकारात्मक पक्ष हो । अतः साम्राज्यवाद अन्त नभएसम्म विश्वका जनताले त्यसको विरोध गरिरहनुपर्छ ।
Leave a Reply