भर्खरै :

बेदकोटमा मुक्त कमैयाहरूको भेला एवं प्रशिक्षण

बेदकोटमा मुक्त कमैयाहरूको भेला एवं प्रशिक्षण

कञ्चनपुर, २८ असोज । नेपाल मजदुर किसान पार्टी बेदकोट नगर समितिको आयोजनामा कञ्चनपुर जिल्लाको धरमपुर मुक्तिफाँटामा रहेका स्थानीय मुक्त कमैयाहरूको मङ्गलबार भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले कमैया मुक्तिको नाममा पुर्खौँदेखि खेती किसानी गर्दै आएको जग्गाबाट आदिवासी थारुहरूलाई विस्थापित गरिएको चर्चा गर्दै जमिन जोत्ने किसानलाई नै उक्त जमिनको स्वामित्व प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सुदूरपश्चिमका जनताले विश्वास गरेर थुप्रै नेताहरूलाई सरकार चलाउने जिम्मेवारी दिए पनि मन्त्री, प्रधानमन्त्री भएका नेताहरूले जनतामाथि विश्वासघात गरी व्यक्तिगत फाइदामा फसेको हुँदा नयाँ पुस्तामा आक्रोश पैदा भएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भारतीय विस्तारवादलाई महाकाली नदी बेच्ने शेरबहादुर देउवाले सुदूरपश्चिमको जनभावनाविपरीत काम गर्दा आन्दोलनको निशानामा परे ।” नयाँ पुस्ता आन्दोलन र परिवर्तनको पक्षमा रहेको तर्क गर्दै उहाँले नेमकिपा जनताको सङ्घर्षशील भावनाको सम्मान गर्दै समाजवादी व्यवस्था स्थापनाको आन्दोलनमा अघि बढिरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रमेशकुमार रावलले मुक्त कमैयाहरू रातदिन मेहनत गर्दा पनि परिवारलाई पेटभर खुवाउन कठिन भइरहेको जनआवाज रहेको बताउनुभयो । उहाँले कमैया बस्तीमा एउटा राम्रो विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र पनि स्थापना गर्न स्थानीयदेखि केन्द्रीय सरकारसम्म मौन बस्नु गलत भएको बताउनुभयो ।
बेदकोट नगर समितिका अध्यक्ष सुरेन्द्रराज भट्टले शासक दलहरूले अनेक बहाना र प्रलोभन देखाएर सोझा जनतालाई ठगिरहेको चर्चा गर्दै राजनैतिक चेतनास्तर उठाउन नेमकिपा जनताको माझमा गतिविधि गरिरहेको बताउनुभयो ।
पार्टीका सुदूरपश्चिम प्रदेश समितिका शैलेश डंगोलले नयाँ पुस्ताका विद्यार्थीहरूलाई सानै उमेरदेखि देश र जनताप्रति इमानदारीपूर्वक सेवा गर्ने भावना विकास गराउन र अन्यायविरुद्ध आवाज उठाउने सङ्घर्षशील भावनाको विकास गराउन आवश्यक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *