चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
पाठ ६
(चेको २० औँ वार्षिकीको अवसरमा इटालियाली पत्रकार गियानी मिना (Gianni Mina) ले सन् १९८७ मा फिडेल क्यास्ट्रोसँग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ । सम्पूर्ण अन्तर्वार्ता ‘फिडेलसितको जम्काभेट’ (An Encounter with Fidel) शीर्षकमा प्रकाशित भएको थियो ।)
गियानी मिना : राष्ट्रपति क्यास्ट्रो, तपाईँ हाम्रो समयका थोरै अन्य व्यक्तिहरूजस्तै समकालीन इतिहासको साक्षी हुनुहुन्छ । यो अन्तर्वार्ता त्यसैको प्रमाण हो । चे ग्वेभारा र क्यामिलो सियनफ्युगोस (Camilo Cienfuegos) जस्ता कामरेडहरूसँगको घनिष्ठ स्मरण म जान्न चाहन्छु । उदाहरणको लागि चे युरोप र विश्वमा कम्तीमा पनि तीन पुस्ताको लागि एक आदर्श बनेका छन् । तपाईँ चेको बारेमा सोच्नुहुँदा तपाईँँको दिमागमा पहिले के आउँछ ?
क्यास्ट्रो : मेरो लागि पनि चेको मृत्यु भइसकेको कुरा सोच्नु गा¥हो छ । मैले उनलाई धेरैपटक सपनामा देखेको छु । उनीसँग बोलेको, उनी जिउँदो भएको देखेको छु । यो एउटा विशेष कुरा हो, उनको मृत्युको कुरा स्वीकार्न कठिन छ । यसको के कारण छ ? मेरो विचारमा हरेक कुरामा उनको स्थायी उपस्थिति छ ।
उनको मृत्यु धेरै टाढा, हाम्रो देशभन्दा धेरै किलोमिटर टाढा भयो । चे मरिसके भन्ने सोच्न हाम्रो लागि धेरै कठिन छ । अन्य कामरेडहरूको मृत्युले भन्दा यसले मलाई भिन्नै खालको असर पर्न गयो किनभने सङ्घर्षमा हामीले धेरैपटक कामरेडहरू गुमाएका छौँ । हामीले कामरेडहरूको मृत्यु भएको देखेका छौँ । चेको प्रतीक, चेको चरित्र, व्यवहार, सिद्धान्तको कारण जोकोहीलाई पनि चे अझै जीवित रहेको भान हुन्छ । उनीसँग धेरै असाधारण गुणहरू थिए ।
हामीसँग मेक्सिकोमा प्रथमपटक भेटेदेखि अन्तिम समयमा क्युवा छोड्दासम्म मैले उनलाई राम्ररी चिनेँ ।
मलाई लाग्छ, चेको मृत्युसँगै एउटा ठुलो मस्तिष्क हामीले गुमाएका छौँ । समाजवाद निर्माणको सिद्धान्त र व्यवहारमा उनले योगदान गर्न सक्ने कुरा धेरै थिए ।
गियानी मिना : क्युवा छोड्नुभन्दा पहिले चेले तपाईँलाई लेखेको पत्रमा एक नेताको रूपमा तपाईँको गुणलाई पहिले नै नचिनेकोमा त्यो कुरा पूरा रूपमा जान्न लागेको समयको विषयमा धेरै तीतोपना व्यक्त गरेका छन् । त्यसको के कारण हुन सक्छ ?
क्यास्ट्रो : पहिले चे एक शान्त व्यक्ति थिए । उनी धेरै बोल्दैनथे । उनी यस्ता कुराहरू गर्दैनथे । उनी हरेक कुराको अनुभव गर्ने तर त्यसलाई व्यक्त गर्दैनथे । उनले मेरो विषयमा लेखेका केही न्यानो हृदयस्पर्शी कुराहरू अहिले प्रकाशमा आएका छन्, कसैले त्यसलाई धेरै सम्हालेर राखेका छन् ।
उनी ल्याटिन अमेरिकी राजनीतिज्ञहरूप्रति धेरै शङ्कालु थिए । सायद हाम्रो क्रान्ति अरु क्रान्ति जस्तै अन्त्य हुने उनले सोचेका थिए । तर, यथार्थमा उनले यस्ता शङ्काहरू अलिकति पनि व्यक्त हुन दिएनन् । उनी सधैँ मप्रति असाधारण रूपमा अति स्नेह देखाउँथे र सम्मान गर्थे । जुलाई २६ आन्दोलनप्रति उनी सायद विश्वस्त थिएनन् । उनी धेरै अध्ययनशील थिए । उनले चिकित्सा विद्यालयबाट स्नातक गरेका थिए† अनुसन्धान गरेका थिए र उनी माक्र्सवाद अध्ययन गर्न लगनशील थिए । यही कारणले उनी अलि शङ्कालु थिए । यदि उनले त्यसो लेखेका भए आत्मविश्वासले ओतप्रोत भएर लेखेको हुनुपर्दछ किनभने यथार्थमा मलाई धेरै तत्वहरूको संयोग गर्न थियो, कामरेडले देखाएको विचारमाथि एकतालाई प्रोत्साहन दिनु थियो तथा तिनीहरूसँगको सम्बन्धमा धैर्य राख्नु थियो ।
आक्रामक, साहसी, वीर र खतराहरूप्रति बेवास्ता राख्ने चेको लागि मेरो सधैँ विशेष भावना थियो । एकभन्दा बढी अवसरहरूमा उनी सबभन्दा पहिले स्वयंसेवीको रूपमा अगाडि बढे । उनी सबभन्दा खतरनाक कामहरू गर्न स्वयंसेवक बने र लडाइँको मध्य भागमा पनि खतरा उठाउन तयार रहन्थे । जुनसुकै अभियान भए तापनि स्वयंसेवकको रूपमा चे अगाडि बढ्थे । उनी साहसी र निःस्वार्थी थिए । क्युवा उनको मातृभूमि थिएन तथापि उनी हामीसँग सामेल भए र हरेक दिन क्रान्तिको लागि उनी आफू ज्यान दिन तयार रहन्थे ।
म अभियानको महत्वअनुसार कार्यकर्ताहरूको प्रयोग गर्थेँ । कार्यकर्ताले बढी सीप र बढी अनुभव प्राप्त गर्नुपर्दा सिक्न र विकास गराउन हामी नयाँ कार्यकर्ताहरू पठाउँथ्यौँ । युद्धमा सधँै एकैजना कामरेडहरूलाई निरन्तर खतरनाक परिस्थितिमा प्रयोग गर्दा एउटा वा अर्को क्षण हामी तिनीहरूलाई गुमाउन सक्छौँ । हामीले कार्यकर्ताहरूलाई रक्षा गर्नुपर्छ, तिनीहरूलाई बचाउनुपर्दछ किनभने तिनीहरू धेरै कुराहरू गर्न चाहन्छन् । म तिनीहरूलाई सम्भव भएसम्म बचाउने काम गर्थेँ तथा महत्वपूर्ण अभियानहरूमा तिनीहरूलाई प्रयोग गर्दै ।
यस्तो काममा म कार्यकर्ताहरूलाई बदलिरहन्थेँ । यदि हामीले यो नीतिको अनुसरण नगरेको भए चे आफ्नो विशेषताको कारण युद्धबाट जीवितै फर्कन सक्तैनथे । चे एक प्रकारले सा¥है सरल र इमानदार व्यक्ति थिए । यदि कुनै क्षणमा उनलाई केही कुराको शङ्का लाग्यो भने त्यस विषयमा बोल्नु उनी आफ्नो कर्तव्य ठान्थे । उनी यस्तै थिए ।
गियानी मिना : क्युवाली क्रान्ति अविश्वसनीय छ । यसमा चे र तपाईँँजस्ता बौद्धिक व्यक्तित्व, क्यामिलोजस्तो साधारण व्यक्ति, विभिन्न पृष्ठभूमि र शैक्षिक स्तरका व्यक्तिहरूले एक भएर काम गरे । त्यहाँ एउटा साझा सपना थियो ?
क्यास्ट्रो : तिनीहरू तीनै जना छुट्टाछुट्टै मूलका र छुट्टाछुट्टै गुणहरू भएका व्यक्ति थिए ।
चेको विषयमा असाधारण कुरा के छ भने चे क्युवाली थिएनन् अर्जेन्टिनी थिए । जब हामी मेक्सिकोमा भेट्यौँ उनी ग्वाटेमालामा एक डाक्टरको रूपमा काम गरिरहेका थिए । ग्वाटेमालामा भइरहेको राजनीतिक प्रक्रिया, भूमिसुधारबाट उनी उत्साही थिए । उनले संरा अमेरिकाको हस्तक्षेप देखेर धेरै दुःखी थिए । यस्तो भावना उनको मनभित्रै थियो । उनले हामीसँग काम गरे । पहिलो वार्तापछि नै उनी हामीसँग सामेल भए ।
उनले एउटा साम्राज्यवादविरोधी क्रान्ति राष्ट्रिय मुक्तिको क्रान्तिको कल्पना गरेका थिए । उनले समाजवादी क्रान्ति देखेका थिएनन् । उनी त्यसलाई अलि कठिन ठान्थे तर उनले पूर्णरूपमा आफूलाई समर्पित गरे ।
यसबाहेक चे हाम्रा चिकित्सक थिए । चे एक महान सैनिक हुनेछन् भन्ने कुरा कसैले पनि सोचेका थिएनन् । उनी खेल मन पराउँथे । उनी हरेक हप्ता मेक्सिको नगरको दक्षिण पूर्वमा रहेको सक्रिय ज्वालामुखी पोपो क्याटेपट (Popo Catipet) चढ्ने प्रयास गर्थे तर उनी कहिल्यै टुप्पोसम्म पुगेनन् । उनी हरेक हप्ता प्रयास गर्थे । उनी दमबाट पीडित थिए । त्यसले उनलाई असुविधा पु¥याउँथ्यो ।
तथापि, उनले त्यो ज्वालामुखी पर्वत चढ्ने वीरतापूर्ण प्रयास कहिल्यै छोडेनन् । उनी कहिल्यै पनि पर्वतको टुप्पासम्म पुगेनन् । तर, उनले पुनः एकपटक चढ्ने प्रयासलाई कहिल्यै रोकेनन् । यसले पनि उनको चरित्रबारे बताउँछ । उनी हाम्रा चिकित्सक थिए । उनी चिकित्सकका रूपमा हाम्रो साथ थिए किनभने उनीसँग त्यो दमको असुविधा थियो । कसैले पनि उनलाई एक सैनिकको रूपमा कल्पना गरेका थिएनन् । तर, उनी एक बौद्धिक व्यक्तित्वमात्र थिएनन्, एक महान सैनिक पनि थिए ।
क्यामिलो जनताका मानिस थिए । पहिले कसैले पनि उनका गुणहरूको विषयमा अनुमान गरेका थिएनन् । पछि उनले आफ्नो विशिष्ट पहिचान बनाए । अनि अरु धेरैले पनि यस्तै गरेको हुनुपर्छ किनभने हाम्रो समूहमा ८२ जना व्यक्तिहरू थिए । तीमध्ये ४० जना नेता बन्न योग्य थिए । बाँचेका थोरै मध्येबाट धेरै राम्रा नेताहरू उदाए, क्यामिलो, चे र अन्य कामरेडहरू, त्यति धेरै चर्चामा नआउने राउल पनि त्यसैमा थिए ।
गियानी मिना : क्यामिलो र चेमा के भिन्नता थियो ?
क्यास्ट्रो : एक अर्कालाई सम्मान गरे पनि तिनीहरूको भिन्नै व्यक्तित्व थियो । क्यामिलो ठट्टा गर्न मनपराउँथे । उनीसँग क्युवाली हास्यको संवेदना थियो ।
गियानी मिना : क्युवाली वा भन्नाले ?
क्यास्ट्रो : क्यामिलोसँग क्युवाली हास्यको संवेदना थियो । उनी सधै हाँसिरहन्थे । उनी साहसी र बुद्धिमान थिए । चेभन्दा थोरै बद्धिजीवी थिए तर उनी एक राम्रा नेता थिए । उनले कहिल्यै शत्रुलाई अवसर दिएनन् । उनी धेरै साहसी थिए तर चेजस्तै खतराप्रति निश्चिन्त थिएनन् । चे मृत्यु खोज्ने खालका व्यक्ति थिए । क्यामिलो मृत्युको अवज्ञा गर्थे । उनी मृत्युबाट डराउँदैनथे† तर, खतराप्रति निश्चिन्त थिएनन् । यही नै दुई बिच भिन्नता थियो । तिनीहरू एकअर्कालाई सा¥है माया गर्थे ।
मियानी मिना : तपाईँँको भाइ राउल कस्ता छन् ?
क्यास्ट्रो : राउल एक अर्का नेता हुन् जसको विषयमा त्यति धेरै उल्लेख गरिएन । राउल सक्षम, जिम्मेवार र बुद्धिमान थिए । उनले पनि धेरै महत्वपूर्ण भूमिका खेले ।
त्यस समूहमा बाँचेकाहरूमध्येबाट धेरै राम्रा नेताहरू उदाए । त्यसैले प्रारम्भिक सङ्घर्षमा बाँचेका धेरै युवाहरू नेता बन्न योग्य थिए भन्ने म सोच्छु । हाम्रो समूहबाट १५ वा २० उल्लेख्य नेताहरू उदाउन सक्थे किनभने आफूलाई योग्य साबित गर्न जो कोहीलाई पनि अवसर र उत्तरदायित्व चाहिन्छ ।
गियानी गिना : २० वर्षभन्दा अगाडि चेले बोलिभियामा लड्न जान क्युवा छोडे । हवाना छाडेर बोलिभिया नपुगेसम्म उनी कहाँ गए भन्नेबारेमा के तपाईँ बताउन सक्नुहुन्छ ?
क्यास्ट्रो : चे दक्षिण अमेरिका जान चाहन्थे । त्यो उनको पहिलेदेखिकै विचार थियो किनभने जब मेक्सिकोमा उनी हाम्रो उद्देश्यमा सामेल भएका थिए, उनले सोधेका थिए– “क्रान्तिको विजयपछि मैले चाहने एउटै मात्र कुरो हुनेछ– अर्जेन्टिनामा आफ्नो देशमा गएर लड्नु । मलाई यस्तो गर्नबाट नरोक्नुहोला, राज्यको कुनै पनि कारण बाटोमा आउनेछैन ।” मैले उनलाई त्यो वाचा गरेँ । आखिर यो एउटा लामो बाटो थियो । पहिलो हामीले युद्ध जित्नेछौँ वा हामीमध्ये अन्त्यसम्म को बाँच्नेछ भन्ने कुरा कसैलाई थाहा थिएन । उनका अधैर्यताको कारण उनी जिउँदो रहने सम्भावना झन् कम थियो । तर, उनले हामीसँग यो कुरा सोध्ने गर्थे । सियरामा र अन्यत्र जहाँ पनि उनी मलाई यो योजना र वाचाको स्मरण गराउँथे । उनी यस विषयमा टाढासम्म हेर्ने गर्दथे ।
सियरा माइस्ट्राको अनुभवपछि उनी आफ्नो देशमा र दक्षिण अमेरिकामा क्रान्ति गर्ने विचारप्रति बढी उत्साही बने । हामीले हाम्रो सेना पुनःनिर्माण गरेको बेलाको कठिन परिस्थिति, हाम्रो सङ्घर्ष असाधारण अनुभव उनलाई थाहा थियो । दक्षिण अमेरिकामा क्रान्तिकारी आन्दोलनको सम्भावनाप्रति उनमा ठुलो विश्वास पलायो । जब म दक्षिण अमेरिकाको विषयमा बोल्थेँ म दक्षिण अमेरिकाको दक्षिणी भागको विषयमा कुरा गरिरहेको हुन्थे । मैले उनलाई वाचा गरेको थिएँ । म सधैँ उनलाई भन्ने गर्थेँ “चिन्ता नगर, हामी आफ्नो वचन राख्नेछौँ ।” उनले यो कुरा दुई वा तीन पटक उठाए ।
क्रान्तिको विजयसँगै गर्नुपर्ने काम र सुल्झाउनुपर्ने समस्याहरू धेरै थिए । हामीसँग राजनीतिक समस्या थियो । हाम्रो सेनाको एकीकरणको समस्या, राज्य समस्या, आर्थिक समस्या यस्ता धेरै कुराहरू थिए । चे यस्तो महान् सैनिक बन्नेछन् भन्ने कुरा कसैलाई थाहा थिएन । उनी हाम्रा चिकित्सक थिए । पहिलो सङ्घर्षदेखि नै उनले आफ्नो पहिचान बनाउन थालेका थिए । उनी एक महान् सैनिक नेता बन्ने थिए । उनी र क्यामिलो दुवैले युद्धको सबभन्दा महत्वपूर्ण काम देशको मध्तगमा चढाइ गर्ने अभियान कठिन परिस्थितिमाझ सुरु गरे । यस विषयमा धेरै कुरा भन्न सकिन्छ तर त्यो अहिले यसको समय होइन ।
हामीले पूर्व राज्यको कुनै अवशेष बाँकी नरहेको, पुरानो सेना वा प्रशासनिक संयन्त्र नरहेको, विजयी क्रान्तिका सबै कामहरूको सामना गर्नु थियो । हाम्रो क्रान्तिकारी सङ्गठनसँग सैद्धान्तिक शक्ति भए तापनि विभिन्न क्रान्तिकारी सङ्गठनहरूसँग अत्यन्त बहुसङ्ख्यक जनताको समर्थन थियो । हामीले आफ्नो प्रभावलाई एकता ल्याउन प्रयोग गर्यौँ । हामीले सधैँ साम्प्रदायिकतावादसँग लड्यौँ । हामीले क्रान्तिकारी शक्तिको एकताको प्रक्रियाको अनुभव गर्यौँ । क्यामिलोले यी सबैमा भाग लिए । तर, उनको मृत्यु पहिले नै भयो । कामाग्वे (Camaguey) को घटना र हुबर म्याटिस (Huber Mates) को समस्यासँगै सन् १९५९ अक्टोबरमा उनको मृत्यु भयो ।
चेलाई पछि गएर उद्योग मन्त्रालयको जिम्मा दिइयो । उनले व्यवस्थित ढङ्गले काम गरे । उनीसँग धेरै जिम्मेवारी थिए । एउटा महत्वपूर्ण पदको लागि एक गम्भीर कामरेडको आवश्यकता जतिपटक पथ्र्यो चे आफूले गर्ने प्रस्ताव राख्थे । बैङ्किङ व्यवस्थाको विज्ञ र प्राविधिकहरू राजनैतिक असहमतिका कारण देश छोडेर जाँदा उनले राष्ट्र बैङ्कको सभापतिको रूपमा काम गरे । धेरै ठट्टा र किंवदन्तीहरू चले । जनता आफूले अर्थविद् मागेको र चेले स्वयम्सेवाको प्रस्ताव राखेको बताउँथे । हामीले उनलाई सोध्यौँ, “के तिमी अर्थविद् हौ ?” उनले जवाफ दिए “होइन, म कम्युनिस्ट हुँ ।” देशभित्रको सङ्घर्ष भर्खरै सुरु भएको थियो तथा दक्षिणपन्थी तत्वहरू चेलाई कम्युनिस्ट भएको र अन्य धेरै आरोप लगाइरहेका थिए । तर, चेको धेरै आधिकारिकता थियो । उनलाई दिइएको हरेक काम उनी कडाइपूर्वक र अति राम्ररी गर्थे । उनी कडा श्रम गर्ने र राष्ट्रियकरण गरिएको उद्योग क्षेत्रमा समाजवादको निर्माणमा उनले आफ्नो पहिलो अनुभव हासिल गरे । उनले उत्पादनको सङ्गठन गर्नमा उत्पादनको निरीक्षण गर्नमा, स्वयंसेवी काममा कडा श्रम गरे । उनी स्वयंसेवी कार्यका एक अग्रदूत थिए । उनी हरेक क्रियाकलापमा सहभागी भए । उनले गरेको हरेक कुरामा निरन्तरता थियो र आफूले गरेको हरेक काममा उनले उदाहरण राखे ।
यसरी उनले क्रान्तिपछिका सुरुका वर्षहरू बिताए । पछि गएर उनी आफ्नो पुरानो योजना र विचारको कारण अधीर हुन थाले । समय बितिरहेको तथ्यबाट उनी प्रभावित भएको हुनुपर्ने मेरो विश्वास छ । यसको लागि विशेष भौतिक परिस्थिति चाहिने कुरा उनलाई थाहा थियो । आफू यसो गर्न सक्षम भएको उनको विचार थियो । उनी आफ्नो मानसिक र शारीरिक क्षमताको उच्च चुलीमा थिए । क्युवामा उनले पाएको अनुभवबाट आफ्नो देशमा गर्न सकिने कुराहरूको विषयमा उनीसँग धेरै विचारहरू थिए । उनी आफ्नो देशको विषयमा सोचिरहेका हुन्थे तर उनले अर्जेन्टिनाको विषयमा मात्र सोचेनन् । उनी अमेरिका खास गरेर दक्षिण अमेरिकाको विषयमा सोचिरहेका थिए ।
उनी अधीर थिए । हाम्रो आफ्नै अनुभवबाट उनले गर्न चाहेको प्रक्रियाको प्रारम्भिक चरणका कठिनाइबारे हामीलाई थाहा थियो । उनले जे गर्ने विचार गरिरहेका थिए त्यसको लागि राम्रो परिस्थिति तयार गर्न सकिने मेरो विचार थियो । हामीलाई उनलाई अधैर्य नबन्न थप समय आवश्यक भएको कुरामा विश्वास दिलाउने प्रयास गर्यो । उनी पहिलो दिनदेखि नै बाहिर जान र सबै काम गर्न चाहन्थे तर हामी भने थोरै परिचित कार्यकर्ताहरूले पहिलो पाइलाहरू अगाडि बढाऊन् भन्ने चाहन्थ्यौँ ।
चे अन्तर्राष्ट्रिय प्रश्नहरू, अफ्रिकाले सामना गरेको समस्याहरूको विषयमा पनि सा¥है चासो राख्थे । त्यसबेला भरौटेहरूले पूर्व बेल्जिमेली उपनिवेश कङ्गो, अहिलेको जायरमा हस्तक्षेप गरिसकेको थियो । लुमुम्बाको हत्या भइसकेको थियो । एक नवउपनिवेशी सरकार स्थापना भइसकेको थियो र जायरमा एक सशस्त्र सङ्घर्षको आन्दोलन सुरु भयो । हामीले यस कुरालाई कहिल्यै सार्वजनिक गरेनौँ तर क्रान्तिकारी आन्दोलनले हामीसँग मद्दत माग्यो र हामीले एउटा अन्तर्राष्ट्रिवादी अभियानमा निर्देशकहरू र योद्धाहरू पठायाँै ।
मियामी मिना : लुमुम्बाको आन्दोलन ?
क्यास्ट्रो : त्यस समयमा सोमियालट (Soumialot) त्यसका नेता थिए । यो उही आन्दोलन थियो तर लुमुम्बाको मृत्यु भइसकेको थियो ।
मैले चेसँग एउटा प्रस्ताव राखेँ । समय उनको हातमा थियो । उनले पर्खनुपथ्र्यो । सोही समयमा उनी कार्यकर्ताहरूलाई प्रशिक्षण दिन, तिनीहरूको अनुभव विकास गर्न चाहन्थे । तसर्थ, हामीले उनलाई आजको जायरमा क्रान्तिकारीहरूलाई मद्दत गर्न गएको टोलीको जिम्मेवारी सुम्प्याँै । तान्गानिका (Tanganika) ताल पार गरेर तिनीहरू तान्जानिया पुगे । समग्रमा १०० क्युवालीहरू त्यहाँ गए र धेरै महिनासम्म त्यहाँ रहे ।
उनले जायरियालीहरूलाई कसरी लड्ने हो भन्ने कुरा सिकाए । क्युवाली र जायरियालीहरूले सरकारले पाएको सेना र गोरा भरौटेहरूसँग लडे । तिनीहरूले भरौटेहरूविरुद्ध धेरै लडाइँ लडे । जायरियालीहरूको पक्षबाट लड्ने विचार नभई तिनीहरूलाई मद्दत गर्ने, लड्न सिकाउने विचार थियो ।
तर, त्यो आन्दोलन सुरुमात्रै भएको थियो । त्यससँग पर्याप्त शक्ति वा एकता थिएन । अन्त्यमा पूर्वबेल्जिमेली उपनिवेशका क्रान्तिकारी नेताहरूले सङ्घर्ष रोक्ने निर्णय गरे तथा हाम्रा जवानहरू फिर्ता भए । त्यो निर्णय सही थियो । सङ्घर्ष विकासको लागि त्यस समयमा अनुकूल परिस्थिति नभएको प्रस्ट भइसकेको थियो । क्युवाली टोलीसँग मिलेर जायरियालीहरूले त्यो परिस्थितिको विश्लेषण गरेका थिए । हामी उनीहरूको मूल्याङ्कनसित सहमत थियौँ । यसपछि सैनिक एकाइलाई फिर्ता बोलाइयो र क्युवालीहरू घर फर्के ।
Leave a Reply