निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुनुपर्ने
- कार्तिक ६, २०८२
कैलाली, ३१ असोज । नेपाल मजदुर किसान पार्टी सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा शुक्रबार कैलालीको लम्कीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रशिक्षण कार्यक्रमलाई अनलाइन सम्बोधन गर्नुभएको थियो ।
भेलामा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “देशमा के–कस्तो गतिविधि हुँदै छ, सरकारले आफ्ना संयन्त्रमार्फत जानकारीमा राख्नु जरूरी हुन्छ । युवाहरूको भदौ २३ गतेको सडक प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले नै जानकारी भएको सार्वजनिक भयो । प्रम ओलीले सुरक्षा परिषद्को बैठकमा उठेका चासोलाई बेवास्ता गरेको पनि बताइन्छ ।”
बहुमत प्राप्त प्रधानमन्त्रीले सरकारी संयन्त्रमार्फत सम्भावित समस्या समाधान नहुने भए आफ्नो पार्टीको संयन्त्रमार्फत समाधान गर्न सक्नुपर्दछ । प्रधानमन्त्री ओलीसँग यस्तो संवेदनशीलता नहुनु उनी पार्टी र सरकारको नेतृत्वको लागि योग्य नभएको साबित हुन्छ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सुरूमा माले र पछि एमालेको नेतृत्वले नेमकिपाका कार्यकर्ताहरूलाई आर्थिक प्रलोभन देखाएर बिगार्ने काम गरे । नेमकिपाको महाधिवेशन र राष्ट्रिय सम्मेलनमा निम्ता पाएका ती नेताहरूले नेमकिपाका कार्यकर्ताहरूलाई प्रलोभन देखाएर आफ्नो पार्टीमा तान्नु भोज खुवाउनेको जुत्ता चोर्नुजस्तै अनैतिक हो ।”
नेमकिपाका कार्यकर्ताहरू पद र पैसाको लागि होइन देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने उद्देश्यसहित पार्टीमा लाग्नु आवश्यक भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता समर्थन गर्ने र हस्ताक्षर गर्ने प्रधानमन्त्री र मन्त्रीहरू जनविरोधी भएको उहाँले स्पष्ट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “प्रमहरू विदेशी आक्रमणको सामना गर्न पनि अघि बढ्नु आवश्यक छ । प्रधानमन्त्रीको कुर्सीमा बस्ने र काम अरूलाई गराउनेहरूको कारण देश सङ्कटमा परेको हो । निर्वाचित सरकारले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको धेरै देशहरूमा सैनिक शासन आएका उदाहरणहरू छन् ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारी पार्टीका नेताहरूले काठमाडौँमा बसार्इँ सरेर सहरलाई कुरूप बनाए । सरकारका मुख्य–मुख्य मानिसहरूले आ–आफ्नो जिल्लालाई विकास गरी जनताकै सेवा गर्नुपर्दछ । यसकारण, सङ्घीय राजधानी दाङ जिल्लामा सार्नुपर्दछ ।”
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवाल, केन्द्रीय सदस्यहरू खगेन्द्रबहादुर शाही, सरोजराज गोसाई र रमेशकुमार रावलले पनि बोल्नुभएको थियो ।
प्रदेश समिति संयोजक नवराज कोइरालाको सभापतित्वमा भएको सो कार्यक्रममा इन्जिनियर समाजका अध्यक्ष नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply