चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
भक्तपुर, २ कार्तिक । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा तिहार, ने.सं.११४६ र छठ पर्वको अवसरमा शुभकामना तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजवादउन्मुख शिक्षा प्रणाली लागु नगरी पुँजीवादउन्मुखलाई जोड दिएकोले गुणस्तरीय शिक्षामा सबैको पहुँच नपुगेको बताउनुभयो । देशको शैक्षिक कार्यक्रम आत्मनिर्भरतामा केन्द्रित हुनुपर्नेमा राज्यले विदेशमुखी बनाएको उहाँले स्पष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले समाजवादउन्मुख शिक्षा प्रणालीलाई केन्द्रित गरी विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । उहाँले वैदेशिक रोजगारीको नाउँमा जनतालाई राज्यले खरिदबिक्रीको वस्तु बनाइराखेको आँैल्याउनुभयो । एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप भएकाले कहिल्यै बेरोजगार हुन नपर्ने बताउँदै भक्तपुर नगरपालिकाले सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले एनजीओ र आइएनजीओहरूले देशका नेताको दिमागलाई खोक्रो पारेको बताउँदै शिक्षा क्षेत्रलाई सेवाभन्दा व्यापारिक थलोको रूपमा विकास गरेको बताउनुभयो । राज्यको शिक्षा नीतिले विद्यालय र कलेजबाटै गरिब र धनीबिचको वर्गभेद छुट्याएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्थामा बहुसङ्ख्यक जनताको हित हुने बताउँदै रिजरभ्वायरमै फोहोर पानी छ भने घर घरमा आउने पानी सफा हुन नसक्ने औँल्याउनुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले ध्वंस मात्र गर्न जान्ने र निर्माण गर्न नजान्नेलाई बाँदरे प्रवृत्तिको संज्ञा दिँदै वागीश्वरीका विद्यार्थी देश बनाउनका लागि नमुना साबित भइरहेको बताउनुभयो । उहाँले अहिलेका नयाँ पुस्ताले प्रविधिको सही सदुपयोग गर्न सकेमा देश बन्ने औँल्याउनुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले नेपाली जनताको काँधमा आएको २७ खर्ब राज्यको ऋण मोचन गर्ने नयाँ शङ्खधरको खोजी भइरहेको बताउँदै नयाँ पुस्ताले राज्यलाई डुबाउने भ्रष्टहरूको विरुद्ध निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरीले स्वाधीनता र स्वाभिमानलाई बेचेर कुनै काम नगरेको स्पष्ट पार्दै उहाँले सबैसँग इमानदारिता भएको भए देश खाडलमा नपर्ने बताउनुभयो । नयाँ पुस्ताले डिजिटल प्रविधिलाई रचनात्मक कार्यका रूपमा उपयोग गर्न जोड दिँदै आफ्नो ऊर्जालाई देश र जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले पढाइसँगै विद्यालयबाट गरेका अतिरिक्त क्रियाकलापहरूबारे स्पष्ट पार्नुभयो । विद्यालयको आचारसंहितालाई अक्षरश ः पालना गर्न जोड दिँदै उहाँले असल नागरिकको रूपमा देश र जनताको पक्षमा आफ्नो अध्ययनलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको क्षमतालाई अभिवृद्धि गर्न सैद्धान्तिकसँगै व्यवहारिक सीपमूलक कार्यमा कलेजले जोड दिइरहेका बताउनुभयो । शिक्षालाई सीपसँग नजोडी महत्वपूर्ण भाग बाह्य शक्तिबाट निर्देशित हुने हो भने देश दुर्घटनामा पर्ने उहाँको कथन छ ।
वागीश्वरी कलेजको रिसर्च म्यानेज्मेन्ट कमिटीका संयोजक प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले देशका कोही नेताको दम्भ र अहङ्कारले देशलाई पछि धकेलेको स्पष्ट पार्दै देशको मुहार फेर्न विद्यार्थीहरूले निरन्तर इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
वागीश्वरीका नवआगन्तुक विद्यार्थीहरू सहदेव ढकाल, जेनी सुकमनीलगायतले खुसी व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नितु चौरसिया, जेनिस बाडे, लक्ष्मी तामाङ, क्रिशला प्रजापतिले पनि बोल्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरूबाट सांस्कृतिक विधा प्रस्तुत गरिएको थियो ।
यसैबिच विद्यार्थी हित समिति वागीश्वरी माविको आयोजनामा शुभ दीपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम च्याह्मासिंह ब्लकमा एक कार्यक्रमसहित सम्पन्न भयो ।
उक्त कार्यक्रममा भनपा ९ नं वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले तिहार पृथ्वीका हरेक जीवको महत्व बुझाउने हिसाबले मनाउने गरिएको बताउनुभयो । प्रकृतिमा रहेका हरेक बोटबिरुवाको महत्व बुझ्न र बुझाउन विभिन्न फरक फरक ठाउँका विद्यार्थीबिच अनुभव तथा जानकारी शेयर गर्ने कार्यक्रम पनि विद्यार्थी हित समितिले आयोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले पाँचदिने तिहारमा प्रयोग गरिने विभिन्न वस्तुले ती वस्तुको महत्व बुझ्नुपर्ने र गरिने म्हपूजाले आफ्नो शरीरको महत्व बुझ्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।
पूर्वशिक्षक तथा व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले आजभन्दा ११४६ वर्षअघि शङ्खधर साख्वाले त्यो बेलाका नेपाली जनताको ऋण तिरिदिएको हुँदा आज सबैले उहाँबाट पाठ सिक्नुपर्ने बताउनुभयो । पूर्वप्रधानाध्यापक कृष्णप्रसाद धन्छाले यस्ता कार्यक्रमबाट नयाँ कुरा सुन्ने, नयाँ कुराको चर्चा गर्ने र नयाँ कुरा सुनाउने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले शिक्षक तथा विद्यार्थीले समसामयिक राजनीतिक गतिविधिबारे सचेत एवं जानकार हुनुपर्ने कुरामा जोड दिनुभयो ।
सहायक प्रअ उकेश सुवालले विज्ञानको वरदान डिजिटल सामग्रीलाई विद्यार्थीले शैक्षिक सामग्रीका रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ वागीश्वरीकी प्रतिनिधि तेजस्वी मानन्धरले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थी हित समितिद्वारा विभिन्न समयमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । त्यसलगत्तै विद्यार्थी कलाकारहरूले विभिन्न सांस्कृतिक विधा प्रस्तुत गरेका थिए ।
कक्षा १० का विद्यार्थीद्वय मुकुन्द पाण्डे र स्नेहा दाहालले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व विद्यार्थी हित समितिका अध्यक्ष सर्वेस दिदीयाले गर्नुभएको थियो ।
Leave a Reply