भर्खरै :

ब्रिक्स सहकार्य विश्व शान्ति र विकासको लागि

ब्रिक्स सहकार्य विश्व शान्ति र विकासको लागि

विश्वमा विद्यमान भू–राजनीतिक तनाव या युद्धबिच ब्रिक्सको १७ औँ शिखर सम्मेलन रियो डि जेनेरियो ब्राजिलमा सम्पन्न हुनुले विशेष अर्थ राख्दछ । अर्थात्, संरा अमेरिका र इजरायल इरान र प्यालेस्टिनमाथि युद्ध बर्साइरहँदा बृहत्तर ब्रिक्सले विश्व शान्ति र विकासको लागि पहल गर्नुले विश्व घटनामा बेग्लै महत्व राख्दछ । शिखर सम्मेलनले सदस्य र समझेदार देशहरूबिच सहकार्य अझ गहिरो र बलियो बनाउने मार्ग तय ग¥यो, एउटा न्यायसङ्गत विश्व व्यवस्थाको निर्माणका लागि सामूहिक पहलको आवाजमात्र दिएन दृढ प्रतिबद्धतासमेत व्यक्त ग¥यो ।
यो पटक भियतनाम ब्रिक्सको आमन्त्रणमा साझेदार देशको रूपमा सामेल भयो । ब्रिक्स प्लस या बृहत्तर ब्रिक्समा अब २० देश आबद्ध छन् । १० सदस्य देशहरू — ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त अरब इमिरेट्स हुन् भने १० साझेदार देशहरू — बेलारुस, बोलिभिया, क्युवा, काजाकस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम हुन् ।
भियतनामको आगमनसँगै बृहत्तर ब्रिक्सले अब विश्वको कुल गार्हस्थ उत्पादनमा ४४ प्रतिशत योगदान गर्ने क्षमता राख्दछ । अब विश्वको कुल जनसङ्ख्याको झण्डै ५६ प्रतिशत अर्थात् ४.४५ अर्ब मानिस बृहत्तर ब्रिक्समा बस्छन् । यसर्थ, ब्रिक्सले दक्षिणी गोलाद्र्धको अर्थतन्त्र सँगै जनशक्ति सशक्तीकरणमा भूमिका निर्वाह गर्दै छ भन्नु उचित होला ।
ब्रिक्स (BRICS) सामान्यतः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाद्वारा सुरु गरिएको उदीयमान बजारको सहकार्य संयन्त्र भनेर चिनिन्थ्यो । समयसँगै थप देशहरू यसमा सामेल भएपछि यसको प्रतिनिधित्व र प्रभाव दुवै बढ्दै गएको हो । समयसँगै ब्रिक्स परिवर्तनशील र अस्थिर विश्वमा स्थिरता ल्याउने शक्तिको रूपमा आफूलाई स्थापित गर्न सफल देखिन्छ । यसअघि सन् २०२५ जनवरीमा इन्डोनेशियालाई नयाँ सदस्यका रूपमा र जनवरी तथा जून महिनामा नयाँ साझेदार देशहरूलाई सामेल गरिएको थियो ।
‘व्यापक समावेशी र दिगो शासनका लागि ग्लोबल साउथ सहकार्य सुदृढ पार्दै’ भन्ने विषयमा आयोजित शिखर सम्मेलनले शासन, वित्त, जलवायु, स्वास्थ्य र प्रविधि क्षेत्रका १२६ बुँदा समेटिएको संयुक्त घोषणापत्र समेत पारित ग¥यो । त्यतिमात्र होइन भोकमरीविरुद्ध लड्ने, जलवायु सङ्कटविरुद्धको सहकार्य अगाडि बढाउने र नयाँ प्रविधिहरूको पहुँच विस्तार गर्ने प्रयासहरू पनि समावेश ग¥यो ।
चीनको समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानअन्तर्गतको ब्रिक्स र G20 अध्ययन केन्द्रका निर्देशक स्यू फेइबियाओका अनुसार, “संरा अमेरिकाको दबाबबिच पनि यो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न हुनु र थप विकासशील देशहरूको सहभागिता सुनिश्चित हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि हो जसले विगतका उपलब्धिहरूलाई भविष्यको प्रगतिसँग जोड्दछ ।” पेइचिङ रिभ्यूको अङ्क नं. २९, जुलाई १७, २०२५ मा लेखक मा मियाओमियाओले सम्मेलनबारे थुप्रै मिहिन जानकारी दिएका छन् । उनको लेखको सार यहाँ प्रस्तुत गर्नु सान्दर्भिक नै होला ।
६ जुलाईमा सम्पन्न शिखर सम्मेलनमा सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली च्याङले वर्तमान अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक प्रणाली गम्भीर चुनौतीको सामना गरिरहेको र विश्व अर्थतन्त्रको पुनरुत्थान कठिन रहेको बताए । उनले थपे, “ब्रिक्स सहकार्यले बहुपक्षीयताको अभ्यासलाई मजबुत पार्दै निष्पक्ष र खुला अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक प्रणाली स्थापना गर्न योगदान दिनुपर्छ । ग्लोबल साउथको सामूहिक शक्ति एकत्रित गर्नुपर्छ र विश्वको स्थिरता तथा विकासमा ठुलो भूमिका खेल्नुपर्छ ।”
स्यूका अनुसार यसपटकको शिखर सम्मेलनले सरलीकृत, प्रभावकारी र व्यवहारिक दृष्टिकोण अपनायो । जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता या बौद्धिकता (AI) शासन र विश्व सार्वजनिक स्वास्थ्य व्यवस्थासहित ६ वटा प्राथमिक क्षेत्रमा केन्द्रित भएर ठोस परिणामहरू ल्याउने प्रयास ग¥यो । यसले ब्रिक्सको आत्मा, सिद्धान्त र उद्देश्यहरूलाई पुनः पुष्टि गर्दै भविष्यका सहकार्यका लागि बलियो आधार तयार ग¥यो ।
पेइचिङ नर्मल विश्वविद्यालयका ब्रिक्स सहकार्य अध्ययन केन्द्रका निर्देशक वाङ लेइका अनुसार ब्रिक्सको आकर्षण यसको १९ वर्षको सहकार्यका उपलब्धिहरूमा आधारित छ । एकातिर ब्रिक्स संयन्त्रले सदस्य देशहरूलाई अन्तर्राष्ट्रिय प्रभाव बढाउन र विकासका अवसरहरू प्रदान गर्न एकअर्कालाई मद्दत गरेको छ । अर्कोतर्फ ब्रिक्सले बहुपक्षीयताको सिद्धान्तलाई आत्मसात गरेको छ । साना—ठुला सबै सदस्य देशहरूलाई समान रूपमा निर्णय प्रक्रियामा सहभागी हुन र सहमतिमा पुग्ने वातावरण सुनिश्चित गर्छ । हरेक साना ठुला देशको सार्वभौमसत्ताको सम्मान गरेको छ ।
रायटर्सका अनुसार (भियतनाम जोडिनु अघि) आजको ब्रिक्स परिवारले विश्व जनसङ्ख्याको आधाभन्दा बढी प्रतिनिधित्व गर्छ र उपभोग क्षमता समानता (PPP) का आधारमा विश्वको ४० प्रतिशत आर्थिक उत्पादनमा योगदान पु¥याउँछ । IMF को तथ्याङ्कअनुसार २०२४ मा ब्रिक्स देशहरूको संयुक्त जीडीपी वृद्धि दर ४ प्रतिशत पुगेको थियो, जुन विश्वको औसत वृद्धिदर भन्दा ३.३ प्रतिशत ज्यादा हो ।
वाङका अनुसार ब्रिक्सले उदीयमान बजार र विकासशील देशहरूको हित प्रतिनिधित्व गर्नुपर्ने र वर्तमान अन्तर्राष्ट्रिय प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दियो । ग्लोबल साउथका देशहरूको साझा आवश्यकता पनि यही हो । ब्रिक्सले विशेषत तेस्रो विश्वका देशहरूको एकता र सहकार्यलाई प्राथमिकतामा राखेको प्रस्ट छ ।
ब्रिक्सको पछिल्लो विस्तार र पुनः ऊर्जाकरण विश्व अर्थतन्त्र र भूराजनीतिमै ऐतिहासिक मोड हो भन्नु मनासिव होला । अब यो पाँच उदीयमान अर्थतन्त्रहरूको सङ्क्षिप्त रूप मात्र नभई, ‘ब्रिक्स प्लस’ को रूपमा विकसित भइसकेको बृहत्तर रूप हो । यसको उद्देश्य दक्षिण–दक्षिण सहकार्यको सबैभन्दा प्रभावशाली मञ्च तयार गर्नु र विकासशील तथा उदीयमान अर्थतन्त्रहरूसँग आपसी लाभदायक साझेदारी हुर्काउनु हो ।
चीनको विदेश मामिला विश्वविद्यालयका अतिथि प्राध्यापक मार्कस भिनिसियस दे फ्रेटासका अनुसार, “ब्रिक्स प्लस अब ग्लोबल साउथको आफ्नो आवाज उठाउने, आफ्ना हित परिभाषित गर्ने र वैकल्पिक विश्व व्यवस्थाको मोडेल प्रस्ताव गर्ने प्रमुख मञ्च बन्ने दिशामा अघि बढ्दै छ ।”
ब्राजिलको फ्लुमिनेनसे फेडेरल विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक तन्द्रो मेनेजेस दे कार्भालोका अनुसार ब्रिक्सले स्थापना गरेको नयाँ विकास बैङ्क (NDB) समावेशी र दिगो विकास खोज्ने देशहरूका लागि अग्रणी पहल बनेको छ ।
वाङका अनुसार, NDB ले प्रत्येक सदस्य देशको विशिष्ट परिस्थितिलाई ध्यानमा राख्दै देश–विशेष मोडेल विकास गरेको छ । यसले सडक, पुल, बन्दरगाह र सञ्चार पूर्वाधारजस्ता परियोजनाका लागि वित्तीय सहयोग प्रदान गर्दै सदस्य देशहरूको प्राथमिकतालाई सम्बोधन गर्छ । ५ जुलाईमा, NDB की अध्यक्ष दिल्मा रुसेफले कोलम्बिया र उज्बेकिस्तान पनि बैङ्कमा सामेल भइसकेको र कुल सदस्यता ११ पुगेको घोषणा गरिन् ।
५ जुलाईमा ब्रिक्स व्यापार मञ्चमा सम्बोधन गर्दै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भने, “संरक्षणवाद पुनरागमन भइरहेको अवस्थामा बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न र अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न उदीयमान देशहरू जिम्मेवार छन् ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्सका ‘अमेरिका विरोधी नीतिहरू’ अपनाउने देशहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिए । उनले यस अघि पनि अमेरिकी डलरको बर्चस्व कमजोर पार्ने कोसिस ब्रिक्सले ग¥यो भने अर्थात् डलरको विकल्पमा ‘ब्रिक्स मुद्रा’ अघि बढायो भने ब्रिक्स देशहरूमाथि १०० प्रतिशत थप भन्सार कर लगाउने धम्की दिएका थिए ।
ब्रिक्सको संयुक्त घोषणामार्फत सदस्य देशहरूले विश्वव्यापी द्वन्द्व र युद्धहरूको विरोध गरे । शान्तिको पक्षमा आवाज उठाए । संरा अमेरिकाको एकपक्षीय अतिरिक्त भन्सार शुल्क र गैर–शुल्क नीतिहरू अन्तर्राष्ट्रिय व्यापार नियमसँग असङ्गतमात्र होइन हानिकारक रहेको दाबी गरे । संरा अमेरिकाले विश्व व्यापार सङ्गठन (WTO) का नियम उल्लङ्घन गरेकोप्रति प्रश्न गरे । स्वतन्त्र व्यापार, वीन—वीन व्यापार WTO को व्यापार सिद्धान्त हो । व्यापारमा एकहट्टी र जिरो—सम खेल WTO को सिद्धान्तविपरीत छ जो अमेरिका खेल्दै छ । आफ्नो मात्र फाइदाका लागि व्यापार संरक्षणवादको नीति लिनु अन्तर्राष्ट्रिय अपराधभन्दा कम होइन भन्ने विश्लेषण पनि हुँदै छ । ब्रिक्सको घोषणामा लेखिएको छ, “व्यापारमा प्रतिबन्ध लगाउने कार्य विस्तारले विश्व व्यापार घटाउने, आपूर्ति श्रृङ्खला अवरुद्ध गर्ने र अन्तर्राष्ट्रिय आर्थिक क्रियाकलापमा अनिश्चितता ल्याउने जोखिम बढाएको छ ।”
स्यूका अनुसार शिखर सम्मेलनले संवेदनशील मुद्दाहरूमा सन्तुलित र संयमित दृष्टिकोण लिँदै ब्रिक्सलाई कुनै तेस्रो पक्षविरुद्धको समूह होइन बरु विकासको लागि साझा मञ्चको रूपमा प्रस्तुत गरेको छ जुन पश्चिमी गठबन्धनहरूको टकरावपूर्ण नीतिबाट स्पष्ट रूपमा फरक छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भने, “ब्रिक्सको विकासले बहुध्रुवीय शासन या विश्व व्यवस्था र सुरक्षा विषयमा विश्व बहसहरूलाई आकार दिँदै छ । हाम्रो फराकिलो भौगोलिक उपस्थितिसँगै बढ्दो प्रभावले ब्रिक्सलाई विश्व व्यवस्था संरचनामा सुधारका लागि वकालत गर्ने अनुकूल स्थिति दिएको छ ।”
रियो डि जेनेरियो राज्य विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सहयोगी प्राध्यापक जोनाथन म्याटोसका अनुसार, “नयाँ विश्व शासन या व्यवस्थाको माग कुनै आकस्मिक कुरा होइन, यो ऐतिहासिक सुधार या विकासक्रमको प्रक्रिया हो । ब्रिक्सले बर्चस्वविहीन, समावेशी र बहुध्रुवीय सहकार्यको मञ्च उपलब्ध गराउँछ ।”
मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमका अनुसार, “ब्रिक्स अब एउटा सशक्त र सिद्धान्तमा आधारित शक्ति हो जसले सन्तुलित र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्ने अवसर प्रदान गर्छ । पुराना अन्तर्राष्ट्रिय संस्थाहरूले बदलिँदो यथार्थ र विकासशील देशहरूको आकाङ्क्षालाई समेट्ने गरी सुधार हुन आवश्यक छ ।”
म्याटोसले निष्कर्षमा भने, “ब्रिक्स बहुपक्षीयता, बहुध्रुवीयता, क्षेत्रीय एकता र साझा माग पहिचानको आदर्श मोडेलको रूपमा खडा छ ।”
यस वर्ष जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धको विजयको ८० औँ वार्षिकोत्सव मात्र नभई, संयुक्त राष्ट्रसङ्घ (UN) स्थापनाको पनि ८० औँ वर्ष पुगेको छ । यस्तो महत्वपूर्ण वर्षमा अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्रसङ्घको मूल उद्देश्यप्रति पुनःप्रतिबद्धता जनाउन आवश्यक छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने, साथै अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्न सहकार्य प्रवद्र्धन गर्न ब्रिक्सको भूमिका बेजोड छ । सारमा, ब्रिक्स प्लस यो समयको लागि शान्तिको महत्वपूर्ण पहल मान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *