निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुनुपर्ने
- कार्तिक ६, २०८२
‘हामी नेपाल’ संस्थाको शङ्कास्पद गतिविधि
भदौ २३ र २४ गते भएको नयाँ पुस्ताको आन्दोलनमा सुदन गुरूङ नामका व्यक्तिले नेतृत्व गरेको ‘हामी नेपाल’ नामको गैरसरकारी संस्थाबारे निकै विवादास्पद चर्चा चल्यो । यो संस्थाको कार्यालय धरान, काठमाडौँ, नेपालगञ्ज र पोखरामा समेत रहेको समाचार छ ।
जेन–जीको नाममा भएको भदौ २३ र २४ गतेको आन्दोलनमा सुदन गुरूङ पानी वितरण गर्न आएका स्वयम्सेवक रहेको हल्ला थियो । पछि एकाएक उनी जेन–जीका नेता बने । उनको उमेर ३६ वर्ष रहेको छ । ३६ वर्षका गुरूङ जेनजीका नेता कसरी भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । वास्तवमा नयाँ पुस्ताको आन्दोलन मौका कुरेर बसेको यही संस्थाले हाइज्याक गरेको युवाहरूको गुनासो छ ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको अन्तर्वार्तामा जेन–जीका एक प्रतिनिधि रक्षा वमले भनिन्, “उहाँ आन्दोलनको दिन स्वयम्सेवक भएर आउनुभएको थियो । ‘हामी नेपाल’ भन्ने उहाँको संस्था रहेछ । स्वयम्सेवकका रूपमा पानी वितरण गरिरहनुभएको थियो । त्यसपछि उहाँ हामीसँग दोस्रो दिन आर्मी हेडक्वार्टरमा हुनुहुन्थ्यो । हामीले आर्मी हेडक्वार्टर छोडेर आइसकेपछि पनि उहाँहरू त्यहीँ हुनुहुन्थ्यो । त्यसपछि जे जे घटना भए उहाँहरू सँगसँगै हुनुहुन्छ ।” (नागरिक, २०८२ असोज ११)
नयाँ सरकार गठनको निम्ति सेनाको मुख्यालयमा भएको छलफल र सरकार गठनपछिको विभिन्न गतिविधिमा उनी जेन–जीको नेताको रूपमा छाए । उनले जेन–जी नेताको आवरणमा सरकारी कर्मचारीलाई निर्देशन दिने, धम्क्याउनेसमेत गरे । असोज १८ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा समेत पुगेर कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको चर्चा चल्यो । उनलाई कुन हैसियतबाट उक्त बैठकमा बोलाइएको हो भनेर सरकारको आलोचना पनि भयो ।
आन्दोलनको केही दिनपछि सुदन गुरूङ नेपाली नभई दार्जिलिङवासी रहेको चर्चा चलेको थियो । तर, पछि सन् १९८७ जून १९ मा काठमाडौँमा जन्मिएको भनियो । उनी एसएलसी पढ्दा पढ्दै घर छाडेर Call Centre मा काम गरेको र केही समय क्लब डिस्कोमा नाच्ने गरेपछि होटल हायातमा डिजेको भूमिका निर्वाह गर्न थालेको समाचार छ । भनिन्छ, उनी विज्ञापन र कोरियोग्राफी पनि गर्थे । सन् २०१२ मा उनले ‘ओएमजी’ नामको आफ्नै रात्री क्लव व्यवसाय सुरू गरेका रहेछन् । केही समयपछि उनी क्लव छोडेर घरजग्गा कारोबार, रियल स्टेट, एडभेन्चर बिजनेसतर्फ पनि लागेको बताइन्छ । पोखराको फेवातालमा Water Sports खेलाउने तयारी गरेको र उनले फेवातालको टेन्डर २५ वर्षको लागि पाएको चर्चा छ ।
गोरखालाई केन्द्रबिन्दु बनाएर गएको २०७२ को भूकम्पपछि उनको नेतृत्वमा ‘हामी नेपाल’ भन्ने संस्था जन्मिएको बताइन्छ । यो संस्था सन् २०१५ मा स्थापित भएर सन् २०२० मा दर्ता भएको देखिन्छ । यो संस्थाको सबै गतिविधिमा ‘बारबरा’ लगायत अमेरिकी तथा पश्चिमी संस्थाहरूले लगानी गरिरहेको खुल्दै छ । वरिष्ठ पत्रकार तथा लेखक प्रेम कैदीले बारबरा फाउन्डेसनले गुरूङको ‘हामी नेपाल’ लाई रू. २१ करोड रकम सहयोग गरेको ‘हिमाल अनलाइन टीभी’ को अन्तर्वार्तामा खुलासा गरे । उनले USAID ले नेपालमा आन्दोलन गराउन ९० करोड अमेरिकी डलर बारबरा फाउन्डेसन र ACYPL (American Council of Young Political Leaders) मार्फत खर्च गरेको पनि दाबी गरे ।
‘हामी नेपाल’ को वेभसाइटमा कोकाकोला, Student For A Free Tibet, Chambers Ireland लगायतका संस्थाहरूलाई सहयोगी संस्थाको रूपमा उद्धृत गरिएको छ । सन् १९९४ मा अमेरिकाको न्युयोर्कमा तिब्बती र युवा विद्यार्थी समर्थकले स्थापना गरेको ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ संस्थाले पनि ‘हामी नेपाल’ लाई शुभेच्छुक भन्दै आफ्नो वेभसाइटमा राखेको छ । यो संस्थाले आफ्नो वेभसाइटमा तिब्बती जनताको स्वतन्त्रताको सङ्घर्षमा ऐक्यबद्धताको काम गर्ने, स्वतन्त्र तिब्बतको निम्ति अभियान सञ्चालन गर्ने, सामाजिक न्यायको लागि विश्वव्यापी आन्दोलनमा सशक्त युवा नेता तयार पार्न प्रशिक्षित गर्ने लक्ष्य (Mission) तथा उद्देश्य रहेको उल्लेख गरेको छ ।
भदौ २३ र २४ गतेको नयाँ पुस्ताको आन्दोलनमा TOB (Tibetan Original Blood) लेखिएको ज्याकेट लगाएका व्यक्तिहरूले बुलेट बाइक चढेर गरेको हर्कतबाट चीनविरोधी गतिविधि नेपालमा हुँदै गरेको स्पष्ट हुन्छ । सुदन गुरूङको ‘हामी नेपाल’ को सम्बन्ध ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ सँग रहेको उसको वेभसाइटले स्पष्ट पार्छ । यसले गुरूङको ‘हामी नेपाल’ सुरूदेखि नै चीनविरोधी गतिविधिमा संलग्न रहेको आशङ्कालाई झन् बलियो बनाउँछ । यो संस्थाले पश्चिमाहरूबाट डोनेसन ल्याउने र क्रिश्चियन धर्म प्रचार गर्ने गरेको चर्चा पनि छ । गुरूङ्गले भूकम्पको समयमा डोकोमा राहत सामग्रीसँगै बाइबल वितरण गर्दै हिँडेको प्रसङ्ग पनि सञ्चारमाध्यममा उठेको थियो ।
२०२५ सेप्टेम्बर ८ मा ‘ग्लोबल जस्टिस नेटवर्क’ का निर्देशक काजी मामुन (Kazi Mamun) ले नेपालीलाई सचेत गराउँदै भने, “हेर्दा ‘हामी नेपाल’ भन्ने संस्था युवा शक्तिजस्तो देखिन्छ । तर, ‘हामी नेपाल’ को बारबरा फाउन्डेसनसँग लामो सम्बन्ध छ । ती संस्थाका पदाधिकारीहरू नेपाली अनुहारका छन् तर तिनीहरूलाई पश्चिमाबाट आर्थिक सहयोग हुन्छ । बङ्गलादेशमा पनि विदेशी गैरसरकारी संस्था र विदेशीबाट परिचालित नागरिक समाजका समूहहरूले सरकारलाई अस्थिर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । तपाइँको देश चीन र भारतको बिचमा छ । अमेरिका चीनसँगको व्यापार युद्धमा छ । अमेरिका चीन, भारत र रुससँगको रणनीतिक द्वन्द्वमा छ । वासिङटनको निम्ति नेपाल सानो हिमाली देशमात्र होइन, रणनीतिक क्षेत्र हो । यसकारण, नेपालमा अमेरिका सहयोगको नाममा पैसा, गैरसरकारी संस्थाहरूलाई प्रयोग गर्दै छ । यसले तपाईँको देशलाई समाप्त पार्न सक्छ । नेपालले बङ्गलादेश र अन्य देशबाट सिक्नुपर्छ । तपार्इँको देश शक्तिशाली देशहरूको खेलमैदान बन्नुहुन्न । नेपालीहरूले आफ्नो सार्वभौमिकता बचाउन बिउँझनुहोस् ।”
मामुनका अनुसार सन्दुक रूइत अध्यक्ष रहेको बारबरा फाउन्डेसनबाट ‘हामी नेपाल’ ले आर्थिक सहयोग पाउने गर्दछ । सुदन गुरूङ आफैले एउटा टीभी अन्तर्वार्तामा ‘बारबरा फाउन्डेसन’ आमा सङ्गठन रहेको बताउँदै बारबरा फाउन्डेसन र सन्दुक रूइतको निर्देशनअनुसार नै आफूहरू चल्ने गरेको बताएका थिए । काजी मामुनले रूइतको फाउन्डेसनलाई एकजना विवादित व्यवसायी सुहरिदराज घिमिरेले छोरी अदितीको नामबाट ठुलो आर्थिक सहयोग गर्ने गरेको पनि खुलासा गरे । पानामा पेपर्सले स्वीस बैङ्कमा अकुत सम्पत्ति थुपार्ने र ट्याक्स हेभन मुलुकमा कालो धन लगानी गर्ने व्यक्तिको सूची निकाल्दा घिमिरेको नाम आएको उजागर गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटतम सहयोगी दक्षिणपन्थी कार्यकर्ता लरा लुमर (Laura Loomer) ले नेपालमा भएको जेन–जी आन्दोलन यूएसएआईडी (U.S Agency for International Development) द्वारा सञ्चालित रहेको दाबी गरिन् । सामाजिक सञ्जालमा उनले लेखिन्, “भ्रष्टाचारविरूद्ध यूएसएआईडीबाट प्रेरित युवा विद्रोहपछि नेपालको सरकार ढल्यो । तर, बाइडेनद्वारा नियुक्त अमेरिकी राजदूत डीन थोम्पसन ट्रम्प प्रशासनअन्तर्गत अझै पदमा कार्यरत छन् ।” (Nepal News, 2025, Sept. 18) यसले नयाँ पुस्ताको आन्दोलनलाई कसले दिशानिर्देश गरेको छ भन्ने प्रस्ट हुन्छ ।
आन्दोलनमा पानी बाँड्न आएका सुदन गुरूङले सुशीला कार्कीलाई प्रधानमन्त्री नबनाए राष्ट्रपतिलाई शीतल निवासबाट घिसार्नेसमेत धम्की दिएका थिए । राष्ट्रपतिको सातो गयो । प्रधानमन्त्री शपथग्रहणको बेला उनले प्रम सुशीलाको खुट्टामै ढोगे । तर, भदौ ३० गते बालुवाटारमा गुरूङको नेतृत्वमा ‘हामी नेपाल’ समूहले मन्त्रिपरिषद् गठनमा बेवास्ता गरिएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै नाराबाजीसमेत ग¥यो । यो दोहोरो चरित्रले उनी नेपालको सरकारलाई नियन्त्रण गर्ने विदेशी मालिकबाट परिचालित ‘छद्म व्यक्ति’ रहेको पुष्टि हुन्छ । नयाँ पुस्ताको चेत बेलैमा खुलोस् ।
२०८२ कार्तिक २ गते
Leave a Reply