भर्खरै :

सन्दर्भः भदौ २३ र २४ गतेको प्रदर्शन – साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन (५)

सन्दर्भः भदौ २३ र २४ गतेको प्रदर्शन – साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन (५)

को हुन् बारबरा एडम्स ?
सन् १९३१ अप्रिल २४ मा अमेरिकाको न्यूयोर्कमा जन्मिएकी बारबरा एडम्स सन् १९६० (वि.सं.२०१६) मा युवा पत्रकारको रूपमा नेपाल आएकी थिइन् । उनी एक इटालियन पत्रिकाको निम्ति महारानी एलिजावेथको नेपाल भ्रमणबारे कथा लेख्ने बहानामा नेपाल आएकी थिइन् । तर, एलिजावेथ भ्रमणको कथा कहिल्यै लेखिएन । भनिन्छ, बारबरासँगै टेक्ससका करोडपतिहरू पनि नेपाल आएका थिए । जसले नेपालमा बसेर षड्यन्त्रका तानाबाना बुन्दै चीनविरोधी गतिविधि सञ्चालन गरे ।
बारबरा परिवारको अमेरिकाको न्युयोर्क साउथ आइल्याण्डस्थित उत्तरी फोर्कमा घर छ । सन् १९१० को हाराहारीमा मात्र बारबराको परिवार उत्तरी फोर्क आएको उनका एक साथी अमेरिकी नागरिक Michael Gill को दाबी रहेको छ । बारबराका पिता एक अर्थशास्त्री थिए । उनका पिता एफडीआर (Franklin D. Roosevelt) को प्रशासनमा काम गर्थे । बारबराको परिवार न्युयोर्क सिटी र वासिङ्टन डिसीका डेमोक्रयाट परिवारसँग सम्बन्धित छन् ।
उनी नेपालमा बसेपछि तत्कालीन महेन्द्र राजाका कान्छो भाइ अधिराजकुमार बसुन्धरासँग प्रेम विवाह भएको थियो । बसुन्धरा र बारबरा हङकङको गोप्य यात्राबाट फर्केपछि उनीहरू दम्पतीका रूपमा देखा परे । तर, बारबरा विदेशी भएको कारण दरबारले उनीहरूको विवाहलाई मान्यता दिएन । बारबराको ताहाचलस्थित दरबार स्वीस वास्तुकार रोबर्ट वोइस (Robert Weise) ले डिजाइन गरेका थिए ।
१९८५ (वि.सं. २०४२) तिर बारबरा नेपालको शिक्षा मन्त्रालयमा USAID को सल्लाहकारको रूपमा काम गर्थिन् । उनका साथी Michael Gill नयाँ युग र नेपालको महिला कानुनी सेवा परियोजनामा सल्लाहकारको रूपमा काम गर्थे । सन् १९६० को दशकदेखि नै धेरै अमेरिकी नेपालमा शान्ति सेना स्वयम्सेवी
(Peace Corps Volunteer) को रूपमा काम गर्ने नाममा आइसकेका थिए । उनीहरूले नेपालमा बसेर तिब्बत मामिला उछाल्ने काम गरे । विज्ञहरू भन्छन् , “राजा महेन्द्रको पालामा अमेरिकी खुफिया नेपाल पस्नको निम्ति बारबराजस्ती सुन्दरी केटीलाई योजनाबद्ध ढङ्गले पठाइएको हो । बसुन्धरासँग बारबराले विवाह गरेपछि नेपाल दरबारको गोप्य कुरा उनीमार्फत सीआईएसम्म पुग्थ्यो ।”
१९७७ (वि.सं. २०३४) मा बसुन्धराको मृत्यु भयो । उनको मृत्युपश्चात् बारबराको सोच उदार प्रजातान्त्रिक राजनीतिप्रति बढ्यो । सन् १९८० को दशकको अन्ततिर नेपालमा चलेको प्रजातान्त्रिक आन्दोलनमा बारबराले भरपुर समर्थन गरिन् । राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा रूपान्तरण गर्न उनको महत्वपूर्ण योगदान रहेको उनकै अमेरिकी साथी Michael Gill बताउँछन् । जब कि अमेरिकी राजदूतावाससमेत यो मामिलामा डराइरहेको थियो । बारबरा र माइकल गिललगायत अमेरिकीहरूको भेटघाट, तथा छलफल पञ्चायत फालेर संसदीय प्रजातन्त्र स्थापना गर्न चाहने नेपालीहरूसँग हुन्थ्यो । जसप्रति उनीहरू सहानुभूति राख्थे । (ECS NEPAL, Text by Michael Gill, Barbara Didi & Me, 2018 March 196 Features Issue)
राजतन्त्रविरोधी गतिविधि गरेको आशङ्कामा १९८८ (वि.सं. २०४५) तिर तत्कालीन महारानी ऐश्वर्यले बारबरालाई घरमै नजरबन्दमा राख्न र देश निकाला गर्न आदेश दिइन् । उनी सन् १९९० मा संवैधानिक राजतन्त्र स्थापना भएपछि नेपालका शक्तिशाली राजनीतिक नेताहरूको माध्यमबाट पुनः नेपाल फर्किन् । वि.सं. २०५२ सालदेखि ‘जनआस्था’ पत्रिकामा लेख्न थालिन् ।
नेपालमा बसेर उनले माओवादी गतिविधिलाई पनि सघाएको देखियो । विज्ञहरू भन्छन् – “माओवादीलाई हतियार र तालिम दिने काम भारतको ‘रअ’ ले ग¥यो भने पैसा लगानी बारबरामार्फत ‘सीआईए’ ले ग¥यो ।”सन् १९९८ (वि.सं २०५५) मा उनलाई दोस्रोपटक देश निकाला गरियो । जनआस्था पत्रिकामा माओवादीप्रति सहानुभूति राख्दै स्तम्भहरू लेख्न थालेपछि दोस्रोपटक देश निकाला भएको थियो । उनले नेपालमा बसेर तिब्बत मामिलामा चीनविरोधी गतिविधि गरेको कारण देश निकाला गरिएको पनि भनिन्छ ।
उनले नेपाली नागरिकता प्राप्त गर्न निकै कसरत गरिन् । २००९ मा माओवादीले चुनावमा बहुमत प्राप्त गरेपछि वि.सं. २०६५ माघ २९ गते प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले उनलाई नेपाली नागरिकता दिए ।

बारबरा फाउन्डेसन
उनको नाममा वि.सं. २०६७ वैशाख १४ गते (सन् २०१० अप्रिल २७) ‘बारबरा फाउन्डेसन’ नामक एक गैरसरकारी संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भयो । यो संस्था अमेरिकी गुप्तचर संस्था सीआईएकै आडमा स्थापना भएको विज्ञहरूको मत छ । नेपालका दुर्गम र विपन्न गाउँहरूका मान्छेहरूलाई सशक्तिकरण र शिक्षित गरेर आयआर्जन वृद्धि गनेर्, स्थानीय सीपहरूमा उत्पादन व्यवस्थापन गर्ने, युवाहरूको सीप वृद्धि गरेर रोजगारी सृजना गर्ने र सुशासन र लोकतान्त्रिक मान्यताहरूलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको यसको वेभसाइटमा उल्लेख छ । हाल डा. सन्दुक रुइत उक्त संस्थाका अध्यक्ष छन् । यो फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता गर्नेहरूलाई अनुसन्धान गर्न प्रेरित गर्ने’ भनिन्छ । तर, उक्त संस्थालाई अमेरिकी गुप्तचर विभाग ‘सिआइए’ ले सञ्चालन गरेको आरोप छ । सन् २०१६ मा बारबराको नेपालमै मृत्यु भयो ।
भदौ २३ र २४ गते जेन जीको नाममा भएको नयाँ पुस्ताको आन्दोलनमा यो संस्थाको भूमिका रहेको खुल्दै छ । सुशीला कार्की नेतृत्वको सरकार बारबरा फाउन्डेसनले नै बनाएको चर्चा छ । मन्त्रीमण्डलमा रहेका सबै मन्त्री कुनै न कुनै ढङ्गले बारबरा फाउन्डेसनसँग जोडिएका छन् । आन्दोलनको निम्ति ‘हामी नेपाल’ संस्थालाई सहयोग गरेको र सरकार गठनमा बारबरा फाउन्डेसनको हात रहेको चर्चा चलेपछि अध्यक्ष सन्दुक रुइतले पत्रकार सम्मेलन गरी बारबरा फाउन्डेसनको कुनै हात नरहेको स्पष्टीकरण दिए । तर, घटनाक्रमले रुइतको स्पष्टीकरणमा सत्यता नरहेको सङ्केत गर्छ । रुइतले नै भनेका छन्, “बारबराको धेरै राजनीतिक गतिविधिमा सहमत छु” (Nepal News Network, 2025 Sep 14) सन्दुक रुइतले जेन जी आन्दोलनलाई समर्थन गर्दै विज्ञप्ती पनि निकालेका थिए ।
खप्तड दैनिक डटकम, हेलो टिभी नेटवर्कलगायतमा प्रसारण भएअनुसार कार्तिक ४ गते सरकारले जेन जीका घाइतेहरूलाई बोलाएको बैठकमा घाइते युवाहरूलाई प्रधानमन्त्री सुशीला कार्की र उनका मन्त्रीहरूले बारबरा फाउन्डेसन राम्रो भएको र उक्त संस्थाको विरोध गर्न नहुनेबारे लामै पाठ पढाएको सार्वजनिक भयो । जेनजीका एक घाइतेले भने, “हामीले बारबरा फाउन्डेसन र एनजीओ, आइएनजीओ भन्ने शब्द बोल्नासाथ एक्कासि प्रधानमन्त्री आक्रोशित हुनुभयो । हामीले भित्र बैठकमा गाली खायौँ । सञ्चारमन्त्री जगदीश खरेलले ‘बारबरा फाउन्डेसन’ राम्रो हो भनेर ब्रिफिङ गर्दै हामीलाई कन्भिन्स गर्न लाग्नुभयो ।” यसरी कार्की नेतृत्वको सरकार अमेरिकी गुप्तचर संस्था सीआईएको निर्देशनमा अमेरिकी गैरसरकारी संस्था बारबरा फाउन्डेसनसँग सम्बन्धित व्यक्तिहरूले बनाएको प्रस्ट हुँदै छ ।

२०८२ कार्तिक ९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *