भर्खरै :

लक्ष्मीप्रसाद देवकोटा र काव्य यात्रा – १

लक्ष्मीप्रसाद देवकोटा र काव्य यात्रा – १

नेपाली काव्य–लोकमा अहिलेसम्ममा सबभन्दा प्रतिभाशाली कवि देवकोटालाई नै देखेको छु । सुनेको थिएँ शम्भुप्रसाद कवि पनि निकै प्रतिभाशाली थिए । उनले आशुकविको उपाधि पाएका थिए । झट्ट लेख्ने कविमा शम्भुप्रसादकै नाम गौरवान्वित थियो । हाम्रा युगका झट्झट् लेख्ने कवि देवकोटा त शम्भुप्रसादभन्दा पनि कम नै ७ हात लामो होलान् । अतएव देवकोटालाई पहिलोलाई पनि मात गर्ने द्वितीय आशुकवि भन्न सुहाउँछ । देवकोटाका पुस्तकाकार रूप लिएर प्रकाशित भइसकेका अहिलेसम्मका जम्मा रचना छन् – मुना–मदन, सत्यवान–सावित्री, कुञ्जिनी, प्रसिद्ध प्रबन्धसङ्ग्रह, लक्ष्मी–निबन्धसङ्ग्रह, शाकुन्तल (महाकाव्य), सुलोचना (महाकाव्य) । फुटकर रूपमा प्रकाशित भइसकेका रचना त धेरै नै छन् । अप्रकाशित पुस्तक र फुटकर रचनाहरू पनि देवकोटाका धेरै छन् । देवकोटासित मेरो व्यक्तिगत परिचय पनि पूरा छ । उनी बराबर भन्दथे, १०–१० दिनमा म एउटा–एउटा महाकाव्य लेख्न सक्तछु । महिना दिनमा ४ वटा नाटक लेखिसिध्याएको कुरा एकचोटि मलाई भनेका थिए : हालै प्रकाशित भएको शकुन्तला महाकाव्य पनि थोरै दिनमा सिध्याएका थिए । वास्तवमा उनको भनाइमा असत्यता कति छैन भन्नुभन्दा पनि उनी छिटो लेख्न सक्तछन्, यो कुरा व्यक्तिगत रूपमा उनलाई चिन्नेलाई मात्र थाहा छ । हिन्दीका लेखक राहुल सांकृत्यायन र नाटककार सेठ गोविन्ददास सा¥है प्रतिभाशाली छन् : ‘मज्झिम निकाय’ (१०।।x७’ साइजको, जम्मा पृष्ठ ६६६ भएको एक ठुलो बौद्धिक ग्रन्थ) राहुलजीले ३८ दिनमा अनुवाद गरिसिध्याए, सेठजी पनि अढाइतीनसय पृष्ठको नाटक २३ दिनमै समाप्त गरिहाल्दारहेछन् । हाम्रा नेपालीका लेखक तथा कवि लक्ष्मीप्रसाद देवकोटा पनि यिनीहरूभन्दा झट्झट् लेख्नमा केही कम छैनन् ।
देवकोटा खुब दौड्न सक्ने भएकाले उनले लयात्मक, प्रक्रित्यात्मक र वर्णनात्मक शैलीलाई प्रायः रुचाएका छन् । दौड्नलाई यी शैली सजिला पनि छन् तर कविका यी शैलीमा उस्तो ठोसपन, व्यञ्जनात्मक र गाम्भीर्य नभएकोले दौडाइपन मात्रै देखिन्छ । यी प्रक्रित्यात्मक र वर्णनात्मक शैलीबाहेक अरू शैलीका कविताहरूमा त राम्रो खँदिलोपन, विचारसङ्गति र बोधगम्यता छ । उनका गरिब, यात्री, मार्ग, वीरता, वन, मुना–मदन काव्य हेर्दा स्पष्ट बुझिन्छ देवकोटा गायक र प्रकृति–वर्णनको मात्र लहरे र सरसरे कवि होइनन् : जग, जीवन, मानवता आदिको रहस्य उसको सत्यता र सौन्दर्य, उसको रूप–रेखा र कण–कण अणु–अणुबाट पनि परिचित, अभ्यस्त र अनुभूत पनि छन् । उनको हृदयको सतहमा कमनीय कामना, अमृय–आकाङ्क्षा, सुन्दर भावना र सौजन्य सहानुभूति छन्, मस्तिष्क पनि उनको विचार र कल्पनाले भरेको छ । कल्पनाको त देवकोटा यति धनी छन् कि नेपालमा यसका जोडा अर्को कल्पनाका कवि छैनन् भने पनि हुन्छ । उनका प्रायः कृतिमा कल्पना यति बेगले दौडिरहेको हुन्छ कि सत्य, यथार्थ अर्थात् वास्तविकताले पक्रनै सक्तैनन् । उनको विशेष ख्याति नै सरसरे प्रतिभा र कल्पनामा छ ।
‘गरिब’ देवकोटाको तत्वात्मक रूपले होइन, चमत्कारिकरूपमा एउटा विचित्रको सफल कविता हो । यसमा तारीफ यो छ कि गरिबीको सङ्गोपाङ्ग चित्रण सुखको आली आलीबाट हिँडी–हिँडिकन गरिएको छ : एउटा सुखीको सुखसित होड लिएर एउटा गरिब आफ्नो गरिबी सुखको बढ्ता सत्यता र मिठास अनुभव र कल्पना गर्दछ । ऊ आफ्नो गरिबी सुखको वर्णन गरेर भौतिक सुखलाई असत्य र खुब तुच्छ साबित गर्दछ । आफ्नो सुखको मस्तानामा ऊ भौतिकताका सुखीसित आह्वान गर्दछ –
गरिब भन्छौ ? सुखको मझैँ धनी,
मिल्दैन संसार भरी कतै पनी;
विलासको लालस–दास छैन म,
मिठो छ मेरो रसिलो परिश्रम ।
धेरैजसो भौतिकताका सुखी अर्काको हातले खाई, अर्काको खुट्टाले हिँडी, अर्काको आँखा–मुखले हेरेर बोलेर जीवन–पङ्गु हुन्छन्, उस्तालाई देवकोटाको गरिबले क्या भन्यो–
प्रयासका पत्थरमा नदी सरी,
बहन्छु हाँसी म तरङ्गले भरी;
म पोखरीझैँ उहीँ ठाऊँ जम्दिन,
छ शुद्ध यो जीवनको सबै कण ।
देवकोटाको गरिब खुब अनुभवी छ, ऊ एकचोटि धनी पनि भइसकेको बुझिन्छ । ऊ भन्दछ– धनिकको सुख र भोजन पेटैमात्र भराउँछ, उसलाई स्वादिलो गाँसको नसिब छैन, बिजुलीको प्रकाशमा बसेर पनि ऊ अँध्यारैमा हुन्छ । गरिबी सुखको स्वाद ऊ कस्तो मिठो बताउँदछ –
निधार मेरो पसिना जडाउ छ,
मोती तिनैको अनमोल भाउ छ;
छ शान्तिको सुन्दर दीप बासमा,
पीयूषको स्वाद छ गाँस–गाँसमा ।
कविको गरिब भोक र प्यासको कुरा लिएर धनिकसित असल मुखमा दाँजेर जित्दछ, ऊ के भन्छ, गरिबको सुख धनीको जस्तो तृप्ति–मात्र होइन भोक र प्यास पनि उसलाई मीठो र रसिलो छ, त्यसैले ऊ भन्छ– “छ भोक मीठो, रसिलो छ प्यास ।”
देवकोटाको गरिब भौतिकताका सुखसित हँसी गरेर भन्दछ– “तिमी त सुखी नै होइनौ, तिम्रो सुख, एकदम कृत्रिम सुख हो, सृष्टिका यत्रो ठुलो प्राकृतिक सुखको भण्डार के तिमीले कहिल्यै हेर्नसम्म पाएका छौ ? – ती सबै मेरा हुन् तिनको तिमीले कहिल्यै उपभोग गर्न पाएका छैनौ, त्यसैले तिमी कृत्रिम र नश्वर सुखी हौ, त्यो हराउने हुनाले त्यसको खोजमा तिमीले बराबर हिँडेर दुःख भोग्नुपर्नेछ ।”
देवकोटाको गरिबले खुब ठीक भन्यो । वास्तवमा गरिबी सुखको स्वाद साँच्चै मीठो हुन्छ । मीठो भन्ने स्वाद साँच्चैको थाहा पाउने कोही छ त त्यो गरिबको सुखी नै हो । सुखको स्वादले खुब अनुभूत भइसकेकोले नै कविको गरिबले घुँडा घस्न नसकेको हो । खालि प्रकृतिको आडमा बसेर सुखको डिङ्ग हाँकिरहेको भए म कविको गरिबलाई “हाम्रो यो मानिसको बस्तीमा बस्न तिमीलाई अधिकार छैन, पहाड–जङ्गलहरूमै बसेर कन्दमूलहरू खाएर बाँचिरहूँ” भनी हपार्ने थिएँ, तर उनको गरिब त्यस्तो होइन, उसले प्रकृतिबाट र दुःखमा पनि सुखको स्वाद लिन जानेको मात्र हो । सुखको खुब स्वाद लिन जान्नु नै त्यसको धन हो, वास्तवमा ऊ पोखरीझैँ उही एक ठाउँमा जमेर बस्दो रहेछ, सुखको स्वाद राम्ररी चुस्नलाई ऊ प्रयासको पत्थरमा नदीसरि बहिरहन्छ पनि ।
घर छोडी, परिवार छोडी, मुलुक छोडी संसारका कुना कुना धाएर आधा पेट नसीब नहुँदा पनि देवकोटाको ‘गरिब’ लाई सन्तोषै छ, क्या मजाको रमाइलो गरिब ! देवकोटाको ‘गरिब’ को अर्को तारीफको कुरा के छ भने उसलाई थोरै आवश्यकता भए पुग्छ, धेरै–धेरै आवश्यकतामा बसेर ऊ दुखित हुन चाहँदैन, आफ्नो आवश्यकता थोरैले पु¥याएर ऊ नयाँ–नयाँ सृष्टि गरेर संसार जमाउन चाहन्छ, संसारलाई जमाउन खोजेर पनि ऊ सुखको स्वाद लिन जान्दछ, कामनाको पनि ऊ धनी नै रहेछ –
छ थोर आवश्यकता पुगेपछि,
म बस्छु, संसार नयाँ–नयाँ रची ।
देवकोटाको गरिब–भनाइको अनौठापनले हो कि मलाई खुब राम्रोभन्दा रमाइलो लाग्यो, मज्जा लाग्यो । उसको भनाइको लज्जतमा कला सुतेको छ, चमत्कार हाँसेको छ, विलक्षणताले बोलेको छ । तर, जति मलाई राम्रो लागेको छ, म ठान्दछु मलाई भन्दा पनि आफ्नो फाइदाको दृष्टिले शोषकहरूलाई अझ बढ्ता राम्रो लाग्ला, किनभने त्यसले शोषकको शोषणबाट शोषित भएर गरिब भइरहेका मानिसहरूलाई दावा र सङ्घर्षको सट्टा सन्तोषको भावना प्रस्फुरण गराउँछ । यस्ता पुङमाङे सुखीहरू त शोषकहरूले खोजिरहेका छन् । शोषकहरूले सायद ‘गरिब’ का सृष्टिकार देवकोटालाई पुरस्कार प्रदान गर्न पनि बेर छैन । रगत पिएर प्यास बुझाउने, मासु खाएर भोक टार्ने, छुरी धसेर अभाव मिटाउने इत्यादि किसिमका संसार त रचिसकेका छन् । जुठ्यानमा फ्याँकिएको जुठो भातको निम्ति कुकुर र मानिसको लडन्त हुने, खान नपाएर अज्ञात आमासितै गर्भस्थ बालकले समेत एकै चिहानमा जल्न परेको, सुत्ने ठाउँ नपाएर बाटैमा लम्पसार भई निद्रादेवीलाई आह्वान गर्न सकेको संसार पनि सिर्जिसकेका छन्, अब थोरै आवश्यकताले पु¥याएर देवकोटाको ‘गरिब’ ले कस्ता–कस्ता नयाँ संसार बनाउँदो होला कुन्नि । परिवारमा परस्परले परस्परका आँखामा पिरले बहिरहेका आँसु पिई प्यास बुझाएर पनि शान्तिको सास फेरिरहने संसार एउटा रचिएको छैन, त्यो पनि देवकोटाको ‘गरिब’ ले रच्ने हो कि नमालुम ! ‘सन्तोषम् परम् सुखम्’ का अझ कस्ता–कस्ता संसार देवकोटाको ‘गरिब’ ले रच्न आँटेको छ ।
‘गरिब’ पछि मलाई ‘यात्री’ ले आकर्षित गर्यो । यसमा खँदिलोपन, विचारसङ्गीत र गाम्भीर्य खुब छ । ‘यात्री’ लाई जीवनका अनेक कर्तव्यहरूको एउटा सुन्दर रूपक भने पनि हुन्छ । हामी भारतीहरू एक अदृष्टको अनन्त कल्पना गरी जप–तप समाधि–योग, पाठ–पूजा, स्तुति–आराधना आदि अनेक सुकर्मद्वारा उनकहाँ पुग्न अखण्ड आकाङ्क्षा गर्दछौँ, उनको मिलनको निमित्त दूर–दूर पनि ढुँढेर हिँड्दछौँ । यसैलाई लक्ष्य गरेर ‘यात्री’ का कवि भन्दछन् –
हाडहरूका सुन्दर खम्बा,
मांस–पिण्डका दीवार,
मस्तिष्कको यो सुनको छाना,
इन्द्रियहरूको द्वार,
नसा नदीका तरल तरङ्ग,
मन्दिर आफू ! अपार,
कुन मन्दिरमा जान्छौ यात्री !
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज,
चेतनको यो ज्योति हिरण्मय,
उसको शिरको ताज,
शरीरको यो सुन्दर मन्दिर
विश्व–क्षेत्रको माझ !
यो कुरा कविले राम्रो ढङ्गसित भने तापनि यसमा कविको मौलिकता छ भन्न सकिँदैन । यो कुरा धेरैले भनिसकेका छन् । धेरैले भन्दै–भन्दै प्रतिध्वनित हुँदै आइरहेको यी वास्तवमा पुरानै कुरा हुन् । तर, पनि यो ‘यात्री’ मा कविका आफ्ना धन धेरै छन् : समवेदना छ, विश्व–भावना छ, सौन्दर्य छ । ईश्वरको मन्दिर हाम्रो यही शरीर हो, यही शरीरभित्रको मन–मन्दिरमा ईश्वरराज गर्दछन्, दया, करुणा, प्रेम, सद्भावना अर्थात् विश्वबन्धुत्वका भाव–पथबाट आफूभित्र पुगेरमात्र ईश्वरतक पुग्न सकिन्छ भन्ने ‘यात्री’ मा कविको भाव छन् । ‘यात्री’का कविले एउटा नयाँ र खुब राम्रो कुरा भनेका छन्, दुःखलाई उनले मानिसहरूका (जीवनमात्रको ?) पीडाको बारेमा बोलेको ईश्वरको बाणी भनेका छन्, अर्थात् दुःख ईश्वरले गानाको रूपमा बोलेको त्यो बाणी हो जसको अर्थ हो पीडाको अनुभूति, ठिक्कै छ । ठुलठुला विद्वान् र महापुरुषहरू दुःखलाई खुब अपनाउँदछन्, कारण त्यसबाट पीडितमात्रका पीडातक पुग्ने अनुभव र क्षमता भएर ‘एकोक्हम् बहु स्याम’ मा लीन हुन जान सकिन्छ । यही विश्वमा व्याप्त हुन जानसक्नु नै म मानिसहरूको मोक्ष अवस्था ठान्छु ।
देवकोटाको ‘यात्री’ कस्तो छ, केही नमुना –
सडक किनारा गाउँछ ईश्वर
चराहरूको तानामा,
बोल्दछ ईश्वर मानिसहरूको
पीडा दुःखको गानामा,
दर्शन किन्तु कहीँ दिँदैन
चर्म चक्षुले कानामा
कुन मन्दिरमा जाने ? यात्री !
कुन नवदेश विरानामा ?
फर्क, फर्क, है ! आऊ, समाऊ,
मानिसहरूको पाऊ,
मलम लगाऊ, आर्तहरूको
चहराइरहेको घाऊ,
मानिसहरू भई ईश्वरको त्यो
दिव्य मुहार हँसाऊ !
‘यात्री’ का कविको विशेष विचार यो छ कि मानिस मानिसैको निम्ति हो, मानिसै भएर बस, मानिसै भएर हिँड, मानिसै भएर मर, मानिसलाई नै हेरेर, मानिसै भएर बाँच । मानिसको सेवा नै ईश्वरको पूजा हो, दुःखी मानिसको उद्धार मात्र होइन, मानिसहरूलाई पूर्ण सुखी गराऊ, मानिसहरूका अनुहारमा प्रसन्नताको आगमन र व्याप्ति नै ईश्वरको दिव्य मुहार हो । त्यसैले उनले जोर गरेर भनेका हुन् – “फर्क, फर्क, हे ¤ आऊ, समाऊ मानिसहरूको पाऊ, मानिसहरू भई ईश्वरको त्यो दिव्य मुहार हँसाऊ ।”
मानिसहरूलाई पिर दिने (उपकार नगर्ने) अति मनुष्यता नभएको मानिस देखेर कविलाई खुब क्षोभ रहेछ यद्यपि लौकिक दृष्टिमा त्यो धर्मात्मा, धर्मप्रिय नै होस् । मानिसहरूको पसिना खाएर, रगत चुसेर, उनका जीवन सुकाएर आफू मोटाएका मानिसहरू नै धेरैजसो तीर्थ घुम्ने, मन्दिर पुग्ने हुँदारहेछन्, त्यस्ता सभ्यता सोसेर मानवता मारेर बनी टोपल्ने भक्त मानिसहरूदेखि कविलाई निकै घृणा छ ।
त्यस्ता धर्मको यात्रीलाई ‘यात्री’ का कवि पारेर भन्दछन् –
कुन मन्दिरमा जान्छौ ? यात्री !
कुन मन्दिरमा जाने हो ?
मानिसहरूको काँध चढी,
कुन देवपुरीमा जाने हो ?
वास्तवमा ईश्वर आफ्नो पूजा र स्तुति गर्नेदेखि खुसी हुँदैनन् । किनभने, उनी आफ्नो सृष्टिमा प्रेम राख्दछन् । आफ्नो सृष्टिलाई प्रेम गरेको उनी हेर्न चाहन्छन् । अतः ईश्वर चाहने मानिसले उसको सृष्टिलाई नै प्रेम गर्नुपर्छ । उसले सृष्टिलाई पुजेर सभ्यताको कदर गर्छ† जसले मानवतामा मरेर मानिस बताइरहन्छ† त्यो व्यक्तिलाई मात्र ईश्वरले बधाई दिन्छ । हमेशा कष्ट र कटुताको सामना गरिरहन परे पनि त्यो मानिसको कामना अवश्यमेव पूर्ण हुन्छ किनभने अलक्षरूपमा ईश्वरको वरदहस्तले उसलाई धाप दिइरहन्छ, त्यसैले ऊ आफ्नो सङ्कल्पमा प्रोत्साहित भइरहन्छ र अन्तमा सफल हुन्छ । ‘यात्री’ का कवि देवकोटाको यही विचार छ, ऊ भन्दछन् –
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हाथ,
छुन्छ तिलस्मी करले उसले
सेवकहरूको माथ ।
‘वीरता’ पनि देवकोटाको निकै सुन्दर कविता छ । वीररस र ओजगुणले त यो ओतप्रोतै छ, साथसाथै विचार–सङ्गति, अर्थगौरव पनि खुब भएर खँदिलो छ । ‘वीरता’ मा कविको आफ्नो वीरता पनि निकै सराहनीय छ, नेपालका मात्र होइनन्, पृथ्वीका सारा दुष्ट–दुश्मन–हरूसित हाँक दिएर उनी भन्दछन् –
“स्वर्ग र पृथ्वी भाव हटाऊँ, तोडूँ दुश्मन जाल !”
कत्रो वीरता ¤ पृथ्वीका सारा दुष्ट र दुष्ट्याइँको संहार गरेर यो पृथ्वीलाई नै उनी स्वर्ग बनाउन सुरेका छन् । इन्द्रका स्वर्ग पनि कविलाई मन परेन । इन्द्रको स्वर्ग चाहनु पनि एउटा ठुलो कमजोरी नै हो, किनभने त्यहाँ मरेपछि मात्र धर्मको विमानद्वारा पुग्न पाइन्छ रे । इन्द्रको स्वर्ग यसकारणमात्र स्वर्ग हो कि त्यहाँ दुःख दिने कोही दुष्ट नभएकोले दुःख छैन । कविको विचार ठीक छ – यही पृथ्वीलाई नै किन हामी स्वर्ग नबनाऔँ, के अहिले यो स्वर्ग नभइकन पृथ्वी भइरहेको कारण यही होइन ? यहाँ दुष्ट र दुष्ट्याइँ खुब भएको के दुःख पीडा धेरै छ ? यस्ता ‘वीरता’ का वीर कविहरू हामीलाई खुब चाहिएका छन् ।
‘वीरता’ को एउटा अर्को कण –
बल् बल् बत्ती सानु कुठिलो, हत्–कुटीमा सुकुमार !
किरणहरूको झङ्कारहरूले बजा बजायी मेरा तार !
जा जा प्राण–पखेरु उडो जा ! गान गर्दै उस पार !
जहाँ उज्याला देवहरूसँग बस्छन् भारत वीर हजार !

स्रोत : नेपाली काव्य र उसका प्रतिनिधि कवि

Leave a Reply

Your email address will not be published. Required fields are marked *