भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाले नीति तथा कार्यक्रमको आधारमा बुधबार आर्थिक वर्ष ०८३/०८४ को अनुमानित बजेट पेस ग¥यो । उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत उक्त बजेटमा शिक्षा, स्वास्थ्य, सम्पदा, सरसफाइ र विकासमा जोड दिइएको छ । ख्वप मेडिकल कलेज स्थापनाको निम्ति पहल गर्ने, ख्वप अस्पतालमा विशेषज्ञ थप्दै विभिन्न आधुनिक पद्धतिबाट उपचार गर्न मेसिन खरिद गर्ने, डाइलासिस गर्ने, रगत र अक्सिजन निःशुल्क वितरण गर्ने र शववाहन सेवा पनि निःशुल्क गराउने व्यवस्था नपाले गरेको छ । भक्तपुरलाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने, टोल टोलमा स्वास्थ्य केन्द्र, शिशु स्याहार केन्द्र र आदर निकेतन विस्तार गर्ने नपाको लक्ष्य छ । इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयमा उच्च शिक्षासम्म हासिल गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने काम पक्कै पनि सराहनीय छ ।
भक्तपुरलाई एक उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने, बेलाबखत उत्सव र मेलाको आयोजना गरेर सांस्कृतिक गतिविधि गरी सांस्कृतिक केन्द्र बनाएर आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउने लक्ष्य पनि भनपाले तय गरेको छ । अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई उत्साहित गर्न अनुसन्धान वृत्ति प्रदान गर्ने, शैक्षिक ऋणलाई निरन्तरता दिएर गरिब परिवारका सन्तानलाई उच्च शिक्षा दिएर विशेषज्ञ बनाउने काम नपाले चालू राखेको छ । ख्वप अस्पतालमा एमआरआई र डाइलासिस सेवा थप्ने स्वास्थ्य केन्द्र खोलेर आँखा उपचार सेवा गर्ने, घरदैलो नर्सिङ सेवा अझ व्यवस्थित गर्ने, भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन सरकारको ध्यानाकर्षण गर्ने, थन्थु दरबार, अरनिको सभा भवन बनाउने, कम्पोस्ट मल र कृषि चुन किसानहरूलाई सहुलियतमा बिक्री वितरण गर्ने, रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गरी जैविक मल र जैविक विषादी बनाउने र अभिमुखीकरण गर्ने काममा नपा लाग्ने बजेटमा उल्लेख छ ।
अध्ययन अनुसन्धान गर्न चाहने विद्यार्थीहरूलाई नगरपालिकाले अनुसन्धान वृत्ति प्रदान गर्ने नीति भनपाले लिएको छ । भक्तपुरलाई पर्यटनको आकर्षणको केन्द्र बनाउन सम्भाव्यता अध्ययन समिति गठन गर्ने काम पनि नपाको लक्ष्य रहेको छ । रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न प्राङ्गारिक मललाई व्यवस्थित ढङ्गले वितरण गर्ने, सहिद स्मृति खेल मैदान र महेश्वरी खेल मैदानको स्तर वृद्धि गर्ने, भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला र घरेलु उत्पादनलाई जोड दिने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको छ । भक्तपुर नगरपालिकाभित्र रहेका पर्ती तथा सार्वजनिक जग्गाको अभिलेखीकरण गरी तिनको संरक्षण गर्ने नीतिलाई चालु राख्ने नपाको लक्ष्य उदाहरणीय मानिन्छ । यहाँका सार्वजनिक भनिएका सत्तल, पाटी, ढुङ्गेधारा, इनार, मन्दिर, बिहार, बह, चैत्य, सबै सार्वजनिक बनाइनुपर्दछ या सार्वजनिक बनाउने अभियान नपाले चालू राखे त्यो अर्को उदाहरणीय कदम हुनेछ ।
सारमा, भनपाको नीति तथा कार्यक्रम र बजेट जनताकेन्द्रित देखिन्छ । नपाले पार्टीको घोषणापत्र र जनताको सल्लाह र सुझावलाई आत्मसात गरेको पाइन्छ । इमानपूर्वक राजनीति गर्ने दलले प्रतिनिधित्व गरेको भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट जनताको चाहना र नगरको आवश्यकता पूरा गर्ने खालको छ । तर, भनपाको बजेट जनतालाई देखाउनको निम्ति होइन व्यवहारमा लागू गर्नको निम्ति हो । आर्थिक वर्ष सुरू भएलगत्तै तय भएको योजना लागू गर्न सम्बन्धित समिति, वडा र नपाको प्रशासन र कर्मचारी क्रियाशील हुनुपर्छ; समयमै पूरा गर्न जोडतोडका साथ लाग्नुपर्छ ।
Leave a Reply