भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बीसौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालू वर्षको बैङ्क मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३/८४ को लागि रु. २ अर्ब ५५ करोडको बजेट प्रस्तुत भयो ।
विनियोजित बजेटको चालूतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पुँजीगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा नगरवासी जनताको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजन गरिएको छ ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउन र विशेषज्ञ सेवा विस्तार गर्न यसै आर्थिक वर्षभित्र एम.आर.आई. सेवा र आई.सी.यू. सेवा सञ्चालनको लागि कुल २३ करोड रूपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमहरूका लागि रु. ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कुल ७ करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रवद्र्धन गर्न कुल ३ करोड ८० लाख, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार, खेलकुद विकास र पूर्वाधार निर्माणमा ३ करोड ७५ लाख, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुनःस्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन ४० लाख बजेट विनियोजन गरिएको छ ।
भक्तपुर नगरपालिकाले कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास र बजारीकरण, सहुलियत र अनुदान, प्राङ्गारिक खेती र वातावरण संरक्षण, संस्थागत सहयोग र अध्ययनलगायतका कार्यक्रमहरूका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बजेट वक्तव्यमा नगरपालिकाका लागि आवश्यक जग्गा खरिद र सार्वजनिक भवनहरूको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८३’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको अर्को बैठक असार १२ गते शुक्रबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।
Leave a Reply