भर्खरै :

साहित्य : माक्र्सवादी दृष्टिकोण

साहित्य : माक्र्सवादी दृष्टिकोण

नेपालमा आजसम्म निस्केका साहित्य र साहित्यसम्बन्धी निबन्ध र आलोचनामा आदर्शवादी दृष्टिकोणकै प्रभाव पर्दै आएको देखिन्छ । तर, आधुनिक साहित्यका (विशेष गरेर पश्चिमको पुँजीवादी साहित्य) विद्वान प्रो.ईश्वर बरालले द्वैमासिक साहित्यिक पत्रिका ‘प्रगति’ को प्रथम अङ्कमा प्रकाशित ‘प्रजातन्त्रोत्तर नेपाली साहित्यमा शिथिलता’ शीर्षकको लेखमा आफ्नो आदर्शवादी विचारधारा जुन रूपमा व्यक्त गर्नुभएको छ, त्यसले गर्दा साहित्यको वास्त्विकतामा निकै धक्का पर्न गएको छ । उहाँको सिद्धान्त भएकोले अभिजात वर्गको हातमा भएका समस्त प्रचार साधन तथा जनताले लिइआएको संस्कार र विचारको परम्परा उहाँका सहायक छन् । तैपनि, आफ्नो सीमित साधनले नै भए पनि हामी उहाँको चुनौतीलाई स्वीकार गर्छौँ र आफ्नो तर्फबाट हाम्रा मान्यतालाई खँदिलो तर्कले खण्डन गर्ने चुनौती दिन्छौँ । यो सानो लेखमा माक्र्सवादीहरूको मूल स्थापना मात्र देखाएको छु ।
आदर्शवादीहरूको साहित्यसम्बन्धी मूल स्थापनाहरू यिनै हुन् ः
१) साहित्यमा उद्देश्य हुन्न, कला कलाको निम्ति हो । त्यसैले साहित्यमा प्रचार हुनुहुन्न । २) साहित्य वर्गीय र पक्षीय हुँदैन । साहित्य वर्गसङ्घर्षको प्रतिबिम्ब होइन । साहित्य युग–स्थान–निरपेक्ष हुन्छ । ३) साहित्य शाश्वत हुन्छ । ‘सत्य शिवं सुन्दरम्’ साहित्यको मूल हो । ४) साहित्य मनैमा प्रस्फुरित भएर आउँछ–मनन, चिन्तन र कल्पनाबाट । त्यसैले साहित्यको आधार भौतिक हुँदैन । ५) साहित्यको कला पक्ष (रूप पक्ष) नै मुख्य कुरा हो, विचारधारको पक्ष गौण हो ।
माक्र्सवादी दृष्टिमा साहित्य सामाजिक जीवनबाटै उत्पन्न हुन्छ र सामाजिक जीवनकै प्रतिबिम्ब हो । समाज नभए न भाषा हुन्थ्यो न साहित्य । भौतिक आवश्यकताको पूर्ति गर्न मानवले समाजमा बसेर उत्पादन गर्दछ । उत्पादनका साधनको विकास विशेष अवस्थामा पुग्दा बढ्दो उत्पादन गर्दछ । उत्पादनका सम्बन्धको बिचमा अन्तरविरोध उत्पन्न हुन्छ र वर्गहरूको उत्पत्ति भएर वर्गसङ्घर्ष प्रारम्भ हुन्छ । यो सङ्घर्षको चरम परिणतिले उत्पादन सम्बन्धमा परिवर्तन ल्याउँछ । तर, जहिलेसम्म वर्गहरू रहन्छन्, तहिलेसम्म यो अन्तविरोध नयाँ–नयाँ रूपमा कायम रहन्छ । समाजको विकास नै अन्तरविरोध, विकास र क्रान्तिद्वारा भइआएको छ । साहित्य आदि मन र विचारसँग सम्बन्ध भएको कुरा उत्पादन सम्बन्ध (अािर्थक व्यवस्था) माथि नै अडेका हुन्छन् र उनको लक्ष्य हुन्छ – आफ्नो आधारलाई बलियो पार्नु, पोस्नु । आर्थिक अवस्थामा परिवर्तन आएपछि त्यो आर्थिक व्यवस्थामा अडेको साहित्यको महल ढल्न थाल्छ र नयाँ शासनरुढ वर्गले नयाँ आर्थिक व्यवस्थाको जगमा नयाँ महलहरू खडा गर्न थाल्छ र यो नयाँ महलले त्यो नयाँ व्यवस्थालाई मान्यता दिन्छ, जमानाको विचार बनाउँछ । एकपल्ट बढ्न पाएपछि यो साहित्यिक महलले राजनीति, दर्शन, धर्म र नीति, कानुन आदि अन्य महलहरूलाई पनि प्रभावित पार्छ र आफू पनि उसबाट प्रभावित हुन्छ । यसरी साहित्यमा रूपैयाँमा ३–४ आना अन्य महलहरू (Superstructure)को पनि प्रभाव परेको हुन्छ ।
साहित्यकार आकाशबाट झर्ने होइन, समाजमै उत्पन्न हुन्छ । त्यसैले उसको मनको गठन समाजले सञ्चय गरेको ज्ञान, विचारधारा, त्यसबेलाका संस्था र समाजमा चलिरहेको वर्गसङ्घर्षद्वारा नै हुन्छ । समाज पक्ष र वर्गमा बाँडिएको हुन्छ । त्यसैले समाजको साहित्य पनि पक्षीय र वर्गीय हुने नै भयो । साहित्य भनेको कलापूर्ण विचारधारा नै हो । वर्गविहीन समाजको साहित्य मात्र अवर्गीय हुनसक्दछ । सोभियत रुसका साहित्य यही दिशामा गइरहेको देखिन थालेको थियो । त्यसैले वर्गसमाजमा बसेका पाठकलाई अनौठोजस्तो लाग्छ । रुसको आजको साहित्य र वेदको विषयवस्तुमा कति सादृश्यता देखिन्छ–दुवैमा वर्गहरूको चर्चा छैन, व्यक्तिगत सम्पत्तिको चर्चा छैन, चर्चा छ सामूहिक उत्पादन र वितरणको । देश–कालको प्रभाव त पर्ने नै भयो । आदिम साम्यवाद र आजको समाजवादको भौतिक सांस्कृतिक स्तरमा जमिन आसमानको फरक हुने नै भयो ।
समाज र जीवनबाट टाढा कुराको विषयमा लेखेको साहित्यमा समेत लेखक आफ्ना संस्कारबाट स्वतन्त्र भएर लेख्न सक्दैन । उसको प्रेरक शक्ति कताबाट आयो भन्ने उसलाई थाहा हुन्न, आफूलाई ‘उन्मुक्त’ सम्झन्छ तर वास्तवमा वर्गीय दृष्टिकोणले प्रभावित पारिरहेकै हुन्छ । लेखक आफ्नो सामाजिक र वर्गीय धारणाबाट, आफ्नो मनोवैज्ञानिक वातावरणबाट बच्नै सक्दैन । उसको चेतना, उसको कल्पना शक्ति, उसको मनन गर्ने शक्ति सब समाजमै विकसित भएका हुन्छन् । ज्ञानको स्रोत हो भौतिक जगत् र त्यसको गति, समाज र समाजको अन्तरविरोध, सामाजिक उत्पादन र त्यससँग सम्बन्धित सारा कुरा ।
जुनसुकै विचारधारा भन्नेले जे सम्झेर भनेको होस्, सुन्नेको निम्ति प्रचार हो किनभने सुनेपछि केही न केही प्रभाव पर्दछ, भन्नेको विचार सुन्छ र केही बुझ्छ, केही धारणा बनाउँछ र यसै प्रचार भनिन्छ । (प्रचार भन्ने शब्दलाई खराब मानेमा लिनुहोस् या असल मानेमा, कुरा यही हो) आफूले अथवा आफ्नो समाजले अथवा आफ्नो जमानाले मानिआएको या मान्यता दिएको कुरा हामीलाई प्रचार जस्तो लाग्दैन, यस्तो प्रचारको विरोध गर्दैनौँ । रुसको प्रचार ‘प्रचार’ र बेलायत अमेरिकाका विद्वानहरूले भनेका, लेखेका कुरा भने एकदम सत्य कुरा जस्तो लाग्ने कारण हामीले जन्मदेखि नै वर्ग समाज देखेका, त्यसैमा हाम्रो संस्कार बनेको र स्कूल कलेजमा यही दृष्टिकोणलाई मात्र पढेकोले हो । सोलोखोभ र मायाकोब्स्की, तिखोनोव र नेक्रासोवका साहित्य जो वर्षको लाखौँ सङ्ख्यामा बिक्छन् र जसलाई रवीन्द्र र प्रेमचन्द्र, डा.मुल्कराज र डा.कुओ–मो–जो जस्ता विद्वानसमेत प्रशंसा गछ्र्रन्, प्रो.बरालका हातमा पर्दा निधार खुम्च्याउने, नाक चेप्य्राउने र उपेक्षाको अर्धकपोल मुस्कान उत्पन्न गर्ने साधन बन्छन् । नेपालका धुरन्धर साहित्यिकहरूको मुखबाट विश्वको आधा भागका साहित्यिकहरूको नामसम्म पनि कहिले कुनै सभा, गोष्ठी र लेखमा नसुनिनु–यसको कारण पनि यही वर्ग–भावना र वर्ग र संस्कार नै हो । हो, चेखब र टाल्सटाय, कुप्रिन र गोगोलसम्मलाई उहाँहरू साहित्यिकमा गन्नुहुन्छ किनभने उनका रचनामा पुँजीवाद र पतनोन्मुखी सामन्तवादको नाङ्गा रूप त देखिन्छ तर कम्युनिज्मको ‘डरलाग्दो सिद्धान्त’ छैन, टाल्सटायमा त गान्धीवादकै दर्शन पाउनुहुन्छ उहाँहरू र यसबाट ‘खतरा’ छैन, बरु यसको त प्रचार गर्नु आवश्यक भइरहेछ । साहित्यको विषयवस्तु प्रचार नै हुन्छ, लेखक गोर्की, इलियट, ‘अज्ञेय’ या प्रो.ईश्वर बराल एम.ए. (अङ्ग्रेजी साहित्य) नै भए पनि । विद्वान् प्रोफेसरले मानव जीवनसँग सम्बन्ध भएको एउटा मात्र वाक्य सुनाइदिए हुन्थ्यो जसमा कुनै पनि प्रचार नहोस् ।
साहित्य प्रचार हो–कहीँ प्रचार स्पष्टै देखिन्छ, कहीँ कलाको खास्टो ओढेको हुन्छ । जुन विचारले जति बाक्लो र आकर्षक खास्टो आढेको हुन्छ त्यो साहित्य उति सफल कृतिमा गनिन्छ । हामी प्रत्येक काम कुनै काम गर्दा त्यसको भावी रूप हाम्रो मनमा नाचिरहेको हुन्छ । हामी प्रत्येक काम कुनै उद्देश्यले गछौँ त्यसको प्रेरक रूप हाम्रो मनमा नाचिरहेको हुन्छ । त्यसैले प्रत्येक साहित्यमा उद्देश्य लुकेको हुन्छ, ‘कला कलाको निम्ति’ र ‘विशुद्ध साहित्य’ ‘उन्मुक्त साहित्य’ भनाउँदा कृतिमा पनि । लेख्नेले आफ्नो दृष्टिकोणबाट लेख्छ जो उसको भौतिक परिस्थितिले निर्धारित गर्छ र हेर्नेले पनि आफ्नो वर्गीय विषयवस्तु रुचाउँछ र यदि लेखकको विचारधारा शासकवर्गको माथि त्यो विचारधारा लादिन्छ र केही कालपछि जमानाको विचारधारा र रुचि नै त्यही भएर जान्छ ।
साहित्य केवल मनन, चिन्तन र कल्पनाबाट निस्कन्न । मनन, चिन्तन र कल्पना गर्न जीवनको अनुभव गरिसकेको, इन्द्रिय प्रत्यक्ष ज्ञान प्राप्त गरिसकेको हुनुपर्छ नत्र बच्चाले र शिशु मन भएका बूढाले पनि साहित्य रचिदिन्थे । यथार्थलाई नदेखी, नसुनी लेखकले यथार्थ चित्रण गर्नै सक्दैन । सामाजिक जीवनबाट टाढा बसेका (जीवनको पर्याप्त अनुभव हुनुभन्दा पहिले नै ) लेखकले जीवनलाई प्रतिबिम्बित गर्न सक्तैनन्, बौलट्ठी कल्पना, मानवसँग सम्बन्ध नभएको कला आदि मात्र देखाउँछन् । जुन लेखक जीवन सङ्घर्षमा जति बढ्ता भाग लिन्छ त्यसको रचना उति यथार्थवादी हुन्छ । रुसका लेखक मजदुर र किसानमा मिसिन्छन्, बन्दुक लिएर यथार्थवादी युद्ध साहित्य लेख्न सैनिक अनुभव बटुल्छन् । चीनकी सावमिङले आफ्नो ‘शक्तिको स्रोत’ नामक उपन्यास लेख्न चार वर्ष मजदुर बनेर कारखानामा काम गरिन्, गोर्कीले जीवनको कठोर अनुभवलाई मात्र पर्याप्त नसम्झी ‘आमा’ लेख्न कम्युनिस्ट पार्टीको सदस्य बनेर श्रमजीवी आन्दोलनमा सक्रिय भाग लिए । भारतमा अन्ना भाइ साठे र शङ्कर शैलेन्द्रजस्ता उच्च कक्षाका लेखक र कवि कारखानामा मजदुर भएर बसेका छन्, राहुलले १२ वर्ष किसान सभामा सक्रिय भाग लिए । तर नेपालका कवि र लेखक भने आफ्नै कोठामा बसेर भरियाको ‘सन्तोष’ र किसानको ‘सुख’ लेखिदिन्छन् । को जाओस् दुःख भोग्न । निम्न पुँजीवादी सहानुभूति प्रकट गरिदिए पुगिहाल्छ । कल्पनाबाट चित्रण गरिदिए पुगिहाल्छ । पात्र किसान र डोके तर विचारधारा कोठे लेखक र कविको–कति राम्रो सम्बन्ध ।
सच्चा यथार्थवादी लेखकले सामाजिक विकासको गति बुझ्न सक्यो भने निकट भविष्यको चित्र पनि बनाउन सक्छ, मार्ग निर्देशन पनि गर्न सक्छ । यस्तै साहित्यकारले आफ्नो जमानाको परिस्थितिलाई प्रभावित पार्छन्, समाजलाई अगाडि बढाउने विचारधारालाई विकसित गरेर, लोकप्रिय बनाएर, प्रचार गरेर क्रान्तिकारी चेतना उत्पन्न गर्छन्, शक्ति उत्पन्न गर्छन् । जीवनबाट उछिट्टिएका लेखक भने पलायनवादी कल्पनापछि र आत्म विस्मृतिपट्टि, निराशा र व्यक्तिवादपट्टि पुग्छन् –स्वयम् आफ्नो जीवन उनलाई भारस्वरूप हुन्छ–(प्रो.बरालजीका प्रिय लेखक टी.एस. इलियटलाई आफ्नो जीवन कफीको चम्चाले नाच्न परेझैँ ।) केवल मनोगत साहित्य निश्चय नै अयथार्थवादी हुन्छ ।
साहित्यको कला पक्षलाई रूप (Form) भन्छन् । माक्र्सवादी रूप पक्षलाई इन्कार गर्दैनन् । तर, विषयवस्तु (Content) को अभाव केवल रूपले पूरा गर्न खोज्नु, रूपकै मात्र गुणगान गर्नु, रूपलाई मात्र साहित्यमा गन्ने रूपवादी मत मान्दैनन् । रूपलाई नै नमान्नु त कलालाई नै नमान्नु हुन्छ । बेलिन्कीले लेखेका छन् ब्चत ष्क तजष्लपष्लन ष्ल ायचmक अर्थात् सरूप विचार नै कला हो । तर, विषयवस्तु या सार नै नभएको रूपको के माने ? थोत्रो विषयवस्तु छ भने कलाले मात्रै के गर्नु ? त्यो त विष मिलाएको सर्वत बराबर हो । आजको यथार्थवादी मत वास्तवमा यस्तै रूपवानको प्रतिक्रियास्वरूप उत्पन्न भएको हो । रूप र विषयवस्तुको एकता कायम गर्नु नै आजको साहित्यको प्रमुख समस्या हो र लुसुन, प्रेमचन्द्र, इल्या इहरेनवर्ग, कृष्णचन्द्र, लुई अटगाँ, अन्ना सेगर्स आदिको सफलताको रहस्य यसैमा लुकेको छ ।
प्रगतिशील विषयवस्तु भएका नेपाली साहित्य निस्कँदा प्रो. बराजली साहित्यिक अराजकता मच्चियो भन्दै झपार्नुहुन्छ । उहाँले नवयुवक लेखकहरूको रचनाको विषयवस्तुलाई प्रशंसा गरेर कला पक्षपट्टिको कमजोरी र नाराबाजी शैलीको कटु आलोचना गरेको भए हामी पनि उहाँसँग सहमत हुने थियौं तर उहाँको दृष्टिमा विषयवस्तुको त केही महत्व नै रहेनछ र साहित्यसम्बन्धी सिद्धान्ततः पूर्णतः आदर्शवादी–२५०० वर्षदेखि चलिआएको ज्ञानको सिद्धान्तका आधारमा अडेको देखिन्छ । ‘झ्यालबाट’ नामक पुस्तकमा उहाँले समालोचना गर्नुभएको ‘आमा’ नामक कथा देख्दा उहाँको आलोचनाको सिद्धान्त पनि बुझिन्छ । त्यो कथाको विषयवस्तु छ कम्युनिस्टहरूलाई पतित, पाखण्डी, अनाचारी र विकृत रूपमा देखाउने र शैली र कलाको दृष्टिबाट हीन छ अस्वाभाविक छ, नङ्गा प्रचार छ । तर, कथाकारसँग मित्रताको नाताले हो वा विचारधारा मिलेर हो, समालोचकले त्यो कथालाई प्रत्येक दृष्टिबाट प्रशंसा गर्नुभएको छ ।
साहित्यको विषयवस्तु चुन्न सामाजिक विज्ञानहरूको (विशेष गरेर उत्पादनका नियमहरू, इतिहास, राजनीति र दर्शन तथा यिनको परस्पर सम्बन्ध) अध्ययन हुनु जरुरी छ । विषयवस्तुप्रति वैराग्य उत्पन्न हुनु सामाजिक शास्त्रहरूको अज्ञान हो । हो, ‘साहित्यको समाज र जीवनसँग के सम्बन्ध ?’ भन्नेहरूका लागि त विषयवस्तुको महत्व नै छैन । बराजलीको दृष्टिकोण यस्तै देखिन्छ ।
प्रश्न उठ्न सक्छ, ‘उसो भए के माक्र्सवादीहरू प्राचीन कलाकृतिलाई सेक्सपियर र कालीदास, होमर र व्यास, डिकेन्स र बाल्जाक, टाल्सटाय र रवीन्द्रका रचनालााई एकदम फजुल वस्तु सम्झन्छन्, मिल्काइदिन्छन् त ?’ उत्तर नकारात्मक हुन्छ । कला र विज्ञान मानवजातिको हजारौँ वर्षको प्रगतिको निधि हो । प्राचीन र आजका साहित्य आफ्नो जमानाका प्रतिबिम्ब हुन् । त्यो जमानालाई बुझ्न त्यो जमानाको साहित्य र कला हेर्नैपर्छ । हामीलाई जवान अथवा बुढा भएपछि पनि त आफ्नो बाल्यकाल सम्झँदा आनन्द आउँछ भने आफ्नो सामाजिक कचपनलाई किन नसम्झने ? त्यो बेलाका कलाकृतिबाट किन आनन्द नलिने ? प्राचीन जमानाको साहित्य हेर्दा हामी अर्कै आर्थिक व्यवस्थामा बसेका छौँ भन्ने कुरा भने बिर्सनुहुन्न । त्यसैले, त्यो साहित्यको विषयवस्तुलाई र केही मात्रामा रूपलाई पनि ऐतिहासिक दृष्टिकोणले हेर्नुपर्दछ, ती विचारधारा र शैली आजको निम्ति अनुकरणीय छन् वा छैनन् भन्ने विचार गर्नुपर्छ । सामाजिक यथार्थलाई बुझ्नुपर्छ । माक्र्सवादी रूपमा आज पुराना जमानाका साहित्यको बिक्री जति छ त्यति आफ्नो जन्म स्थापना पनि छैन । सेक्सपियर साहित्य वर्षको दस लाखप्रति रुसमा बिक्छ, प्रेमचन्द्र साहित्य पाँच–छ लाख, रवीन्द्रको गीताञ्जली लाखौँको सङ्ख्यामा । भिक्टर ह्युगो र चाल्र्स डिकेन्सका जन्मोत्सव मनाइन्छन् । विषयवस्तुको प्रगतिशीलता त्यो साहित्यलाई त्यसको ऐतिहासिक पृष्ठभूमिमा राखेर मात्र जान्छ माक्र्सवादीहरू । प्रगतिशीलता देशकालसापेक्ष हुन्छ । माक्र्सवादी आलोचक सेक्सपियरलाई रूप र विषयवस्तु दुवै दृष्टिबाट प्रगतिशील गर्छन् तर कालीदासको शैलीलाई प्रशंसा गरे पनि विषयवस्तु प्रतिक्रियावादी भन्छन् ।
साहित्यलाई भौतिक जगत् र मानव समाजको प्रतिबिम्ब मानेपछि साहित्य शाश्वत र सनातन हुन्छ भन्ने कुरा उठ्नै सक्दैन । समस्त भौतिक जगत् गतिशील छ, उत्पादन व्यवस्था गतिहील छ सब कुरामा परिवर्तन हुँदै आएको छ भने साहित्य मात्र कसरी शाश्वत र सनातन रहनसक्छ ? साहित्यको विषयवस्तु मात्र होइन, रूप पनि कला पक्ष सधैँ एकनास रहन्न । सौन्दर्य , गन्ध, स्वाद, शारीरिक गठन, प्राकृतिक सौन्दर्य आदिसम्बन्धी सामाजिक धारणा पनि देशकाल सापेक्ष हुन्छ भन्ने तथ्य विभिन्न कालका कला र साहित्य हेर्दा स्पष्टै देखिन्छ । माक्र्सवादअनुसार पूर्णसत्य त शाश्वत र निरपेक्ष छ तर हामीले त्यसलाई जुन रूपले देख्छौँ त्यो सापेक्ष छ । त्यसैले पूर्ण सत्यसम्म कहिल्यै पुगिन्न । हाम्रो ज्ञान युगासापेक्ष हुन्छ, शाश्वत र निरपेक्ष कुरा हाम्रो मनमा प्रतिबिम्बित हुनै सक्दैन किनभने विचारको आफ्नो अलग अस्तित्व छैन । विचार भौतिक वस्तुको भौतिक वस्तुमा पर्ने प्रतिबिम्बित हो, भौतिक विज्ञानका अनेक ज्ञात र आजसम्म अज्ञात नियमहरूको क्रिया–प्रतिक्रिया हो । त्यसैले साहित्यलाई ‘सत्यम्, शिवम्, सुन्दरम् भन्नु पनि पुरातन विचारधारा हो, नूतन विज्ञानको अज्ञान हो ।
अब साहित्यको स्रोत प्रकृतिलाई मान्ने हो भने यो कुरा बिर्सनु हुन्न कि प्रकृति भौतिक नियममा बाँधिएको छ र यी नियमलाई मन र चेतनाको क्षेत्रमा लगाउँदा माक्र्सवादी ज्ञानको सिद्धान्त
(Epistomology) नै सिद्ध हुन्छ । यसबाट त आदर्शवादीहरूका सब स्थापनाहरू भताभुङ्ग हुन्छन्, भिन्नभिन्न हुन्छन् । सदिर्यौदेखि लिइआएका निम्न पुँजीवादी कोमल भावनाहरू विश्वासहरू धँुवाझैँ बिलाउँछन् । आदर्शवादी दर्शन विश्वासवाद र शब्द प्रमाणवादमा अडेको हुन्छ । यस्तो दर्शनको आधारमा अडेको साहित्य पनि शब्दाडम्बरवाद, रहस्यवाद, छायाँवाद, खोक्रो भावुकता र अन्धविश्वासको शरण परेको हुन्छ । यस्ता साहित्यिक खँदिला भौतिकवादी तर्कसँग डराउँछन् र भौतिकवादीलाई नै सार दुःख र अन्तरविरोधको, असन्तोष र गडबडीको मूल मान्दछन् । भौतिकवादलाई भावुकतापूर्ण लाञ्छनाहरू लगाएर बदनाम गर्छन्, प्रत्येक कुराको आदर्शवादी हल निकाल्छन् । जनताको ध्यानलाई सामाजिक यथार्थबाट, वर्गसङ्घर्षबाट (राजनीतिक आर्थिक कुराबाट) व्यक्तिवादी पक्षपट्टि, पलायनवादपट्टि तान्न खोज्छन् र आधुनिक कालमा (मानव विज्ञानवादी बन्दै गएकोले) खिचडीवादी दर्शन र मिथ्या विज्ञानका तर्क पनि पेस गर्छन् ।
स्रोत : गोविन्द लोहनीका दार्शनिक रचनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *