भर्खरै :

तोडफोड र आगजनी गरेर देश कसरी बन्छ ?

तोडफोड र आगजनी गरेर देश कसरी बन्छ ?

प्रत्यक्ष या अप्रत्यक्ष, चाल पाइकन या चाल नपाइकन देशमा आर्थिक सङ्कट निम्त्याएर डुबाउने खेल विदेशी शक्ति राष्ट्रहरूले खेलिरहेको छ भन्ने राजनीतिक विश्लेषकहरूको मत पुस्टि हुँदै छ । धेरै मन्त्री पालेर, अनावश्यक कर्मचारी राखेर, आवश्यकताभन्दा बढी सेवा सुविधा लिएर एकातिर देशको राजस्वमा रजाइँ भइरहेको छ भने अर्कोतिर देशको सम्पत्ति ध्वस्त पारेर अर्थतन्त्रलाई धुजाधुजा पार्ने काम भइरहेको छ । देश विकास गर्नुको सट्टा भएका सम्पदा र सम्पत्ति ध्वस्त बनाउने कुनै पनि शक्ति, समूह या दलमा आबद्ध व्यक्तिहरू देशभक्त, प्रजातन्त्रवादी र जनताका सेवक हुनसक्दैनन् । ध्वंस गर्ने, उत्पात् मच्चाउने, अराजक र उच्छृङ्खल गतिविधि गर्ने र गराउने काममा संलग्न व्यक्तिहरू ध्वंसकारी हुन्; उनीहरू कहिले पनि विकासवादी हुनसक्दैनन् । माओवादी ‘जनयुद्ध’ को बेला पनि सरकारी भवन या संरचनामा क्षति पु¥याइएको थियो । बैङ्क लुटिएको थियो । निजी सम्पत्तिमा बम प्रहार गरिएको थियो । घर जग्गा र सम्पत्ति कब्जा गरेर दुःख दिइएको थियो । त्यो भन्दा ठुलो सम्पत्तिको क्षय भदौ २४ गतेको जेन–जीको आन्दोलनमा भएको थियो ।
राजावादीहरूले गरेको आन्दोलनमा पनि तोडफोड र आगजनी भएको थियो । जडीबुटी उत्पादन केन्द्र आगजनी गरेर ध्वस्त पारिएको थियो । यसरी देशका अमूल्य सम्पदा र सम्पत्ति ध्वस्त पारेर आर्थिक सङ्कटको देश बनाउने चालमा विदेशी शक्ति राष्ट्रहरूको हात भएको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । देशको आम्दानी या राजस्वमा रजाइँ गर्ने, विकासको रकममा आँखा गाड्ने, विदेशबाट आयात हुने सामानमा कमिसन लिने, प्राप्त सहयोग लुकाउने, पीडितकहाँ नपु¥याउने या पु¥याए पनि सबै नपु¥याउने जस्ता यावत घटना र खबरले देशको सम्पत्तिमा मनपरी गरिरहेको थाहा हुन्छ । विदेशमा शयर गर्ने, सरकारी उच्च पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर अकुत सम्पत्ति कमाउने, देशमा विदेशी शक्ति राष्ट्रको चलखेल बढे पनि मौन रहने, विदेशी दबाब, थिचोमिचोको कुनै विरोध नगर्ने प्रवृत्ति शासक दलका नेता तथा कार्यकर्ताहरूमा देखिएको छ । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने प्रवृत्ति सच्चा र इमानदार नेताहरूले गर्दैनन् । बरु, शासक दलका नेताहरूले राजनीतिलाई कमाउने माध्यम बनाए; राजनीतिलाई पेसा सम्झे । यो गलत हो ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चलखेल रोकेको छैन । विदेशी शक्ति राष्ट्रहरूको चलखेल, बसउठ र घुसपैठले गर्दा नै देशको ठुलो सम्पत्ति नास भयो । जेन–जी आन्दोलनले राष्ट्रपति रामचन्द्र पौडेलसमेत थरथर कापेका थिए । राष्ट्रपति पौडेलले पनि राजीनामा दिएको भए देशको स्थिति के हुन्थ्यो ? देशको राजनीतिक स्थिति कहाँ पुग्थ्यो ? देशलाई कमजोर बनाउने, ऋणमा डुबाएर असफल पार्ने कुनै दल या समूहका व्यक्तिहरू के लागेका छैनन् ? कहिले प्लेग रोग, कहिले बर्डफ्लु, कहिले कोरोना त कहिले बाढीपहिरो, असिना पानी, कहिले हुरी बतास, कहिले अधिक वर्षा आदि कारण देशको अरबौँ खरबौँ रकम बराबरको पैसा खेर गइरहेको छ । कैयौँ भवनहरू जलेर नष्ट भइसकेका छन् । यसरी भएका सम्पत्ति तोडफोड गरेर, जलाएर देश कसरी बन्छ ? सम्पदामा तोडफोड र आगजनी हुनुमा शासक दलका नेताहरू पनि दोषी छन् । शान्तिपूर्ण आन्दोलन तोडफोड र आगजनी गर्ने आन्दोलनमा कसरी परिणत भयो ? जेन–जीहरूको सञ्जाल समयमा फुकुवा गरिएको भए त्यस्तो आन्दोलन नै हुने थिएन । आन्दोलन तोडफोड र आगजनीमा परिणत हुने थिएन ।
शासक दलका नेताहरू अहङ्कार भए, अविवेकी भए । बेलैमा बुद्धि नपु¥याउँदा या अरू पक्षको कुरा नसुन्ने हुङ्कारले बहुमत प्राप्त शक्तिशाली सरकार च्युत भयो । सरकारको नेतृत्व गर्नु सिंहासनमा बस्नुमात्र होइन; देशको व्यवस्थापन गर्नु हो† जनताको न्यायोचित माग सम्बोधन गर्नु हो । जनताको जीवन सुनिश्चित गर्नुपर्छ । युवालाई काम दिनुपर्छ । योग्यता अनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नुपर्छ । व्यक्तित्व विकास गर्ने अवसर दिनुपर्छ । सम्पत्तिको सुरक्षा गर्नुपर्छ । शान्ति सुरक्षाको अनुभूति हुनुपर्छ । भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्नुपर्छ । भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्छ । पक्षपात र विभेद अन्त्य हुनुपर्छ । सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ । महँगो नियन्त्रण गर्नुपर्छ । सम्पत्तिको सीमाङ्कन गर्नुपर्छ । विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्नुपर्छ । विधिको शासन र सुशासन कायम हुनुपर्छ । यसतर्फ सरकार जहिल्यै सचेत र गम्भीर हुनुपर्छ । अनि जनतामा राहत पाएको अनुभूति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *