भर्खरै :

के गर्छन् अमेरिकी उपराष्ट्रपतिहरू ?

  • कार्तिक २२, २०८२
  • ह्यारी टार्ग
  • विचार
के गर्छन् अमेरिकी उपराष्ट्रपतिहरू ?

कलेजका सुरुआती वर्षहरूमा ‘अमेरिकी सरकारको परिचय’ नामक एउटा विषय थियो । त्यति नै बेला केही इतिहास पनि पढ्नुपथ्र्यो । त्यसैको विषयमा उबेला हासिल गरेको विवेकबारे घोत्लिरहेको थिएँ । अमेरिकी राजनीतिक जीवनबारे परम्परागत विवेक के भन्छ भने अमेरिकामा प्रायः उपराष्ट्रपतिहरू प्रशासनिक वा राजनीतिक दृष्टिले महत्वहीन मानिन्छन् । सामान्यतः उपराष्ट्रपतिहरूले विदेशी नेताहरूको अन्त्येष्टिमा अमेरिकाको प्रतिनिधित्व गर्ने गर्छन् । तिनले बेसबल खेलको उद्घाटनमा पहिलो बल फ्याँक्छन् । राष्ट्रपति पदको उम्मेदवारी दिँदा क्षेत्रीय सन्तुलन ल्याउनका लागि उपराष्ट्रपति चयन गरिन्छ । जस्तोः– राष्ट्रपतिका उम्मेदवार उत्तर अमेरिकी भए उपराष्ट्रपति दक्षिणबाट लिइन्छ र राष्ट्रपतिका उम्मेदवार पूर्वका भए उपराष्ट्रपति पश्चिम वा मध्य पश्चिमबाट लिइन्छ ।
परम्पराअनुसार उपराष्ट्रपतिहरूलाई देशको वर्तमान नीति, कार्यक्रम वा सङ्कटबारे खासै जानकारी हुँदैन र ती मुद्दामा तिनको उति प्रभाव पनि हँुदैन । यसको कालजयी उदाहरण हुन् ह्यारी ट्रयुमेन । सन् १९४५ अप्रिलमा फ्राङ्कलिन रूजबेल्टको निधनपछि ट्रयुमेन राष्ट्रपति बने । नयाँ राष्ट्रपतिलाई युद्धमन्त्री हेनरी स्टिम्सनले तत्कालीन स्थितिबारे जानकारी दिए । अमेरिकी सेनाले एसियामा विश्वयुद्ध अन्त्य गर्न सक्ने नयाँ हतियार (परमाणु बम) परीक्षण गर्न लागेको बताए । यो कुरा उपराष्ट्रपतिलाई थाहै थिएन ¤ स्टिम्सनले परीक्षण सफल भए त्यो बम प्रयोग गरी सोभियत सङ्घलाई तर्साएर युद्धउपरान्त अमेरिकी सर्तहरू स्वीकार गराउने रणनीति प्रस्ताव गरे ।
बीसौँ शताब्दीका अन्य उपराष्ट्रपतिझैँ ट्रयुमेन राष्ट्रपतिको निर्वाचनअघि वा पछि सार्वजनिक नीति निर्माण गर्ने आन्तरिक समूहमा थिएनन् । उनलाई सन् १९४४ मा मात्र अमेरिकाको दक्षिणी भेगमा बसोबास गर्ने डेमोक्र्याटहरूलाई सन्तुष्ट पार्न टिकटमा राखिएको थियो । किनभने, तत्कालीन उपराष्ट्रपति हेनरी वालेसलाई जातीय विभेदको विरोध गर्ने खतरनाक उग्रवादी मानियो । वालेसले सार्वजनिक मञ्चमा खुलेरै जातीय बहिष्करणको विरोध गर्थे ।
दक्षिणी भेगका डेमोक्र्याटहरू र डेमोक्रेटिक पार्टीका अन्य जातिवादी तथा रुढीवादी नेता–कार्यकर्ता उपराष्ट्रपति वालेसलाई हटाउन सङ्गठित भएर लागे । कुनै उग्रवादी व्यक्ति राष्ट्रपतिको नजिक नहोस् भन्ने सोच थियो तिनको । तिनीहरूले जातीय विभेदको विरोध नगर्ने सीमावर्ती राज्यका परम्परागत राजनीतिज्ञ ह्यारी ट्रयुमेनलाई समर्थन गरे । माथि भनेझैँ फ्राङ्कलिन रूजबेल्ट पार्टीभित्रका दक्षिणपन्थी नेताहरूको दबाबमा झुक्नुप¥यो । तर, नयाँ उपराष्ट्रपतिलाई नीति निर्माण गर्ने समूहमा समावेश गरिएन ।
ट्रयुमेनपछिका अमेरिकी उपराष्ट्रपति यसप्रकार छन् – अल्बेन बाक्र्ली, रिचर्ड निक्सन, ह्युबर्ट हम्फ्री, वाल्टर मन्डेल, जर्ज एच. डब्ल्यू. बुश, ड्यान क्वेले र एल गोर । राजनीतिक दृष्टिले यिनीहरू बढीमा प्रभावहीन वा कमीमा लज्जास्पद साबित भए ।
जर्ज डब्लु बुश र डिक चेनी निर्वाचित भएपछि उपराष्ट्रपतिको भूमिका एकाएक फेरियो । बुश धनी राजनीतिक परिवारका छोरा थिए । टेक्सास राज्यका गभर्नरको रूपमा उनले खासै प्रभावशाली काम गरेका थिएनन् । सन् २००० नोभेम्बरको राष्ट्रपति निर्वाचनको परिणाम अलिकति मात्र तलमाथि थियो । सर्वोच्च अदालतमा रिपब्लिकन पार्टीको प्रभाव हुनाले नतिजा उनीहरूकै पोल्टोमा प¥यो ।
अर्को आठ वर्षसम्म सरकारमा वास्तविक प्रभाव उपराष्ट्रपति डिक चेनीको रह्यो । व्योमिङ राज्यका पूर्वसांसद चेनीले रिचर्ड निक्सनदेखि सबै अमेरिकी सरकारमा काम गरिसकेका थिए । बाबु बुश राष्ट्रपति छँदा पहिलो गल्फ युद्ध सुरु गरे । त्यो बेला डिक चेनी रक्षामन्त्री थिए । सो युद्धका कमान्डर जनरल नर्मन श्वार्जकोफ र उनका वरिष्ठ जनरल कोलिन पावेलले सुरुमा खाडीमाथि सैन्य कारबाहीको विरोध गरेका थिए । तर, ती सैन्य अधिकारीहरूले इराक युद्धको विरोध जारी राखे आफूले जसरी हुन्छ काम फत्ते गरिछोड्ने रक्षामन्त्री चेनीले बताए ।
त्यो दशकको अन्त्यतिर चेनीले ‘पीएनएसी’ (नयाँ अमेरिकी शताब्दी परियोजना) तयार गर्ने कार्यमा भाग लिए । यो संस्था वासिङ्टनका युद्धपिपासु, कम्युनिस्टविरोधी ‘विद्यमान खतरा समिति’ का वारिसे र कूटनीतिलाई भन्दा युद्धलाई प्राथमिकता दिने साम्राज्यवादीहरूले बनाएका थिए । १० वर्षको अवधिमा यो संस्थाले राष्ट्रपति क्लिन्टन र अमेरिकी संसद्लाई दबाब दिइरह्यो । यसले शीतयुद्ध टुङ्गिएको अवस्थामा विश्वको पुनः संरचना गर्न भनिरह्यो । इराकमाथिको आक्रमण पनि यस्तै दबाबले गर्दा सुरु भएको थियो ।
सन् २००० को चुनावमा ‘पीएनएसी’ का मुख्य व्यक्ति ह्यालिबर्टन ह्वाइट हाउसमा दोस्रो शक्तिशाली व्यक्ति बने । उनी एक प्रमुख रक्षा ठेकेदार कम्पनीका प्रमुख कार्यकारी पनि थिए ।
जर्ज डब्लु बुश नयाँ राष्ट्रपति बने । चुनावी बहसको क्रममा विपक्षी एल गोरलाई उनले अमेरिका युद्धमा जानु हुँदैन भनेका थिए । तर, उपराष्ट्रपति चेनीले अमेरिकी विदेशनीति बदल्न थाले । तथाकथित ‘नवरूढीवादी’ नेताले कूटनीतिभन्दा युद्धलाई प्राथमिकता दिए । अमेरिकी सुरक्षामा खतरा छ भन्दै हौवा फैलाइयो । सेप्टेम्बर ११ को घटनालाई निहुँ बनाएर अमेरिकाले दुई दशक लामो युद्ध सुरु ग¥यो । विश्वभरि आतङ्कवादी खतरा छ भनेर सन्त्रासको माहोल रच्यो । छोटकरीमा भन्नुपर्दा अमेरिकी उपराष्ट्रपति शक्ति, प्रभाव र राष्ट्रपतिमाथि नियन्त्रणको नौलो भूमिकामा देखापरे । चेनीको तुलना थियोडोर रूजवेल्टसँग मात्र हुनसक्छ । उनले अमेरिकाका २५ औँ राष्ट्रपति विलियम म्याक्किन्लेका उपराष्ट्रपतिको रूपमा यस्तै रवाफ देखाएका थिए ।
चेनी विचारशील व्यक्ति थिए । सैन्य–उद्योग साँठगाँठसँग नजिक हुनाले उनले ठुलो बल पाए । राजनीतिको चतुर खेलाडी हुनाले उनले विशेषगरी अमेरिकी विदेशनीतिमा उपराष्ट्रपतिको भूमिका र प्रभावलाई सदाका लागि बदले ।
(ह्यारी टार्ग राजनीतिशास्त्रका अवकाशप्राप्त प्रोफेसर हुन् । उनले अमेरिकी विदेशनीति, अन्तर्राष्ट्रिय अर्थराजनीति तथा श्रम र वर्गसङ्घर्षका मुद्दामा धेरै किताब र लेखरचना लेखेका छन् ।)
स्रोत : एमआर अनलाइन । सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *