भर्खरै :

दलहरू सिद्धान्त र विचारबाट भिज्नु आवश्यक

दलहरू सिद्धान्त र विचारबाट भिज्नु आवश्यक

युवाहरू जागरुक हुन्छन्; जागरुक हुनुपर्छ । युवाहरू जाँगरिला, आँटिला या साहसी हुन्छन् । युवाहरू अन्धविश्वासलाई आँखा चिम्ली समर्थन गर्दैनन् । उनीहरू विज्ञान र प्रविधिलाई आत्मसात गर्छन् । समाज परिवर्तनमा उनीहरूको भूमिका उल्लेखनीय हुन्छ । तर, जागरुक भएर पनि सिद्धान्त र विचारले उनीहरू भिजेनन् या सिञ्चित भएनन् भने उद्देश्यअनुसार काम फत्ते हुँदैन । उद्देश्य प्राप्त गर्नको निम्ति भएको आन्दोलन या सङ्घर्ष अराजकतामा टुङ्गिन्छ । यसको परिणाम नाफा या सेवाभन्दा बढी नोक्सान या हानि हुन्छ । जेन–जीको आन्दोलन ध्वंसमा परिणत भयो । सरकारको नेतृत्व बदले पनि बहुमत जनताले कुनै राहतको अनुभूति गर्न पाएनन् । बरु, देशको खरबौँ बराबरको सम्पत्ति नोक्सान भयो । के सरकारको नेतृत्व फेर्नु नै आन्दोलनको सफलता हो ? के सामाजिक सञ्जाल फुकुवाको निम्ति ७६ जनाले ज्यानको बाजी राख्नुपर्ने ? जेन–जी आन्दोलन सिद्धान्त र विचारको आधारमा निर्देशित भएर सञ्चालन भएको आन्दोलन उच्छृङ्खलित हुने थिएन; आन्दोलनमा कल्पनै गर्न नसकिने गरी घुसपैठ हुने थिएन । आन्दोलन तोडफोड र आगजनीमा परिणत हुने थिएन । शान्तिपूर्ण आन्दोलनमा ताकी ताकी टाउको, छाती र घाँटीमा गोली हान्नुपर्ने पनि होइन । कसको दबाब, इसारा या आदेशमा ताकी ताकी गोली हानियो ? त्यसको पनि लेखाजोखा हुनुपर्छ । कतै गोली हान्ने काममा विदेशी शक्तिको हात त छैन ? या घुसपैठ भएको छैन ?
आन्दोलनको माग पूरा भएपछि जेन–जीका अगुवाहरूले कुनै पनि दलको सरकार मान्य नहुने बताएका थिए । उनीहरूले अबको नयाँ पुस्ता राजनीतिक दलको तजबिजमा नबस्ने उद्घोष गरेका थिए† देशको निम्ति राजनीतिक दल नै खाँचो नभएको जस्तो आक्रोश पोखेका थिए । हिजो देशको निम्ति दल नै आवश्यक नभएको विचार पोख्ने जेन–जीका अगुवाहरू आज दलको आवश्यकता महसुस गर्दै छन्; दलहरू सिद्धान्त र विचारबाट निर्देशित हुनुपर्छ भनी भन्न थालेका छन् । आ–आफ्नो माग पूरा गर्न आन्दोलन जरुरी छ, आन्दोलन गर्नुपर्छ । विगतमा विभिन्न राजनीतिक दलको आन्दोलनबाहेक विद्यार्थी आन्दोलन भएको थियो; शिक्षक, नर्स, महिला डाक्टर, कर्मचारी, किसानहरूको आन्दोलन भएको थियो । त्यस्तै कमैया, सहकारी पीडितहरूको आन्दोलन भएको थियो । आन्दोलनकै सिलसिलामा नयाँ पुस्ता (युवाहरू) को पनि आन्दोलन भयो । तर, विगतमा भएका अरु आन्दोलन र जेन–जीको आन्दोलनको स्वरूप नितान्त फरक भयो । सिद्धान्त र विचारले भिजेका कुनै पनि युवाहरूले सिंहदरबार, सर्वाेच्च अदालत, सभा भवन जलाउँदैनन्; जलाउने प्रयास गर्दैनन् । देशको सम्पत्ति खरानी पारेको विषयमा जेन–जी समूहले पनि समीक्षा गर्नुपर्ने हो† आफूले थालेको आन्दोलनको क्रममा खरबौँ बराबरको सार्वजनिक र निजी सम्पत्ति क्षति भएको महसुस गर्नुपर्ने हो ।
हिजो राजनीतिक दलको आवश्यकता नदेख्ने युवा पुस्ताले आज दल जरुरी रहेको महसुस गरी आफैँले दल खोल्न थालेको छ । दल खोल्न पाउँछ† दल खोल्ने अधिकार राख्छ । तर, दलको उद्देश्य स्पष्ट हुनुपर्छ । दल कुनै सिद्धान्त र विचारबाट मार्ग निर्देशित हुनुपर्छ । रास्वपाले पनि एक समय देशमा हलचल ल्यायो । दलमा नेतृत्व गर्नेहरू युवा नै थिए । यो दल निर्वाचनमा देशको चौथो ठुलो दल बन्यो । तर, त्यो दलको पनि निश्चित सिद्धान्त थिएन । के परिवर्तनको निम्ति दल खोलिएको हो ? स्पष्ट भएन । के त्यो दल युवाहरूलाई समेट्नको निम्ति मात्र खोलिएको हो ? देशमा शासकहरूको मनपरीतन्त्र, बेथिति, व्यक्तिगत र दलगत स्वार्थको कारण जनतामा असन्तोष बढेको यथार्थ हो । त्यो बेला नयाँ दलले केही गर्ला कि भन्ने युवाहरूमा आशा पलाउनु स्वाभाविक हो । शासक दलहरूभित्र आन्तरिक द्वन्द्व बढ्दा र जनताको भावनालाई कदर नगर्दा जनताले अर्काे विकल्प खोज्नु अन्यथा होइन । तर, त्यो दलले पनि जनताको भावना या मर्म बुझेर काम गरेन भने त्यो दलप्रति पनि जनताको अविश्वास बढ्दै जानेमा शङ्का छैन । ‘जनयुद्ध’ छेडेको माओवादी केन्द्रको पनि पछि त्यस्तै हविगत भयो । एक समय पहिलो दल बनेको त्यो दल अर्काे निर्वाचनमा तेस्रो दलमा झ¥यो ।
उद्देश्यअनुसार काम नगरेपछि पतन स्वाभाविक हो । राजनीतिक दलले देशमा बहुमत जनताको प्रतिनिधित्व गर्नुपर्छ; उनीहरूको सेवाप्रति लक्षित हुनुपर्छ । त्यही कारण बहुमत जनताको सेवा गर्ने दलको आवश्यकता भएको हो । अहिले देशमा झन्डै ११–१२ दर्जन दलहरू निर्वाचन आयोगमा दर्ता भए । निर्वाचनमा भाग लिनको निम्ति दल दर्ता गर्नु अस्वाभाविक होइन । आयोगमा दर्ता भएका दलहरूको उद्देश्य के ? के उद्देश्यको निम्ति दल खोलिएको हो ? त्यो स्पष्ट पार्नुपर्छ । जनताले हरेक दलको उद्देश्य बुझ्नुपर्छ । कुनै दलको लहै लहैमा पार्टी सदस्य बन्ने होइन, लहै लहैमा लागेर निर्वाचनमा मतदान गर्ने होइन । बिनाअध्ययन या कुरै नबुझी लहै लहैको आधारमा मतदान गर्दा गलत मानिसहरू विजयी हुन्छन् । उही ठेकेदार, भ्रष्टाचारी, अर्बपति, जालीफटाहा, सामन्त, पुँजीपति र अपराधीहरू विजयी हुन्छन् । त्यस्ता व्यक्तिहरूले देश र जनताको सेवा गर्दैनन् । बरु, उनीहरू व्यक्तिगत स्वार्थमा भुल्छन्; पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउँछन् । अपराधीहरूको पछि लागेर देशलाई भत्ताभुङ्ग पार्छन्; एकपछि अर्काे अनियमितता गर्छन्; बेथिति निम्त्याउँछन् । अनि देश सधैँ परनिर्भर हुन्छ; ऋणमा डुब्छ र देश सङ्कटमा फस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *