भर्खरै :

“नेमकिपाले निर्वाचनलाई एक राजनैतिक सङ्घर्षको रूपमा उपयोग गर्छ”

“नेमकिपाले निर्वाचनलाई एक राजनैतिक सङ्घर्षको रूपमा उपयोग गर्छ”

(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सर्लाहीको ढुकढुकी एफएमको ‘आजको संवाद’ कार्यक्रमका प्रस्तोता क्षितिज विश्वकर्माले गत कार्तिक २१ गते लिनुभएको अन्तर्वार्ता सामान्य सम्पादनसहित यहाँ प्रस्तुत गरिएको छ ।)

-देशको वर्तमान परिस्थितिलाई कसरी नियाल्नुभएको छ ?
देशको राजनैतिक परिस्थिति अलि जटिल छ । सबै नेपाली यसबाट प्रभावित भएका छन् । भदौ २३ र २४ गते जेन–जी समूहले गरेको आन्दोलन वा प्रदर्शनमा ७५/७६ जनाको ज्यान गयो । भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने जेन–जीको माग थियो । देशको व्यवस्था नै परिवर्तन वा संविधान संशोधन त्यस आन्दोलनको माग थिएन । भदौ २३ गते नै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका भए, देशले यति धेरै क्षति भोग्नुपर्ने थिएन । प्रम केपी ओलीले दम्भ देखाउनुभयो । गृहमन्त्रीको राजीनामा गराएर थामथुम पार्ने कोसिस गर्नुभयो । त्यसैको परिणाम भदौ २४ गते अकल्पनीय घटना घट्न पुगेको हो । दिउँसो २ बजेतिर मात्र प्रधानमन्त्रीको राजीनामा आयो । त्यतिबेलासम्म धेरै अप्रिय घटनाहरू घटिसकेका थिए । सेना, राष्ट्रपति वा प्रधानमन्त्री कसैबाट पनि सुरक्षा भएन । सरकारविहीनताको अवस्था सिर्जना भयो । धेरैको ज्यान गयो । देशको खरबौँ सम्पत्ति ध्वस्त भयो । सिंहदरबार, सर्वोच्च अदालत, अख्तियारदेखि लिएर देशका सयौँ पालिकाहरूमा तोडफोड र आगजनी भयो । जिल्ला प्रशासनका भवनहरू र ५०० वटाभन्दा बढी प्रहरी चौकीदेखि सरकारी कार्यालय जलाइयो । त्यो क्षतिको जिम्मेवारी लिने कोही देखिएका छैनन् । सरकारको नेतृत्वमा रहेकाले नै त्यस घटनाको जिम्मेवारी लिनुपर्छ ।

-नेकपा एमाले अध्यक्ष केपी ओलीले अहिलेसम्म पनि त्यो गल्ती स्वीकार्न खोजेन । यसलाई के भन्नुहुन्छ तपाईँ ?
हो, त्यही दम्भ र घमण्डले गर्दा यस्तो घटना घट्न पुगेको हो । समयमै उचित कदम चाल्नुभएको भए यति धेरै क्षति हुने थिएन । राजनीतिमा नैतिकता महत्वपूर्ण हुने गर्छ । नैतिकता नभएकाहरूले जे गर्दा पनि भयो । हाम्रै देशको इतिहास हेर्ने हो भने, २०३१ सालमा सिंहदरबार जलेको बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा गर्नुभयो । त्यसैगरी, रङ्गशाला काण्डमा केशरबहादुर विष्टले राजीनामा दिनुभयो । भागदौडामा भएको घटनामा खेलकुद मन्त्रीको के दोष थियो ? तर, पनि विष्टले नैतिकताको आधारमा राजीनामा दिनुभयो । यस्ता न्यूनतम कुरा पनि केपी ओलीबाट भएन ।

-नेपाली राजनीतिमा नेताहरूमा नैतिकता हुन्छ र ?
शासक दलका नेताहरूमा नैतिकता नभएकै कारण देशले यति छोटो समयमै दुर्भाग्यपूर्ण अवस्था व्यहोर्नुप¥यो । राजनीतिमा नैतिक शक्ति ठुलो बल हो । भौतिक शक्ति भनेको त क्षणिक हुन्छ । शेरबहादुर देउवालाई कुटपिट र लछारपछार गर्दा पनि नेकाका लाखौँलाख कार्यकर्ता कहाँ गए भन्ने प्रश्न उठ्यो । सङ्कटको बेला साथ दिनुपर्नेमा कार्यकर्ताहरू सबै कता भागे । जो पायो त्यहीँलाई राजनीतिमा हुल्दाको परिणाम देशले भोग्नुपरेको छ । राजनीति भनेको विचार र सिद्धान्त हो, अनुशासित मानिसहरूको जमात हो । त्यो आधारमा आदर्श समाज निर्माण गर्ने अठोट लिएर अगाडि बढ्ने पल्टन हो । यहाँ त टीका लगाएर कम्युनिस्ट पार्टीको सदस्यता दिने, फूलको माला लगाइदिएर पार्टीको सदस्यता दिने गरिन्छ । एकै व्यक्ति आज काङ्ग्रेस, भोलि एमाले, पर्सि माओवादी र अर्को दिन राप्रपामा जान्छ । एकै व्यक्तिले वर्षमा चारवटा पार्टी चहार्छ । जब राजनीतिमा नैतिकता हुँदैन, सारा जनताले दुःख पाउँछन् । ठुला पार्टी भनेको सङ्ख्या र आकारमा मात्र होइन नैतिकता र विचारमा पनि व्यापकता हुनुपर्छ । त्यसले परिवर्तन ल्याउन जनतालाई शिक्षित गरेको हुनुपर्छ । तर, नेपालमा त्यस्तो भइरहेको छैन ।

-अहिलेको अन्तरिम सरकारप्रति तपाईँहरूको धारणा के छ ?
अहिलेको अन्तरिम सरकार विशेष परिस्थितिमा निर्माण भएको सरकार हो । संविधानअनुसार बनेको होइन । यो चुनावी सरकार हो । परिस्थितिलाई तत्काल सम्बोधन नगरेमा देशको ठुलो क्षति हुनसक्ने हुँदा शासक दलहरूको सहमतिमा यो सरकारको गठन भएको हो । वर्तमान संविधानअनुसार सुशीला कार्की प्रधानमन्त्री बन्न सक्ने ठाउँ छैन । कार्की प्रतिनिधिसभाका सदस्य पनि होइनन्, सर्वोच्च अदालतको पूर्वन्यायाधीश संविधानअनुसार प्रम बन्न योग्य पनि छैन । काङ्ग्रेस, एमाले, माओवादी र त्यसबेलाको एकीकृत समाजवादीसमेतको संयुक्त सहमतिमा तत्कालीन सङ्कटलाई सम्बोधन गर्न बनेको सरकार हो भन्ने अहिले पुष्टि भइसकेको छ ।

-अन्तरिम सरकार प्रतिनिधिसभाको चुनाव गराउनको लागि मात्र गठन गरिएको सरकार हो भन्नुभयो । तर, अन्तरिम सरकारले बृहत् किसिमको काम पनि गरिरहेको देखिन्छ । यसमा के भन्नुहुन्छ ?
अन्तरिम सरकारले प्रतिनिधिसभाको चुनाव शान्तिपूर्ण, मर्यादित र धाँधलीरहित तरिकाले सम्पन्न गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । देशलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य गर्नु हुँदैन । राजदूतहरू फिर्ता बोलाउने, सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लानेजस्ता नीतिगत निर्णय गर्नु ठीक होइन । देशको अर्थतन्त्रमा दीर्घकालीन असर पुग्ने विषयमा हात हाल्ने काम अन्तरिम सरकारबाट हुनु हुँदैनथ्यो । विश्व बैङ्क र एसियाली विकासजस्ता साम्राज्यवादका आर्थिक हतियारहरूलाई खुसी पारी ऋण लिनको लागि देशको सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लाने नीति पारित गरेको स्पष्ट छ । प्रजातान्त्रिक पार्टीहरू भएका भए नेपाली काङ्ग्रेस, एमाले र माओवादीहरूले यसको विरोध गर्नुपर्ने थियो । रातो लुगा लगाउनेहरू सबै क्रान्तिकारी हुँदैनन् । गेरुवस्त्र लगाउनेहरू सबै कहाँ साधु हुन्छन् र ? उसको व्यवहार, विचार र आचरण राम्रो हुनुपर्छ । आफूलाई समाजवादीको दाबी गर्ने र निजीकरणलाई पनि जोड दिनेहरू पुँजीवादीहरू नै हुन् । सरकारको कार्यशैली ठीक ढङ्गले अगाडि बढिरहेको छैन ।

-अब देश कतातिर धकेलिने देख्नुहुन्छ ?
चुनावको मिति घोषणा भइसकेको छ । चुनाव भएन भने देश थप जटिलतातिर धकेलिने छ । देशमा अराजक घटनाहरू घट्न सक्छन् । विदेशी चलखेल अझ बढ्ने सम्भावना हुन्छ । जेन–जीको आन्दोलन दुई दिनको तयारीमा भएको हुँदै होइन । भदौ २४ गते ५—६ घण्टामै देशका सयौँ सरकारी कार्यालयहरू खरानीमा परिणत भए । देश नै जलिरहेको अवस्था थियो । संसारका धेरै देशमा यस्ता घटनाहरू घटेका थिए । अमेरिकीहरूले धेरै देशहरूमा यस्ता परिवर्तनहरूलाई रङ्गिन क्रान्तिको नाम दिए । सन् २००३ मा जर्जियामा ‘कलेजी’ क्रान्ति, २००४ मा युक्रेनमा ‘सुन्तला’ क्रान्ति, २००५ मा किर्गिस्तानमा ‘टुलिफ’ क्रान्ति र फिलिपिन्समा ‘पहेँलो’ क्रान्तिको नाम दिइएको थियो । संसारका ५० वटाभन्दा बढी देशहरूमा अमेरिकाले रङ्गिन क्रान्तिको नाम दिएर शासन सत्ता परिवर्तन गराइसक्यो । नेपालमा पनि जेन–जीको नाममा उथलपुथल भयो । यो जेन–जी नाम पनि अमेरिकीहरूले प्रयोग गर्ने नाम हो । एनजीओ तथा आईएनजीओ यति खतरनाक हुन्छ कि उसले चाह्यो भने देशमा उथलपुथल गर्न सक्छ भन्ने पछिल्लो उदाहरण नेपाल बनेको छ । अमेरिकी युथ काउन्सिल, अमेरिकी चेम्बर अफ कमर्स, बारबरा फाउन्डेन, समता फाउन्डेसनजस्ता संस्थाहरूले यस्ता कामहरू गरिरहेका छन् ।

-अहिलेको सरकार पनि एनजीओ तथा आईएनजीओ सदस्यहरूले भरिएको छ भनिन्छ नि ¤ के यो सत्य हो ?
त्यो त सञ्चारमाध्यमहरूमा आइरहेकै छ नि ¤ प्रधानमन्त्री, कानुनमन्त्री, सञ्चारमन्त्रीलगायतको नाम बारबरा फाउन्डेसन, समता फाउन्डेसन आदि एनजीओहरूसँग जोडिएर आएका छन् । शासक दलका नेताहरूले देशलाई आफ्नै बलबुत्तामा विकास गर्ने सोच नै राखेनन् । हरेक कुरामा विदेशको भर पर्ने, विदेशको मुख ताक्ने प्रवृत्ति छ । नेपालमा कसलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने निर्णय नै दिल्लीबाट भइरहेको छ । नेपालको नदीनालाबाट भारतले आफ्नो कृषि उत्पादन बढाइरहेको छ । तर, नेपालले खाद्यान्न, तरकारी पनि भारतबाट किनेर ल्याउनुपरेको छ । एनजीओ र आईएनजीओहरूले जनतालाई परनिर्भर बनाउँदै लान्छन् । त्यो खतरनाक विषय हो ।

८) युवा श्रमशक्ति विदेश जानुको मुख्य कारण के होला ?
आजका युवाहरूलाई स्वदेशमा काम गर्ने वातावरण छैन । उद्योगधन्दाहरूको निजीकरणले रोजगारीका अवसरहरू गुम्दै गए । युवाहरू नेपालमा खेती किसानी गर्न लाज मान्छन् । दक्ष र अदक्ष सबैखाले जनशक्ति बिदेसिँदै छन् । डलरको लोभमा यहाँका डाक्टर, इन्जिनियर, नर्स, प्राध्यापकहरूजस्ता शिक्षित जनशक्ति पनि विभिन्न देशहरूमा गरिरहेका छन् । युवाहरूमा आफ्नो देश आफैँ बनाउने भावना नभएसम्म देशको विकास हुँदैन । हाम्रा विश्वविद्यालय र कलेजहरू विदेशीहरूका लागि सस्तो ज्यामी उत्पादन गर्ने कारखाना बन्दै छन् । युवाहरू बिदेसिने क्रम बढेसँगै नेपालमा विभिन्न क्षेत्रमा जनशक्ति अभाव हुन थालेको छ । अहिले केही विषयका शिक्षक, प्राध्यापकहरूको अभाव हुन थालेको छ । देश आत्मनिर्भर भएमात्र स्वतन्त्र र स्वाभिमान बन्न सक्छ ।

-जेन–जी आन्दोलनको असर भक्तपुरमा कस्तो रह्यो ?
देशभरि असर परेको समयमा भक्तपुर अछुतो रहने कुरै भएन । भक्तपुरको जिल्ला प्रशासन कार्यालय र अन्य केही प्रशासनिक भवनहरूमा क्षति पुगेको छ ।

-अबको चुनावमा नेमकिपाको भूमिका कस्तो रहला ?
नेमकिपा निर्वाचनलाई एक राजनैतिक सङ्घर्षको रूपमा लिन्छ । जनताको चेतनास्तर उठाउन हरेक निर्वाचनलाई पार्टीले उपयोग गर्दै आएको छ । देश बिग्रेकोमा नेताहरूमात्र होइनन्, जनता पनि दोषी छन् । जनताले सानोतिनो लोभमा खराब मानिसहरूलाई बारम्बार जिताइरहेका छन् । नेमकिपा वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी हो । पार्टीले पैसा खर्च गरेर चुनाव जित्ने कोसिस गर्दैन । तुलनात्मकरूपमा जनता विगतमा भन्दा राजनैतिकरूपले सचेत बन्दै छन् । नेमकिपाले जितेका जनप्रतिनिधिहरूले इमानदारीपूर्वक काम गर्दै छन् । नेमकिपा राजनीतिलाई जनताको सेवा गर्ने ठाउँको रूपमा लिन्छ ।
देश बनाउने सबैको साझा जिम्मेवारी हो । जनताले धेरैपटक धोखा पाएपछि शासक दललाई खबरदारी गर्ने काम गर्दै छन् । चुनाव बिथोल्न पनि धेरै शक्तिहरू लागिपरेका छन् । चुनाव घोषणा भइसकेको हुँदा चुनाव शान्तिपूर्ण अवस्थामा सम्पन्न गर्नुपर्ने पक्षमा नेमकिपा उभिएको छ । तोकिएको समयमा चुनाव भयो भने देशलाई थप बिग्रनबाट जोगाउन सकिन्छ ।

िअहिले स—साना कम्युनिस्ट पार्टी मिलेर नयाँ पार्टी गठन गरेको छ । यसमा के भन्न चाहनुहुन्छ ?
विचार र सिद्धान्त नमिलेकाहरूबिच एकताको अर्थ हुँदैन । स्वार्थका लागि मिलेकाहरू स्वार्थकै निम्ति फेरि फुट्ने छन् । सिद्धान्तहीन एकताभन्दा फुट झन् राम्रो हुन्छ । एकीकृत समाजवादी, माओवादीलगायतका पार्टीहरूबिचको एकता लामो समय टिक्न गा¥हो हुन्छ । सरकारमा जाने, मन्त्री बन्ने स्वार्थमा यी पार्टीहरू एकता भएका हुन् । विचार र सिद्धान्तलाई भन्दा स्वार्थको लागि मिलेका हुन् यिनीहरू ।
जे गरेर पनि सरकारमा जाने ती पार्टीहरूको उद्देश्य थियो र छ । संसदीय मूल्य र मान्यताविपरीत काङ्ग्रेस र एमाले मिलेर पनि सरकार बनाए । युवा पुस्तामा दलहरूप्रति असन्तोष हुनुको त्यो पनि एक कारण हो । जेन–जी आन्दोलनलाई युवा पुस्ताले राजनीतिक दलप्रति असन्तोष पोखेको रूपमा लिन सकिन्छ । शासक दलका नेता र कार्यकर्ताहरूले राजनीतिलाई छोटो समयमा व्यापारीले भन्दा धेरै धन आर्जन गर्ने अवसरको रूपमा लिए । त्यो गलत थियो । राजनीतिकर्मीहरूमा समाजसेवा वा स्वयम्सेवी भावना हुनुपर्छ । अहिलेका दलका नेता कार्यकर्ताहरूमा त्यसैको खडेरी छ ।

-भक्तपुर नगरपालिकाको भावी योजनाहरू के के छन् ?
ख्वप विश्वविद्यालय स्थापनाको लागि जोड दिइरहेका छौँ । अरनिको सभाभवन निर्माणाधीन अवस्थामा छ । भक्तपुरको खोला सुधार गरी भक्तपुरलाई सुन्दर र आकर्षक नगर बनाउन लागिपरेका छौँ । जनताको विश्वास जितेर काम गरिरहेका छौँ । विभिन्न स्थानीय तहको अध्ययन भ्रमण र विचार आदानप्रदानमा पनि हामीले जोड दिँदै आएका छौँ । जनतालाई राजनैतिकरूपमा सचेत र सङ्गठित गर्ने काम पनि गर्दै आएका छौँ । हामी जनताको सेवामा समर्पित भएर काम गर्दैछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *