भर्खरै :

अन्ना लुइस स्ट्रङ (सन् १८८५–१९७०) को सङ्क्षिप्त परिचय

अन्ना लुइस स्ट्रङ (सन् १८८५–१९७०) को सङ्क्षिप्त परिचय

अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम खसाली संसारमा आफ्नो सामरिक शक्ति देखाएर संसारका सबै क्रान्तिहरूलाई हाँक दिइरहेको थियो । संसारलाई त्राहिमाम पारेको बेला अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङ
(Anna Louise Strong) येनानको गुफामा माओ त्सेतुसँग अन्तर्वार्ता लिन पुगिन् । माओ त्सेतुङले उत्तरमा भन्नुभयो, “साम्राज्यवाद कागजको बाघ भएजस्तै आणविक बम पनि कागजको बाघ हो ।”
“आणविक बम संहारक वस्तु हो तर त्यसमाथि नियन्त्रण गर्न सकिन्छ । साम्राज्यवादलाई रणनीतिकरूपले चानचुन सम्झनुपर्छ भने कार्यनीतिकरूपले उसका स–साना गतिविधिबारे पनि ध्यान दिनुपर्छ ।” माओ त्सेतुङको यस अभिव्यक्तिले संसारका जनताले अमेरिकी साम्राज्यवादको आणविक आतङ्कबाट मुक्ति पायो ।
संसारलाई अमेरिकी आणविक आतङ्कबाट मुक्ति दिलाउन माओ त्सेतुङको सन्देश विश्वसामु पु¥याउने महिला पत्रकार अन्ना लुइस स्ट्रङको जन्म संरा अमेरिकाको नेब्रास्का (Nebraska) राज्यमा सन् १८८५ मा भएको थियो ।
उनको परिवारको पृष्ठभूमि नै प्रगतिशील परम्पराको थियो । उनको परिवार सन् १६३० तिर बेलायतबाट अमेरिका बसाइँ सर्दा राजतन्त्रविरोधी थियो र अमेरिकी स्वतन्त्रता आन्दोलनमा सहभागी थियो ।
स्ट्रङका बुबा सिड्ने स्ट्रङ
(Sydnay Strong) समाज सुधारका पक्षपाती थिए भने आमा रुथ ट्रेसी
(Ruth Tracy) पनि विश्वविद्यालयमा अध्ययन गरेकी शिक्षित महिला थिइन् र समुदायको हितको निम्ति सक्रिय थिइन् । खानदानी परिवारको भएको हुँदा आफ्ना छोरीलाई साहसी, स्वतन्त्र विचारमा हुर्कने अवसर प्रदान गरिएको थियो ।
७ वर्षकै उमेरमा स्ट्रङलाई घरबाट टाढा सिन्सिन्नाटि (Cincinnati) महानगरमा पढ्न पठाइयो । १२ वर्षको उमेरमा उनी रात बिताउने रेलको यात्रामा गइन् । युवा अवस्थादेखि नै तिनी आफ्नो व्यक्तिगत स्वार्थभन्दा व्यापक जनताको हितलाई महत्व दिन्थिन् ।
सन् १९०७ मा २३ वर्षको उमेरमै स्ट्रङले सिकागो (Chicago) विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरिन् । समाजको न्याय, कल्याण र सुधारको निम्ति उनी लागिपरिन् ।
विश्वविद्यालयको अध्ययनपछि स्ट्रङ बालश्रमविरोधी कार्यमा लागिन् । सन् १९१५ मा पश्चिमको वासिङटन राज्यको सियाटल (Seattle) महानगरको विद्यालयको सुधार समितिका उनी सदस्य भइन् । त्यसपछि उनी पहिलो विश्वयुद्धमा आफ्नो सरकार साम्राज्यवादी नीतिमा लागेकोमा विरोध गर्न सक्रिय भइन् । त्यसैबेला उनी क्रान्तिकारी र माक्र्सवादीहरूको सम्पर्कमा पुगिन् । काठ चिर्ने कारखानाका मजदुरहरू संविधानले दिएको वाक् स्वतन्त्रताको निम्ति लडिरहँदा तिनी त्यहीँ सङ्घर्षको पक्षमा उभिइन् । सन् १९१९ मा सियाटल (Seattle) मा मजदुरहरूको देशव्यापी हडताल भयो, संरा अमेरिकामा त्यो ऐतिहासिक हडताल थियो । मजदुर सङ्घको समाचारपत्र ‘सङ्घको दस्ताबेज’ (Union Record) का सम्पादक स्ट्रङ थिइन् । उनका सशक्त सम्पादकीय र ‘आनिज’ (Anise) नामबाट लेखिने कविताहरू पछिसम्म त्यहाँका जनतामा चर्चा भइरह्यो ।
पक्राउ
स्ट्रङले एक लेखमा भनिन्, “ … समाजमा सबै वर्गको उन्मूलन गरी सबै सम्पत्ति एक वर्गको रूपमा मजदुरहरूको नियन्त्रण र तिनीहरूको हितमा हुनुपर्छ ।” यसै लेखको कारण उनी पहिलोपटक पक्राउ परिन् । उनी निरन्तर आफ्नो सिद्धान्तप्रति निष्ठावान् रहिन् । आफ्नो बाटोलाई मोड्न खोज्नेहरूलाई उनी सबै कामदारहरू त्यही सिद्धान्तमा रहेको बताउँथिन् ।
रुसमा सन् १९१७ मा अक्टोबर क्रान्ति भएको थियो । सन् १९१८ मा लेनिनको एउटा भाषणलाई तिनले सम्पादन गरेर २० हजार प्रति छपाएर उत्तर– पश्चिम अमेरिका र क्यानाडामा वितरण गराएकी थिइन् । त्यसले अमेरिकी मजदुरहरूमा सङ्घर्षको नयाँ वातावरण बनेको थियो । त्यस्तै सियाटलको मजदुर आन्दोलन भइरहँदा चीनमा मई ४ को युवा आन्दोलन चर्कँदै थियो । त्यसबेला तिनी ३४ वर्षकी थिइन् ।
रुसमा ३० वर्ष
रुसमा सन् १९२१ तिर भोल्गा (Volga) क्षेत्रमा अनिकाल भयो । स्ट्रङ भोकमरीलाई सहयोग गर्न विदेशी राहत दिने पहिलो मजदुरको रूपमा रुस पुगिन् ।
दोस्रोपटक तिनी रुस पुगिन् र मस्कोमै स्थायी बसोबास गरिन् । पछि एक रुसी कम्युनिस्टसँग विवाह गरिन् । पत्रकार र अनुवादक एवं विभिन्न देशमा गई द्वेभाषीको रूपमा काम गरिन् । देश–विदेशका घटनाहरूको बारेमा पनि तिनले धेरै पुस्तकहरू लेखिन् ।
सन् १९३० देखि १९५० सम्म ‘मस्को दैनिक खबर’ (Moscow Daily News) मा उनले काम गरिन् । तिनका पुस्तकहरूमध्ये सबभन्दा उत्कृष्ट पुस्तक उनको आत्मकथाको रूपमा लेखिएको ‘मैले संसारलाई फेरेँ’ (I Change World) थियो । त्यो पुस्तक सन् १९३५ मा प्रकाशित भयो र तिनले रुसमा ३० वर्ष काम गरिन् ।
चीन भ्रमण
सन् १९२५ मा हङकङमा ठुलो हडतालबारे समाचार सङ्कलन गर्न स्ट्रङ पहिलोपटक चीन पुगिन् । चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रवादी पार्टी कोमिनताङ (Kuomintang) बिच पहिलो क्रान्तिकारी एकता (Alliance) भएको थियो । त्यसको केन्द्र क्यान्टन
(Guang-Zhou) थियो । त्यहाँ तिनले श्रीमती सनयात सेन (Madame Sun Yat-sen) अर्थात् सून चिङ लिङ
(Soong Ching Ling), अन्य प्रगतिशील व्यक्तिहरू र जननेताहरू भेटेकी थिइन् । त्यसबेला तिनले ‘करोडौँ चिनियाँ जनता’ (China’s Millions) लेखिन् । त्यसबेला तिनी ४० वर्षकी थिइन् । अमेरिकाबाट प्रकाशित त्यस पुस्तकलाई मानिसहरू खोजी खोजी पढ्थे ।
मेक्सिकोको प्रजातान्त्रिक आन्दोलनको अवलोकनपछि सन् १९२७ मा तिनी एक रुसी सल्लाहकारसँग मङ्गोलियाको राजधानी उलाम्बाटोर हुँदै रुसी साइबेरियाली रेलमार्गबाट दोस्रोपटक चीन पुगिन् । त्यसबेला राष्ट्रवादी पार्टीका सभापति च्याङकाई शेक (Chiang Kai-Shek) र वाङ चिङ्गेई (Wang Jingeuei) ले क्रान्तिलाई विश्वासघात गरिसकेका थिए । मजदुर र किसानहरूको आन्दोलन अगाडि बढ्दै थियो र साम्राज्यवादीहरूको धाप पाएर विश्वासघातीहरूले गृहयुद्धमार्फत जनतालाई दबाउँदै थिए । त्यसैबेला माओ त्सेतुङले आफ्नो पार्टीमा ‘हुनान प्रान्तको किसान आन्दोलनबारे जाँचबुझको एक रिपोर्ट’ पेस गर्नुभएको थियो ।
स्ट्रङले माओ त्सेतुङको त्यसै रिपोर्टलाई समेत ध्यान दिई सन् १९२८ मा ‘करोडौँ चिनियाँ जनता’ को दोस्रो भागमा सामेल गरिन् र ‘मैले संसारलाई फेरेँ’ मा पनि चीनको परिस्थितिबारे लेखिन् । त्यसबेला उहान (Wuhan) र अन्य क्षेत्रमा उनले भ्रमण अवलोकन गरेकी थिइन् ।
युरोपमा फासीवादको जगजगी बढ्दै थियो । स्पेनियाली गणतन्त्र त्यसको थिचोमिचोको विरोधमा सङ्घर्ष गर्दै थियो । सन् १९३६ मा स्ट्रङ स्पेन पुगिन् र केही महिना त्यहाँको अध्ययन गरिन् र ‘स्पेनमा हातहतियार’ (Spain in Arms) भन्ने पुस्तक लेखिन् ।
सन् १९३७–३८ मा अन्ना लुइस स्ट्रङ तेस्रोपटक चीन पुगिन् । चीन जापानी आक्रमणको विरोधमा लड्दै थियो । कम्युनिस्टहरूको आठौँ पैदल सेनाको सदरमुकाम दक्षिण–पूर्वी शान्सि (Shanxi) मा थियो । त्यहाँ जनरल चू तेह (Chu Teh) हुनुहुन्थ्यो । जापानसँगको त्यस भिडन्तको बेला तिनले त्यहाँ यात्रा गरिन् र चाउ एन लाइ र उहाँको जहान तङ यिङ चाओ (Deng Ying Chao) सँग मित्रता गाँसिन् । त्यसबेला अन्ना ५२–५३ वर्षकी थिइन् ।
चौथो पटक चीन भ्रमण
सन् १९४० मा जापानविरोधी प्रतिरोध युद्ध साह्रै अप्ठेरो स्थितिमा थियो, जापानी आक्रमणले चीनको मुख्यमुख्य महानगरहरू आफ्नो कब्जामा लिइसकेको थियो भने च्याङकाई – शेकले जापानको अगाडि आत्मसमर्पण गर्दै थिए । त्यसैबेला अन्ना लुइस स्ट्रङ चौथोपटक चीन पुगिन् । च्याङकाई–शेक जापानसँग लडिरहेको कम्युनिस्ट नेतृत्वको चिनियाँ शक्तिहरूमाथि जाइलाग्न तयारी गर्दै थिए ।
त्यस्तो विकट अवस्थामा स्ट्रङ चाउ एन लाइसँग भेट्न चोङ छिङ (Chongquing) पुगिन् । देशको स्थितिबारे चाउ एन लाइले तिनलाई सन् १९२७ को भन्दा विकराल भएको बताउनुभयो । तर, उहाँले यसबारे कसैलाई नबताउनु भन्नुभयो, किनभने स्थिति च्याङ काई शेकले थाहा पाए झन् ठुलो आक्रमणको योजना बनाउनेछ । तर, तिनले साथीहरूसँग यस गम्भीर विषयमा छलफल गर्दा संसारसामु च्याङकाई शेकका गतिविधिहरूलाई उदाङ्गयाउनुपर्ने सल्लाह दिइन् ।
कोमिनताङ शक्तिहरू याङसी (Yangtze) नदी तरेर उत्तरतिर आउँदा कम्युनिस्टहरूको नयाँ चौथो सेनालाई बाटैमा समाप्त पार्न खोज्दै थिए । यसबारे स्ट्रङले सारा संसारमा फासीवादविरोधी प्रचार अभियान सुरु गरिन् । संसारका सारा प्रगतिशील जनता र शान्ति चाहने जनता तथा देशहरूमाझ जापानको विरोधमा अडान लिने चिनियाँ कम्युनिस्टहरूको पक्षमा लोकमत तयार भयो । यस्तो गम्भीर स्थितिमा चीनमा गृहयुद्ध भड्केमा दोस्रो विश्युद्धको नक्सा फेरिने सम्भावना थियो । यस्तो अवस्थामा स्ट्रङको प्रचार अभियानले सकारात्मक भूमिका खेल्यो ।
पाँचौँ पटक चीनमा
दक्षिण–पूर्वी चीनमा जापान हार्दै थियो र कम्युनिस्टहरूको प्रभाव बढ्दै थियो । उत्तर कोरिया, चीन, हिन्द–चीन, इन्डोनेसिया, मलेसिया, बर्मा, जापानको आदि ठाउँ कम्युनिस्टहरूले लिँदै थिए । जापानलाई छिट्टै आत्मसमर्पण गराउन नसके अमेरिकी सेनाको थप बलिदान हुन्थ्यो र अरू हातहतियार एवं रसद पानीको आवश्यकता हुन्थ्यो । त्यस स्थितिले कम्युनिस्ट आन्दोलनको निम्ति सहयोग पुग्थ्यो र पश्चिममा पनि कम्युनिस्ट आन्दोलनलाई थप मलजल पुग्थ्यो । यसकारण, संरा अमेरिकाले जापानलाई छिट्टै आत्मसमर्पण गराउन आणविक अस्त्र प्रयोग गर्ने निर्णय गर्यो ।
६ अगस्ट १९४५ को दिन जापानको हान्शु (Honshu) टापुको हिरोशिमा (Hiroshima) सहरमा संरा अमेरिकाले आणविक बम खसाल्यो ।
दोस्रो आणविक बम जापानको क्युशु (Kyushu) टापुको नागासाकी
(Nagasaki) सहरमा खसाल्यो ।
संरा अमेरिकाको त्यस संहारक अस्त्रको प्रयोगले सारा मानव जाति आतङ्कित भयो । जून १९४६ मा अन्ना लुइस स्ट्रङ पाँचौँ पटक चीन पुगिन् र चिनियाँ कम्युनिस्ट पार्टीको सदरमुकाम येनान पुगी अध्यक्ष माओ त्सेतुङसँग संसारको त्यस स्थितिबारे प्रश्न गरिन् । उत्तरमा माओले भन्नुभयो, “युद्धको निर्णय एक दुईवटा नयाँ हातहतियारले गर्दैन बरु जनताले गर्छन् । साम्राज्यवादीहरूजस्तै अणु बम पनि ‘कागजी बाघ’ हो, हेर्दा डरलाग्दो छ, तर तिनीहरूमाथि विजय प्राप्त गर्न सकिन्छ ।”
माओ त्सेतुङको त्यस अन्तर्वार्ताले संसारका जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा थप ऊर्जा प्राप्त ग¥यो । त्यसैबेला तिनले माओ त्सेतुङसँग अर्को पनि अन्तर्वार्ता लिइन् र त्यहाँ ल्यू शाओचि (Liu Shaoqi) पनि थिए । माओ त्सेतुङ विचारधाराबारे उहाँले माक्र्सवाद–लेनिनवादलाई चीनको माटोमा प्रयोग गर्दाको अनुभव हो र त्यो विचारधारा सबै देशमा जस्ताको तस्तै लागु हुन्छ भन्ने होइन र हरेक देशको आ–आफ्नै परिस्थितिअनुसार अनुसरण गर्नुपर्ने बताउनुभयो । त्यसबेला स्ट्रङ ६१ वर्षकी परिपक्व पत्रकार थिइन् ।
सन् १९४७ मा चिनियाँ कम्युनिस्ट पार्टी र कोमिनताङबिच नयाँ युद्ध सुरु भयो । संरा अमेरिकाले कोमिनताङलाई सबै किसिमले मद्दत गर्यो । माओ त्सेतुङ र चाउ एन–लाइले येनानलाई खाली गरी घुमन्ते र नियमित युद्धमा प्रवेश गराउँदै हुनुहुन्थ्यो ।
त्यसैबेला अन्ना लुइस स्ट्रङले येनानको जीवनशैलीको बारेमा लेखिन्, “त्यहाँ कुनै ऐश–आराम छैन बरु केही बन्दोबस्त छ । … जनताको राम्रो विचार
छ, गम्भीर छ र विश्व दृष्टिकोण छ । ….यहाँ केही नभए पनि क्रान्तिको कठिन अग्रगमनको भरपर्दो इतिहास देखिन्छ ।”
प्रगतिशील अमेरिकी पत्रकारहरूको टोलीले ‘संयुक्त श्रम समाचार र टेलीप्रेस समिति’
(Allied Labour News and Telepress Committee) को स्थापना ग¥यो । अमेरिकी ट्युमानको सरकारले च्याङ काई शेकको समर्थन गर्दै थियो । त्यस नीतिको विरोधमा अमेरिकी पत्रकारहरूको टोलीले चीनबाट स्ट्रङले पठाएका समाचारहरूलाई अमेरिका र संसारमा प्रसार गर्दै गयो । उत्तरी शान्सि (Shanxi) मा अङ्ग्रेजी भाषाको समाचार संस्था अर्थात सिन्ह्वा समाचार संस्था (Xinhua News Agency) बाट एउटा सानो घुम्ती प्रसारण सेवा सुरु गरिएको थियो । त्यस्तो सानो स्रोतले पनि ठुल्ठुला काम गर्यो । चीनबाट स्ट्रङका समाचारहरूलाई सङ्कलन गरी उनको ‘भोलिको चीन’ (Tomorrow’s China) प्रकाशित गरियो ।
सन् १९४८ मा स्ट्रङ न्युयोर्कबाट मस्को रमाना भइन् । त्यहाँबाट उनी छैठौँ पटक चीन जान चाहन्थिन् । तर, मस्कोमा तिनी पक्राउ परिन् ।
मस्कोमा सङ्घर्ष
मस्कोमा अन्ना अचानक पक्राउ परिन् र ‘अमेरिकी गुप्तचर’ को आरोपमा मुद्दा चलाइयो । माओ त्सेतुङको “साम्राज्यवादीहरू र एटम बम ‘कागजी बाघ’ हुन्” भन्ने ठम्याइमा कति रुसी नेताहरू सहमत थिएनन् र अनुमानको भरमा ‘अमेरिकी गुप्तचर’ को रूपमा उनीमाथि अभियोग लाग्यो । त्यसैले उनी सन् १९४९–१९५८ सम्म अमेरिकाकै क्यालिफोर्नियामा बस्न बाध्य भइन् । स्तालिनको मृत्युपछि सन् १९५७ देखि १९६० सम्मको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी संशोधनवादी गुटसँग चिनियाँ कम्युनिस्ट पार्टीको सैद्धान्तिक सङ्घर्षमा खुश्चेभ गुटले अमेरिकी साम्राज्यवाद ‘कागजी बाघ’ हो भने । तर, ‘आणविक दाँत’ भएको भनी त्यस ठम्याइलाई ‘वामपन्थी अवसरवाद’ र ‘युद्ध पिपासु’ को लाञ्छना लगाइयो । ख्रुश्चेभ गुटले इटालीयाली कम्युनिस्ट नेता टोग्लियाति र फ्रान्सेली कम्युनिस्ट नेता थ्रोजे आदिलाई समेत चिनियाँ कम्युनिस्ट पार्टीको विरोधमा प्रयोग ग¥यो ।
क्यालिफोर्नियामा अन्नाको घरको राम्रो बन्दोबस्त थियो र उनी ‘टुडे’ (Today) भन्ने पत्रिका निकालेर सोभियत सङ्घ र अन्य २० देशमा प्रगतिशील आन्दोलनमा लागिरहिन् ।
प्रगतिशील जगतमा सोभियत सङ्घ र त्यसको कम्युनिस्ट पार्टीको प्रतिष्ठा र प्रभाव व्यापक थियो । अन्नामाथिको त्यो अभियोगको कारण तिनका पुस्तकहरू र प्रकाशनमा ग्रहण लाग्यो । तैपनि, तिनी ७ वर्षसम्म त्यस अभियोगको विरोधमा एक्लै सङ्घर्ष गर्दै गइन् किनभने अन्य ‘वामपन्थीहरू’ भ्रममा परे । त्यसैबेला दक्षिणपन्थीहरूले तिनलाई कम्युनिस्टविरोधी शिविरमा तान्न खोजे । तिनले त्यस्ता प्रस्तावहरूलाई आगोलाई जस्तै अस्वीकार गरिन् । उनी मेक्सिकोमा पनि गएर निरन्तर समाजवादको प्रचार अभियानमा लागिरहिन् ।
सन् १९४९ मा चीन मुक्त भयो र जनवादी गणतन्त्र चीनको स्थापना भयो । तिनले ‘चिनियाँ जनताले चीनमाथि विजय प्राप्त गर्यो’ (The Chinese Conquer China) शीर्षकको पुस्तक लेखिन् र आफैले प्रकाशन एवं वितरण गर्ने बन्दोबस्त गरिन् ।
अन्ना लुइस स्ट्रङमाथिको अभियोग सन् १९५५ मा झूटा साबित भयो र पुनः उनको सम्बन्ध संसारका साथीहरू र चीनसँग पनि स्थापित भयो । अमेरिकी सरकारले उनको प्रगतिशील विचारको कारण उनको राहदानीलाई प्रतिबन्ध लगायो र यात्रामाथि रोक लगायो । तर, उनको विचार र कलमलाई रोक्न अमेरिकी सरकार असफल रह्यो । उनले ‘स्तालिन युग’
(The Stalin Era) पुस्तक लेखिन् । त्यसबेला रुसमा स्तालिनको विरोधमा ख्रुश्चेभ गुट सक्रिय थियो, त्यस पुस्तकले त्यसमाथि प्रहार गयो ।
सन् १९५८ मा उनी मस्को पुगिन् र एक जनसभामा आफ्नो बाँकी जीवन समाजवादबारे प्रचारमा लगाउने बताइन् । त्यहाँ तिनलाई आफ्नो लोग्नेका परिवारले बस्न सबै बन्दोबस्त गर्ने प्रस्ताव राख्यो । तर, सिद्धान्तकै कारण तिनीले त्यस प्रस्तावलाई अस्वीकार गरिन् । छैटौँ पटक तिनी चीन पुगिन् ।
७२ वर्षको उमेरमा चीन
चीन पुगेर अन्ना लुइस स्ट्रङले ‘७२ वर्षको उमेरमा म किन चीन आएँ’ (Why I came to China at the age of 72) लेखिन् । त्यस पुस्तकलाई तिनले पहिले लीथो (Mimeographed) बाट ६९ वटा पत्रको रूपमा छापिन् र वितरण गरिन् । पछि त्यस पुस्तकको जर्मन, इटालियन र स्वीडिस भाषामा पनि अनुवाद भयो ।
जीवनको पछिल्लो भागमा चीन बसाइँमा स्ट्रङले सन् १९५८ देखि सुरु भएको जनकम्युनको स्थापना र कम्युनहरूमा ध्यान दिइन् । सन् १९६० मा तिनले चीनका कम्युनहरूको भ्रमण गरिन् र ‘जनकम्युनको उत्थान’ (The Rise of the People’s Commune) लेखिन् । चीन र संसारमा पनि धेरै चर्चा र विवाद भएका कम्युनहरूको अध्ययन–भ्रमणपछिको त्यस पुस्तकले धेरैलाई कम्युनबारे बुझ्न सजिलो पारेको थियो ।
सन् १९५९ मा तिब्बतको धर्मराज र दास मालिकहरूको राजा दलाई लामा गुटले विद्रोह गर्यो । विद्रोहपछि पश्चिमी साम्राज्यवादीहरू र भारतीय विस्तारवादीहरूकै निर्देशनमा विद्रोहीहरू भारत पुगे । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (CIA) र भारतको संरक्षणमा आज पनि दलाई लामाको गुट भारतको धर्मशालाबाट गतिविधि गर्दै छ ।
तिब्बतको वास्तविक स्थिति संसारलाई बताउन सन् १९५९ मा ‘पेचिङ जन दैनिक’
(Peking People’s Daily) को आयोजनामा १९ देशका लेखक र पत्रकारहरू पहिलो पटक ल्हासा पुगेका थिए । त्यसमा अन्ना पनि थिइन् । पोताला दरबार, गाउँ, बस्ती र जनताका सभा, आलोचना सभा र सांस्कृतिक गतिविधिको अवलोकन गरिन् तथा मुक्त दास र भूदासहरूसँग पनि तिनले कुराकानी गरिन् ।
त्यही विवरण र कुराकानीको आधारमा ‘ तिब्बतका भू–दासहरू उठ्दा’ (When Serfs Stood up in Tibet) लेखिन् र सन् १९६० मा त्यसको पहिलो प्रकाशन भयो । तिनी त्यसबेला ७३ वर्षकी थिइन् । (उक्त पुस्तकको नेपाली अनुवाद ‘तिब्बतका भू–दासहरू उठ्दा’ पत्रकार समाज भक्तपुरले वि.सं. २०६६ असोजमा प्रकाशित गरेको छ ।)
हुन त अन्नाले सन् १९६० देखि नै ‘चीनका चिट्ठीहरू’ (Letters from China) लेख्न सुरु गरेकी थिइन् । सन् १९६२ को ३१ अक्टोबरको चिट्ठीको शीर्षक थियो – ‘चीन–भारत सीमा विवाद’ (Sino Indian border Conflict) । यसरी ती चिट्ठीहरूमा चीन र संसारका समसामयिक विषयमा लेख्दै गइन् ।
सन् १९६१ मा अन्ना लुइस स्ट्रङ लाओस पुगिन् र त्यहाँका नेताहरू, महत्वपूर्ण व्यक्तिहरू र साधारण जनतासम्म पुगिन् । त्यहाँको स्थितिबारे उनले जानकारी लिइन् ।
अमेरिकी साम्राज्यवादले कसरी भियतनाम, कम्बोडिया र लाओसलाई आफ्नो मुट्ठीमा पार्न खोजेको थियो र लाओसका जनता र नेताहरूले त्यसको जवाफ कसरी दिए भन्ने जानकारी ‘लाओसमा पैसा र हिंसा’ (Cash and Violence in Laos) पुस्तक लेखिन् र प्रकाशित गरिन् । यसरी जीवनको उत्तराद्र्धमा पनि तिनले ६ वटा पुस्तक लेखिन् । (उक्त पुस्तक नेपाली भाषामा अनुवाद भएर ‘मजदुर’ दैनिक मा धारावाहिकरूपमा छापिसकिएको छ ।)
सन् १९६७ जून महिनामा ‘माओ त्सेतुङको साहित्य र कलाबारे येनान गोष्ठीको प्रवचन’ को २५ औँ दिवसको अवसरमा अन्ना लुइस स्ट्रङले एफ्रो एसियाली लेखक सङ्घको कार्यशालामा ‘मुख्य शक्ति जनतामा भर पर्नुपर्ने र प्रतिक्रियावादीहरू बलियो सम्झनु जनताको अज्ञानता हुने हुँदा जनतालाई सचेत पार्नुपर्ने’ बारे बोलिन् ।
स्ट्रङका अन्तिम दिनहरू
अन्ना लुइस स्ट्रङ चिनियाँ नेताहरू, बुद्धिजीवी र चिनियाँ जनताले उच्च सम्मान गरिने व्यक्तिहरूमध्ये एक हुन् । एक अथक मजदुर, प्रतिबद्ध लडाकु, आफ्नो विश्वासमा अटल र सिद्धान्तनिष्ठ मित्रको रूपमा चिनियाँ जनता उनलाई मन पराउँछन् । अध्यक्ष माओ त्सेतुङले धेरै पटक तिनलाई भेट दिनुभयो । प्रधानमन्त्री चाउ एन लाई, उहाँको जहान तङ यिङ चाओ, परराष्ट्रमन्त्री छन् र अन्य नेताहरू तिनको जन्मदिनमा तिनलाई शुभकामना व्यक्त गर्न जानुहुन्थ्यो र ती भेटहरू औपचारिकमात्रै नभई देश–विदेश र समसामयिक विषयमा छलफल र विचारको आदानप्रदान पनि हुने गर्दथ्यो ।
तिनी आफ्ना लेख र समाचारहरूलाई छैटौँ पटकसम्म सच्याउने र परिमार्जित गर्ने गर्थिन् । तिनी आफ्नो लेखाइलाई सकेसम्म भित्री मनदेखि मिलाउँथिन् र रातरातभर आफ्नो टाइपराइटरमा काम गर्थिन् ।
तिनी सा¥है प्रकृतिप्रेमी थिइन्, फूलको बिरुवा र त्यसको सजावटमा तिनी अत्यन्त रुचि राख्थिन् । विश्वका अत्यन्त नाउँ चलेका पत्रकारहरूमध्ये एकजना अन्ना लुइस स्ट्रङ थिइन् ।
सन् १९७० को मार्च महिनामा ८५ वर्षको उमेरमा तिनको टाइपराइटरको आवाज बन्द भयो र तिनी पेचिङमा बितिन् । ८५ वर्षको जीवनमा तिनले ६० वर्षसम्म प्रगतिशील पत्रकारितामा आफूलाई समर्पित गरिन् । चार महादेशका ऐतिहासिक घटनाहरू, विभिन्न पुस्तक, लेखहरू र चिट्ठीहरूमा तिनी अझै जीवितै छिन् । तिनले सदा हरेक दुःख–कष्टलाई सहेर प्रगतिको पक्षमा लडिरहिन् । तिनी आफ्ना अमेरिकी प्रगतिशील पत्रकारहरू र अन्य विदेशी पत्रकारहरूका प्रिय र आदरका पात्र थिइन् ।
स्रोत : चार अन्तर्राष्ट्रवादी पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *