भर्खरै :

निर्वाचन पनि वर्गसङ्घर्षको एक रूप

निर्वाचन पनि वर्गसङ्घर्षको एक रूप

कम्युनिस्ट पार्टीले बहुमत जनताको सेवा गर्न राजनीति गर्छ भने पुँजीवादी पार्टीले सामन्त, पुँजीपतिवर्गको सेवा गर्छ । साधारण जनता या कामदारवर्गका जनतालाई सेवा गर्ने आश्वासन बाँडेर पुँजीपति पार्टीले जनतालाई शोषण गरिरहेको हुन्छ । पुँजीवादी दलहरूले ठेकेदार, कालाबजारिया, तस्कर, भ्रष्टाचारी, घर जग्गाका दलाल, म्यानपावरका मालिक तथा विदेशी पुँजीका दलालहरूको सेवा गरिरहेका हुन्छन् । उनीहरू देश र जनताविरोधी व्यापारी, उद्योगपति र अपराधीहरूको पक्षमा वकालत गर्छन् । श्रमिक जनताको मत लिएर श्रमिक जनतामाथि शोषण गर्ने पुँजीवादी पार्टीहरूलाई बहुमत जनताले नचिन्दा, कसैको लहैमा जाँदा, लोभलालचमा फस्दा उनीहरूले रजाइँ गरिरहे । पुँजीवादी व्यवस्थाको विरोध गर्नु कम्युनिस्ट पार्टीको धर्म नै हो ।
कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाको विरोध र समाजवादको पक्षमा सङ्घर्ष गर्छन्† जनतालाई वर्गीय चेतना दिन्छन् । उनीहरू नयाँ र पुराना कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई राजनीतिक रूपले प्रशिक्षित गर्छन् । तर, विडम्बना ! सत्तामा पुगिसकेका कम्युनिस्ट भनिने दलका नेता कार्यकर्ताहरूले आफ्नो धर्म निर्वाह गरेनन्; जनतालाई प्रशिक्षित गर्ने काम गरेनन् । दलभित्र जतिसुकै सदस्य सङ्ख्या भए पनि कम्युनिस्ट विचारबाट दीक्षित भएनन् भने उसको लक्ष्य पूरा हुनेछैन । बिनाउद्देश्य गरिएको राजनीति सफल हुनेछैन । अतः हरेक राजनीतिक दल आफ्नो लक्ष्य पूरा गर्न अघि बढ्नुपर्छ । लक्ष्यतर्फ उन्मुख नभएको दल सच्चा कम्युनिस्ट हुनेछैन । त्यही भएर राजनीतिक विश्लेषक र सच्चा कम्युनिस्टहरू सरकारमा गएको कम्युनिस्ट पार्टीलाई नक्कली कम्युनिस्टको उपमा दिन्छन् र नक्कली कम्युनिस्ट पार्टीले आमूल परिवर्तन गर्ने बाटो रोज्दैन ।
राजनीतिक दलहरूमा सिद्धान्त, आस्था, विचार र आदर्श समाजको लागि सङ्घर्ष गर्नुको सट्टा पदमा पुग्ने, जसरी भए पनि पैसा कुम्ल्याउने, देश र जनताभन्दा दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने दुर्गणका कारण शासक दलहरूप्रति जनताको अविश्वास बढ्दै गएको हो । त्यसको कारण नयाँ नयाँ दल देखापरेका हुन् । अतः कम्युनिस्ट पार्टीको सिद्धान्त, नैतिकता र आस्था जोगाउन पनि अर्को सङ्घर्षको आवश्यकता छ । भ्रष्टाचारको विरोध, जालीफटाहा, शोषक सामन्तको विरोध गर्नु आवश्यक छ । संशोधनवाद, अवसरवाद, विस्तारवाद, साम्राज्यवाद र पुँजीवादको विरोध गर्नु आवश्यक छ । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा गएर कामदारवर्गलाई पुँजीवादी प्रभावबाट मुक्त गर्ने र निर्वाचनलाई देश र जनताको हितमा उपयोग गर्ने लेनिनवादी नीति नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले उपयोग गरेको हो । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा बोक्दै नेमकिपा अगाडि बढेको हो; पुँजीवादको विरोध गर्दै समाजवादको पक्षमा प्रचार प्रसारमा लागेको हो । नेमकिपाले सैद्धान्तिक सङ्घर्षलाई निरन्तरता नदिएको भए ‘कम्युनिस्ट’ को नाउँमा शासक दलका नेताहरूले जनतालाई अझ बढी विश्वासघात गर्थे, अन्तर्राष्ट्रिय समुदायमा नेपालको कम्युनिस्ट आन्दोलनको अझ बढी बदनाम हुन्थ्यो ।
नेमकिपाले निर्वाचनलाई सैद्धान्तिक र राजनीतिक सङ्घर्षकै रूपमा लिएको छ । निर्वाचन पनि वर्गसङ्घर्षको एक रूप हो । नेमकिपाले अन्य समयमा झैँ निर्वाचनको बेला पनि चुनावी गतिविधिमार्फत राजनीतिक सिद्धान्त र विचारलाई प्रशिक्षित गर्छ† गर्दै छ । सिद्धान्तको आधारमा चल्ने राजनीतिक दलले सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्छ । निर्वाचनमा पार्टीलाई असैद्धान्तिक गाली गर्ने, धम्कयाउने, होच्याउने, दुष्प्रचार गर्ने, भ्रम फैलाउने, पार्टी टुक्राउन जालझेल गर्ने, नेता तथा कार्यकर्ता तान्ने आदि प्रयास पहिले पनि नभएको होइन । पुँजीवादी शैलीको यस्तो प्रचार प्रसारमा हामीले विश्वास गर्नुहुँदैन । माक्र्सवाद जीवनमा लागु हुने दर्शन र सिद्धान्त हो । नेपालमा पनि माक्र्सवाद–लेनिनवाद लागु गर्न सकिन्छ । देशको परिस्थितिअनुसार माक्र्सवाद–लेनिनवाद लागु गराउन नेमकिपा सङ्घर्षरत छ । कम्युनिस्टको खोल ओढेर माक्र्सवादको नाउँमा पुँजीवादी सरकारमा जाने, पुँजीपतिवर्गको पक्षपोषण गर्ने दलको पनि विरोध गर्नु आवश्यक छ । नाउँ कम्युनिस्ट पार्टी तर गातीविधि र कार्यशैली सबै पुँजीवादी ढङ्गको भयो भने नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी देशमा कसरी अघि बढ्छ ? कम्युनिस्टको नाउँमा माक्र्सवाद–लेनिनवादलाई बङ्ग्याउने प्रवृत्तिको त झनै निन्दा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *