भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – २१

जारशाही संसद्मा बोल्शेभिक सांसद – २१

सन् १९१३ को वसन्त याममा गाडी मर्मत कारखानामा एउटा विवाद उठ्यो । सांसद बन्नुअघि म त्यही काम गर्थेँ । त्यो विवाद हाम्रो सङ्गठन चुस्त रहेको र मजदुरहरूबिच एकता बढेको सङ्केत थियो । निर्वाचनको बेला उनीहरूबिच एकमनको अद्भूत एकता प्रदर्शित भएको थियो । यसले गर्दा मजदुरहरूको साहस र आत्मनिर्भरता बढेको थियो । आफूबिचबाटै एक मजदुर सेन्ट पिटर्सबर्गको सांसद निर्वाचित भएपछि उनीहरूको क्रान्तिकारी भावनामा वृद्धि भएको थियो ।
गुप्त प्रहरी कारखानामा हुने गतिविधिमा निकै ध्यान दिइरहेका थिए । तिनीहरू मजदुरहरूको उत्साहलाई निमोठ्न पहिलो मौकाको खोजीमा हुन्थे । यसको लागि तिनले रोमानोभ राजवंशको तीन सयौँ वार्षिकोत्सवको मौका छोपे । सन् १९१३ फेब्रुअरीमा रोमानोभ वंश सुरु भएको ३ सय वर्ष पुग्दै थियो । त्यसको अलि अघिदेखि प्रहरीले सबै कलकारखानामा मजदुरको छँटनी गर्न जोरजुलुम गरे । वार्षिकोत्सवमा कुनै क्रान्तिकारी जुलुस प्रदर्शन नहोस् भनेर गुप्त प्रहरीले कारखानाका सम्पूर्ण सक्रिय मजदुरलाई ‘हटाउने’ खेलो गरे । उनीहरूले सामूहिक पक्राउ र निकालाको नीति अपनाए । शङ्कास्पद सबैलाई कामबाट हटाइयो ।
फेब्रुअरी १३ को रात कैयन् रेल मजदुरहरू पक्राउ परे । वार्षिकोत्सव सक्किएपछि तिनीहरूलाई रिहा गरियो । तर, कारखानाले तिनलाई काममा लिन मानेन । ठुलो म्यानेजरले तिनलाई भन्यो, “पहिले मुद्दा दायर गर । हामी प्रहरीसँग परामर्श गर्छौँ र तिमीहरूलाई काममा राख्ने कि नराख्ने भनेर टुङ्गो लगाउँछौँ ।”
युनियनका मान्छेहरूले रिहा भएका कामदारलाई पुनः काममा बहाल गर्न जोड गरे । म्यानेजरले उनीहरूलाई थर्काउन खोज्यो, “तिमीहरू क्रान्तिकारी माग राख्दै छौ । ख्याल गर यसको जिम्मा तिमीहरूले नै लिनुपर्छ । मजदुरहरूलाई नभड्काओ ।”
म्यानेजरको रवैया देखेर सबै मजदुरहरू आक्रोशित भए । उनीहरू एउटा ज्यासलमा जम्मा भए र नयाँ परिस्थितिबारे छलफल गरे । उनीहरूले आफ्ना कामरेडहरूलाई तुरुन्तै काममा लिन माग गरे । यो माग अक्षरशः राखियो । तर, चित्तबुझ्दो जवाफ आएन । यसपछि उनीहरूले एकाएक हडतालको घोषणा गरे ।
कारखाना प्रशासनले मजदुरहरूलाई झुलाउने खेल खेल्यो । मागको विषयमा सोच्न समय माग्यो । तर, त्यहाँ जम्मा भएका मजदुरहरूले तिनको चाललाई हावामा उडाउँदै भने, “दस्ताबेज लेख्नलाई एक हप्तै लिए पनि हुन्छ । तर, हाम्रा मान्छेलाई तुरुन्तै काममा राख्नुपर्छ । हाम्रा पाँच कामरेडहरूलाई काममा नराख्दासम्म हामी यहाँबाट जानेवाला छैनौँ ।”
मजदुरहरूको दृढताले असर ग¥यो । उनीहरूको एकमना एकता देखेर कारखाना प्रशासनले बाटो छोड्न कर लाग्यो । म्यानेजरले साँझको खानापछि पाँचैजना मजदुरलाई काममा फर्काउने घोषणा ग¥यो । यो घटनाले ऐक्यबद्धताको शक्ति देखाइदियो । मैले यो घटना धेरै भन्दा धेरै जनतालाई बताउनुपर्ने ठानेँ । त्यसकारण, ‘प्राभ्दा’ मा मैले रेल मर्मत गर्ने ज्यासलको त्यो घटनाबारे मजदुरहरूलाई एउटा अपिल लेखेँ । अपिल यस्तो थियो :
“प्रिय कामरेडहरू, मार्च ४ गते एकढिक्का भएर तपार्इँहरूले प्राप्त गर्नुभएको सफलताका लागि म यहाँहरूलाई बधाई दिइहाल्छु । त्यो दिन तपार्इँहरूले रोजीरोटी खोसिएका आफ्ना पाँच साथीहरूलाई पुनः काम दिलाउन दृढतापूर्वक सङ्घर्ष गर्नुभयो । मजदुरको अवस्था सर्वत्र सकसपूर्ण छ । तर, निकोलाइएभ्स्काया रेलवेको मर्मत शाखामा जस्तो दारुण जीवन अन्त छैन । सांसद निर्वाचित हुनुभन्दा अगाडि त्यो ज्यासलमा मैले धेरै वर्ष काम गरेको थिएँ । प्रशासनले त्यहाँ अपनाउने दमनकारी उपाय मलाई राम्ररी थाहा छ । मजदुरलाई त्यहाँ अत्यन्त रुखो व्यवहार गरिन्छ, बिनासूचना वा पूर्व जानकारी कामबाट निकाला गरिन्छ । नयाँ म्यानेजर पनि पुरानैको बाटोमा हिँडे जस्तो देखिन्छ । सायद नयाँ म्यानेजर अझ बढी मनपरी गर्छन् । अन्य धेरै निजी कारखानामा भन्दा रेलवेमा स्थिति झन् कष्टकर छ । सरकारी कारखानालाई बजारको अस्थिरतासँग उति सरोकार हुन्न, मजदुरको अवस्था पनि निजीको तुलनामा गतिलो हुन्छ भन्ने छ । सरकारी कारखाना प्राविधिक उपकरणमा पनि अरूभन्दा नमुना हुनुपर्छ र मजदुरसँगको व्यवहार पनि त्यहाँ राम्रो हुनुपर्छ भन्ने छ । सरकारी कारखानामा मजदुरले छोटो समय काम गरे पुग्छ, ज्याला उच्च हुन्छ र बिनाकारण कसैलाई निकाला नगरिने सुनिश्चितता हुन्छ भन्ने छ ।
तर, सरकारी रेलवे ज्यासलको अवस्था साँच्चै कस्तो छ त ? ओभरटाइमको समय जोडेर ९ घण्टा काम गराउनुपर्नेमा मजदुरहरू १२–१२ घण्टा काम गर्छन् । तर, यसरी खट्दा पनि ज्याला अति कम छ । जीवन धान्न धौधौ हुन्छ ।
यी ज्यासलबाट निर्वाचन प्रतिनिधिको रूपमा तपार्इँहरूले गर्नुभएको कामबाट म निकै हर्षित भएको छु । ऐक्यबद्धता र अठोटका साथ तपार्इँहरूले उद्योग व्यवस्थापकलाई परास्त गर्नुभयो र आफ्ना सहकर्मी साथीहरूको जीवन जोगाउन सफल हुनुभयो । कामरेडहरू सम्झिराखौँ, एकता र वर्गचेतना नै हाम्रो बल हो† एक भएर र वर्गीय रूपमा सचेत काम गरेर मात्र हामीले हाम्रो दिनदशा सुधार्न सक्छौँ ।”
मेरो अपिल प्रकाशित गरेकोमा नगर गभर्नरले पत्रिकालाई ५०० रुबल जरिवाना तिरायो । यो अपिल प्रकाशित गरेबापत हामीलाई जरिवाना तिराउन सक्छ वा पत्रिका जफत गर्न सक्छ भन्ने थाहा थियो । तर, आर्थिक हिसाबले ‘प्राभ्दा’ सुरक्षित थियो । त्यसकारण, हामीले जोखिम मोल्ने निधो गरेका थियौँ । रेलवे मर्मत ज्यासलका मजदुरबारे यो अपिल आफैमा सम्पूर्ण मजदुरवर्गलाई एउटा शिक्षा थियो । त्यसकारण, यसको खबर भरसक सबैले पाउन जरुरी थियो । ‘भूमिगत’ छापाखानाबाट पर्चाको रूपमा जारी गर्नुभन्दा ‘प्राभ्दा’ मा प्रकाशित गर्नु धेरै प्रभावकारी हुन्थ्यो ।
अपिलको प्रभाव हामीले सोचेजस्तै प¥यो । यसले मजदुरहरूको मनोबल बढायो । केही समयलाई मजदुरहरूको सफलता र तिनको क्रान्तिकारी भावनाले गुप्त प्रहरीलाई चुप बस्न कर लाग्यो । तर पछि प्रहरीले छापा मार्ने निर्णय ग¥यो ।
इस्टर पर्वको बिदा भयो । बिदाको पहिलो दिन (सन् १९१३ अप्रिल) बिहानपख प्रहरीका बलिया दस्ता कारखानाहरूमा देखापरे । प्रत्येक ज्यासलमा प्रहरी दस्ता तैनाथ भए । जरुरी नपर्दासम्म मजदुरहरूलाई एउटा ज्यासलबाट अर्कोमा पस्न दिइएन । अर्को ज्यासलमा जाँदा प्रहरीको कडा पहरा हुन्थ्यो ।
यति तयारी गरेपछि कारखाना प्रशासनले थप चारजना पीडितलाई कामबाट निकाल्यो । कामरेड मेलनिकोभ भर्खरै धातु मजदुर युनियनका सदस्य निर्वाचित भएका थिए । उनलाई पनि कामबाट निकालियो । निष्कासित मजदुरहरूले निष्कासनको कारण खुलाउन माग गरे । तर, प्रहरीले म्यानेजरलाई भेट्दै दिएन । पछि कारखाना प्रशासनले गुप्त प्रहरीको अनुरोधमा ती मजदुर युनियनका नेतालाई निकालिएको बतायो । निष्कासित चार मजदुरहरू पछि पक्राउ परे । उनीहरूलाई सेन्ट पिटर्सबर्गबाट बाहिर लगियो । उनीहरूलाई ‘५२ स्थान’ मा जान मनाही गरियो । सरकारले रुसका ५२ प्रमुख नगरलाई क्रान्तिकारीमुक्त बनाउन यो बन्देज लगाउने गथ्र्यो ।
यो घटना भएकै दिन मजदुरहरू हतारिँदै मकहाँ आइपुगे । उनीहरूले यो कारबाहीविरुद्ध मैले सम्बन्धित निकायमा विरोध गर्नुपर्ने बताए । प्रहरीको रवैया हेर्दा कुनै आवेदन वा विरोधले काम गर्ने स्थिति देखिएन । अघि पाँच मजदुरहरूलाई पक्राउ गर्न नसकेको बदला गुप्त प्रहरीले यसरी लिएको थियो । यसपालि आफ्ना सिकारलाई कडाभन्दा कडा दण्ड दिन उसले कम्मर कसेको थियो ।
पछिल्लो आक्रमणको जवाफ दिन मजदुरहरूलाई सम्बोधन गरी मैले ‘प्राभ्दा’ मा एउटा अपिल प्रकाशित गरेँ । पार्टीको वरिपरि गोलबन्द भएर र आफ्नो सङ्गठनलाई सबल पारेर मात्र चोटिलो जवाफ दिन सकिने बताएँ । यो कुरा सिधासिधा भन्न सकिन्नथ्यो । त्यसैले मैले त्यो अपिल वर्गसचेत मजदुरहरूले मात्र बुझ्न सक्ने भाषामा लेखेँ । अपिल यस्तो थियो ः
“मजदुरहरूले मलाई यी बर्बरतापूर्ण विधिप्रति उच्च अधिकारीहरूको ध्यानाकृष्ट गर्न अनुरोध गरे । निश्चय नै मैले मन्त्रीलाई भेट्नेछु । तर, कामरेडहरू मैले भन्नैपर्छ, यसको उति असर पर्नेछैन । हामी सबैले आफ्नो अडान बुझ्नुपर्छ, हाम्रा मजदुरहरूको अखबार नियमित पढ्नुपर्छ र अन्य मजदुरहरूले आफ्नो दिनदशा सुधार्न के कसरी लडिरहेका छन् भनी सङ्घर्षका तौरतरिकासँग परिचित हुनुपर्छ ।”

पाठ १०
जहाज मर्मतशाला
बाल्टिक जहाज मर्मतशालामा हडताल । जलसेनाका मन्त्रीसँग भेटवार्ता । ओबुखोभ कारखानामा सङ्घर्ष । ओबुखोभ कारखानाको विषयमा सदनमा प्रश्न । धराप उत्पादन उद्योगमा विस्फोट । अन्त्येष्टिमा जनप्रदर्शन । अन्त्येष्टिमा सहभागी भएबापत जरिवाना । मेरो जरिवानाबारे सदनको राय ।
बाल्टिक जहाज मर्मतशाला जलसेना मन्त्रीको मातहत थियो । काम गर्ने ठाउँ अन्य युद्धसम्बन्धी कारखानामा जस्तै असुरक्षित र रूग्ण थियो । सामान्य मजदुरले प्रतिघण्टा १२–१८ कोपेक (रूसी पैसा) कमाउँथ्यो । ओभरटाइम काम गर्नु चलन नै थियो । यसको अर्थ मजदुरहरूले दैनिक दोब्बर काम गर्थे । ज्यासलहरू अत्यन्त अस्वस्थ, ओसिलो, अँध्यारो, धुवाँइलो र हिउँदमा ठिहि¥याउने चिसो हुन्थ्यो । मजदुरले निकै शरीर नै बाउँडिने गरी अप्ठ्यारो पाराले काम गर्नुपथ्र्यो । त्यहाँ सात–आठ वर्ष काम गरेको मान्छेको शरीर पूरै काम नलाग्ने हुन्थ्यो ।
सबै युद्ध संस्थानमा जस्तै मजदुरहरूसँग पशुलाई जस्तै व्यवहार गरिन्थ्यो । म्यानेजरहरू सेनाकै अफिसर हुन्थे । कारखाना प्रशासन प्रहरीसँग घनिष्ट हुन्थे । यसकारण, प्रत्येक म्यानेजर र फोरमेन राजनीति प्रहरीको एजेन्ट हुन्थ्यो । कारखानामा सुराकीको बिगबिगी थियो । मजदुरहरूलाई गालीगलौज गर्नुलाई प्रशासनले नै बढावा दिएको थियो । जरूरी सूचना हात लाग्यो कि कारखाना प्रशासनले त्यो ‘राजद्रोही’ लाई तुरून्तै प्रहरीको जिम्मा लगाइहाल्थ्यो ।
यति हुँदाहुँदै पनि त्यहाँका मजदुरहरू अन्य सर्वहारा साथीहरूभन्दा पछाडि परेनन् । सन् १९१३ को वसन्त र गर्मी याममा मर्मतखानामा पटकपटक भनाभन विवाद चर्किरह्यो । विवाद चुलिँदा हडतालहरू भए । कहिले एउटा ज्यासलले हडताल गथ्र्यो, कहिले केही विभाग मिलेर हडताल गर्थे त कहिले पूरै कारखाना हडतालमा उत्रिन्थ्यो ।
त्यो वर्ष मे महिनामा एउटा ज्यासलमा १० जना मजदुरले ओभरटाइम काम गर्न नमानेको विषयमा विवाद चर्कियो । प्रशासनसँग वार्ता गर्न ३ जना प्रतिनिधि चुनिए । वार्ता चलिरहेकै बेला कारखानाको हाकिमले प्रहरीलाई बोलायो । प्रहरीले मजदुर प्रतिनिधिहरूलाई गिरफ्तार ग¥यो । सोही मे २० को रातिपख ती प्रतिनिधिका घरघरमा खानतलासी लिइयो । थप १० जना मजदुरलाई पक्राउ गरियो । यसको जवाफमा अर्को ज्यासलका २ हजार मजदुर सङ्घर्षमा आए । उनीहरूले गिरफ्तार साथीहरूको रिहाइका साथै थप आर्थिक मागहरू राखे । त्यो दिन हडतालीहरूले हाम्रो संसदीय समूहकहाँ आफ्ना प्रतिनिधि पठाए । उनीहरू घटनाको जानकारी गराए र पीडितहरूको पक्षमा बोलिदिन आग्रह गरे । समूहका एक सदस्य र मैले मिलेर वार्ताका लागि जलसेना मन्त्रीलाई एउटा तार पठायौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *