देशमा संसदीय निर्वाचनका नाटकहरू मञ्चन हुँदै छन्
- माघ २०, २०८२
काठमाडौँ उपत्यका
८ मङ्सिर २०८२
प्रिय तृप्ति,
तिम्रो बिरामीको पत्र आयो, अब त ठीक भयौ होली भन्ठान्छु । अस्तिको तिम्रो पत्रमा एक रुसी युवाले नेपालबारे टिप्पणी गरेको बारे लेख्यौ, म त्यो पढेर विस्मित् भएँ । उनको भनाइलाई तिमीले कवितात्मक रूपमा लेख्यौ –
नेपाल, सानो भएर के भयो ?
ठुलाठुला देशमा नभएको सबै
यहाँ मैले पाएँ,
हरेक महिनामा नयाँ नयाँ फूलहरू
गमला, पार्क र फूलबारीहरूमा !
संसारमा कहाँ छ यो देश जस्तो
गर्मीमा पङ्खा पर्दैन कोठामा
जाडोमा पर्दैन हिटरहरू
युरोप र रुसमा जस्तो !
जाडोमा रुस र युरोपमा
चारैतिर सेतो मात्र देखिन्छ
जताततै छैन, हरियाली देख्न
नेपाल उत्तरमा उज्यालो
हिमाल टल्केको
पहाडहरूमा रातो रङ्ग छरेको
गुराँस वा अरू फूलको मगमग !
हो, तृप्ति सोभियत सङ्घबाट रासायनिक इन्जिनियर पढेका साँखुका एक सपुतको पुस्तकमा लेख्छन् –
सोभियत सङ्घको एक गणतन्त्रका राष्ट्रपति तराईको लहराउँदै गरेको खेत देखेर मोटरलाई रोकेर उत्तर र दक्षिणतिर हेरे, दुवैतिर लहलह बाली !
नदीनाला जताजता
कलकल गरेको सुन्दर
अपूर्व दृश्यहरू उनको आँखामा !
द्वेभाषी गर्दै गरेका इन्जिनियरलाई
भने उनले – राज, यस्तो तीन बाली लाग्ने
देशमा, नदीनालाहरूले सिञ्चित देशमा
गरिबी कहाँबाट आयो ?
तर रुसी युवासँग यसबारे रुसको भूमि र बालीनालीहरू कस्तो भनी सोध्दा उनी भन्थे –
रुस ठुलो देश हो, तर
छ महिनासम्म जहाँ पनि
हिउँ मात्रै हुन्छ चारैतिर
हरियाली र फूलहरू रङ्गीचङ्गी
नेपालमा जस्तो छैन त्यहाँ
बल्ल बल्ल एक बाली मात्र
हुन्छ मेहनत धेरै चाहिन्छ !
नेपालको दृश्य चारैतिर अवलोकन गरी एक रुसी गणतन्त्रका राष्ट्रपतिले आँखाभरि आँसु राख्दै सोध्छन् – राज, नेपालको तीन बाली कहाँ जान्छ ? विदेशी सहायता नेपाललाई किन चाहिन्छ ? त्यो कहाँ जान्छ ?
प्रिय तृप्ति, म भए भन्ने थिएँ –
जसरी पानी बग्छ – उत्तरबाट दक्षिण
त्यसरी नै हाम्रो धन, मेहनत र रगत
दक्षिणी नै बग्छ – थाहै नपाई
सुगौली सन्धिपछि आजसम्म !
तर तृप्ति, नयाँ विदेशी मानिसले सोध्न सक्छ, “के नेपालमा राजनीतिक दलहरू छैनन् ? के तिनीहरू राजनीतिक शिक्षा दिँदैनन् ?” आज भए जनताले जवाफ दिन्थे तृप्ति – “हाम्रा शासक दलका नेताहरू आफै विदेशी शोषकहरूका अह्रौटे परौटे हुन् !”
अँ, अस्ति कुरा गर्दै थिए केही बुद्धिजीवीहरू राजधानीकै एक कुनामा ‘रुस हेर्दा नेपाल सयौँ वर्षपछि छ – निर्माणमा ¤ अमेरिका र रुसको तुलनामा एउटा सलाई बट्टा हो रे ! सुन्दरता छैन केही !
तृप्ति, मेरो कलमलाई आज बिदा देऔँ, अरू कुरा अर्को पत्रमा !
माया गर्ने दाजु
Leave a Reply