भर्खरै :

विदेशी ऋणको भरमा पर्दा नेपाल उपनिवेश हुनसक्ने

विदेशी ऋणको भरमा पर्दा नेपाल उपनिवेश हुनसक्ने

भक्तपुर, २६ मङ्सिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा सङ्घको ५८ औँ स्थापना दिवस तथा १०८ औँ अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा शुक्रबार औद्योगिक कारखाना, सिकर्मी, डकर्मी तथा यातायात मजदुरहरूको भेला भयो ।
उक्त भेलामा नेमकिपाका सचिव प्रेम सुवालले सरकारमा बसेका दलहरूले जेन–जी आन्दोलनको बेला देश र जनताको जिउ ज्यानको सुरक्षा दिन नसक्नु अदूरदर्शिता र अकर्मण्यताको परिणाम हो भन्नुभयो ।
उहाँले मानव अधिकारवादी सङ्गठनले पहिले नै देश र जनताको जल्दोबल्दो समस्याबारे अवगत गराए पनि सरकार मौन रहनु केपी ओलीको अहङ्कारबाहेक अरू होइन भन्नुभयो ।
उहाँले विदेशीसँग ऋण लिएर विदेशी शक्ति राष्ट्रको भरमा बस्दा नेपाल अरू देशको उपनिवेश हुने बताउनुभयो ।
देश र जनताको सेवामा समर्पित विश्वका नेता स्तालिनको पालामा रूसमा निकै विकास भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले राजनीतिक प्रकाशनहरू अध्ययन गर्नुपर्छ । जनतालाई सचेत र सङ्गठित बनाउन लाग्नुपर्छ ।”
ठुला दलका नेताहरूको अभिमानी तोड्नुपर्ने विचार व्यक्त गर्दै उहाँले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनताको गाउँ–बस्तीमा पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, सङ्गत राम्रो भए परिवार, समाज र देश नै राम्रो हुन्छ । सांस्कृतिक स्तर उत्थान गर्न घरघरबाटै उत्प्रेरित गर्नुपर्छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्रा मजदुर सङ्घ नगर समिति भक्तपुरका अध्यक्ष गणेशप्रसाद सुवाल, डकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विष्णुराम दुमरू, सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विक्रम ढुकुछु र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *