भर्खरै :

शासक राजनैतिक दलका महाधिवेशनहरू

शासक राजनैतिक दलका महाधिवेशनहरू

काठमाडौँ, १३ पुस । सामान्यतया राजनैतिक दलका कार्यकर्ता र समर्थकहरूमा आमसभा, जनसभा, कोणसभा, क्षेत्रीय भेला, जिल्ला सम्मेलन, महाधिवेशन (काङ्ग्रेस), प्लेनम – राष्ट्रिय परिषद् आदि बैठक र भेलाहरूको नामबाट अलमलिएका धेरै उदाहरणहरू छन् । यसबारे केन्द्रीय स्तरका नेताहरूले पनि चासो नै नलिएको प्रस्ट छ ।
राणाविरोधी प्रजातन्त्रका निम्ति सङ्घर्ष गर्ने नेपालका पुराना दलहरूमध्ये प्रजापरिषद्बाहेक नेपाली राष्ट्रिय काङ्ग्रेस, नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीसमेतका सुरुका नेता र कार्यकर्ताहरू भारतमै शिक्षा प्राप्त गरी भारतमा रही राणाविरोधी सङ्घर्षमा सामेल भएका थिए । तिनीहरूको अध्ययन, सङ्गत, परिवेश र राजनीति भारतीय स्वतन्त्रता आन्दोलनकै सेरोफेरोमा घुमिरहन्थ्यो । यसकारण, राणाविरोधी ‘कानुनीराज’ को निम्ति सत्याग्रह वा पक्राउमा परेका कार्यकर्ताहरू ‘इन्क्लाव जिन्दावाद !’, ‘राणा शाही मुर्दावाद !’ र ‘कानुनीराज
जिन्दावाद !’ आदि नारा लगाउँथे । अलि होलो भएको बेला ‘…. टोलमा आज ३ बजे आमसभा हुँदै छ, भेला हुनु होला’ भनी पोस्टर र पर्चा टाँसिएको हुन्थ्यो वा सानो ध्वाङमा सूचना प्रसार गर्दै तोकिएको ठाउँमा पुग्थे । भारतीय स्वतन्त्रता आन्दोलनको बेला भारतमा प्रयोग गरिने ‘आमसभा’, ‘इन्क्लाव’ आदि उर्दू र फारसीबाट आउने शब्दहरू कार्यकर्तालाई जे–जे अर्थ होला भन्ने लाग्थ्यो त्यही त्यही भन्थे !
त्यसको परिणाम ‘हकिकत’, ‘मक्सद’, ‘गद्दार’ शब्दहरूको अर्थबारे गाउँ र नगर स्तरका धेरै कार्यकर्ताहरू अनभिज्ञ थिए । यसले थाहा हुन्छ – पुराना सबैजसो राजनैतिक पार्टीका नेताहरू मनोगतवादी वा आत्मकेन्द्रित थिए । उनीहरू गाउँ र गल्लीका कार्यकर्ताहरूको सैद्धान्तिक र राजनैतिक स्तर उकास्नेमा ध्यान दिँदैनथे । त्यसको परिणाम गरिब र पछि परेका जनता र कार्यकर्ताहरू झन्झन् पछि पर्दै छन्, दुई–तीन पुस्तापछि पनि । यसमा जातीय भावनाले पनि काम गरेको प्रस्ट हुन्छ ।
XXX
नेकपाको दोस्रो महाधिवेशन फोहरा दरबारमा भएको थियो । महाधिवेशनको मुख्य छलफल ‘राजतन्त्र’ र ‘गणतन्त्र’ हुन्थ्यो । देशमा राणाहरू मात्रै जनतामाझ बदनाम भएको हुँदा मुख्य शत्रु राजा होइन भन्ने नीति पारित गरियो । डा. केशरजङ्ग रायमाझी महासचिवमा चुनिए; २०१७ सालपछि नेकपा छिन्नभिन्न भयो । त्यसबेला रायमाझीले ‘राजालाई जीवित सत्य हो’ भने ! रायमाझीलाई ‘विश्वासघाती’, ‘राजावादी’ र ‘गद्दार’ भनियो । तर, मनमोहन प्रधानमन्त्री हुँदा राजाबारे उनले पनि डा. रायमाझीकै भाषा बोले । आश्चर्य छ, डा. रायमाझीले राजाको पक्ष लिँदा उनी ‘राजावादी’ भए । तर, मनमोहनले ‘राजा जीवित सत्य हो’ भन्दा मनमोहन र एमाले पार्टी कसरी क्रान्तिकारी भए !? अहिले एमालेका सबै पक्षले सैद्धान्तिक र नीतिगत दृढता नदेखाएको ‘महाधिवेशन’ एक तगारा
(जात्रा) मात्रै साबित हुन्छ । सिद्धान्तमा अडिग भएन भने एमाले सारमा ‘कम्युनिस्ट’ नभई ‘भाइकाङ्ग्रेस’ साबित हुनेछ । सत्य त्यहीँ हो, जेन–जीलाई नेपाल निम्त्याउने दुई शासक दल नै साबित हुन्छ ।
राजनैतिक दलहरूको जात्रा त त्यसबेला देखापर्छ जब हरेक गाउँ समितिको बैठकलाई ‘सम्मेलन’ को संज्ञा दिइन्छ । त्यस्तै, नगरका हरेक स–साना वडाका सबै सदस्यहरू जम्मा भएर गरिने साधारणसभालाई सम्मेलन भनिन्छ । सम्मेलनमा सदस्यहरू धेरै भएमा ठाउँ र सङ्ख्याको आधारमा ‘प्रतिनिधि’ हरू छानिन्छन् । त्यसो भए ५० जनाको सदस्य संस्थालाई ‘प्रतिनिधि’ बताइन्छ र साधारण सदस्य र समर्थकहरूसमेत ‘अधिकार सम्पन्न’ प्रतिनिधि बताइन्छ ।
त्यस्तै, जिल्लाको पनि ‘महाधिवेशन’ र गाउँपालिकामा पनि कुनै राजनीतिक पार्टीको ‘महाधिवेशन’ र ‘राष्ट्रिय सम्मेलन’ भनियो भने निर्वाचन आयोगको आँखा कुन बेला खुल्ने हो – पहिल्यै विचार गर्नु आवश्यक छ । त्यस्तै, २०१२–०१३ सालमा ‘नेपाल कम्युनिस्ट पार्टी’ को ‘महाधिवेशन’ (काङ्ग्रेस).. हुँदै छ भन्ने पोस्टरबारे एकजना समर्थकले पार्टी कार्यकर्ता (सदस्य) लाई भन्दै थिए, “सबै ठीक छ, धेरै वर्षदेखि चन्दा दिन्छ, तर ‘कम्युनिस्ट पार्टी’ अहिले ‘काङ्ग्रेस’ कसरी भयो ? मलाई चित्त बुझेन ।” कार्यकर्ताले केही बोल्नै सकेन किनभने उनलाई पनि राम्रो जानकारी थिएन होला !
xxx
फरक–फरक विषयका भेलालाई ‘कन्फ्रेन्स’ भनेजस्तै विभिन्न देशका दलहरूको पनि कन्फ्रेन्स (सम्मेलन) र काङ्ग्रेस (महाधिवेशन) भन्ने गरिन्छ । तर, कहिलेकाहीँ फरक–फरक अर्थ दिन्छ ।
नेपाल, एसिया र अन्य देशमा कम्युनिस्ट पार्टीहरूको ‘महाधिवेशन’
(काङ्ग्रेस) सदस्यता सङ्ख्याको आधारमा प्रतिनिधि बोलाइन्छ – १०० सदस्यमा एक वा हजार सदस्य सङ्ख्यामा एक – त्यहाँको परिस्थितिअनुसार निर्धारण गरिएको हुन्छ । महाधिवेशनको २–४ महिना पहिले नै महाधिवेशनको निम्ति चालु पार्टी केन्द्रीय समितिले हेरफेर गर्नुपर्ने सबै विषय भएको दस्ताबेज जिल्ला र प्रदेशमा पठाइन्छ । त्यस दस्ताबेजमा जिल्ला र प्रदेशले बहुमत र अल्पमतको आधारमा आ–आफ्नो राय पठाउनुपर्ने हुन्छ । महाधिवेशनले पार्टीको नाउँ, चिह्न, सिद्धान्त, उद्देश्य, अन्यसँग संयुक्त मोर्चा आदिबारे बहुमतको आधारमा निर्णय गर्छ । केन्द्रीय समितिको दस्ताबेजको पक्ष र विपक्षअनुसार प्रदेश वा जिल्लाको बहुमतको आधारमा प्रतिनिधि छाने गरिन्छ । महाधिवेशनमा सहभागी बहुमत प्रतिनिधिको निर्णय महाधिवेशनको निर्णय हुनेछ । महाधिवेशनमा सशस्त्र सङ्घर्ष वा शान्तिपूर्ण आन्दोलन, सरकारमा जाने वा निर्वाचनलाई उपयोग गर्ने वा नगर्ने, पुँजीवादी दलहरूसँग मिलेर सरकारमा जाने वा नजाने, परराष्ट्र नीति आदिबारे पनि छलफल गरी निर्णय हुन्छ । देशको परिस्थितिअनुसार भूमिसुधार वा उद्योगधन्दाको विस्तार, बजेटमा यातायातलाई प्राथमिकता दिने हो वा शिक्षा, स्वास्थ्य, कृषि वा सेना–प्रहरी–कर्मचारीहरूको तलब बढाउने वा व्यापारीहरूलाई कर मुक्त गर्ने वा सरकारले पुँजी दिने आदिबारे छलफल हुन्छ । नेपालका शासक पार्टीहरूले उद्देश्य र नीतिमा नगई महाधिवेशनलाई नयाँ नेतृत्व चयनको रूपमा लिँदै छन् । यस्तै हो भने दलहरू दलहरू होइनन् व्यापारी दल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *