क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
यही डिसेम्बर १० गते विश्व असमानताको रिपोर्ट सार्वजनिक भयो । रिपोर्ट ऐतिहासिक छ । यसले विश्वका धनकुबेर र बाँकी विश्वबिच यो वर्ष बढेको खाडल एकाएक बढेको देखाउँछ । रिपोर्ट भन्छ – विश्वका शीर्ष ०.००१ प्रतिशत धनकुबेरसँग विश्वको निम्नतम आधा जनसङ्ख्याको भन्दा तीन गुणा बढी धन छ । (यो ०.००१ प्रतिशतमा ६० हजारभन्दा कम मानिस पर्छन् ।) विश्वको असमानता अचाक्ली बढेको छ । यसले विभिन्न देशका अर्थतन्त्रमा नकारात्मक असर पारेको छ । यसले देशका प्रजातान्त्रिक निकायहरूमा हस्तक्षेप गरेको र नीति निर्माताहरू आपत्कालीन स्थितिमा पुगेको ‘विश्व असमानता रिपोर्ट’ को तेस्रो संस्करणको तर्क छ । यो रिपोर्टमा विश्वभरिका एक सत्न्दा बढी विज्ञहरूको विस्तृत विश्लेषण छ । ‘विश्व असमानता ल्याब’ मा आबद्ध अध्येता रिकार्डो गोमेज–कारेरा यो रिपोर्टका प्रमुख लेखक हुन् । उनले रिपोर्ट पढ्दै भने, “असमानताले विश्व अर्थतन्त्रको विशेषता दर्शाउँदै आएको छ । तर, यो वर्ष (सन् २०२५) मा समस्या ध्यान दिनैपर्ने गरी विकराल बनेको छ । विश्वव्यापीकरण र आर्थिक वृद्धिको लाभ असमान ढङ्गले अल्पसङ्ख्यक (धनकुबेरहरू) कहाँ थुप्रिएको छ । जब कि विश्वको अधिकांश जनसङ्ख्यालाई स्थिर जीवनस्तर हासिल गर्न पनि धौधौ छ । यो असमानता स्वाभाविक होइन । राजनीतिक र संस्थागत छनोटका कारण यो समस्या उत्पन्न भएको हो ।”
विश्व जनसङ्ख्यामध्ये १० प्रतिशत धनकुबेरसँग विश्वको तीनचौथाइ धन छ । यिनीहरूको कमाइ बाँकी विश्वको भन्दा निकै बढी छ । विश्वका अधिकांश देशभित्र ५० प्रतिशत जनतासँग देशको जम्मा ५ प्रतिशत धन छ ।
रिपोर्ट भन्छ, “धनको यो सञ्चय निरन्तर मात्र छैन, निरन्तर तीव्र पनि बन्दै छ । सन् १९९० को दशक यता विश्वका करोडपति र अर्बपतिहरूको धन बर्सेनि झन्डै ८ प्रतिशतले बढ्दै आएको छ । यसबिच विश्वको निम्नतम आधा जनसङ्ख्याको आयमा भएको वृद्धिको दरभन्दा यो करिब दोब्बर हो । गरिबहरूको आयदरमा पनि वृद्धि त भयो । तर, धनीहरूको धनसञ्चय त्योभन्दा कता हो कता बढी छ ।”
रिपोर्ट भन्छ – “परिणाम, विश्वको एकदम सानो जमातको मुठ्ठीमा अभूतपूर्व वित्तीय शक्ति छ र अरबौँ मानिसहरू आधारभूत आर्थिक स्थिरताभन्दा पनि धेरै पछि छन् ।”
यो रिपोर्ट एक यस्तो बेला प्रकाशित भएको छ जतिबेला राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व गरिरहेको विश्वको सबैभन्दा धनाढ्य र शक्तिशाली देश अमेरिका जलवायु परिवर्तन तथा कर नीतिका मुद्दामा हुने विश्वव्यापी हातेमालोबाट पछि हटेको छ । अमेरिकाले स्वदेशी तथा विदेशी सहयोग कार्यक्रममा कटौती गर्दै र धनाढ्य अमेरिकीहरूलाई अकुत लाभ बाँड्दै असमानताको खाडल झन् बढाइरहेको छ ।
जयाती घोष पनि पछिल्लो रिपोर्टकी एक सह–लेखिका तथा उनी विश्वव्यापी असमानता अध्ययन गर्ने एक स्वतन्त्र विज्ञ समूहकी सदस्य हुन् । एक वक्तव्यमा उनले भनिन्, “हामी एक यस्तो प्रणालीमा बाँचिरहेका छौँ जहाँ न्यून आययुक्त देशहरूको श्रम र प्रकृतिबाट दोहन गरिएको स्रोतसाधनले उच्च आययुक्त अर्थतन्त्रका जनता तथा संसारका सम्भ्रान्तहरूको समृद्धि र तिनको अस्थिर जीवनशैली टिकाइरहेको छ । यो ढाँचा बजारले पैदा गरेको संयोग मात्र होइन । यसपछाडि इतिहासको अवदान, विभिन्न निकायको सक्रियता र विभिन्न नीति नियम छन् । यी सबै तत्व सन्तुलनमा ल्याउन बाँकी असमान शक्ति सम्बन्धसँग जोडिएका छन् ।”
दसकौँदेखि विस्फोटको अवस्थामा रहेको असमानतालाई उल्ट्याउन राजनीतिक मनोबल चाहिन्छ । धनाढ्यहरूमाथि उचित कर लगाउनुपर्छ । सामाजिक कार्यक्रममा प्रशस्त लगानी गर्नुपर्छ । धनाढ्यहरूले जथाभावी चर्काएको जलवायु समस्या समाधानका लागि प्रचुर लगानी गर्नुपर्छ ।
प्रतिवेदन भन्छ – आउँदा वर्षहरूमा हामीले लिने बाटोले नै विश्व अर्थतन्त्र चरम धनसञ्चयतर्फ खस्किन्छ कि साझा समृद्धितर्फ उक्लिन्छ भन्ने निर्धारित हुनेछ ।
Leave a Reply