सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
जनजीवन र समाजबाट साहित्य वा काव्य कहिले पनि अलग्ग हुनसक्दैन । साहित्यमा विचार हुन्छ तर विचार नै साहित्य वा काव्य होइन । कति समालोचकहरू साहित्य वा काव्यमा राजनीति छिर्यो भने त्यो साहित्य केवल प्रचारको निम्ति हुन्छ भनी फलाक्छन् । साहित्य राजनीतिबाट अलग्ग हुन सकिँदैन । प्रत्यक्ष या अप्रत्यक्ष रूपमा साहित्यमा राजनीति घुसेकै हुन्छ । पहिले पहिलेको साहित्यमा धर्म, कर्म, जनजीवनको मात्र होइन राजामहाराजा, सामन्त या प्रतिक्रियावादीहरूको गुणगान गरिएको हुन्छ । सामन्तहरूको प्रशंसा गर्नु पनि राजनीति नै हो । यौनवादी साहित्यभित्र पनि राजनीति छिरेकै हुन्छ । मानिसको चाहनालाई यौनवादी साहित्यमा मुछ्नु राजामहाराजाहरूको गुणगान गर्नु, जनतालाई दासी सम्झेर श्रम शोषण गर्नु के राजनीति होइन ? साहित्यमा ‘राजनीति’ शब्द प्रयोग भएपछि मात्र राजनीति गरिएको हँुदैन । साहित्य राजनीतिको हतियार हो, त्यसै भनिएको होइन ।
साहित्य वा काव्य समाजबाटै सिर्जित हुन्छ । समाजको वरिपरि रहेर, समाजको संरचना र जनजीवनभित्रै रहेर साहित्य सिर्जना गरिएको हुन्छ । महत्वपूर्ण कुरा साहित्यमा कसको जनजीवनलाई प्राथमिकता दिने भन्ने हुन्छ† जनसाहित्यले कुनै न कुनै मार्ग निर्देश गरिरहेको हुन्छ । हाम्रो साहित्य बहुमत जनताको सेवा गर्नको निम्ति हुनुपर्छ । बहुमत जनताको सेवा नगर्ने साहित्य पुँजीपति र प्रतिक्रियावादीहरूको हुन्छ ।
समाजमा सामन्तवादी, पुँजीवादी र समाजवादी लेखक, साहित्यकारहरू पनि हुन्छन् । सामन्ती चिन्तनका साहित्यकारले श्रमजीवी वर्गको पक्षमा वकालत गर्दैनन्† साहित्य लेख्दैनन् । समाजवादी विचारका लेखक साहित्यकारहरूले प्रगतिशील साहित्य लेख्छन् । समाजवादीहरूको काव्य या साहित्यमा समाजकै चित्रण हुन्छ; समाजकै चिन्तन हुन्छ, समाजकै अध्ययन हुन्छ र समाजवादी अवधारणाअनुसार नै चरित्रचित्रण गरिएको हुन्छ । समाजवादी साहित्यमा भोका, नाङ्गा, दलित, शोषित पीडित जनताको भावना उजागर गरेको हुन्छ† सामन्ती, पुँजीपति शोषण, दमन, असमानता, विभेद आदिको विरोध गरिएको हुन्छ ।
प्रगतिशील साहित्यमा विशेषतः आर्थिक समानता र विषमताको समस्यालाई लिएर शोषित पीडित जनताप्रति सहानुभूति प्रकट गरिएको हुन्छ । जनसाहित्यमा शोषक, सामन्त, प्रतिक्रियावादी साम्राज्यवादी, विस्तारवादी नीतिको विरोध गरिएको हुन्छ । प्रगतिवादी काव्यमा लेनिन, स्तालिन, माओ त्सेतुङको विचार प्रवाह भएको हुन्छ । नेपालको सन्दर्भमा कृष्णचन्द्रसिंह प्रधान र सिद्धिचरण श्रेष्ठहरू प्रगतिशील साहित्यकारहरू हुन् । रुसका म्याक्सिम गोर्की प्रगतिशील लेखक हुन् ।
सामान्यतः जनसाहित्यले जनताको सेवा गर्छ† गर्नुपर्छ । जनताको हित नहुने साहित्य जति सरल भए पनि त्यो जनसाहित्य हुनेछैन । उच्च विचार भएर पनि सरल तुल्याउन सक्ने गुण पनि कवि र लेखकमा हुन्छ । यस्ता साहित्य सबैको निम्ति मनपरेको हुन्छ । निबन्ध, कथा, उपन्यास, नाटक आदिको अलग्ग अलग्ग शैली भए पनि विचार पक्ष जहिल्यै बलियो हुनुपर्छ । साहित्यमा जति कला, अलङ्कार, हृदय छुने सौन्दर्य भए पनि बहुजनको पक्षमा लेखिएन भने त्यो जनसाहित्य हुनेछैन । साहित्यमा कला हुनुपर्छ । कला साहित्यको आभूषण हो । नेपाली साहित्यको आकाशमा धेरै थरीका साहित्य देखापरेका छन् । हरेक साहित्य समाजसित सम्बन्धित भए पनि सबै साहित्य जनपक्षीय हुँदैन । भनिन्छ, विचारशून्य कृति सुन्दर मुर्दा मात्र हो । मानव समाजलाई दिशा निर्देश गर्ने साहित्य रच्नुपर्छ । त्यो कृतिमा विचारमात्र होइन कला पनि हुनुपर्छ । तर, कला सशक्त भएर पनि विचार गलत भयो भने त्यसले समाजलाई मार्ग निर्देश गर्दैन । मानव समाजलाई सभ्य, सुसंस्कृत र परिष्कृत गर्ने खालको साहित्य रच्नु आजको आवश्यकता हो ।
Leave a Reply