भर्खरै :

अध्यक्ष माओ र माओ त्सेतुङ विचारधाराको मूल्याङ्कन कसरी गर्ने ? – १

  • पुष १४, २०८२
  • ह्वाङ केचेङ
  • विचार
अध्यक्ष माओ र माओ त्सेतुङ विचारधाराको मूल्याङ्कन कसरी गर्ने ? – १

(यस लेखका लेखक ह्वाङ केचेङ १९०३ मा जन्मनुभएको थियो र १९२५ मा क्रान्तिमा सामेल हुनुभएको थियो । १९५० पछिका वर्षहरूमा उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिवमण्डलको एक सदस्य, राष्ट्रिय रक्षा विभागको उपमन्त्री र चिनियाँ जनमुक्ति सेनाको मुख्य कार्यालय (जनरल स्टाफ) को प्रमुख हुनुहुन्थ्यो । पछि उहाँ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको मातहतको अनुशासन जाँचबुझ केन्द्रीय आयोगको दैनिक कार्यको कार्यसचिव पनि हुनुभयो ।)
चिनियाँ कम्युनिस्ट पार्टी र राज्यको प्रमुख संस्थापकको रूपमा अध्यक्ष माओले सङ्कटका क्षेत्रहरूमा कैयौँ पटक चिनियाँ क्रान्तिलाई जोगाउनुभएको थियो ।
कृषि, शिल्पकला, पुँजीवादी उद्योगहरू एवम् वाणिज्यमा समाजवादी रूपान्तरण भएपछि, आफ्ना पछिल्ला वर्षहरूमा उहाँबाट भएका गल्तीहरू समाजवादी निर्माण कार्यमा ध्यान केन्द्रित नगर्नु, वर्गसङ्घर्षलाई निरपेक्षरूपमा मान्नु र यसको क्षेत्रलाई आवश्यकताभन्दा बढी महत्व दिनु थियो ।
माओ त्सेतुङ विचारधाराले माक्र्सवाद–लेनिनवादको विकासको प्रतिनिधित्व गरेको र यसलाई चिनियाँ क्रान्तिमा ठोस कार्यरूप दिइएको हुनाले विशिष्ट महत्व छ र यसमा चिनियाँ विशेषताहरू छन् । यसले हाम्रो क्रान्तिलाई अगाडि बढाउन बाटो देखाइरहने छ ।
अध्यक्ष माओ त्सेतुङलाई कसरी प्रशंसा गर्ने र कसरी मूल्याङ्कन गर्ने, अनि माओ त्सेतुङ विचारधारालाई कसरी लिने भन्ने कुरो हाम्रो पार्टी र राष्ट्रको लागि एक आधारभूत प्रश्न हो । पार्टी केन्द्रीय समितिको तर्फबाट तेङ सियाओ फिङले कैयौँपटक यससम्बन्धी सैद्धान्तिक दृष्टिकोणलाई प्रकट गरिसक्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रको इतिहासमा अध्यक्ष माओका गुणहरू मुख्य र उहाँका गल्तीहरू गौणमात्र हुने कुरो उहाँले बताउनुभयो । धेरैपटक अध्यक्ष माओले पार्टी र राष्ट्रलाई सङ्कटहरूबाट जोगाउनुभएको कुरो पनि उहाँले बताउनुभयो । अध्यक्ष माओ नहुनुभएको भए चिनियाँ जनताले धेरै लामो समयसम्म अँध्यारोमा छामछाम छुमछुम गरिरहनुपर्दथ्यो । अध्यक्ष माओका आफ्ना पछिल्ला वर्षहरूमा भएका गल्तीहरूबारे बोल्दै तेङ सियाओ फिङले विगतका सबै गल्तीका लागि अध्यक्ष माओमाथि दोष थोपर्न नहुने कुरो बताउनुभयो । पुराना पुस्ताका अरू कामरेडहरू पनि त्यसको लागि जिम्मेवार हुनुहुन्छ । हामीले भविष्यमा पनि माओ त्सेतुङ विचारधारालाई अँगाल्दै जानुपर्ने कुरो उहाँले बताउनुभयो । तेङ शियाओ फिङका यी विचारहरूसित म पूर्णतः सहमत छु र सबै पार्टी सदस्यहरूले अध्यक्ष माओको आदर गर्नुपर्छ र माओ त्सेतुङ विचारधारालाई यस भावनाबाट लिनुपर्छ भन्ने पक्षमा छु ।
यसभन्दा अघि केही कामरेडहरू यी दुई प्रश्नहरूमा अतिवादी दृष्टिकोण राख्दथे र केहीले त माओ विचारधारा र माओ त्सेतुङलाई नै बद्ख्वाइँ पनि गर्न पुगे । यस दृष्टिकोणसित म सा¥है नै चिन्तित भएको छु । एकजना पुरानो पार्टी सदस्य भएको नाताले यी दुई प्रश्नहरूमा आफ्नो दृष्टिकोण स्पष्ट पार्नु आफ्नो कर्तव्य ठान्दछु ।
अब म इतिहासको केही पक्षहरूबारे भन्छु । हुनानका किसानहरू चेन तु श्युका दक्षिणपन्थी अवसरवादी काल (१९२१–२७) को क्रान्तिमा उठे । पार्टी केन्द्रीय समितिका धेरै नेताहरू एवम् समाजका मध्यम तथा उच्च वर्गीय मानिसहरू हुनान किसान आन्दोलनको विरोधमा थिए । किसान समस्यालाई हल गर्न हुनान पुगेका ताङ पिङ शान र अरूहरूले उक्त किसान आन्दोलन नियन्त्रणभन्दा बाहिर गइरहेको बताए । चेन तु श्युको यहीँ दृष्टिकोण थियो । केहीले मात्र क्रान्तिकारी अडान राखे र किसान आन्दोलनलाई समर्थन गरे । हुनान स्थलगत अध्ययन गरी ‘हुनान किसान आन्दोलनको जाँचबुझको प्रतिवेदन’ माओ त्सेतुङले नै लेख्नुभएको थियो । उहाँले त्यस आन्दोलनलाई साहै्र प्रशंसा गर्नुभयो र विभिन्न किसिमका आरोपहरूको खण्डन गर्नुभयो । थुप्रै पार्टी कामरेडहरूले यस प्रश्नको निर्णायक महत्वलाई सैद्धान्तिकरूपले लिए ।
लालसेनाको स्थापना र निर्माणकालको दौरानको प्रशंसनीय सेवा
सन् १९२७ मा महान् क्रान्तिको असफलतापछि पार्टी केन्द्रीय समितिले आफ्नो अगस्त ७ को सभामा कोमिन्ताङ प्रतिक्रियावादीहरूको सशस्त्र विरोध गर्ने र कृषि क्रान्ति कार्यान्वयन गर्ने मुख्य सिद्धान्त पारित ग¥यो । (अगस्ट ७, १९२७ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको एक जरुरी बैठक बस्यो । यसमा चेन तु श्युलाई पार्टी केन्द्रीय समितिको महासचिव पदबाट हटाइयो र पार्टी केन्द्रीय समितिको एक अस्थायी राजनैतिक समिति (पोलिटब्युरो) पनि चुनियो ।) यसले हुनान, हुपे, क्वाङतुङ र च्याङसी प्रान्तहरूमा सशस्त्र विद्रोह गर्ने पनि निर्णय ग¥यो । ल्युयाङ र पिच्याङमा शरद् बालीको बेलामा एउटा विद्रोहलाई सङ्गठित गर्न र हुनान प्रान्तको राजधानी चाङशामा धावा बोल्न अध्यक्ष माओ हुनान पठाइनुभयो । यही बेला ल्यू रोङह्वान र अरूहरूले चोङ याङ, तोङचेङ र अरू ठाउँहरूमा किसान विद्रोहहरूको नेतृत्व गर्नुभयो र सशस्त्र सैनिक दलहरूको सङ्गठन गर्नुभयो । यसबाहेक पिङच्याङ र ल्यु याङमा किसान स्वयंसेवक पिङस्याङ र आनयानमा श्रमिक आत्मसुरक्षा दलहरू र लिलिङमा किसान विद्रोहीहरू विद्रोहमा थिए । अध्यक्ष माओले यी शक्तिहरूलाई एकगठ गर्नुभयो । तर, चाङशामाथि आक्रमण गर्ने योजनालाई भने लागू गर्न सकिएन । पिङच्याङ र ल्यूयाङ चाङशाबाट धेरै नजिक भएबाट ती सहरहरूलाई लामो समयसम्म कब्जामा राख्न नसकिने कुरो अध्यक्ष माओले देख्नुभयो । यसकारण, उहाँले मुख्य–मुख्य सहरहरूलाई कब्जामा लिने योजनालाई त्याग्नुभयो र चिङकाङ पहाडतिर बढ्नुभयो । यो एक ठूलो महत्वको सामरिक निर्णय थियो ।
प्रसिद्ध सान्वान् पुनःसङ्गठनको सिलसिलामा अध्यक्ष माओले सेनाका सबै तहहरूमा पार्टी सङ्गठनहरू बनाउनुभयो । चिङकाङ पहाडमा पुग्नु भएपछि उहाँले निर्देशक सिद्धान्तहरूलाई अगाडि सार्नुभयो, ल्युशियाओ पहाडी शृङ्खलाको मध्यमा क्रान्तिकारी राजनैतिक शक्तिको स्थापना थाल्नुभयो र चिङकाङ पहाडमा रातो झन्डा फहराउनुभयो । शरद् बाली विद्रोहको बेलैमा च्याङशी प्रान्त, हुनान र हुपे प्रान्तहरूका पश्चिमी भागहरू र थुप्रै अरू ठाउँहरूमा पनि विद्रोहहरू भएका थिए । अनुभवको कमीले गर्दा अधिकांश विद्रोहहरू दबाइएको र केही ठाउँहरूमा विद्रोहीहरू हतियार छोड्न बाध्य भए । रातो झन्डा खुला फहराउँदै क्रान्तिमा अगाडि बढ्न सकेका शक्तिहरूमा मुख्यतः अध्यक्ष माओद्वारा नेतृत्व गरिएका शक्तिहरू र उत्तरपूर्वी च्याङशी प्रान्तमा फाङ चिमिनद्वारा नेतृत्व गरिएका केही सशस्त्र सैनिक दलहरू नै थिए । चिङकाङ पहाडमाथिको रातो शक्तिको अस्तित्वले चिनियाँ क्रान्तिको जग र आशालाई प्रतिबिम्बित गरेको थियो । महान् क्रान्तिको हारपश्चात्को अति कठिन समयमा नयाँ विश्वासले थुप्रै कम्युनिस्टहरूलाई प्रेरणा प्राप्त भएको थियो ।
कामरेड चाओ एन लाइ, ह लुङ, ये तिङ, चु तेह, ल्यू पोचेङ र अरूले नेतृत्व गरेको १९२७ अगस्ट १ को नानचाङ विद्रोहले क्रान्तिकारी युद्धको स्वतन्त्र कम्युनिस्ट नेतृत्वको सूत्रपात गरिदियो । ३०,००० भन्दा बढी मानिसहरूले त्यस विद्रोहमा भाग लिएका थिए । यसको हारपछि चु तेह र चेन यीले ८०० देखि ९०० जवान सैनिकसम्म बटुल्नुभयो र त्यसलाई एक रेजिमेन्टमा पुनः सङ्गठित गर्नुभयो । पछि उहाँहरूले यो सैनिक शक्तिलाई बढाएर दक्षिण हुनानतिर विद्रोह उठाउनुभयो । उहाँहरूको यो सेना अध्यक्ष माओको सेनाभन्दा ठुलो थियो । तर, अध्यक्ष माओको चिङकाङ पहाडहरूमाथिको रातो झन्डाबिना र उहाँको राजनैतिक र सैनिक कार्यनीतिहरूबिना उहाँहरूलाई सङ्घर्षमा अड्न साह्रै कठिन हुन्थ्यो ।
पेङ तेहवाइ, तेङ ताइट्वान तथा अरूहरूले पिङ च्याङमा एउटा विद्रोहको वीरतापूर्वक नेतृत्व गर्नुभयो । त्यसपछि पेङ तेहवाइ र तेङ ताइट्वान आफ्ना प्रमुख दललाई लिई चिङकाङ पहाडतिर लाग्नुभयो । अध्यक्ष माओबाट कसरी क्रान्तिकारी राजनैतिक सत्ताको स्थापना गर्ने, कसरी आधार इलाका बनाउने र पार्टी र सेनालाई कसरी सङ्गठन गर्ने भन्ने विषयमा सिकिसकेपछि उहाँहरू पिङच्याङ, ल्यू याङ क्षेत्रमा फर्कनुभयो र हुनान–हुपे, च्याङशी आधार इलाकाको विकास गर्नुभयो । चाङ ताङलेइ, सुं चाओचेङ, ये तिङ र ये च्येनयिङद्वारा नेतृत्व गरिएको क्वाङचाओ विद्रोह असफल हुनासाथ बाँकी रहेको सेनालाई ट्वान कोपिङ, ये योङ र लु केङफुले हाइफेङ र लुफेङतिर लैजानुभयो । आफ्ना कार्यकर्ताहरूमा पार्टी सङ्गठनलाई बचाउन सक्नेहरूले एक बलियो सशस्त्र सेना बनाए तथा विद्यार्थीहरूबाट आएकामध्ये धेरै अगाडि बढे ।
तिनीहरू अध्यक्ष माओ र चु तेहद्वारा नेतृत्व गरिएका सैनिक दलहरूभन्दा राजनैतिक र सैनिकरूपले राम्रा थिए । पेङ पाइ भन्ने एकजना कामरेड हाइफेङ र लुफेङमा भएका सङ्घर्षहरूको नेतृत्व गर्नुभयो र त्यहाँ सोभियत सत्ता स्थापना गरी एउटा राम्रो आधार इलाकाको विकास गर्नुभयो । त्यसलाई व्यापक जनसमर्थन प्राप्त भयो । तर, सही सामरिक र राजनैतिक दिशाको अभाव र पार्टीभित्र व्यापक निराशावादी प्रभावले गर्दा त्यो सुदृढ शक्ति र सुदृढ राजनैतिक सत्ता पतन भयो । तर, पनि अध्यक्ष माओको नेतृत्वमा रहेको एकमात्र सैनिक शक्ति नानचाङ विद्रोह र क्वाङचाओ विद्रोहभन्दा सानो खालको भए तापनि अनेक हण्डरहरू खान्दै चिङकाङ पहाडमाथि ठाडो भएर रहन सक्यो । यो कसरी भयो त ? केवल अध्यक्ष माओले महान् क्रान्तिको असफलतापछिका सङ्कटमय क्षणहरूमा लालसेना र लाल राजनैतिक सत्ताको सम्बन्धमा सैद्धान्तिक र व्यवहारिक समस्याहरूको सही ढङ्गमा हल गर्न सक्नुभयो र यी उपलब्धिहरू कसरी हासिल गर्ने भन्नेबारे पनि बताउनुभयो ।
सङ्क्षेपमा महान् क्रान्तिको असफलतापछिका ती सबभन्दा सङ्कटमय मोडहरूबाट अध्यक्ष माओले नै हाम्रो पार्टी र चिनियाँ जनतालाई बाटो देखाउनुभयो । चिङकाङ पहाडमा उहाँले फहराउनुभएको रातो झन्डाबिना चिनियाँ क्रान्तिको के हालत हुन्थ्यो, त्यो कल्पनासम्म पनि गर्न कठिन छ ।
शत्रुको ‘घेराबन्दी गर्ने र दमन गर्ने’ ती अभियानहरू चकनाचुर
फेब्रुअरी १९२९ मा साङ्घाइको पार्टी केन्द्रीय समितिले चू तेह र अध्यक्ष माओलाई आफ्नो सेना छोड्न र साङ्घाइ जान आदेश दियो र उहाँहरूका सेनाहरूबाट शत्रुहरूको ध्यान मोड्न सेनालाई कम्पनी र प्लाटुनहरूमा विभाजित गर्न अ¥हायो । त्यसबेला क्रान्तिको लहर तल झर्दै थियो । ती सेनाहरू तितरवितर हुने डरले गर्दा आफूले त्यहाँबाट साङ्घाइतिर हिँड्न नसक्ने अध्यक्ष माओले जवाफ पठाउनुभयो । त्यसको लगत्तै युद्ध सरदारहरूको माझमा सशस्त्र सङ्घर्षहरू छेडियो र परिस्थिति बदलियो । त्यस कठिन क्षणमा यदि अध्यक्ष माओ आफ्नो सही अडानमा नअड्नुभएको भए हाम्रो सेनामाथि के आइपर्ने थियो, त्यो भन्न गा¥हो छ ।
१९२९ मा लालसेनाको प्रमुख पल्टन फुच्यान प्रान्तको पश्चिममा छँदा पार्टीभित्र सिद्धान्तका केही प्रमुख विषयहरूलाई लिएर एक विवाद उठ्यो । पार्टीको बहुमत अध्यक्ष माओसँग असहमत थिए । मोर्चा समितिको सचिव पदबाट अध्यक्ष माओ हटाइनुभयो र आराम लिन स्वास्थ्य लाभ गर्न बाध्य हुनुभयो । पछि लालसेनाका आक्रमणहरू विफल पारिएर कठिनाइमा जाकिँदा अध्यक्ष माओलाई आफ्नो पद सम्हाल्न अनुरोध गरियो । कुथियानमा लालसेनाको चौथो सेनाको नवौँ पार्टी सम्मेलन भयो र त्यसमा अध्यक्ष माओद्वारा मस्यौदा गरिएको सम्मेलनको प्रस्ताव पारित भयो । ‘पार्टीभित्रका गलत विचारधाराहरूलाई सच्याउने बारे’ भन्ने लेख नै त्यस प्रस्तावको महत्वपूर्ण पक्ष थियो र यो लेखलाई ‘माओ त्सेतुङका छानिएका कृतिहरू’ मा समावेश गरिएको छ । त्यो प्रस्तावले पार्टीभित्र व्याप्त धेरै सैद्धान्तिक र राजनैतिक मुख्य–मुख्य समस्याहरूको हल गरिदियो । हाम्रो पार्टी र सेनाको जीवन–मरणसम्बन्धी पक्षहरूका अध्यक्ष माओका सही नीति निर्णयहरूले गर्दा पार्टी र सेनाको निर्माणमा ठूलो भूमिका खेल्यो ।
सन् १९३० मा लिलिसान नीति देखाप¥यो । त्यसको मुख्य लक्ष्य उहान कब्जा गर्न लालसेनाको प्रमुख शक्तिहरूलाई एकत्रित पार्नु थियो । त्यो समय लालसेनाको लागि परिस्थिति अति नै राम्रो थियो । यसले च्याङशीका एक दर्जन काउन्टीहरूलाई जितेको थियो । यसको अर्थ हो– त्यस प्रान्तको समस्त पश्चिमी भाग यसको नियन्त्रणमा थियो । धेरै कामरेडहरूले सर्वप्रथम नानचाङमा र त्यसपछि मात्र उहानमा आक्रमण गर्ने सुझाव दिनुभयो । महत्वपूर्ण नीति–निर्णय अत्यावश्यक भएको त्यस घडीमा अध्यक्ष माओले परिस्थितिमा परिवर्तन भएको लक्षण देखाउनुभयो । उहाँले युद्ध सरदारहरूबिचको युद्ध छिट्टै टुङ्गिन सकिने र लालसेनामाथि धावा बोल्न च्याङ–काई–शेकले आफ्नो शक्तिलाई एकत्रित पार्न सक्षम हुने तथ्यतिर ध्यान दिलाउनुभयो । अध्यक्ष माओले मात्र यस कठिन घडीलाई बुझ्नुभयो र चौ इसूलाई लालसेनाको तेस्रो सेना दललाई नानचाङ हमला गर्ने खतरा नमोल्न र छिट्टै पूर्वतिर हिँड्न, कायचिङ नदी पार गरी पुरानो आधार इलाका गई शत्रु सेनाले हमला गर्नासाथ त्यसलाई समाप्त पार्न अध्यक्ष माओले उत्साहित गर्नुभएको थियो । झन्डै महिना दिनको लामो छलफलपछि लालसेनाको तेस्रो सैनिक दलमा कामरेडहरू मञ्जुर हुनुभयो, उहाँहरूले आफ्ना सेनालाई पुरानो आधार इलाकातिर फर्काउनुभयो । मुख्यतः यस सही निर्णयले गर्दा नै लालसेनाले च्याङ–काई–शेकको पहिलो, दोस्रो र तेस्रो घेराबन्दी गर्ने र दमन गर्ने अभियानलाई चकनाचुर गर्न सक्षम भयो । सैनिकहरू यदि सोभियत क्षेत्रमा नफर्किई शत्रु अधीनस्थ क्षेत्रहरूमा लडाइँ लडेको भए सेनाले अति नै गम्भीर क्षतिहरू व्यहोर्नुपर्ने हुन्थ्यो ।
‘शत्रुहरूलाई भित्रसम्म फसाउने’ अध्यक्ष माओको सिद्धान्तबमोजिम १९३१ मा लालसेनाले च्याङशी प्रान्तमा प्रथम ‘घेराबन्दी गर्ने र दमन गर्ने’ अभियानलाई चकनाचुर गरिसकेपछि पार्टी केन्द्रीय समितिले सियाङ यिङ र अरूहरूलाई सोभियत क्षेत्रमा पठायो । सियाङ यिङलाई एकैसाथ केन्द्रीय व्युरोको सचिव र सैनिक समितिका अध्यक्षमा नियुक्त ग¥यो । अध्यक्ष माओ सचिव हुनुभएको लालसेनाको प्रथम मोर्चा सेनाको मोर्चा समितिलाई भङ्ग गरियो । त्यसपछि शत्रुको ‘घेराबन्दी गर्ने र दमन गर्ने’ दोस्रो अभियान सुरु भयो । च्याङ काई शेकले आधार इलाकाको वरिपरि किल्लाहरू निर्माण गर्ने र एक–एक पाइला गर्दै यसलाई (आधार इलाकालाई) खत्तम गर्ने नीति लियो । युद्धको अनुभव नहुँदा सियाङ यिङ र अरू लालसेनाहरूले त्यस सोभियत क्षेत्रलाई छोड्नुपर्ने ठम्याइ राखे । त्यस घडीमा अध्यक्ष माओमात्र अगुवापन र सोभियत क्षेत्रलाई त्याग्ने ठम्याइको विरोधमा हुनुहुन्थ्यो र सेनाले आधार इलाकाभित्रै बसेर युद्ध गर्नुपर्ने ठम्याइ अगाडि बढाउनुभयो । यसले गर्दा एक महिना लामो विवाद छेडियो र यतिञ्जेलसम्ममा च्याङशी प्रान्तको फुथिन र टोङकुबिचको पहाडहरूमा शत्रुहरू आई किल्लाहरू निर्माण गर्न थालिसकेका थिए । यस्तो कठिन घडीमा अध्यक्ष माओले शत्रुमाथि जाई लाग्न एक निर्णायक आदेश दिनुभयो र एउटै दनकमा शत्रुका कैयौँ सैनिक दलहरू समाप्त पारियो । ‘घेराबन्दी गर्ने र दमन गर्ने’ अभियानको तेस्रो प्रतिरोधको बेलामा के गर्ने भन्नेबारेमा विवाद उत्पन्न भएन, निर्णायक व्यक्ति अध्यक्ष माओ नै हुनुहुन्थ्यो । विगतका दुई प्रतिरोध युद्धहरूले उहाँको प्रतिष्ठा खुबै बढेको थियो ।
स्रोतः चीनबारे हाम्रो बुझाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *