भर्खरै :

अन्तरविरोधबारे : माओ त्सेतुङ

अन्तरविरोधबारे : माओ त्सेतुङ

विश्व सर्वहारा वर्गका महान् गुरु माओ त्से–तुङ एक दार्शनिक पनि हुनुहुन्थ्यो । उहाँले अनेक दार्शनिक रचना लेख्नुभएको छ । “अन्तरविरोधबारे” नामक दार्शनिक निबन्ध उहाँले सन् १९३७ को अगस्त महिनामा लेख्नुभएको थियो । यो निबन्ध उहाँको बहुचर्चित पुस्तक “पाँच दार्शनिक रचना” मा सङ्कलित छ ।
माक्र्सवादको दर्शनलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । “अन्तरविरोधबारे” निबन्धमा माओले यही द्वन्द्ववादको आधारभूत नियम “विपरीतहरूको एकता” बारे विस्तृत विश्लेषण गर्नुभएको छ । यो निबन्ध चिनियाँ कम्युनिस्ट पार्टीभित्र रहेको जडसुत्रवादी (dogmatist) सोचलाई हटाउने उद्देश्यले लेखिएको थियो । निबन्धको मूल तर्क यसप्रकार छ – प्रकृति, समाज र मानवीय विचारलगायत सबै वस्तु र प्रक्रियाको विकास अन्तरविरोधबाटै हुन्छ । जीवन, जगत र विचारहरूको आन्तरिक र मूल कारक हो – अन्तरविरोध ।
विश्वमा अनेकथरी दर्शन छन् । तर, संसारका सबै दर्शनलाई मुख्यतया दुई विरोधी विश्वदृष्टिकोणमा वर्गीकरण गर्न सकिन्छ – अधिभौतिक/आध्यात्मिक (metaphysical) र द्वन्द्वात्मक (dialectical) । माओले आफ्नो निबन्ध यिनै दुई विश्व दृष्टिकोणको भिन्नता प्रस्ट्याउँदै सुरु गर्नुहुन्छ । अधिभौतिक दृष्टिकोणले वस्तुहरूलाई स्थिर, पृथक र बाह्य शक्तिले मात्र परिवर्तन गर्न सक्ने मान्छ । यसको विपरीत द्वन्द्वात्मक दृष्टिकोणले विकासलाई वस्तुहरूको आन्तरिक अन्तरविरोधबाट उत्पन्न हुने स्वयम् गतिमान प्रक्रियाको रूपमा हेर्छ । निबन्धले अन्तरविरोधका विभिन्न पक्षको विस्तृत व्याख्या गर्छ । यसमा सामान्य/सार्वभौमिकता (universality), विशिष्टता (particularity), प्रमुख अन्तरविरोध (principal contradiction) र मुख्य पक्ष (principal aspect), अन्तरविरोधका पक्षको पहिचान (identity) र सङ्घर्ष (struggle), र विरोधिता (antagonism) हरू पर्छन् । माओको विश्लेषणअनुसार क्रान्तिकारी अभ्यासलाई सही बाटो देखाउन र ठोस परिस्थितिको ठोस विश्लेषण गर्न यी अवधारणा बुझ्नु अपरिहार्य छ ।

दार्शनिक आधारः दुई विश्व दृष्टिकोण
मानव ज्ञानको इतिहासमा ब्रह्माण्डको विकासको नियमबारे दुई मुख्य धारणा पाइन्छन् । एक, अधिभौतिक धारणा । दोस्रो, द्वन्द्वात्मक धारणा । यी धारणाले दुई विरोधी विश्व दृष्टिकोण निर्माण गर्छन् ।

एक, अधिभौतिक दृष्टिकोण
अधिभौतिक भनौँ वा सामान्य विकासवादी विश्व दृष्टिकोण, यसले वस्तुहरूलाई पृथक, स्थिर र एकपक्षीय रूपमा हेर्छ । यसले ब्रह्माण्डका सबै वस्तु, तिनका रूप र उपरूपहरू एकअर्काबाट पृथक र अपरिवर्तनीय छन् भन्छ ।
– परिवर्तनको धारणाःपरिवर्तनलाई केवल मात्रात्मक वृद्धि वा कमी, वा स्थान परिवर्तनको रूपमा मात्र स्वीकारिन्छ ।
– कारणको स्रोतःपरिवर्तनको कारण वस्तुभित्र नभई बाहिर खोजिन्छ । अर्थात्, हरेक कुराको प्रेरक शक्ति बाह्य हुन्छ । यसले वस्तुहरूको गुणात्मक विविधता वा एउटा गुण अर्कोमा रूपान्तरित किन हुन्छ भन्ने कुरा व्याख्या गर्न सक्दैन ।
– ऐतिहासिक उदाहरणः“स्वर्ग परिवर्तन हुँदैन, त्यसैगरी ताओ पनि परिवर्तन हुँदैन” भन्ने चिनियाँ भनाइले यही सोचलाई प्रतिनिधित्व गर्छ । चीनको पतनोन्मुख सामन्ती शासक वर्गले लामो समयसम्म यही सोचलाई समर्थन ग¥यो । युरोपमा पनि यो सोच देखाप¥यो । सुरुमा १७ औँ र १८ औँ शताब्दीमा यान्त्रिक भौतिकवादको रूपमा यो सोच देखाप¥यो । १९ औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुमा सामान्य विकासवादको रूपमा यो विचार पुनः प्रकट भयो ।

दुई, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण
अधिभौतिक दृष्टिकोणभन्दा ठिक विपरीत छ द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण । यसले कुनै वस्तुको विकास बुझ्नका लागि त्यसलाई आन्तरिक रूपमा र अन्य वस्तुहरूसँग त्यसको सम्बन्धमा अध्ययन गर्नुपर्छ भन्छ ।
– विकासको आधारभूत कारणःवस्तुको विकासको आधारभूत कारण बाह्य नभई आन्तरिक हुन्छ । यो वस्तुभित्र हुने अन्तरविरोधमा निहित हुन्छ । प्रत्येक वस्तुमा आन्तरिक अन्तरविरोध हुन्छ ।जसले गर्दा त्यसको गति र विकास सम्भव हुन्छ ।
– आन्तरिक र बाह्य कारणहरूःआन्तरिक कारणहरू परिवर्तनका आधार हुन् भने बाह्य कारणहरू परिवर्तनका शर्त हुन् । बाह्य कारणहरू आन्तरिक कारणहरूमार्फत क्रियाशील हुन्छन् । उदाहरणका लागि, उपयुक्त तापक्रममा अण्डा कुखुराको चल्लामा परिणत हुन्छ । तर, कुनै पनि तापक्रमले ढुङ्गालाई चल्लामा परिणत गर्न सक्दैन । किन ? किनभने, दुवैको आधार फरक हुन्छ ।
– सामाजिक परिवर्तनःसामाजिक परिवर्तन मुख्यतया बाह्य कारणहरू (जस्तै भूगोल वा जलवायु) बाट नभई समाजभित्रका आन्तरिक अन्तरविरोधहरूका उपज हुन् । उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको अन्तरविरोध, वर्गहरूबिचको अन्तरविरोध, तथा पुरानो र नयाँबिचको अन्तरविरोधले ल्याउने सामाजिक विकासबाट सामाजिक परिवर्तनको जन्म हुन्छ ।

अन्तरविरोधको नियमका आधारभूत पक्षहरू
“अन्तरविरोधबारे” निबन्धमा अन्तरविरोधको नियमका विभिन्न पक्षको विस्तृत विश्लेषण गरिएको छ । यी पक्षहरूलाई बुझ्नु द्वन्द्ववादलाई पूर्ण रूपमा बुझ्नको लागि अति आवश्यक छ ।

१.अन्तरविरोधको सार्वभौमिकता र निरपेक्षता
अन्तरविरोधका सार्वभौमिकता वा निरपेक्षता गरी दुई अर्थ छन् :
एक, सर्वव्यापी अस्तित्व–अन्तरविरोध सबै वस्तुको विकास प्रक्रियाभित्र अवस्थित छ । कुनै पनि यस्तो चीज छैन जसमा अन्तरविरोध नहोस् । अन्तरविरोधबिना केही पनि अस्तित्वमा रहँदैन । दुई, निरन्तर प्रक्रिया–प्रत्येक वस्तुको विकास प्रक्रियामा सुरुदेखि अन्त्यसम्म विपरीत पक्षहरूबिच अन्तरक्रिया चलिरहन्छ ।
लेनिनले “विपरीतहरूको एकता” को नियमलाई “प्रकृतिका सबै घटना र प्रक्रियामा (चाहे त्यो मन होस् वा समाज) विरोधाभासी र विपरीत प्रवृत्तिहरूको खोज” भनेर परिभाषित गर्नुभएको छ । यो नियम विभिन्न क्षेत्रमा लागु गर्न सकिन्छ । जस्तो, गणित
(+ र –), मेकानिक्स (क्रिया र प्रतिक्रिया), भौतिकशास्त्र
(सकारात्मक र नकारात्मक बिजुली), रसायनशास्त्र
(परमाणुहरूको संयोजन र विघटन) र समाज विज्ञान
(वर्ग सङ्घर्ष) मा “विपरीतहरूको एकता” को नियम लागु हुन्छ ।

२. अन्तरविरोधको विशिष्टता र सापेक्षता
सार्वभौमिकतालाई बुझेपछि अन्तरविरोधको विशिष्टतालाई बुझ्नु क्रान्तिकारी गतिविधिलाई बाटो देखाउन सबैभन्दा महत्वपूर्ण हुन आउँछ ।
क.प्रत्येक गतिको विशिष्टताःपदार्थको प्रत्येक गतिमा यसको आफ्नै विशिष्ट अन्तरविरोध हुन्छ । जसले एउटा वस्तुलाई अर्कोबाट छुट्याउने विशिष्ट सार निर्माण गर्छ ।
ख. गुणात्मक रूपमा भिन्न विधिहरूःगुणात्मक रूपमा भिन्न अन्तरविरोधलाई गुणात्मक रूपमा भिन्नभिन्न विधिबाट मात्र समाधान गर्न सकिन्छ । केही उदाहरण हेरौँ :
— सर्वहारा र पुँजीपति वर्गबिचको अन्तरविरोधः समाजवादी क्रान्तिको विधि ।
— उपनिवेश र साम्राज्यवादबिचको अन्तरविरोधः राष्ट्रिय क्रान्तिकारी युद्धको विधि ।
— कम्युनिस्ट पार्टीभित्रको अन्तरविरोधः आलोचना र आत्मालोचनाको विधि ।
ग. ज्ञानको प्रक्रियाःज्ञानको प्रक्रिया सधैं व्यक्तिगत र विशेष चीजको ज्ञानबाट सामान्य चीजको ज्ञानतर्फ अघि बढ्छ (विशेषबाट सामान्य) । त्यसपछि, त्यो सामान्य ज्ञानलाई नयाँ विशेष चीजको अध्ययनमा प्रयोग गरिन्छ (सामान्यबाट विशेष) । जडसुत्रवादीहरूले यो प्रक्रियालाई बेवास्ता गर्छन् र सामान्य सत्यलाई अमूर्त सूत्रमा परिणत गर्छन् ।
घ. ठोस विश्लेषणको आवश्यकता : कुनै पनि समस्याको अध्ययन गर्दा आत्मपरकता, एकपक्षीयता र सतहीपनबाट बच्नुपर्छ । लेनिनको शब्दमा भन्ने हो भने माक्र्सवादको मर्म “ठोस परिस्थितिको ठोस विश्लेषण” हो ।

अन्तरविरोधको विश्लेषणका लागि विधि
अन्तरविरोधहरूलाई ठोस रूपमा बुझ्न र तिनको समाधान निकाल्न केही विधिहरूको आवश्यकता पर्छ । यसमा प्रमुख अन्तरविरोध र प्रमुख पक्षको पहिचान तथा पहिचान एवम् सङ्घर्षको द्वन्द्वात्मक सम्बन्धको अध्ययन पर्छ ।
१.प्रमुख अन्तरविरोध र प्रमुख पक्ष पहिल्याउनु
कुनै पनि जटिल प्रक्रियाको विकासमा धेरै अन्तरविरोधहरूले भूमिका खेलेका हुन्छन् । तर, तीमध्ये एउटा प्रमुख अन्तरविरोध हुनैपर्छ । त्यसको अस्तित्व र विकासले अन्य अन्तरविरोधहरूको अस्तित्व र विकासलाई निर्धारित वा प्रभावित गर्छ ।
– प्रमुख अन्तरविरोधः
उदाहरणः पुँजीवादी समाजमा सर्वहारा र पुँजीपति वर्गबिचको अन्तरविरोध प्रमुख अन्तरविरोध हो ।
उदाहरणः जब साम्राज्यवादले कुनै अर्ध–औपनिवेशिक देशमाथि आक्रमण गर्छ, तब साम्राज्यवाद र त्यो देशबिचको अन्तरविरोध प्रमुख बन्छ । त्यो स्थितिमा देशभित्रका सबै वर्गीय अन्तरविरोधहरू गौण बन्न पुग्छन् ।
– प्रमुख पक्षः
कुनै पनि अन्तरविरोधमा विरोधाभासी पक्षहरूको विकास असमान हुन्छ । दुई पक्षमध्ये एक प्रमुख पक्ष हुनुपर्छ र अर्को गौण पक्ष हुनुपर्छ ।
वस्तुको प्रकृति मुख्यतया अन्तरविरोधको प्रमुख पक्षले निर्धारित गर्छ । किनभने, प्रमुख पक्ष प्रभावशाली स्थानमा हुन्छ ।
प्रमुख र गौण पक्षहरू एकअर्कामा बदलिन्छन् । वस्तुको प्रकृति तदनुसार परिवर्तन हुन्छ । उदाहरणका लागि, “नयाँले पुरानोलाई विस्थापित गर्छ” भन्ने प्रक्रियामा, नयाँ पक्ष सानोबाट ठुलो हुँदै प्रभावी बन्न पुग्छ । यसले गर्दा पुरानो वस्तु गुणात्मक रूपमा नयाँ वस्तुमा परिवर्तित हुन्छ ।

२. अन्तरविरोधका पक्षहरूको पहिचान र सङ्घर्ष
यस अवधारणाले अन्तरविरोधका दुई पक्षहरू कसरी एकअर्कासँग सम्बन्धित छन् भन्ने कुराको व्याख्या गर्छ ।
अवधारणा व्याख्या
पहिचान (Identity) का दुई अर्थ छन् ?
अ. सह–अस्तित्वः
प्रत्येक पक्षको अस्तित्व अर्को पक्षको अस्तित्वमा निर्भर हुन्छ । दुवै पक्ष एउटै एकाइमा सह–अस्तित्वमा रहन्छन् । जस्तो, जीवन बिना मृत्यु हुँदैन, पुँजीपति वर्गबिना सर्वहारा वर्ग हुँदैन ।
आ. रूपान्तरणःनिश्चित
परिस्थितिहरूमा प्रत्येक विरोधाभासी पक्ष कालान्तरमा आफ्नो विपरीत पक्षमा रूपान्तरित हुन्छ । जस्तो, पहिले शासित रहेको सर्वहारा वर्ग क्रान्तिपछि शासक बन्छ । पहिलेको शासक पुँजीपति वर्ग क्रान्तिपछि शासित वर्गमा फेरिन्छ ।
सङ्घर्ष (Struggle) विपरीतहरूको सङ्घर्ष निरपेक्ष, निरन्तर र सर्वव्यापी हुन्छ । जबकि, तिनीहरूको पहिचान वा एकता सशर्त, अस्थायी र सापेक्ष हुन्छ । लेनिनले भन्नुभयो, “आपसमा बाहेक विपरीतहरूको सङ्घर्ष निरपेक्ष छ, जसरी विकास र गति निरपेक्ष छन् ।” सङ्घर्षले नै एकखाले प्रक्रियालाई अर्कोमा रूपान्तरण गर्छ ।
३. पहिचान र सङ्घर्षको सम्बन्ध
पहिचानभित्र सङ्घर्ष निहित हुन्छ । सङ्घर्षबिना पहिचान हुन सक्दैन । सशर्त, सापेक्ष पहिचान र निःशर्त, निरपेक्ष सङ्घर्षको संयोजनले सबै वस्तुमा विपरीत पक्षहरूबिच द्वन्द्व पैदागर्छ ।
अन्तरविरोधकोएउटा विशेषता विरोधिता (antagonism) पनि हो ।
परिभाषाःविरोधिता विपरीत पक्षहरूबिच सङ्घर्षको एक रूप हो, तर यसको यही मात्र रूप छैन ।
वर्ग समाजमाःनिश्चित चरणमा पुगेपछि शोषक र शोषित वर्गबिच हुने अन्तरविरोधहरूले खुला विरोधको रूप धारण गर्छन् । अनि ती अन्तरविरोध क्रान्तिमा विकसित हुन्छन् ।
गैरविरोधी अन्तरविरोधः केही अन्तरविरोधहरू खुला विरोधको रूपमा प्रकट हुँदैनन् । सुरुमा गैर–विरोधीदेखिने कतिपय अन्तरविरोधहरू पछि गएर विरोधी अन्तरविरोध बन्न सक्छन् । जबकि, सुरुमा विरोधी देखिने अन्तरविरोधहरू पछि गएर गैर–विरोधी अन्तरविरोध बन्न सक्छन् ।
– उदाहरणः समाजवादी देश र क्रान्तिकारी आधार इलाकाहरूमा सहर र ग्रामीण इलाकाबिचको विरोधी अन्तरविरोध गैर–विरोधी अन्तरविरोधमा परिवर्तन भयो ।
– लेनिनले भन्नुभयो, “विरोध र अन्तरविरोध एउटै कुरा होइनन् । समाजवादी समाजमा पहिलो (विरोध) हराउनेछ तर दोस्रो (अन्तरविरोध) रहनेछ ।”
निष्कर्ष
“अन्तरविरोधको नियम”अर्थात् “विपरीतहरूको एकता” को नियम नै प्रकृति, समाज र विचारको आधारभूत नियम हो । यो अधिभौतिक/आध्यात्मिक विश्व दृष्टिकोणको विरोधी छ । र, यसले मानव ज्ञानको इतिहासमा एक महान् क्रान्तिको प्रतिनिधित्व गर्छ ।
सार्वभौमिकता र विशिष्टता :
अन्तरविरोध सबै प्रक्रियाहरूमा सुरुदेखि अन्त्यसम्म व्याप्त रहन्छ (सार्वभौमिकता), तर प्रत्येक अन्तरविरोध र यसको प्रत्येक पक्षको आफ्नै विशेषता हुन्छ (विशिष्टता) ।
पहिचान र सङ्घर्ष :
निश्चित परिस्थितिहरूमा विपरीत पक्षहरूको भिन्दाभिन्दै पहिचान हुन्छ । जसले गर्दा तिनीहरू सह–अस्तित्वमा रहन र एकअर्कामा रूपान्तरण हुन सक्छन् (सापेक्षता), तर विपरीतहरूको सङ्घर्ष निरन्तर र निरपेक्ष हुन्छ ।
क्रान्तिकारी गतिविधि :
यस नियमको सारलाई बुझेर जडसुत्रवादी विचारहरूलाई भत्काउन सकिन्छ र अनुभवी कमरेडहरूले आफ्नो अनुभवलाई सिद्धान्तमा सुगठित गर्न सक्छन् । एक क्रान्तिकारी कम्युनिस्ट पार्टीले सही राजनीतिक र सैन्य रणनीति तय गर्नका लागि प्रमुख र गौण अन्तरविरोध तथा अन्तरविरोधको प्रमुख र गौण पक्षहरूबिचको भिन्नतामा ध्यान दिनुपर्छ र सङ्घर्षका विभिन्न रूपहरू पहिल्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *