्जखाङकी नाची
- फाल्गुन १४, २०८२
संरा अमेरिकी सेनाले दक्षिण अमेरिकी सार्वभौभ र स्वतन्त्र मुलुक भेनेजुयलामाथि जनवरी ३ मा (स्थानीय समयअनुसार राति) कायरतापूर्ण एवम् बर्बरतापूर्ण हमला ग¥यो । जननिर्वाचित लोकप्रिय राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई राजधानी काराकासबाट बलजफ्ती अपहरण गरी आफ्नो देशमा लगेर झूटा मुद्दा चलाइयो ।
संरा अमेरिकाका न्यायप्रेमी जनतासमेत ट्रम्प प्रशासनको यो कदमको विरोधमा प्रदर्शन गर्दै छन् । अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रको हाकाहाकी उल्लङ्घन गर्ने संरा अमेरिकी साम्राज्यवादीविरुद्ध भेनेजुयाली जनता देशभरि प्रदर्शन गर्दै छन् । भेनेजुयलामाथि संरा अमेरिकी सैन्य आक्रमणलाई विश्वका विभिन्न मुलुकले विरोध र निन्दा गरेका छन् । फ्रान्स, बेलायत, इटाली, भारत, कोलम्बिया, कोस्टारिका, स्वीजरलैन्ड, स्पेन, क्युवा, दक्षिण अफ्रिकालगायत देशमा भेनेजुयला राष्ट्रपति मादुरो दम्पती अपहरणको निन्दा गर्दै अविलम्ब फिर्ताको माग राखी प्रदर्शन भएका छन् ।
दक्षिण अमेरिका र क्यारिबियाली देशहरूलाई आफ्नो ‘करेसाबारी’ ठान्ने संरा अमेरिकाको मुनरो नीतिका कारण भेनेजुयलाको इतिहासमा बारम्बार संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेप भइरह्यो । अमेरिकी महादेशबाट युरोपेली उपनिवेशवादीहरूलाई फिर्ता पठाउने सिलसिलामा संरा अमेरिकाका पाँचौँ राष्ट्रपति जेम्स मुनरोले सन् १८२३ मा ‘अमेरिका अमेरिकीहरूको मात्र हो’ भन्दै त्यस क्षेत्रमा आफ्नो साम्राज्यवादी नीति फैलाए । त्यही नीतिलाई मुनरो नीति भनिन्छ । दक्षिण अमेरिकी स्वाधीनता आन्दोलनका नेता सिमोन बोलिभार (भेनेजुयला) ले संरा अमेरिकाको सो नीतिलाई अस्वीकार गर्दै साम्राज्यवादविरुद्ध सङ्घर्ष सुरु गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को हालै भएको बैठकमा फ्रान्स, रुस, चीनलगायत देशले राष्ट्रपति मादुरो दम्पतीको अपहरणको निन्दा गर्दै तत्काल फिर्ता गर्न जोड दिए । ठीक यही समयमा ट्रम्प प्रशासनका विदेश मन्त्री मार्को रुवियोले संयुक्त राष्ट्र सङ्घको भनाइबारे आफूलाई चासो नभएको ठाडो अहङ्कार देखाए । ट्रम्प प्रशासनले मेक्सिको, कोलोम्बिया, डेनमार्क (ग्रीनल्याड), क्युवालगायत देशहरूलाई पनि आक्रमणको धम्की दिँदै छ । यसअघि क्यानाडालाई पनि संरा अमेरिकाको एकाउन्न राज्य बनाउने धम्की दिएको थियो ।
सन् १९९८ मा पहिलो पटक राष्ट्रपति निर्वाचित समाजवादी नेता ह्युगो चाभेजको सरकारले संरा अमेरिकी कम्पनीहरूलाई समेत हटाउँदै बोलिभारियाली समाजवादी क्रान्तिकारी प्रक्रिया थालनी गर्नुभयो । चाभेजले अमेरिकी साम्राज्यवादी नीतिबाट पीडित ल्याटिन अमेरिकी देशहरूको एकताको लागि अल्बा–टिसिपी र सेलाकजस्ता क्षेत्रीय सङ्गठनहरू निर्माण गर्नुभयो । संरा अमेरिकी साम्राज्यवादले भेनेजुयलाको अर्थतन्त्र तहसनहस पार्न सन् २०११ देखि आर्थिक प्रतिबन्धहरू लगाएको हो ।
सन् २०१३ मार्च ५ का दिन क्यान्सरका कारण लोकप्रिय नेता चाभेजको अल्पायुमै निधन भयो र उहाँका उत्तराधिकारी अर्का समाजवादी नेता निकोलस मादुरोले भेनेजुयलाको सरकार सम्हाल्नुभयो । सन् २०१३, २०१८ र २०२४ को निर्वाचनमा अत्यधिक बहुमतसहित राष्ट्रपति निर्वाचित भएका मादुरोले बोलिभारियाली समाजवादी प्रक्रियालाई निरन्तरता दिनुभयो । तर, मादुरोको समाजवादी विकासमा पनि संरा अमेरिकी साम्राज्यवाद र भेनेजुयलाकै दक्षिणपन्थीहरूले अवरोध गरे ।
सन् २०१८ मा संरा अमेरिकी ट्रम्प प्रशासनले भेनेजुयलाको संसद्का विपक्षी नेता ह्वाँ ग्वाइडोलाई सडकबाटै राष्ट्रपति घोषणा गर्न सघायो । सन् २०२४ को निर्वाचनमा हार हुने स्पष्ट भएपछि भेनेजुयलाका दक्षिणपन्थीहरूले संरा अमेरिकी सरकारको उक्साहटमा धाँधली भएको झूटो आरोप लगाए र तिनीहरू मतगणनाबाट बाहिरिए । त्यहाँको संवैधानिक अदालतले मादुरो राष्ट्रपति पदमा पुनः निर्वाचित भएको घोषणा ग¥यो । संरा अमेरिकी साम्राज्यवादले मादुरोमाथि अमेरिकामा लागुपदार्थ तस्करी गरेको आरोप लगाउँदै युद्धको धम्की दियो र जनवरी ३ का दिन राति ट्रम्प प्रशासनले सैनिक आक्रमण गरी भेनेजुयाली राष्ट्रपति मादुरो दम्पतीलाई बलपूर्वक अपहरण ग¥यो ।
ट्रम्प प्रशासनको यो कदमविरुद्ध नेपाल मजदुर किसान पार्टीले पुस २० गते आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति मादुरो दम्पतीको अपहरणको विरोध ग¥यो र उहाँहरूको सकुशल फिर्ताको माग ग¥यो । भेनेजुयाली जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा विश्वका जनतासँगै नेपाली जनताको तर्फबाट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घ ऐक्यबद्धता व्यक्त गर्दछ ।
ट्रम्प प्रशासनलाई भेनेजुयाली जनताको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना तथा संयुक्त राष्ट्र सङ्घको बडापत्रको कदर गर्न हामी आह्वान गर्दछौँ । साम्राज्यवादविरोधी सङ्घर्षमा संसारका न्यायप्रेमी जनतासँगै सम्पूर्ण नेपाली जनतालाई हामी एक हुन अनुरोध गर्दछौँ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ
नेपाल क्रान्तिकारी युवा सङ्घ
२०८२ पुस २५, शुक्रबार
Leave a Reply