भर्खरै :

“देशको सम्पदा र स्थानको जानकारी हुनेगरी भूगोल सिकाउनु र चिनाउनुपर्छ”

“देशको सम्पदा र स्थानको जानकारी हुनेगरी भूगोल सिकाउनु र चिनाउनुपर्छ”

भक्तपुर, २६ पुस । बाल विकास सेकेन्डरी स्कूलको ३८ औँ वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
समारोहमा अध्यक्ष बिजुक्छेँले अभिभावकहरूले आफ्ना सन्तानहरूलाई विदेशमा गएर विदेशीको सेवा गर्ने नभई स्वदेशमै आएर देश र जनताको सेवा गर्नुपर्ने कुरा सिकाउनुपर्छ भन्नुभयो ।
उहाँले शिक्षक शिक्षिकाहरूले पाठ्यक्रममात्र पढाएर नपुग्ने र देश विदेशको राजनीतिक स्थितिबारे नयाँ पुस्तालाई जानकार बनाउनुपर्ने र देशको सम्पदा र स्थानको जानकारी हुनेगरी भूगोल सिकाउनु र चिनाउनुपर्छ भन्नुभयो ।
उहाँले विदेशमा पढ्दैमा कोही योग्य र सक्षम नहुने धारणा राख्दै विदेशमा पढेर आएकाहरू मन्त्री र उच्च पदमा पुग्दा देश र देशवासीको नोक्सान हुने निर्णय वा सम्झौता भएका कैयन् उदाहरण छन् भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले विश्वका सार्वभौम देशहरूमाथि हमला गर्ने अमेरिकी साम्राज्यवादको नेपाली जनताले पनि विरोध गर्नुपर्ने बताउनुभयो ।
समारोहमा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैजूले नेपालको शिक्षा व्यवस्था राम्रो हुन नसक्नुमा गलत राजनीतिक व्यवस्था र भ्रष्टाचार कारक रहेको बताउनुभयो ।
उहाँले अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी प्रशासन अहिलेजस्तै अगाडि बढेमा साम्राज्यवादी युद्ध दक्षिण एसिया र नेपालमै आइपुग्न बेर छैन भन्नुभयो ।
उहाँले विदेशी सहायता अझ अमेरिकी डलर सहायता लिएपछि त्यसको मूल्य तिर्न कठिन हुने विश्व घटनाक्रमले देखाइरहेको छ भन्दै विदेशी सहायताले सञ्चालित व्यक्ति, संस्था र पार्टीसँग नेपाली जनता सजग रहनुपर्ने बताउनुभयो ।
उहाँले आजका विद्यार्थीहरूलाई नयाँ विधि र प्रविधिका साथमा हाम्रो मौलिक प्रकृति, संस्कृति, समाज, इतिहास आदिको पनि ज्ञान दिनुपर्ने औँल्याउनुभयो ।
काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा.डा. ली सोङ छङले नेपालका विद्यार्थीमा चिनियाँ भाषा र संस्कृतिप्रतिको आकर्षण र सिकाइ निकै उत्साहप्रद रहेको र यसले दुई देश र दुई समाजबिचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभयो ।
उहाँले आफ्नो संस्थाको प्रत्यक्ष परोक्ष सहयोगमा ७० हजारभन्दा बढीले चिनियाँ भाषा सिकिरहेको र बाल विकास स्कूल नमुना सिकाइ केन्द्र जत्तिकै भएको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालय समावेशी शिक्षा विभाग प्रमुख तथा ईसीडी तथा व्यावसायिक अध्ययनविज्ञ प्रा. वासु सुवेदीले शिक्षाले सीप, संस्कार, जीवन र जीविका दिनुपर्छ भन्दै बालमैत्री अवधारणाअनुसार बालबालिकासित व्यवहार गर्नु र अध्यापन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीले प्राप्त गर्ने ग्रेडमा भन्दा उसको सिकाइ र चारित्रिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
समारोहमा बालमनोविज्ञ प्रियङ्का चौगुठीले बालबालिकाको व्यवहार समस्या नभई भावना सञ्चारको माध्यम भएको बताउँदै त्यसैलाई बुझेर शिक्षक र अभिभावकले व्यवहार गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले बाल विकास स्कूलले निरन्तर उन्नत बालमैत्री शिक्षण विधि र बाल मनोविज्ञानअनुसार शिक्षा प्रदान गर्ने कोसिस गरिरहेको बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई आत्मकेन्द्रित र स्वार्थी बन्ने नभई मिलनसार र सहयोगी बन्ने शिक्षा दिनु आवश्यक छ भन्नुभयो ।
समारोहमा विद्यालयकी शिक्षिका सीता प्रजापतिले प्रगति प्रतिवेदन पेस गर्नुभयो भने कक्षा १ देखि ४ सम्मका कोअर्डिनेटर शिक्षिका बिना कर्माचार्यले स्वागत मन्तव्य राख्नुभयो ।
समारोहमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले विभिन्न आकर्षक गीत, नृत्य, नाटक तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *