भर्खरै :

भ्रष्टाचारी र देशद्रोहीहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने

भ्रष्टाचारी र देशद्रोहीहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने

भक्तपुर, २६ पुस । भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिहरूको समसामयिक विषयमा भक्तपुर नगरमा कार्यरत स्थानीय पथ प्रदर्शकहरूबिच छलफल तथा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देश र जनताको राजनीति निःस्वार्थ सेवाको निम्ति हुनुपर्छ भन्नुभयो ।
व्यक्तिगत लाभको निम्ति पार्टीमा लाग्ने र लोभलालच भएका व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउने गलत प्रवृत्तिले नै देशको राजनीति दुषित भइरहेको बताउँदै उहाँले राजनैतिक पार्टीहरूको अकर्मण्यताकै कारण देशको ऋण २८ खर्ब पुगेको बताउनुभयो । देशको ब्याज तिर्न थप ऋण लिनुपर्ने बाध्यताले देशमा विदेशी चलखेल बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेमकिपाले देशमा भ्रष्टाचार र देशलाई ऋणमा डुबाउने नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, भ्रष्टाचारी र देशद्रोहीहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
ठुला पार्टीहरूले चुनावमा पैसा बाँडेर, भोजभतेर गरेर चुनाव जिती सरकारमा गई भ्रष्टाचार र देशद्रोही सन्धि सम्झौता गरेकाले नेपाली जनताले थप दुखः कष्ट भोग्नुपरेको उहाँले बताउनुभयो ।
उहाँले पथप्रदर्शकहरूले कला, संस्कृति र इतिहासका साथै समाज विकासमा आफ्नो जीवन समर्पण गर्ने गौतम बुद्धजस्ता दार्शनिकहरूको जीवनी अध्ययन गर्न जोड दिँदै गौतम बुद्धले दरबारीया सुख सुविधा परित्याग गरेर मानव जातिको हितको लागि बुद्ध दर्शनबाट समाजमा नैतिक शिक्षा प्रदान गर्नुभएको बताउनुभयो । त्यस्तै माक्र्स र एङ्गेल्सजस्ता दार्शनिकहरूले आफ्नो भन्दा पनि समाज विकास एवम् जनताको हकहितका लागि जीवनभर सङ्घर्ष गर्नुभएको स्मरण गराउँदै उहाँहरूको सिद्धान्त र दर्शनबारे अध्ययन गर्नुपर्ने बताउनुभयो ।
विदेशीहरू सहयोगका नाममा नेपाल प्रवेश गरी हाम्रो स्रोत र साधनमाथि आँखा गाड्ने उल्लेख गर्दै उहाँले नेपाल सिध्याउन नेपालीलाई नै प्रयोग गर्न विदेशीहरूले षड्यन्त्र गर्नसक्नेबारे सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले समाजवादी क्रान्तिका नायक ह्युगो चाभेजले भेनेजुयलामा रहेका खनिज साधन उत्खनन् तथा प्रशोधन गर्ने अमेरिकी कम्पनीहरूको राष्ट्रियकरण गरेको कारण भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाएर दुःख दिएको हो । त्यहाँको तेल तथा महत्वपूर्ण खनिज साधन प्रयोग गर्न नै सार्वभौम राष्ट्र भेनेजुयलाका राष्ट्रपतिलाई आतङ्ककारी शैलीमा अपहरण गरिएको हो । सार्वभौम देशमाथि गरिएको अन्तर्राष्ट्रिय कानुनविपरीतको उक्त कार्यको अमेरिका, फ्रान्स, बेलायत, इटाली, भारत, कोलम्बिया, स्विजरल्यान्ड, स्पेन, क्युवा, दक्षिण अफ्रिकालगायत विश्वमै विरोध भइरहेका छन् । हामीले पनि भेनेजुयाली जनताको पक्षमा अमेरिकी साम्राज्यवादको विरोध गरिरहेका छौँ ।
भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले स्थानीय पथ प्रदर्शकहरू विश्वका जुनसुकै देशबाट भक्तपुर घुम्न आउने पर्यटकहरूसँग सीधा सम्पर्क हुने हुनाले कुनै एनजीओ र आईएनजीओबाट परिचालित हुन नहुने र आफ्नो आचरणमा ध्यान दिनुपर्नेमा सतर्क गर्नुभयो । उहाँले भक्तपुरका स्थानीय पथ प्रदर्शकहरू अन्य पर्यटकीय क्षत्रका भन्दा अझ बढी सभ्य र अनुशासित भई भक्तपुरको छवि राम्रो बनाउनेतर्फ जोड दिनुभयो । उहाँले पर्यटकको रूपमा देश कब्जा गर्न आउने विदेशी सैनिकहरूबाट सचेत हुनुपर्ने र हाम्रो गुह्य कुरा केही आर्थिक लोभमा बताउन नहुने बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले पर्यटन क्षेत्रको विकासका लागि आर्थिक लाभभन्दा पनि पथ प्रदर्शकहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्ट पार्दै आफ्नो ज्ञान र सीप प्रयोग गर्न जोड दिनुुभयो ।
कार्यक्रममा पर्यटक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक अजित ठाकुरले पथ प्रदर्शन कार्यमा पथ प्रदर्शकको दायित्वबोध गराउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेले र भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका सदस्य मुरज दिदियाले पनि पथ प्रदर्शकहरूको काम र जिम्मेवारीबारे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *