ट्रम्प आफै बोक्सी आफै धामी
- माघ ५, २०८२
अरू मुलुकमा झैँ नेपालमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू भित्रिरहेका छन् । गैरसरकारी संस्थाले राष्ट्रिय बजेटबाट जनताको ध्यान एवं सङ्घर्षलाई अन्तै मोडेको हुन्छ । यी संस्थाहरूले जनताका सेवा र समूहलाई ‘राजनीति’बाट टाढा राख्ने प्रयास गर्छन् । यसका लागि दलका नेता तथा कार्यकर्तालाई उनीहरूले हातमा लिन्थे । राजनीतिको नाउँमा देश र जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थमा पल्कने नेता तथा कार्यकर्ताहरू नै गैरसरकारी संस्थामा केन्द्रित भइरहेको घामझैँ छर्लङ्ग छ । विशेषतः गैरसरकारी संस्थामा ठुलठुला दल एमाले र काङ्ग्रेसका नेता कार्यकर्ता निरन्तर खटिरहेका छन् । गैरसरकारी संस्थाका सञ्चालकहरूलाई देशमा अनियमितता, बेथिति, भ्रष्टाचार भए पनि मतलब हुँदैन । तिनीहरूको कार्यक्रम स्थानीय जनताप्रति उत्तरदायी हुँदैन ।
समुदायको सेवा, सार्वजनिक भावना र समुदायसँग भिजेर काम गर्ने विचारबाट उनीहरू टाढा हुन्छन् । अझ बढी निजी स्वेच्छाको गतिविधि र गैरसरकारी सस्थाहरूको सिद्धान्तले सार्वजनिक भावनालाई छिन्नभिन्न पार्छ । आफ्ना नागरिकहरूलाई हेरचाह गर्ने तथा तिनीहरूलाई जीवन, स्वतन्त्रता तथा सुख प्राप्ति गराउने राज्यको दायित्व भुलेर आएको रकममा रजाइँ गर्न उनीहरू लाग्छन् । विकास र तालिमको नाउँमा आउने गैरसकारी संस्थाको रकम समाजमा पत्याउने ढङ्गले छरेर अरू सबै झ्वाम पार्ने काम हुन्छ । गैरसरकारी संस्थाको नाउँमा आउने कति विदेशी दलालहरू गाउँ समाजमा घुलेर यहाँको राजनीति बुझ्छन्† यहाँको कमी कमजोरी बुझेर समाज भड्काउने, अन्तरकलह गराउने काममा लाग्छन् । भदौ २३ र २४ गते भएको आन्दोलनमा गैरसरकारी संस्थामा बसेर काम गरेका युवाहरू पनि लागेका थिए । यसकारण, विकास र सहयोगको नाउँमा गैरसरकारी संस्थालाई विभिन्न गाउँ र नगरमा स्थानीय तहको स्वीकृतिबिना छिराउनु हुँदैन ।
कुन गैरसरकारी संस्थाले कहाँ के काम गरिरहेको छ ? स्थानीय तहलाई थाहा हुँदैन । कुन देशबाट कुन योजनाको निम्ति कहाँ कति रकम पठाइएको हो ? केही थाहा हुँदैन । त्यसको अनुगमन पनि हुँदैन । विकास र सहयोगको नाउँमा आएको रकम सबै सदुपयोग भएको छ छैन, त्यो पनि थाहा हुँदैन । दुई–चार जना व्यक्ति गाउँ ठाउँ, स्कूल या सङ्घ संस्थामा छिरेर दुई चार जना व्यक्तिसँग सम्पर्क गरेर झन्डै गोप्य ढङ्गले काम भएको हुन्छ । सार्वजनिक दायित्वको दृष्टिकोणविपरीत हुने यस्ता कार्यमा दलका नेता, कार्यकर्ता मात्र होइन सांसदहरूसमेत फसेका बग्रेल्ती दृष्टान्तहरू छन् । संसद् बैठक छोडेर गैरसरकारी संस्थामा लागेर अकुत सम्पत्ति कुम्ल्याउन लागेको एक समय संसद्मै चर्चाको विषय बनेको थियो । विकास र सहयोगको नाउँमा नेता र कार्यकर्ताको मन बिगार्ने, पैसामा फसाउने र गुप्तचर खेलाउने माध्यम बनेका छन् –गैरसरकारी सङ्घ–संस्थाहरू ।
गैरसरकारी संस्थाले स–साना आयोजना र तालिममा जोड दिन्छन् । तर, न आयोजना पूरा हुन्छ न तालिम नै भरपर्दो हुन्छ । तिनीहरू जनताको दैनिक जीवनलाई आधारभूत अवस्थामा आकार दिने काम गर्दैनन् । गैरसरकारी संस्थाहरू जनताको काम, जनताको सेवा, सशक्तीकरण, लैङ्गिक समानता, दिगो विकास, तलदेखि माथिसम्मको नेतृत्व जस्ता मिठा र आकर्षक शब्द जोडेर गाउँ–ठाउँ पस्छन्, आर्थिक लोभ देखाउँछन् र स–साना काम गरेर ठुलै काम गरेको देखाउँछन् । तर, त्यहाँ धेरै आर्थिक चुहावट भएको कसैले चालै पाउँदैनन् ।
गरिब, महिला तथा वर्गीय रूपले पछाडि परेका जनताको सेवा गर्ने भनी लोभलाग्दो कुरा गरेर उनीहरू जनसङ्ख्याको सानो भागलाई प्रभाव पार्ने प्रयास गर्छन् । उनीहरू समुदायका जनतालाई भड्काउन भेदलाई उठाउँछन् र वर्गीय ऐक्यबद्धतालाई भाँड्छन् । गैरसरकारी संस्थाहरूको बनोट र प्रवृत्तिले गरिबलाई गैर राजनीतीकरण एवं असङ्गठित बाटोतर्फ धकेल्नेतर्फ प्रयास गर्छ । उनीहरू समाज व्यवस्थाको बाहिरी कुरामात्र गरेर त्यसको भित्री तहमा गएका हुँदैनन् । उनीहरू ऐक्यबद्धता देखावा गरेर सामाजिक मेलमिलापको मकुन्डो लगाएर रूढीवादी एकरूपता ल्याउने राजनीतिक संसार निर्माण गर्न जुटेका हुन्छन् । यसबारे कुनै पनि सरकार सचेत र सतर्क भएनन् । नपाउनेले केरा पायो बोक्रासमेत खायो भनेझैँ उनीहरू लोभमा फसाएर आफ्नो आजु पूरा गरेको ठान्छन् । देशमा बेथिति बढेको, विदेशी चलखेल बढेको र घुसेर गोप्य कुरा चुहेको सरकारलाई मतलब हुँदैन । त्यसैको परिणाम देशमा अराजकता बढ्छ र देशमा अस्थिर राजनीति हुन्छ ।
Leave a Reply