भर्खरै :

समाज बदल्न प्रतिबद्ध बौद्धिक व्यक्तित्वहरूको अथक प्रयास आवश्यक : अध्यक्ष बिजुक्छेँ

समाज बदल्न प्रतिबद्ध बौद्धिक व्यक्तित्वहरूको अथक प्रयास आवश्यक : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २७ असोज । समाज परिवर्तन गर्न कुनै एक व्यक्तिको व्यक्तित्व विकास गर्नुभन्दा कठिन हुने भएकोले प्रतिबद्ध र समर्पित व्यक्तिहरूको समूहको निरन्तर प्रयास आवश्यक हुने विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्त गर्नुभएको छ ।
वर्तमान परिप्रेक्ष्यमा बौद्धिक व्यक्तित्वहरूको भूमिकाबारे मङ्गलबार आयोजित भेलामा अध्यक्ष बिजुक्छेँले बौद्धिक व्यक्तित्वहरूले आफ्नो ज्ञान समाजको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो । दुष्ट प्रवृत्तिका व्यक्तिहरूले गर्ने षड्यन्त्र र धोखाका कारण पनि समाज अघि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले समाजमा परिवर्तन ल्याउन समर्पित बौद्धिक व्यक्तित्वहरूको खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले विगतमा बौद्धिक व्यक्तित्वहरूले तत्कालीन समाजका ठालुहरूको भनाइलाई नै सही मानेर टाउको हल्लाइरहेको भए पृथ्वी अहिलेसम्म पनि चेप्टो नै हुन्थ्यो भन्नुभयो । सत्तामा रहेकाहरूको भनाइलाई मात्र सही मानेको भए कम्युनिस्ट घोषणापत्रसमेत लेखिने थिएन भन्दै उहाँले अहिले नेपालमा बुद्धिजीवीहरूमाझ ठूलो समस्या देखिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । बुद्धि सबैसँग हुने भए पनि समाज परिवर्तनका लागि ज्ञान आवश्यक पर्ने उहाँको भनाइ थियो ।
प्राध्यापक समाजका प्रकाश श्रेष्ठले समाज परिवर्तनका लागि आलोचनात्मक चेत आवश्यक रहेको बताउँदै दोस्रो विश्वयुद्धपछि जर्मनीमा विकसित फ्रान्कफर्ट विचारधाराको महत्वबारे चर्चा गर्नुभयो ।
नर्सिङ कलेजकी अध्यापिका देवीका दनेखुले तीव्रगतिमा परिवर्तन भइरहेको समाजलाई बुझ्न आफ्नो विषयको मात्र ज्ञाता भएर नपुग्ने बताउनुभयो । समाजका विविध पक्ष र विषयका बौद्धिक व्यक्तित्वहरू एकै स्थानमा बसेर समाजको हितमा कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ख्वप अस्पतालका निर्देशक तथा चिकित्सक समाजका अध्यक्ष डा. मजेशप्रताप मल्लले चिकित्सा पेसामा आबद्ध व्यक्तिहरू पनि बुद्धिजीवी नै भएको उल्लेख गर्नुभयो । तर, अहिलेको परिवेशमा उनीहरू देश र समाजको हितभन्दा अर्थाेपार्जनमा बढी तल्लीन हुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै कार्यक्रम संयोजन गर्ने योगेन्द्रमान बिजुक्छेँले वर्तमान राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, भूराजनीतिक तथा विश्व परिवेशमा व्यापक उतारचढाव आइरहेको बताउनुभयो । उहाँले इटालियन माक्र्सवादी चिन्तक ग्राम्सीले चर्चा गरेझैँ परम्परागत बुद्धिजीवीभन्दा समाजलाई बुझ्न र परिवर्तन गर्न सक्ने जैविक (अर्गानिक) बुद्धिजीवीको आवश्यकता रहेको बताउनुभयो । विभिन्न पेसामा आबद्ध बौद्धिक व्यक्तित्वहरू साझा चौतारीमा बसेर समाजका विसङ्गति र सत्ताको मनोमानीलाई चुनौती दिन अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले योगेन्द्रमान बिजुक्छेँको अध्यक्षतामा २० सदस्यीय एक बौद्धिक समाजको घोषणा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन डा. सबिन ख्याजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *