भर्खरै :

खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्छ ?

खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्छ ?

वडाध्यक्षको डायरीबाट
दोस्रो प्रहर चलिरहेको थियो । वडा कार्यालयमा खासै सेवाग्राहीहरू थिएनन् । त्यसैले म भक्तपुर नगरपालिकाले निरन्तर मासिक रूपमा प्रकाशन गर्दै आएको ‘भक्तपुर’ मासिक पत्रिका अध्ययन गर्दै थिएँ । त्यही समयमा एक जना परिचित किसान साथी आउनुभयो । उहाँको नाम रामभक्त सुवाल (नाम परिवर्तित) हो । उहाँ नियमितरूपमै वडा कार्यालयमा आउनुहुन्थ्यो । एक हिसाबले उहाँ अग्रज कार्यकर्ता र वडा कार्यालयको कार्यमा सहयोगी साथी नै हुनुहुन्थ्यो । उहाँ आउने बित्तिकै मैले पत्रिका पढ्न छोडेर उहाँलाई सोफामा बस्न अनुरोध गरेँ । त्यसपछि वडा कार्यालयमा आउनुको प्रयोजन सोधेँ । आज उहाँको अनुहार पहिले वडा कार्यालयमा आउँदाखेरि जस्तो थिएन । अरू बेला हँसिलो अनुहार लिएर आउने किसान दाइ आज रिसाएर आउनुभएको थियो । उहाँ गम्भीर मुद्रामा हुनुहुन्थ्यो । उहाँ एकछिन नबोलिकन बसिरहनुभयो । मैले आफूबाट केही गल्ती भयो कि भनेर प्रतिप्रश्न गरेँ । तर पनि उहाँ नबोलिकन बसिरहनुभयो । मलाई मनमा कस्तो कस्तो लाग्यो । मैले सानो स्वरमा दाइलाई फेरि वडा कार्यालय आउनुको प्रयोजन सोधेँ र कार्यालय सहयोगीलाई चियाको लागि अनुरोध गरेँ ।
केहि बेरपछि उहाँले रिसाएर भन्नुभयो, “जनताबाट जितेको वडाध्यक्षले पनि भ्रष्टाचार गर्दो रहेछ । यो त पक्कै मिलेन । यो त पार्टी नीति र नगरपालिकाको नीतिविपरीत भयो । यसरी घुस खाएर पनि काम गर्ने हो ? जनताले भोट हालेर जिताएको यसरी घुस खानलाई हो र ? अझ घुसको रूपमा एक आना जग्गा लिनु भनेको पनि हुन्छ र ? यसरी घुस खाएर सिफारिस दिन कहाँ पाइन्छ ? त्यही भएर म वडामा भन्न आएको हुँ ।”
उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो । मैले प्रतिप्रश्न गर्दै उहाँलाई सोधे, “को वडाध्यक्षले एक आना जग्गा घुस लियो । त्यस्तो वडाध्यक्षलाई त कारवाही गर्नुपर्दछ ।”
उहाँले रिसाएरै मलाई जवाफ दिनुभयो, “तिमीले खाएको हो । एक आना जग्गा घुस तिमीले लिएको हो । मेरो छिमेकी भाइ गजेन्द्र सुवाल (नाम परिवर्तित) सँग तिमीले एक आना जग्गा घुस बापत लिएको हो । उसको पर्सा जिल्लाको १३ रोपनी जग्गा नामसारीको क्रममा तिमीले एक आना जग्गा घुसको रूपमा तिमीले पास गरिलिएको होइन ? तिमीले यसरी घुस खाएर सिफारिस दिएपछि पार्टी र नगरपालिकाको बेइज्जत भएन ? तिमीलाई पार्टीको सिद्धान्त र नीति अनि नगरपालिकाको नीतिबारे अलिकति पनि हेक्का छैन ? जनताले त्यत्रो भोट दिएको यसरी घुस खानलाई हो ? पार्टीका अग्रजहरूले यसरी घुस खाएर सिफारिस दिन सिकाएको त होइन । वडाध्यक्ष भएर देश र जनताको पक्षमा इमानदार र नैतिकतामा रहेर काम गर्नलाई हो । अनि यसरी आफ्नो जिल्लाको जग्गा नहुँदैमा घुस खाएर काम गर्न पाइन्छ ?”
रामभक्त सुवाल दाइ इमानदार कार्यकर्ता हुन् । अहिले पनि उहाँ एक असल र सक्रिय कार्यकर्ता हुनुहुन्छ । म वडाध्यक्ष भएपछि उहाँबाट धेरै मार्गदर्शन र सहयोग पाएको छु । वडाका विभिन्न समस्या तथा नगरस्तरीय समस्यामा पनि उहाँबाट समय समयमा सल्लाह र सहयोग हुँदै आएको छ । आज उहाँबाटै म माथि भ्रष्टाचार र घुस लिएको आरोप लागिरहेको थियो । मेरो मन चिसो भयो । हुँदै नभएको आरोप लाग्दा मलाई कता कता नरमाइलो लाग्यो । रिस पनि उठ्यो । अर्कोतर्फ हाँसो पनि उठ््यो । मान्छेले कस्तो कस्तोसम्म आरोप लगाउँदो रहेछ । अनि एकछिनपछि म हाँसे पनि । उहाँको सङ्गीन आरोपले म निरासा भएँ । फेरि मनमनै आफैलाई भने, “खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्छ ? पार्टीले राजनीतिक कार्यकर्तालाई घुस खान होइन, देश र जनताको इमानदारीपूर्वक सेवा गर्न सिकाएको छ । राजनीतिक कार्यकर्ताको मुख्य उद्देश्य देश र जनताको निष्ठापूर्वक सेवा गर्नु हो । वडाध्यक्ष भएर घुस खान त परै जाओस्, व्यक्तिगतरूपमा धेरै आर्थिक घाटा भएको छ । तर पनि सेवा नै राजनीति भएकोले मनमा शान्ति र खुसी छ । यो नै प्रमुख कुरा हो ।”
मैले रामभक्त दाइलाई हाँस्दै प्रतिप्रश्न गरँे, “मैले एक आना जग्गा घुसको रूपमा पास गरेर लिएको भए पास गरिदिएको पास पुर्जी र पुर्जा पनि त होला नि । अनि अरु कुनै प्रमाण होला नि । घर बाटोको सिफारिसमा मेरो नाम होला । साछीहरू होलान् । कोही न कोही देख्ने व्यक्ति पक्कै होला । कुनै कागज होला । अहिले त मिडियाको जमाना छ । तपाई मिडियामा गएर बोल्नुस् । नगरपालिकामा गएर प्रमुखज्यूलाई गुनासो गर्नुस् । नभए सरकोरवाला ठाउँ वा व्यक्तिकहाँ गएर उजुरी गर्दा नि हुन्छ । नेपाल मजदुर किसान पार्टीबाट जितेको वडाध्यक्षले कुनै पनि परिस्थितिमा घुस लिँदैन । लिएको भए पार्टीबाट कारबाही गर्नुपर्दछ । नभए मलाई एक आना जग्गा घुस दिने गजेन्द्र सुवाल नै लिएर आउनुस । उहाँसँग मेरो अगाडि घुस लिएको भनी भन्ने आँट छ ?”
मलाई एक आना घुस दिएको भनी आरोप लगाउने गजेन्द्र सुवाल हो  । उहाँ केही महिना अगाडिमात्र वडामा सिफारिस लिन आउनुभएको थियो । उहाँको पर्सा जिल्लामा तेन्ह« रोपनी जग्गा थियो । ती सबै जग्गाको लालपुर्जा र नागरिकताको सक्कल प्रति नै हराएको हुँदा नयाँ लिनको निम्ति निवेदन दिनुभएको थियो । मैले पनि नयाँ नागरिकता र पुर्जा लिन सिफारिस दिएको थिएँ । त्यसको केही महिनापछि नगरकै एक सहकारीले बचतकर्ताको बचत रकम फिर्ता दिन नसकेको उजुरी वडा कार्यालयमा आएको थियो । त्यस सहकारीको सञ्चालक सदस्य गजेन्द्र सुवाल रहेछ । त्यस आधारमा उहाँलाई एक पटक वडामा आउँदा तपार्इँको पर्सा जिल्लाको सबै जग्गा किनबेच र अन्य आर्थिक कारोबार गर्न रोक्का गरिदिन्छु भनी भनेको थिएँ । त्यही कुरामा सायद उहाँ मसँग रिसाउनुभएको होला जस्तो लाग्छ । नत्र गजेन्द्रजीसँग त्यस्तो व्यक्तिगत दुश्मनी छैन । तर, मैले त्यही सहकारीका केही सञ्चालक सदस्यहरूको सम्पत्ति रोक्का राख्न नगरपालिकामा चिठी लेखी पठाएको थिएँ । त्यही भएर पनि उहाँ मसँग डराएको हुनुपर्दछ । तर पनि मैले गजेन्द्रजीको कुनै जग्गा रोक्काको लागि पठाएको थिएन । सम्भवतः त्यही कारणले उहाँले ममाथि घुस लिएको सङ्गीन आरोप लगाएको होला भनी अनुमान गरेँ । मैले रामभक्त सुवाल दाइलाई त्यही कुरा जानकारी गराएँ । तर, उहाँ मेरा कुरा मान्न तयार हुनुभएन । सायद उहाँलाई मेरो कुराभन्दा आफ्नै छिमेकी गजेन्द्रको धेरै विश्वास भएको हुनुपर्दछ । त्यसैले अन्तमा मैले उहाँलाई भनँे, “तपार्इँलाई मेरो कुरामा विश्वास भएन भने सम्बन्धित ठाउँमा गएर उजुरी दिनुहोला । म जवाफ दिन पक्कै आउँछु । अबदेखि प्रमाण पु¥याएर मात्र आरोप लगाउनुहोला । झूटो लान्छना लामो समयसम्म र पटक–पटक सुन्न गा¥हो हुन्छ । तपाईँ जस्तो सिनियर मानिसलाई कडा बोल्दा मेरो मन पनि मान्दैन । तर, बिनाप्रमाण भनेको भरमा आरोप लगाउन पाइँदैन । फेरि तपाइँ पनि नेमकिपाको कार्यकर्ता हुनुहुन्छ । म पनि नेमकिपाको कार्यकता हुँ । त्यही भएर पार्टी नीतिअनुसार हामीले आफूलाई खरोरूपमा उभ्याउनुपर्छ ।”
मलाई एक आना जग्गा खाएको कुरा रामभक्त दाइले मात्र होइन, एक जना जनप्रतिनिधिले पनि भनिसक्नुभएको थियो । त्यत्तिबेला म यस कुराले सिरियस थिइनँ । तर आज वडाको अग्रज कार्यकर्ता दाइले आरोप लगाएपछि म अलि सिरियस भएँ । केही बेर पछि रामभक्त दाइ प्रमाणसहित आउँछु भनेर जानुभयो । तर, उहाँ कहिल्यै वडामा प्रमाण लिएर आउनुभएन र वडामा अन्य काममा आउनु हुँदा त्यो विषयमा उहाँले केही बोल्नुभएन । मैले पनि केही बोल्नु उचित सम्झिनँ । सम्भवतः पछि उहाँले मैले घुस लिएको छैन भने भान परे होला जस्तो लाग्छ । त्यसबिचमा वडाको निर्वाचित समितिमा पनि जनप्रतिनिधि साथीहरूले एक आना जग्गा घुसको रूपमा मैले आफ्नो नाममा पास गरिलिएको विषयमा छलफल भयो । साथीहरूलाई आफूले घुस एक रूपैया पनि नलिएको सफाइ दिएँ । गजेन्द्र सुवालले पूर्वाग्रही ढङ्गले आफूमाथि घुसको आरोप लगाएको कुरा बताएँ । घुस खुवाउने व्यक्ति वडामा र नगरपालिकामा गएर भन्न नसक्ने अनि बाहिर बाहिर घुस खाएको प्रचार गर्ने मानिसहरू पनि हुँदारहेछन् । मैले एक आना जग्गा घुस नै लिएको भए पास गरेर लिएको पुर्जा त पक्कै होला । त्यो प्रमाणको रूपमा पेस गर्न सकिन्छ । नभए आजकल प्रविधिको जमानाको समयमा घुस मागेको आवास वा भिडियो सार्वजनिक गर्न पनि सकिन्छ । अरू पनि प्रमाण हुन सक्ला । तर मानिसलाई बिनाप्रमाण सनकको भरमा अनि आफूलाई सिफारिस नदिने भनेको भरमा मान्छेले घुस खाएको प्रचार गर्दा रहेछन् । कस्ता कस्ता मान्छे हुँदारहेछन् यो समाजमा । यस्ता मानिससँग सचेत हुनुबाहेक अरू उपाय नहुने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *