भर्खरै :

पुँजीवादी व्यवस्थाभित्र पसेर आमूल परिवर्तन असम्भव

पुँजीवादी व्यवस्थाभित्र पसेर आमूल परिवर्तन असम्भव

क्रान्तिकारी सिद्धान्त नभई क्रान्तिकारी आन्दोलन हुँदैन; क्रान्तिकारी आन्दोलन नभई आमूल परिवर्तन हुँदैन । माक्र्सवाद–लेनिनवादको सिद्धान्त अन्तर्राष्ट्रिय कामदारवर्गको आन्दोलनको अनुभवको सँगालो हो । यो सर्वहारा वर्गीय क्रान्तिको विज्ञान हो । यो विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ । यसकारण, माक्र्सवाद–लेनिनवादबारे गहिरो अध्ययन गर्नुपर्छ; क्रान्तिकारी सङ्गठन विस्तार गरेर देशका व्यापक जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । सिद्धान्त र विचारबाट च्युत कुनै पनि दलले आमूल परिवर्तनको बाटो खोज्दैन । भ्रष्टाचारको मात्र विरोध गरेर देशमा परिवर्तन सम्भव छैन । देशमा आमूल परिवर्तन गरेर व्यापक जनताको हितमा लाग्ने दल र दलका नेताहरू अवसरवादी हुँदैनन् । उनीहरू सिद्धान्त र विचारलाई ढाकछोप गरेर व्यक्तिगत स्वार्थमा भुल्दैनन् । आज देशमा सिद्धान्त र विचार प्रस्ट नभएका दलहरू पनि देखिएका छन् । दल खोल्न पाउनु राजनीतिक अधिकार हो । तर, दलको प्रस्ट सिद्धान्त र विचार हुनुपर्छ । त्यो दलको वर्गीय स्वार्थ के हो ? प्रस्ट हुनुपर्छ । त्यो दलले कुन वर्गका जनताको पक्ष लिन्छ ? त्यो थाहा हुनुपर्छ । कुनै दलले सामन्त, जमिनदार, पुँजीपतिवर्गको प्रतिनिधित्व गर्छ भने त्यसले व्यापक जनताको हित गर्दैन; हितको निम्ति ऐन कानुन बनाउँदैन ।
हरेक राजनीतिक दल राष्ट्र र व्यापक जनताको हितको निम्ति लाग्नुपर्छ । मानव जनताको मुक्ति र कामदार जनताको हितको निम्ति दल खोल्नुपर्छ । देश र समुदाय छोडेर व्यक्तिगत र दलगत स्वार्थमा लाग्ने दलले देशको अनुहार फेर्दैन । देशलाई कमाउने भाँडो बनाउने दलका नेताहरू कहिले पनि स्थिर हुँदैनन् । उनीहरू विचार फेर्दै, जनतालाई झुक्याउँदै अघि बढिरहेका हुन्छन् । निर्वाचन वैचारिक सङ्घर्ष गर्ने थलो हो; दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउने भरपर्दाे बाटो हो । यो बेला कुनै दलका नेता र उम्मेदवारलाई हिलो छ्यापेर हुनसम्मको गाली गरेर जनताको मत आफूतिर आकर्षित गर्ने होइन । निर्वाचनमा हल्ला गरेर जित्ने होइन; जनतासामु जनतालाई परेको समस्या समाधान गर्न अघि सर्ने, आवाज बुलन्द गर्ने दल र दलका उम्मेदवार चयन गर्नुपर्छ । कम्युनिस्टहरू दूरदर्शी हुन्छन् । सच्चा नेताहरू व्यक्तिवादी हुँदैनन् । उनीहरू अहङ्कारी हुँदैनन् । बरु उनीहरू आफ्नो लक्ष्य प्राप्त गर्न जनतामाझ गइरहन्छन्; जनतालाई सुसूचित पार्ने काम गरिरहन्छन् । उनीहरू एक समय, एक क्षण होइन जीवनको अन्तिम घडीसम्म जनतामाझ भिजिरहेका हुन्छन् । उनीहरू सिद्धान्तनिष्ठ हुन्छन्; जवाफदेही हुन्छन् । दृढ अडानका साथ उनीहरू सिद्धान्तभन्दा बाहिर हाम फाल्दैनन् ।
देशमा स्थापना भएका सबै दलहरू यसरी नै अघि बढ्नुपर्ने हो । तर, आफूलाई ठुला, कम्युनिस्ट भनिएका दलका नेताहरू सरकारको नेतृत्व गर्न, सरकारमा जान सिद्धान्त र विचार छोड्छन्; भागबन्डामा सामेल भएर विचारलाई बन्धक राख्छन् । आफू सरकारमा जान या नेतृत्व गर्न शत्रु र मित्र भन्दैनन्† दूरदर्शी कुरा सोच्दैनन् । यही कारण सत्तासीन दलले देशमा खासै राम्रो काम गर्न नसकेको हो । सबै खालका शोषण, थिचोमिचो अन्त्य गर्न अघि सर्नुपर्ने दलका नेताहरू भ्रष्टाचार, अनियमितता, बेथितिमा फसेपछि देशमा कसरी सुशासन हुन्छ ? कम्युनिस्टहरू सङ्गठित र अनुशासित पार्टीको निर्माण गर्न समाजमा रहेका सडेगलेका भ्रष्टाचारीहरूलाई बढार्नेतर्फ लाग्नुपर्छ । कामदार वर्गीय भावनाको विकास गरी भ्रष्टाचारको दुर्गन्धविरुद्ध सङ्घर्ष गर्नुपर्छ । शोषितपीडित जनताको प्रतिनिधित्व गर्ने दलको खाँचो हुन्छ । कुनै पनि दलले सत्तामा गएपछि एकथरीको सिद्धान्त र विचार तथा सरकारमा नभएपछि अर्काे थरीको सिद्धान्त र विचार आत्मसात गर्दैन ।
सरकारमा पुगेका कम्युनिस्ट भनिने दलका नेताहरूले क्रान्तिकारी बाटो भुले† सत्ता राजनीतिमा भुले । सरकारको नेतृत्व गर्न पाएपछि क्रान्तिकारी विचार छोडेर दलगत र व्यक्तिगत स्वार्थ खोज्ने दलका नेताहरू कसरी सच्चा कम्युनिस्ट हुन्छन् ? क्रान्तिकारी हुन्छन् ? विदेशी इसारामा चल्ने, बस्ने, दास मानसिकताले काम गर्ने, पतित, भ्रष्ट, घमण्डी र नोकरशाही व्यवहार गर्ने दलका नेताहरूको भरमा देशमा न परिवर्तन हुन्छ न त विज्ञान र प्रविधि तथा विकासको उचाइमा पुग्छ । प्रत्येक कम्युनिस्टहरू कठिन र कष्ट साध्य जीवन पार गर्दै अघि बढ्छन् । आफ्नो सैद्धान्तिक तथा देश विदेशका आन्दोलनको अध्ययन गरेर उनीहरू आफ्नो विचारलाई तिखार्ने काम गर्छन् । परिवर्तनको निम्ति लाग्ने नेता कार्यकर्ताहरू निरास हुँदैनन्; काम गर्न थाक्दैनन् । उनीहरू प्रतिक्रान्तिकारी, सामन्त, पुँजीपति, जमिनदार, जालीफटाहाविरुद्ध लडी समाजको संरचना फेर्नेतर्फ निरन्तर अघि बढिरहन्छन् । उनीहरू क्रान्तिकारी गुण र क्षमता बढाउँदै समाजलाई साँचोमा ढाल्ने अठोट गर्छन् ।
कामदार जनताको पक्षमा सङ्घर्ष गर्ने राजनीतिक दलहरू आफ्नो देशको मुक्तिको निम्ति मात्र होइन थिचोमिचोमा परेका राष्ट्र र मानव जातिको मुक्तिको निम्ति निरन्तर लागिरहन्छन् । उनीहरू देश र जनता छोडेर कहिले पनि व्यक्तिगत स्वार्थमा भुल्दैनन् । वास्तवमा देशका बहुमत जनताको मुक्ति भएपछि नै मानव जातिको मुक्ति हुन्छ । प्रश्न उठ्छ, पुँजीवादी व्यवस्थामा पसेर कसरी आमूल परिवर्तन हुन्छ ? तर, विडम्बना ¤ तिनीहरू पुँजीवादी व्यवस्थाभित्र पसेर आमूल परिवर्तन गर्ने सपना बाँड्छन् । देशका ठुला भनिने कम्युनिस्ट पार्टीहरूको यही कमजोरी हो ।
देशका शासकहरू देशमा बढ्दै गएको विदेशी चलखेलबारे किन चिन्ता व्यक्त गर्दैनन् ? आर्थिक सहयोग र विकासको नाउँमा देशमा विदेशी चलखेल बढ्नु राम्रो सङ्केत होइन । नेपाली भूमिमा विदेशीहरूको चलखेल र परेडले देशमा शान्ति भड्किन्छ या अशान्ति फैलिन्छ । देशमा भड्काउने, जनता–जनताबिच असामञ्जस्य फैलाउने र शक्तिलाई सही ठान्ने दलका नेताहरू देश र जनताबारे किन चिन्ता लिँदैनन् ? शासक दलका नेताहरू जिम्मेवार नहुँदा, देश र जनताप्रति समर्पित नहुँदा देश र जनताले धेरै हण्डर खाइसकेका छन् । तर पनि सत्तासीन दलका नेताहरू चेतिएनन्; बिउँझिएनन् । फस्वरूप देशमा अन्योल छाएको छ; देशलाई कसले कहाँ पु¥याउने हो कुनै निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *