भर्खरै :

अल्गोरिदमले चम्किएका लोकप्रियतावादी नेता : यथास्थितिवादकै पक्षपोषक

  • माघ २३, २०८२
  • रीता बरामु
  • विचार
अल्गोरिदमले चम्किएका लोकप्रियतावादी नेता : यथास्थितिवादकै पक्षपोषक

सन् २०२३ मा ९ महिनासम्म टिकटक प्रतिबन्ध गरी नियमनको दायरामा ल्याएको सरकारले २०२५ मा पुनः फेसबुक, ह्वाट्सएपजस्ता करिब २६ प्लेटफर्मलाई सूचिकृत नगरुन्जेल निष्क्रिय गर्दा सत्ता नै पल्टिने परिस्थिति बन्यो । यसले डिजिटल प्रविधिको पहुँच, प्रभाव र शक्ति कति छ भन्ने कुरा प्रस्ट पार्छ ।
डिजिटल प्लेटफर्मको यही शक्ति टेक्नो–पपुलिजम् अर्थात् डिजिटल लोकप्रियतावाद मौलाउन प्रयोग हुँदै आएको देखिन्छ । सञ्चारका लागि इन्टरनेट र प्रविधिको प्रयोग बढिरहँदा यो अझै व्यापक हुन्छ ।
डिजिटल लोकप्रियतावाद
लोकप्रियतावाद व्यक्तिकेन्द्रित, बौद्धिक सोचविरोधी र समतामूलक राजनीतिविरोधी हुन्छ । यसले कुनै शत्रुको परिकल्पना गरेर त्यसको खिलाफमा आफ्नो प्रचार अगाडि बढाउँछ । यो कुनै राजनीतिक विचारधारा नभई सस्तो तरिकाले लोकप्रिय हुने र सत्ता कब्जा गर्ने रणनीति र शैली हो ।
आजको विश्व परिदृश्यमा दक्षिणपन्थीहरूले लोकप्रियतावादको बढी दुरूपयोग गरेको भेटिन्छ । संयुक्त राज्य अमेरिकामा आप्रवासीलाई खेद्ने योजनासहित उदाएको ट्रम्प प्रशासन होस् या भारतमा इस्लामद्वेषी भावना प्रवद्र्धन गर्दै फैलिएको मोदीराज दुवै दक्षिणपन्थी लोकप्रियतावादी नमुना हुन् । नेपालको सन्दर्भमा राजतन्त्रसहितको हिन्दू राष्ट्रको माग राख्नेहरूले पनि यही शैली अपनाएका छन् ।
लोकप्रियतावादको डिजिटल संस्करण प्राज्ञिक क्षेत्रमा विभिन्न दृष्टिकोणबाट अध्ययन गरिएको छ । लेखक तथा डिजिटल कल्चर र सोसाइटीका प्राध्यापक पाउलो जेरवाडो तीव्र आर्थिक सङ्कट र प्राविधिक परिवर्तनका कारण धनी र गरीबबिच बढेको खाडलबाट असन्तुष्ट तर डिजिटल रूपमा सक्रिय जनतालाई आकर्षित गर्दै डिजिटल पपुलिजम्को उदय भएको कुरा गर्छन् । राजनीतिशास्त्रका प्राध्यापक म्यानुएल माल्दोनादो समकालीन लोकप्रियतावादको बहसमा डिजिटल प्रविधिको प्रयोगलाई छुटाउनै नहुने प्रस्ताव गर्छन् । विश्वमै सामाजिक सञ्जाल सूचना आदानप्रदान तथा विचार विस्तारको मुख्य साधन भएकोले यो प्रस्ताव स्वाभाविक देखिन्छ । लोकप्रियतावाद विभिन्न डिजिटल र भौतिक पक्षसँगको अन्तरसम्बन्धमा विस्तार हुँदै जान्छ र डिजिटल लोकप्रियतावादमा परिणत हुन्छ ।
नेपाली शक्ति समीकरण
नेपालमा डिजिटल माध्यमहरूको प्रयोग बढेसँगै डिजिटल लोकप्रियतावादको भरपुर उपयोग हुँदै आएको देखिन्छ । तर, यस विषयमा खासै व्यवस्थित बहस भएको छैन । कुनै ठोस राजनीतिक सिद्धान्त र कार्यदिशाविनै स्थापित दलका नेताहरूका कार्यशैली, जवाफहीनता, कुशासनमाथि प्रश्न गर्दै आफूलाई वैकल्पिक दाबी गर्ने शक्तिहरू यस्तै परिपाटीबाट चर्चामा आएका उदाहरण हाम्रो सामुन्ने प्रशस्तै छन् । यी राजनीतिक पात्रहरूले आफ्नो लाखौँ फलोअर्स भएको सोसल मिडियालाई नै प्रस्थान बिन्दु बनाएर आफ्नो पकड जमाउँदै आएको देखिन्छ ।
फलतः वस्तुस्थिति यस्तो देखियो कि समस्याग्रस्त राजनीतिक परिवेशबिच जनताको लोकतान्त्रिक संस्थाप्रतिको विश्वसनीयता गुम्दै गएको अवस्थामा उद्धारक या मसिहाजस्ता पात्रहरू हाम्रै वरिपरि उदाइरहेका छन् । अर्कोतिर पुराना भनिएकाहरू भ्रष्टाचारमै लिप्त थिए, देशको परिवेश बदल्न युवा उपस्थिति अपरिहार्य छ भन्ने भाष्य उनीहरूले जबरदस्त स्थापित गर्दै गए, जसले गर्दा ‘युवा भर्सेस् वृद्ध’ को माहौल जन्मियो । एजिजम् अर्थात् उम्मेरवादलाई बढावा दिइएको अवस्था छ, जसमा पुराना पुस्तामा धेरै समस्या भए पनि उनीहरूका अनुभव, ज्ञान र योगदान औचित्यहीन हुने जस्तो भाष्य फैलाइयो ।
सरकारी कार्यालयमा सीसीटीभी प्रविधि जडान, विभिन्न एप लञ्च गरेर होस् या महानगरपालिकाको बैठक लात् गरेर सुशासन तथा पारदर्शिताको दाबी गर्नुजस्ता स्टन्टमा कुनै न कुनै हिसाबले लोकरिझ्याइँको झलक भेटिन्छ । यसमा स्वतः डिजिटल पक्ष जोडिएको हुन्छ ।
भ्रष्टाचार र सुशासनकै मात्र कुरा गर्ने हो भने पनि सत्तामा रहँदा तलब–भत्ता त्याग्ने या वैकल्पिक राजनीतिमा आउन लाखौँको विदेशी जागीर र स्थायी बसोबास छाडेर आएको प्रचारबाजी गर्ने, विपन्नभन्दा सम्पन्नले राजनीति गर्दा मात्र भ्रष्टाचार हुँदैन भन्ने जस्ता अभिव्यक्तिहरू डिजिटल प्लेटफर्महरूमा छ्यापछ्याप्ती भेटिन्छन् । जबकि, भ्रष्टाचारको अर्थ–राजनीतिक पाटो नखोतली गरिएका यस्ता सतही स्टन्टहरू लोकरिझ्याइँभन्दा बढी केही होइनन् ।
पुराना र नयाँ सबैखाले पात्रले कुनै न कुनै तरिकाले लोकरिझ्याइँ गरे पनि नयाँहरू प्रविधिको प्रयोगमा अगाडि देखिन्छन् । नयाँ भनिएकाहरूले लोगो, रङ र कन्टेन्टको एकनासे संयोजन र क्युरेटेड फीडसँगै अनलाइन उपस्थिति बलियो देखाइरहेका छन् । भलै पुरानाहरू पनि सिक्दै छन् । किनकि पुरानिएका शक्तिमा पनि युवा समूहको उपस्थिति नहुने होइन । त्यसैले झट्ट हेर्दा राजनीतिक बहस र सन्देशहरू अचेल कुनै विशाल डिजिटल मार्केटिङजस्तो देखिने अवस्था छ । जुन लोकप्रियतावादकै एउटा सानो डिजिटल झलक हो । तसर्थ, राजनीति र समाजशास्त्रका सहप्राध्यापक जुल्यानो बोब्बा लोकप्रियतावादी नेताहरू अरूभन्दा डिजिटल माध्यममा अभ्यस्त हुने बताउँछन् । यो प्रक्रिया डिजिटल प्लेटफर्महरूको विशिष्टता र अधिकतम प्रयोगबाट सम्भव बन्न पुगेको हो ।
उक्साउने प्लेटफर्म
डिजिटल प्लाटफर्मले जनतासँग प्रत्यक्ष–परोक्ष साक्षात्कार नहुनेलाई पनि संवाद गराउँछ । यो लोकप्रियतावादीहरूका लागि निकै उपयोगी हुन्छ । नेताका अभिव्यक्तिलाई प्लेटफर्महरूले थोरै र छोटो समयमा लाखौँको मासमा पु¥याउन सक्छन् । मूलधारे मिडियाको मध्यस्थता, कुनै अन्तर्वार्ता या पत्रकार सम्मेलन विनै स्ट्याटस, फोटो, भिडिओ, पोडकास्ट र मीमको भरमै उनीहरूका सिद्धान्तहीन तर उत्तेजक विचारहरू लाखौँसम्म पुग्नु र देशको राजनीतिक केन्द्रलाई चुनौती दिंदै आफू शक्तिकेन्द्रमा पुग्न सक्नेसम्म बन्नु चानचुने कुरा होइन । अझ तिनै स्ट्याटसहरू आधिकारिक धारणा जसरी भारी मात्रामा मूलधारे मिडियामा समेटिनु, लाखौँका लागि चिया गफ या फेसबुक स्ट्याटसको विषय बन्नुलाई साधारण मान्न सकिंदैन । यसरी व्यक्त भएका धारणासँग फेरि जनताको दोहोरो संवाद नहुनु र जवाफदेहिता शून्यप्रायः हुनु अर्को विडम्बनाको कुरा हो ।
आजको भ्रामक, मिथ्या, गलत सूचना र षड्यन्त्रपूर्ण सिद्धान्तहरू सम्प्रेषण भइरहेको र समुदाय लक्षित घृणायुक्त अभिव्यक्ति (हेट स्पीच), अनलाइन हिंसा मौलाइरहेको अवस्थामा डिजिटल लोकरिझ्याइँ अझ तीव्रगतिमा फैलने सम्भावना छ । अन्तर्राष्ट्रिय सन्दर्भमा गलत सूचनाको प्रयोग र सीमान्तकृत समुदाय लक्षित घृणायुक्त अभिव्यक्तिको अभ्यास गर्दै लोकरिझ्याइँमार्फत दक्षिणपन्थी समूहले आफ्नो अर्थ–राजनीतिक स्वार्थ पूरा गर्दै आएका उदाहरण हाम्रा सामुन्ने छँदै छन् । सन् २०१७ मा नेदरल्यान्डको चुनावी अभियानमा मुस्लिमविरोधी नेता गिर्ट वाइल्डर्सले प्रतिद्वन्द्वी अलेक्जेन्डर पेचटोल्डलाई शरिया कानुनको वकालत गर्दै गरेको भ्रामक फोटो पोस्टलाई उदाहरण मान्न सकिन्छ । नेपालमा पनि राजनीतिक दलका एक नेताले महाधिवेशनको बेला एआई फोटोको प्रयोग गरी आफ्ना समर्थकहरूको महाभिड देखाउन खोजेको घटना ताजै छ ।
अर्कोतर्फ, सोसल मिडिया अल्गोरिदमले नै डिजिटल लोकप्रियतावादलाई फैलाउने काम गर्छ । प्लेटफर्महरूले अल्गोरिदम बनाउँदा फरक विचारलाई प्रयोगकर्ताको फीडमा बन्देज हुने तरिका अपनाएका हुन्छन् । यस्तो व्यक्तिपिच्छे सूचनाको प्रवाहले विचार, सिद्धान्त र राजनीतिक ध्रुवीकरणलाई बढाउँछ । व्यक्तिगत पूर्वाग्रहलाई बलियो बनाउँदै लैजान्छ । मानिसले आफ्नो रुचि र विचार मिल्ने कन्टेन्टलाई नै लाइक, कमेन्ट, सेभ गर्दै जाँदा उसको सोसल मिडिया अकाउन्ट तिनै रुचि र विचार समर्थितहरूको सँगालो बन्दै जान्छ । किनभने, सोसल मिडिया अल्गोरिदमले प्रयोगकर्ताको छनोट अनुरूपकै रुचि र विचार मात्र देखाउँदै लान्छ । फरक विचार प्रयोगकर्ताको अकाउन्ट बाहिरै रहन्छन् ।
जब कहिल्यै आफ्नोभन्दा फरक विचार सुन्न, देख्न, बुझ्न पाइँदैन, तब व्यक्ति साँघुरो बन्दै जान्छ । यिनै साँघुरा कोठाहरू लोकप्रियतावादको विशाल खेल्ने मैदान बन्न पुग्छन् । किनकि भिडलाई कसरी उत्तेजित बनाउने, उनीहरूको भावनालाई कसरी प्रयोग गर्ने, विषयहरूलाई कसरी थप सनसनीपूर्ण बनाउँदै आफू अनुकूल भाष्य स्थापित गर्ने भन्ने कुरा लोकप्रियतावादीहरूले जानेका हुन्छन् ।
मिडिया र इन्फ्ल्युएसरको कनेक्सन
डिजिटल लोकप्रियतावाद यतिको मौलाउनुमा सोसल मिडियाको भूमिका र यसको रणनीतिक प्रयोग भइरहेको त स्पष्ट छ । तर, यसलाई थप मौलाउने वातावरण मूलधारे मिडिया र कन्टेन्ट क्रियटर÷इन्फ्ल्युएन्सरहरूले तयार पारेका हुन् । मिडिया पहिलेदेखिकै शक्तिशाली माध्यम हो भने सामाजिक सञ्जालको आगमनसँगै उदाएका कन्टेन्ट क्रियटर÷इन्फ्ल्युएन्सरहरूको शक्ति र प्रभावलाई पनि कम आँक्न मिल्दैन ।
अहिलेको ध्यानकेन्द्री अर्थतन्त्र
(अटेन्सन इकोनमी) मा मानिस भ्युज बढाउने र भाइरल हुने दाउमा जस्तोसुकै उत्तेजक अभिव्यक्तिलाई पनि प्रचारप्रसारमा ल्याउँछन् । आलोचनात्मक चिन्तकलाई भन्दा लोकप्रियतावादी पात्रलाई छानी–छानी स्थान दिन्छन् । कस्तो लोकप्रियतावादलाई स्थान दिने भन्ने कुरा उनीहरू आफू कस्तो चिन्तनबाट ग्रसित छन् र कुन ‘एको–चेम्बर’ मा फसेका छन्, त्यसमा भर पर्छ । त्यसैले त नयाँ तथा पुराना पात्रहरूको समस्याग्रस्त फेसबुक स्ट्याटसहरूसमेत मूलधारका समाचार बन्छन् । तर, वर्गीय र जातीयसँगै सबैखाले उत्पीडन विरुद्ध वैकल्पिक विचार निर्माण गरिरहेको पार्टी या व्यक्तिको आवाज भने मूलधारे मिडिया या इन्फ्ल्युएन्सरहरूको कन्टेन्टमा अटाउन सक्दैन । यो खेदजनक अवस्था हो ।
आगामी बाटो
लोकरिझ्याइँ चाहे डिजिटल माध्यममा देखियोस् या भौतिक दुनियाँमा, यसको जरा अर्थ–राजनीतिक व्यवस्थामा खोज्नुपर्ने हुन्छ । उदारवादी अर्थव्यवस्थामा डिजिटल साधनको उपयोगले यो बढी फैलिन्छ । जसको प्रविधि र मिडियामाथि पकड छ, उसैले बढी फलोअसर्् बटुल्न सक्ने सीप र क्षमता राख्छ । त्यसमाथि लोकरिझ्याइँको एजेन्डा बोकेपछि सोसल मिडिया इन्गेजमेन्ट बढाउनका लागि लोकरिझ्याइँ नै प्रयोग गर्नु स्वाभाविकै हो । यिनै खेलको आधारमा अर्थ–राजनीतिक शक्ति र सत्ता कब्जा गर्न खोजिन्छ ।
डिजिटल लोकप्रियतावादको प्रभाव सबैमा परे पनि सीमान्तकृत र उत्पीडितहरूलाई यसले बढी हानि पु¥याउँछ । किनभने, यसको प्रकृति नै यथास्थितिको शक्ति संरचनालाई भत्काउने होइन, बढावा दिने हुन्छ । सन् २०२३ मा टिकटक प्रतिबन्ध गर्दा पनि टिकटकले सामाजिक मर्यादामा आँच पु¥याउने काम गरेको तर्क अघि सारिएको थियो । जबकि मर्यादा भन्ने सामाजिक अवधारणा सत्ता र शक्तिमा रहेकोले आफ्नै अनुकूल निर्धारण गरेका हुन्छन् । यो अवधारणा शक्ति संरचनाको पिधँमा रहेकाहरूमाथि झनै हिंसा गर्ने किसिमको बन्न सक्छ ।
लोकप्रियतावादले बहुसांस्कृतिक पहिचानहरू चिन्दैन र कुनै एक निश्चित तप्कालाई दुश्मन करार गर्दै जनमानसमा डरको राजनीति फैलाउने गर्छ । जस्तो कि भूराजनीतिक कारण देखाई सीमान्तकृतहरूले आफ्नो पहिचानको परीक्षा सधैँ दिइराख्नुपर्ने बोझलाई बढाउँछ । सोसल मिडियामा डङ्का पिट्नका लागि देखावटी हिसाबले सीमान्तीय र उत्पीडित प्रतिनिधिहरूलाई समानुपातिक उम्मेदवारको ललिपप दिन्छ र फेरि भूराजनीतिक चासोको डर देखाई निरङ्कुश तवरले तिनै सीमान्तकृतको उम्मेदवारी खोस्छ । अर्कोतर्फ पुँजीविहीनहरू राजनीतिमा आए भने भ्रष्टाचार बढ्छ भन्ने मनगढन्ते गफ दिँंदै सीमान्तकृतहरूको राजनीतिक कदमलाई छेकबार लगाउने प्रयास जारी छ । समग्रमा यो उत्पीडित वर्ग र समुदायको लागि घातक अवस्था हो ।
लोकप्रियतावाद र यसको दक्षिणपन्थी दुरूपयोगको निराकरण भनेको सीमान्तकृत र उत्पीडितकेन्द्री आलोचनात्मक चेतमै छ । जसको लागि डिजिटल तत्वलाई पनि बहस र प्रयोगमा ल्याउनुपर्छ । उत्पीडित वर्गले डिजिटल माध्यमको प्रयोग गर्दै निरङ्कुशहरूको लोकरिझ्याइँलाई प्रतिवाद नगरेको होइन तर यस्तो विरोधको मात्रा कम छ । त्यसमाथि उनीहरूको प्रयास समग्र व्यवस्थाले नै प्रत्युत्पादक बनाइरहेको हुन्छ । नातावाद र कुशासनलगायत समस्याको विरोध गर्दै उदाएको जेन–जी विद्रोहले समेत सीमान्तकृतका सवाल ओझेल पार्दै सत्ता वरपरका विशेषाधिकार प्राप्त अनुहारलाई नै स्थापित गर्न पुग्यो । यो त्यही प्रत्युत्पादकताको उदाहरण हो । आलोचनात्मक चेतसहितको सङ्गठित प्रतिरोध नै अनलाइन र अफलाइनमा हुने लोकप्रियतावादलाई परास्त गर्ने जुक्ति हो ।
(बरामु अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा मास्टर्स अफ टेक्नोलोजी गभर्नेन्सका विद्यार्थी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *