विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
मध्यकालको आरम्भमा विभिन्न भक्ति सम्प्रदायहरूको विकास भयो । धार्मिक परिदृश्यमा अनेक भक्ति सन्त र गुरुहरू देखापरे । उनीहरूले धर्म परिवर्तनलाई प्राथमिकता दिएको अनेक किंवदन्तीबाट थाहा लाग्छ । खासगरी दक्षिण भारतमा ती सन्त वा गुरुहरू बलियो (धर्मान्तरण गर्ने) मिसनरी उत्साहबाट प्रेरित थिए । उनीहरूले साधारणजनलाई परमेश्वरसामु आध्यात्मिक रूपमा नतमस्तक बनाई जीवन बिताउन लगाए । यसका लागि उनीहरूले तिनको धर्म परिवर्तनमा जोड दिए । धर्मान्तरणसम्बन्धी यो तथ्यलाई मध्यकालको आरम्भका विभिन्न अभिलेखले पुष्टि गर्छन् । १२ औँ शताब्दीका शेक्किलरले लेखेको पुस्तक पेरियपुराणम्मा नायनार सन्त अप्परबारे बताउँछ । अप्पर वेल्लाल समुदायको एक रुढीवादी परिवारमा जन्मेका थिए । तर, सानो उमेरमै उनी जैन मुनि बने । यो देखेर उनकी दिदी रिसाइन् । उनले शिवसँग मद्दत मागिन् । अप्परलाई पेटको बिमारीले च्याप्यो । उनलाई जैन वैद्य र तिनका तन्त्रमन्त्रले ठीक पार्न सकेनन् । शिवको कृपा र चमत्कारले उनको बिमारी निको भयो । धर्म परिवर्तन गरी जैन बनेकोमा पश्चाताप गर्दै उनी पुनः परिवारको धर्ममा फर्के । उनको यो चाल देखेर जैनहरू रुष्ट भए । उनीहरूले पल्लव राजा महेन्द्रवर्मनको उपस्थितिमा अप्परमाथि आरोप लगाए । राजा पनि जैन थिए । तर, शैवमार्गीहरूले राजालाई आफ्नो धर्मको सच्चाइबारे आश्वस्त बनाए । यसपछि महेन्द्रवर्मन नै धर्म परिवर्तन गरी शैव बने । घटनाको पाँच सय वर्षपछि पेरियपुराणममा गरिएको वर्णनमाथि अनेक उचित प्रश्न उठाइएको छ । तर, अप्पर र महेन्द्रवर्मनले धर्म परिवर्तन गरेको तथ्य निर्विवाद छ ।
शेक्किलरले शैव सन्त सम्बन्दर र जैनहरूबिच भएको झगडाको वर्णन गरेका छन् । किंवदन्ती यस्तो छ – पान्डियन राज्यमा जैन मुनिहरूले राजालाई वशमा राखेका थिए । यो प्रभाव हटाउन र जैन मुनिहरूलाई देशबाहिर खेद्न रानी र मन्त्रीले सम्बन्दरलाई मदुरै आउन निम्तो पठाए । सम्बन्दर मदुरै आए । उनले जैन मुनिहरूको चमत्कारको तुलनामा आफ्नो चमत्कारलाई श्रेष्ठ साबित गरे । राजा शैव धर्ममा धर्मान्तरित भए । पछि राजाले ८ हजार जैन मुनिहरूको नरसंहार गरे । उनीहरूलाई फाँसीमा झुन्ड्याइयो । महेन्द्रवर्मनको धर्मान्तरणको कथा र पान्डियन राजाले शैव धर्म अपनाएको शेक्किलरको कथनमा बढाइचढाइ गरिएको हुन सक्छ । तर, यी दुवै घटनामा धर्मान्तरण भएको तथ्यमा कसैले शङ्का गर्न मिल्दैन ।
चमत्कारका साथै ब्राह्मणवादी धार्मिक र दार्शनिक विचारको प्रचारमा शास्त्रार्थले पनि अहम भूमिका खेलेको थियो । मध्यकालको आरम्भमा धार्मिक साहित्य लेखेका धेरै भारतीय दार्शनिकहरूबारे यसअघि पनि चर्चा भइसकेको छ । तर, तीमध्ये सबैभन्दा महत्वपूर्ण दार्शनिक आठौँ शताब्दीका शङ्करलाई मानिन्छ । उनी परिव्राजकाचार्य थिए । उनी ठाउँठाउँ घुम्थे; जैन मुनि र बौद्ध भिक्षुलगायत विभिन्न सम्प्रदायका साधुहरूसँग शास्त्रार्थ गर्थे; तिनको दर्शनको खण्डन गर्थे । भनिन्छ, यसले उनले कतिपय मानिसलाई आफ्नो अद्वैत दर्शनमा धर्मान्तरित गरेका थिए । उदाहरणका लागि, उनले मीमांसा दार्शनिक कुमारिलका दुई शिष्य विश्वरूपसँग मगधमा र मन्दानासँग प्रयागमा शास्त्रार्थ गरेर विजयी भएका थिए । शङ्करलाई आफ्ना अनुयायीहरूका लागि भारतका विभिन्न भागमा चार–पाँच–छ मठको स्थापना गरेको जस दिने गरिन्छ । यी मठ वा प्रतिष्ठानको कालक्रममा अनेक किचलो छ । तैपनि, शङ्करका यी मठले साधारणजनको धर्म परिवर्तन गर्ने महत्वपूर्ण कार्य गरेको पाइन्छ । सयौँ वर्षपछि विजयनगर राज्यका शासकहरूको उदार संरक्षणमा ती मठको आर्थिक वैभव बढ्यो । तिनको परम्परागत धार्मिक प्रतिष्ठा र प्रभावमा सामन्ती मोहर लाग्यो । शङ्करका सुरुसुरुका शिष्यहरूले दशनामी सम्प्रदायको स्थापना गरे । यसमा उनीहरूले धेरै भिक्षु र साधुसन्तलाई धर्मान्तरण गरे । यो तथ्य मध्यकालको ग्रन्थ नारदपरिव्राजकोपनिषद्बाट पनि पुष्टि हुन्छ । यसमा अन्य समूहका मानिसलाई कसरी धर्मान्तरण गराउने भन्ने विस्तृत विवरण पाइन्छ ।
धर्मान्तरण गर्न शास्त्रार्थ वा वादविवादबाहेक बल प्रयोग गरेको पनि पाइन्छ । बलप्रयोगद्वारा मानिसलाई शैव सम्प्रदायमा भित्याउने कुरा कसैबाट लुकेको थिएन । माघमहात्म्यलाई पद्मपुराणकै हिस्सा मानिन्छ । यसमा उल्लेख एक कथाअनुसार शैवहरूले ‘द्रविड विषय’ का एक क्षेत्रीय राजा चित्रसेनलाई हातमा लिए । उनीहरूकै सल्लाहमा चित्रसेनाले राज्यमा विष्णुको पूजामा बन्देज लगाए; वैष्णव भक्तजनमाथि अत्याचार गरे† तिनका मूर्तिहरू उखेलेर समुद्रमा फाल्न लगाए । परिणाम, धेरै वैष्णव प्रजा देश छोडी अन्तै गए र देश नछोड्नेहरू शैव धर्म अपनाउन बाध्य भए । यहाँनिर पश्चिमी डेक्कनका प्रमुख गैरब्राह्मण देवता खन्डोबा र मल्ल–मणि नाउँका दानव दाजुभाइबिच भएको सङ्घर्षलाई सम्झिनु सान्दर्भिक हुन्छ । यो सङ्घर्षको गाथा ब्रह्मपुराणको हिस्सा मानिने मल्लारीमहात्म्यमा पाइन्छ । गाथाअनुसार मल्लका सबै सेनापतिहरू हार्छन् र मणि मात्र बच्छ । मणि पनि हारेपछि अन्त्यमा खन्डोबाले त्यो दानवको टाउकोमा खुट्टाले छुन्छन् । तब मणिको हृदय एकाएक परिवर्तन हुन्छ ।
बलप्रयोगद्वारा धर्मान्तरणको सबैभन्दा स्पष्ट प्रमाण कर्नाटकमा पाइन्छ । यसमा जैनहरूलाई वीरशैवहरूले धर्मान्तरण गराएका थिए । अभिलेखअनुसार कर्नाटकमा जैनहरूमाथि एकान्तद रामैया विजयी भएपछि ठुलो सङ्ख्यामा जैनहरूलाई वीरशैव धर्ममा धर्मान्तरण गरिन्छ । बलप्रयोग नगरी एकाएक यति धेरै जैनहरूलाई धर्मान्तरण गर्न सम्भव थिएन । खासमा वीरशैवहरू व्यवस्थित रूपमै धर्मान्तरण कर्ममा लागेका थिए । सन् ११५६ मा बासवले कल्याणमा एउटा मठ स्थापना गरे । त्यसको मुख्य काम नै धर्मान्तरण गराउनु थियो । १२ औँ शताब्दीपछि भारतका विभिन्न स्थानमा बनाइएका पाँच परम्परागत वीरशैव मठहरूको काम पनि त्यही थियो । माथि उल्लेख विभिन्न प्रमाणबाट ब्राह्मणवादी सम्प्रदायहरूले अरूलाई जबरजस्ती धर्मान्तरण गराउने गरेको तथ्य स्पष्ट हुन्छ । त्यसैले इसाई र मुस्लिम धर्मलाई मात्र जबरजस्ती धर्म परिवर्तन गराउने जस दिन मिल्दैन !
प्रमाणहरूले मानिसहरूलाई बलजफ्ती धर्मान्तरण गइन्थ्यो भन्ने प्रस्ट्याउँछन् । तर, सधैँ यस्तो हुँदैनथ्यो । यसका अनेक प्रमाण छन् । पुराणहरू धेरै त मध्यकालको आरम्भमा र पछिका शताब्दीमा लेखिएका थिए । तिनले भारतभरि नै मानिसको धर्म परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेले । माथि पनि भनियो, पुराणहरूमा धर्मान्तरणमा संलग्न बौद्ध र जैनजस्ता शास्त्रविरोधी धर्मको घोर आलोचना पाइन्छ । विष्णुपुराणमा एक ठाउँमा बुद्ध दैत्यहरूको दिमागमा वेदविरोधी विचार भर्न धर्तीमा आएका थिए भनी लेखिएको छ । यसैगरी मानिसहरूलाई गैरब्राह्मण सम्प्रदायमा धर्मान्तरण गर्ने कार्यको विरोधमा पुराणहरूमा विचारधारात्मक प्रतिरोध पनि पाइन्छ । कलियुगमा ब्राह्मणहरू बौद्ध बन्न सक्ने हुँदा कम्तीमा त्यसलाई रोक्ने आग्रह पुराणहरूको थियो । पुराणहरूले शास्त्रविरोधी विचारहरूको प्रतिरोध मात्र गरेनन् । पुराणहरू सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विभिन्न जातीय समुदायबिच ब्राह्मणवादी विचार प्रसार गर्ने साधन बने । यसरी पुराणहरूले दोहोरो भूमिका खेले । यो काम बलप्रयोगबाट मात्र सम्भव थिएन भन्ने देखिन्छ ।
गैरब्राह्मणवादी जातिको धार्मिक र सांस्कृतिक रूपान्तरणमा पुराणहरूको भूमिका महत्वपूर्ण रह्यो । यससँगै मन्दिर र पुजारीहरूलाई भेट वा कोसेलीको रूपमा प्राप्त हुने भूमिदानसम्बन्धी प्रचुर शिलालेखहरूलाई पनि जोडेर हेर्नुपर्छ । यसबाट मध्यकालको आरम्भतिर सीमावर्ती क्षेत्रमा मन्दिर र पुजारीहरूलाई भूमिदान गर्ने चलन व्यापक बनेको थाहा पाइन्छ । यसकारण, भारतका विभिन्न भेगमा ब्राह्मण बस्तीहरू च्याउसरि फैलियो । सांस्कृतिक रूपमा सीमान्तकृत जनजातिहरू बसोबास गर्ने आर्थिक रूपमा पिछडिएका क्षेत्रमा ती बस्तीले विशेष स्थान पाए । यी क्षेत्रमा ब्राह्मणहरू उच्च भौतिक जीवन बिताइरहेका थिए । त्यसैले उनीहरूले आफ्नो विश्वदृष्टि फैलाउन सके । उनीहरूले पुराणमा अभिव्यक्त धार्मिक विश्वास र अभ्यासको प्रचार गरे । यसरी पुराणहरूको प्रचारप्रसार र सीमावर्ती क्षेत्रमा भूमिदानको प्रथा सँगसँगै अघि बढ्यो । यसले एकातिर धार्मिक रूपान्तरणको एजेन्टको काम ग¥यो । अर्कोतिर, गैरब्राह्मणवादी जनजातिहरूको ठुलो जमातलाई आफूमा मिलायो । यो तथ्य केबाट पनि प्रस्ट हुन्छ भने भूमिदानको नियममा दान लिने व्यक्तिको जिम्मेवारी किटान गरिन्थ्यो । दान लिने व्यक्तिले वैदिक कथाहरू पढाउनुपथ्र्यो र ब्राह्मण कर्मकाण्ड गर्नुपथ्र्यो । यस्ता कथावाचन र कर्मकाण्डले जनजाति समाज र तिनको धर्ममा ब्राह्मणहरूले आफ्नो पैठ बनाउन सक्थे । छत्तिसगढको रायपुर जिल्लामा भेटिएको १८ औँ शताब्दीको एक शिलालेखमा रोचक वर्णन पाइन्छ । यसमा दुई शैव साधु सद्याहशिवाचार्य र सदाशिवाचार्यबारे प्रसङ्ग आउँछ । शिलालेखमा सदाशिवाचार्य र उनका आध्यात्मिक उत्तराधिकारीलाई एउटा मन्दिर र अनेक गाउँमा कालीमाटी (कृष्णतल) युक्त जमिनका अनेक चक्ला दान दिने चर्चा छ । दान पाएकोमा साधुले निःशुल्क भोजनालय (अन्नस्य सत्राम), यज्ञ, शैव सिद्धान्तको व्याख्या (व्याख्यायःसमयस्य) र मोक्ष दिलाउन सक्ने (निर्वाणदक्ष) शैव धर्मको दीक्षा दिनुपर्ने सर्त राखिएको थियो । यो अभिलेखबाट पुजारीहरूलाई सीमावर्ती इलाकामा भूमिदान दिइन्थ्यो भन्ने खुल्छ । साथै के पनि प्रस्ट हुन्छ भने यो भूदानको उद्देश्य जनजातिहरूबिच धार्मिक विश्वास र अभ्यास प्रसार गर्ने र तिनलाई ब्राह्मणवादी सम्प्रदायमा धर्मान्तरण गर्ने हुन्थ्यो ।
ब्राह्मणहरूलाई आर्थिक हिसाबले पिछडिएका क्षेत्रमा भूमि वा अन्य वस्तु दान गरिन्थ्यो । ब्राह्मणहरूको बढ्दो वर्चस्वकै कारण पौराणिक कथावाचन र अन्य ब्राह्मणवादी विचारको प्रचारमार्फत अनेक इतर समूहलाई ब्राह्मणवादी सामाजिक–धार्मिक व्यवस्थातर्फ तानियो । साथै, मध्यकालको आरम्भमा भारतका विभिन्न भेगमा विभिन्न जनजाति धर्मलाई ब्राह्मण धर्मका मिसाउने र ब्राह्मणीकरण गर्ने क्रियाकलाप बढ्यो । उदाहरणको लागि, बङ्गालमा पालवंशी शासनको आरम्भमा मनसालाई ब्राह्मण धर्ममा मिसाइयो । उडिसामा पाँचौँ/छैटौँ शताब्दीमा मणिनागेश्वरीलाई राजसी दान दिएर स्तम्भेश्वरी बराबर उच्च महत्व दिइयो । स्तम्भेश्वरी शौलिक जनजातिकी देवी थिइन् । यसरी शुल्की शासकहरूको संरक्षणमा यसलाई ब्राह्मण धर्ममा मिसाइएको थियो । तमिलनाडुमा देवी मीनाक्षीलाई पान्डेय शासकहरूको संरक्षणमा ब्राह्मण धर्ममा मिसाइयो । आन्ध्र प्रदेशको तिरूपतिमा आठौँ शताब्दीमा तान्त्रिक सम्प्रदायकी देवी पद्मावतीको मन्दिर बनाएपछि उनी ब्राह्मण धर्मकी महत्वपूर्ण देवी बन्न पुगिन् । इतर जनजातिका देवीदेवतालाई तान्त्रिक ब्राह्मण परम्परामा सामेल गरिएको विषयमा यहाँ धेरै भन्नु नपर्ला । जनजातिहरूलाई धर्मान्तरण गर्ने र तिनको धर्म र तिनका देवीदेवतालाई ब्राह्मणीकरण वा संस्कृतकरण गर्ने काम आज पनि चालू छ । विद्वान्हरूले यसलाई प्रायः सांस्कृतिक अन्तर्घुलन भन्न रुचाउँछन् । तर, यो धर्मान्तरणभन्दा उति फरक छैन । यी दुईमा कति मात्र भिन्नता छ भने सांस्कृतिक अन्तर्घुलन लामो प्रक्रिया हो; धर्मान्तरणमा सिद्धान्ततः तत्काल र पूर्णतः धार्मिक बफादारी कायम हुन्छ ।
प्राचीन भारतमा ब्राह्मणवादी सम्प्रदायहरूले स्वेच्छा वा प्रतिबद्धताका साथै जबरजस्ती र ललाइफकाई धर्मान्तरण गर्थे । मध्यकालको आरम्भमा धर्मान्तरणलाई नियामक धर्मग्रन्थको वैचारिक आड पनि प्राप्त भयो । यीमध्ये केही ग्रन्थले स्वेच्छा वा बाध्यतावश आफ्नो जन्मौटे धर्म त्याग्ने मानिसलाई धर्मान्तरण गर्ने अनुमति दिए । उदाहरणको लागि, देवलस्मृति भन्छ – ब्राह्मण र अन्य जातिका मानिसलाई म्लेच्छहरूले लगेर निषेधित काममा लिप्त बनाए भने तिनलाई प्रायश्चितमार्फत शुद्धि गर्न सकिन्छ । यो स्मृतिको पुनर्निर्मित संस्करणमा म्लेच्छशुद्धि नाउँका एउटा अलग्गै पाठ समावेश गरिएको छ । यसमा म्लेच्छहरूले लगेर गएका र ५ देखि २० वर्ष तिनीहरूसँगै बसेका व्यक्तिलाई शुद्धीकरण गर्ने विस्तृत कर्मकाण्डको चर्चा छ । देवल र अन्य स्मृतिका रचयिताहरूको विचारमा धर्म छोडी गएको जोकोहीलाई पुनः आफ्नो जन्मौटी धर्ममा ल्याउन सकिन्छ । प्राचीन कर्मकाण्ड व्रात्यस्तोम बराबर मानिने परावर्तन (पुनःधर्मान्तरण) धर्मान्तरणभन्दा फरक थिएन । म्लेच्छहरूलाई ब्राह्मण धर्ममा धर्मान्तरण गर्ने अनुमति थिएन भन्ने कुनै प्रमाण पाइन्न । किनभने, म्लेच्छ शब्दलाई प्राचीन भारतीय स्रोतहरूमा बहिष्कारको अर्थमा लिइन्थ्यो । १५ औँ शताब्दीसम्म विभिन्न जनजाति समूहलाई म्लेच्छ भनिन्थ्यो । त्यसपछि मुसलमानहरूलाई जनाउन म्लेच्छ शब्दको व्यापक प्रयोग हुन थाल्यो । पुनःधर्मान्तरणको यही विचारले पक्कै पनि १९ औँ शताब्दीमा आर्यसमाजले चलाएको शुद्धि आन्दोलनको ढोका खोल्यो । यो त्यही धर्मान्तरण थियो, जसलाई सन् १८९७ मा विवेकानन्दले स्थापना गरेको रामकृष्ण मिसनले अघि बढायो । विवेकानन्द ‘अमेरिका मूर्तिपुजक मिसनरीहरूले भरिएको’ देख्न चाहन्थे । उनी ‘अमेरिका र युरोपलाई केही दशकभित्रै धर्मान्तरण गर्ने भव्य विचार’ मा थिए । त्यही धर्मान्तरणलाई आजभोलि विश्व हिन्दू परिषद् र राष्ट्रिय स्वयंसेवक सङ्घका विभिन्न सङ्घसङ्गठनले भारत र विदेशमा जोडतोडका साथ अघि बढाइरहेका छन् ।
सारमा, के भन्न सकिन्छ भने प्राचीन भारतका मानिसहरूको धार्मिक जीवनमा अनेक महत्वपूर्ण धार देखिन्छ । पहिलो, भारतका विभिन्न भूभागमा अनेक धार्मिक सम्प्रदायहरू थिए । दोस्रो, धार्मिक बहुलताकै कारण अनेक ब्राह्मणवादी सम्प्रदायबिच मात्र होइन उनीहरू र बौद्ध–जैनजस्ता शास्त्रविरोधी अन्य धर्मबिच पनि शत्रुता जन्मियो । यसले धार्मिक–दार्शनिक वैमनस्य र हिंस्रक द्वन्द्वको रूप लियो । तेस्रो, प्रतिस्पर्धी, विरोधी र उन्मादी मोक्षशास्त्रका कारण धर्मगुरुहरूले साधारणजनलाई आआफ्ना सम्प्रदायमा धर्मान्तरण गर्न थाले । जन्मैले असहिष्णु ब्राह्मणवादी सम्प्रदायहरूले मध्यकालको आरम्भमा अरूको धर्म परिवर्तन गर्दै आफूमा मिलाउन थाले । यो कार्य आज पनि जारी छ । यी सबै प्रमाण तथाकथित हिन्दू सहिष्णुताको थोत्रो भाष्यसँग मेल खाँदैनन् । यसो भन्दैमा विभिन्न धार्मिक सम्प्रदायहरूले एकअर्काबाट धेरै कुरा सापति लिएको कुरालाई अस्वीकार गर्न मिल्दैन । यही लेनदेनमार्फत सयौँ वर्षको अन्तरालमा एउटा सांस्कृतिक योग पैदा भयो । तर, यसबारे मैले अन्तै चर्चा गरेको छु ।
समाप्त
Leave a Reply