भर्खरै :

तिब्बतमा बेलायती र अमेरिकी घुसपैठ

तिब्बतमा बेलायती र अमेरिकी घुसपैठ

बेलायत र अमेरिकाले चीनको आन्तरिक मामिलामा आघात पार्ने काम इतिहासदेखि गर्दै आएको पाइन्छ ।
सन् १७७० र सन् १७८० को दशकमा इस्ट इन्डिया कम्पनीले तिब्बतको सिगात्सेमा दुई पल्ट प्रतिनिधिहरू पठायो । चीनको राष्ट्रिय एकीकरणको विरुद्ध पञ्चेन लामासँग सम्बन्ध कायम गराउने बेलायती चाहना अधुरो रह्यो । चीन बेलायतबिचको अफिम युद्धपछि क्छीङ राजवंशबाट फाइदा धुत्ने मनसायले तिब्बतको लोड्तु फोर्टमा धावा बोल्यो । सन् १८९०–९३ मा बेलायतले क्छीङ सम्राटलाई चीन बेलायतबिच तिब्बत र सिक्किमको विषयमा सम्झौता गर्न वाध्य पार्यो । उसले तिब्बतको ठुलो क्षेत्रफल कब्जा गर्यो र यादुङमार्फत व्यापारिक साम्राज्य विस्तार गर्न थाल्यो ।
सन् १९०४ मा बेलायतले तिब्बतमाथि सैनिक हस्तक्षेप गर्यो । आफैले तयार पारी लागेको ‘ल्हासा सन्धि’ मा क्छीङ सम्राटलाई दस्तखत गराउन बाध्य पार्यो । सन्धिअनुसार बेलायतले ग्याङ्चे र गर्यार्सामा दुईवटा व्यापारिक अखडा खोल्यो । चीनले ठुलो परिमाणमा युद्ध हर्जाना पनि तिर्नुपर्यो ।
सन् १९७० मा रुस र बेलायतबिच एक सन्धि भयो । जसअनुसार मङ्गोलियामा रुसी र तिब्बतमा बेलायती प्रभाव दुवै देशले स्वीकार्नु पर्ने भयो । दुवै साम्राज्यवादी शक्तिले चीनको स्वाभिमान र राष्ट्रिय अखण्डतामाथि प्रत्यक्ष हस्तक्षेप गरे ।
सन् १९१३–१४ मा भर्खर गठित नयाँ गणतान्त्रिक सरकारलाई सिमला सम्मेलनमा सहभागी हुन बेलायतले दबाब दियो । तिब्बतसहित सिचुवानलाई समेत प्रभावमा पार्न बेलायत चाहन्थ्यो । तिब्बतलाई बाहिरी र भित्री गरी दुई भागमा विभाजित गरेर क्रमशः पकडमा पार्ने योजना बेलायतले बनाएको थियो । म्याक मोहन लाइन पार गरेर तिब्बतभित्र घुस्ने बेलायती योजनालाई सुरुमै चीनले तिरस्कार गरिदियो । त्यसपछि तिब्बतका सामन्तहरूलाई उचालेर बेलायतीहरूले तिब्बत स्वतन्त्रताको नारा अघि सार्न लगाए । नवौँ पञ्चेन लामा र दलाई लामासँग पुग्न अनेकौँ षड्यन्त्रहरू रचिए ।
बेलायतले ठुलै परिमाणमा हातहतियार र विस्फोटक पदार्थ तिब्बतभित्र भण्डार गर्न थाल्यो । तिब्बती सेना प्रमुख सारोङ दजाङ द्रदुलमार्फत असफल सैन्य विप्लवको घटना घटाउन पनि बेलायतले भूमिका खेल्यो । सन् १९४९ मा चिनियाँ जनमुक्ति सेनाले दक्षिण–पश्चिम चीनमा बलियो उपस्थिति जनाइरहेको बेला बेलायत र अमेरिकाले घुस पैठ गर्न अनेकाँै चाल चले । वास्तवमा दोस्रो विश्वयुद्ध चलिरहेको बखत अमेरिकी गुप्तचर विभागले चीनभित्र चलखेल गर्न चाहेको पुष्टि भयो । सन् १९४२ मा इलिया तोल्सतोय नामक अमेरिकी गुप्तचर केटी तिब्बतमा पक्राउ परेपछि यसको भेद खुल्न पुग्यो । सन् १९४९ मै तिब्बती सरकारलाई स्वतन्त्र मुलुकको हैसियतले अमेरिकाले राष्ट्रसङ्घको सदस्यता दिलाउन खोज्यो । जनमुक्ति सेनाको तिब्बत प्रवेशलाई विरोध गर्दै रह्यो ।
सन् १९५१ देखि त अमेरिकाले सीआईएको घुसपैठलाई तिब्बतमा द्रुतगतिमा बढायो । तिब्बती पृथकतावादी नेता जियालो दुन्द्रुपलाई चीनविरुद्ध छापामार युद्ध सञ्चालन गर्न उक्सायो । ताइवान र ओकिनावामा छापामार प्रशिक्षण केन्द्रहरू स्थापना गरेर तिब्बतलाई चीनवाट पृथक राख्ने दसवर्षे गुरुयोजना सीआईएले अघि सार्यो ।
सन् १९६० को सुरुमा जोन एफ केनेडी अमेरिकामा राष्ट्रपति भएपछि उनले चीनसम्बन्धी नीतिलाई तिब्बतको विषय उठाउँदै पेइचिङमाथि कडा प्रहार गर्न थाले । राष्ट्रसङ्घको सदस्यता दिनबाट वञ्चित गराउने खेल खेले । सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरेपछि थोरै भए पनि चीन अमेरिका सम्बन्धमा सुधार आयो । अमेरिकी सरकारले तिब्बती पृथकतावादीको प्रत्यक्ष रूपमा पक्ष त लिएन तर, अनेकौँ संस्थाहरूमार्फत दलाई लामासँगको सम्बन्ध बढाउँदै गयो ।
इतिहासिदेखि जारी बेलायती र अमरिकी रणनीति तिब्बतको विषयमा लगातार रूपमा असफल हुँदै आए तापनि दुवै राष्ट्रको चलखेल आज पनि जारी छ ।
(जनधारणा साप्ताहिक, वर्ष १७ अङ्क ६ बाट)
स्रोतः तिब्बत उपद्रव र यथार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *